सामाजिक सञ्जालको विशाल क्षेत्रमा, जहाँ एक बटनको साधारण क्लिकमार्फत् जडानहरू बनाइन्छ, म सामाजिक सञ्जाल एक्समा एक अपरिचित व्यक्तिसँग जोडिए। साधारण परिचय र शब्दहरूको आदानप्रदानको रूपमा सुरू भएको कुरा चाँडै गहिरो कुरामा परिणत भयो।
सानै उमेरमा धेरै मेहनत गरेका, सीपहरूले भरिपूर्ण, मेरै उमेरका ती युवासँग म प्रभावित थिएँ। उनले अर्थतन्त्रदेखि राजनीतिसम्म, संंविधानका दफा र उपदफादेखि करका दायरासम्म, सहरका गल्लीदेखि गाउँको रहनसहनसम्म बुझेका थिए।
कोडिङदेखि अकाउन्टेन्सीसम्म, उनले नजानेका कामहरू बिरलै थिए।
देशको साझा समस्या दर्शाउँदै उनी भन्थे ‘यी सबैको हल खोज्ने हामी युवा नै त हो प्रशान्त।’
बाल्यकालदेखि नै मेहनत गरेका उनी कुनै कुरामा कमजोर थिएनन् भन्ने मैले आकलन गरेको थिएँ। मेरो कामको प्रसंगमा कुरा हुँदा उनले मलाई भने, ‘तेइस वर्षको उमेरमा सात वर्षको कामको अनुभव?, डयाट्स कम्पिलिट्ली म्याड ब्रो! यो देश तिमी–हामी जस्ता मानिसहरूको लागि हो’।
उनको यस्तो खालको कुराले मलाई सकारात्मक ऊर्जा र हौसला मिल्थ्यो।
चिनजान भएको ६ महिना नबित्दै उनले आफ्नो फोटो पोस्ट गरे, अस्ट्रेलियाको ओपेरा हाउस अगाडि उभिएको! सुटुक्क विदेश छिरेका उनको एक्कासि फेसबुकमा फोटो हेर्दा आज पनि फेरि एकपटक मेरो आत्मविश्वास डगमगायो, मनमा नैराश्यता छायो, भावनाहरू तरंगित भए।
एकैछिनको गहिरो सोच पछाडि उनीजस्तो दक्ष युवा पलायन हुने कुरा मलाई केही नौलो लागेन।
मलाई रातले प्रतिध्वनित भावनाहरूको मिश्रणको साथ एक्लै छोडिदियो।
विगतको आघातको अवधारणा र अनिश्चित भविष्यको डर आजकल म लगायत देशभरका युवाहरूमा देखिन्छ।
म जुरूक्क उठेँ र हातमा कलम र कापी लिएँ, मैले समाजमा रहेका व्याप्त सामूहिक समस्या र युवाहरूको भावनाहरूको झलक देखाउने आशामा प्रतिबिम्बहरू लेख्न थालें। आज त्यही लेख यहाँ पस्किँदै छु।
यो दुखद कुरा हो कि म लगायत मेरा सहकर्मीहरू, साथीहरू, आफन्तहरू, र देशका अधिकांश युवाहरू म जस्तै तनाव र पीडाले ग्रसित छन्।
हालैका वर्षहरूमा विदेशमा सान्त्वना र अवसर खोज्दै जानेहरूको हुल र घुइँचो बढ्दो छ।
विदेशी भूमिको आकर्षणले हाम्रो सिमाना भित्रका अवसरहरू छायामा परेका छन्।
अहिले विद्यार्थीहरू ज्ञानको खोजीमा होइन, आर्थिक आर्जन र लाभका लागि भिसा खोजिरहेका छन्।
गाउँ र दुर्गम क्षेत्रहरू त धेरै पहिलेदेखि नै युवाहरूको अभावले गुन्जिरहेका छन्।
मानव जीवनको ब्यापक चहलपहल भएका सहरी केन्द्रहरू पनि अहिले क्रमशः शून्यतातर्फ बढिरहेका छन्।
आजभोलि छापिने समाचारहरू पढ्दा म तर्सिन्छु। पछिल्लो एक महिनामा मात्र धेरै जना राष्ट्रिय खेलाडीहरूले देश छोडेर गएका छन्।
पछिल्लो चरणमा उन्नति र जितहरू हासिल गरिरहेको खेलकुद क्षेत्रमा संलग्न खेलाडीहरू विदेश प्रस्थान हुनु आजको गम्भीर विषय हो।
त्यसो त न्यून सेवा सुविधा र अवसरबिना आफ्नो रहर र सपनाहरू मारेर को बस्ला? अर्कोतर्फ आफ्नो व्यक्तिगत र पारिवारिक जिम्मेवारीले गालिरहेको पनि होला।
न्यून ज्याला र ठूला सपना भएका कुनै खेलाडीलाई नेपालमा बस्ने वातावरण सरकारले बनाउन सकेको छैन, यो दु:खद् कुरा हो। त्यसैले राष्ट्रको गौरव मानिने खेलाडीहरू पलायन हुने कुरा पनि मलाई नौलो लागेन।
पढाइ सक्ने बित्तिकै बाहिर जान आतुर देखिने मेडिकल क्षेत्रमा काम गर्ने डाक्टर र नर्सहरूको संख्या पनि ठूलो छ।
लाखौं खर्च गरेर पढाइ सकेर, कुनै शासनतन्त्रको बेला व्यक्तिको घरमा काम गर्न बसेका कमैयाले जस्तो काम गर्दा पनि जीविकोपार्जनसम्म गर्न गाह्रो हुने नर्सहरूको लागि मेरो विशेष सम्मान छ। बिरामीको अनुहार हेर्दा सधैं मुसुक्क हाँस्ने नर्स, भिजेको आँखा बोकेर ठूलो जहाज चढ्दा मलाई कुनै नौलो कुरा लागेन।
अन्य क्षेत्रमा संलग्न जस्तै इन्जिनियर, कुशल कलाकार र व्यापारीहरूमा पनि देशमा बस्ने रुचि देखिँदैन।
विज्ञ र प्रतिभाहरूले भरिपूर्ण व्यक्तित्वहरूको विदेश प्रस्थानले राष्ट्रलाई बौद्धिक शून्यतामा फसाएको छ जसले राज्यको प्रगति र विकासलाई प्रत्यक्ष असर गरिरहेको छ।
भोलिको देशका कर्णधार भनिने भाइबहिनीहरू प्लस टुको पढाइ सकिएलगत्तै बागबजार र पुतलीसडकका गल्ली–गल्लीमा भाषा कक्षा र कन्सल्टेन्सी धाइरहेका छन्। नधाउन पनि कसरी? जबकी एकतर्फ अभिभावकले नै ८–९ कक्षामा पढ्दै गरेका आफ्ना बच्चाहरूलाई यो देशमा केही राम्रो अवसर पाइने छैन, भविष्य विदेशमै राम्रो हुन्छ भन्दै कोमल मस्तिष्कमा भ्रम भरिरहेका छन् भने अर्कोतर्फ सरकारले तोकेको न्यून ज्यालाभन्दा कम तलबमा पनि जागिर पाउन गाह्रो छ।
विवाह जस्तो हाम्रो समाजको एक आधारशिला, जुन मन्दिर र धार्मिक माहोलमा हुने गर्दछन्, आजकल दूतावासमा पेस गर्नको लागि कागजमा बढी हुन्छन्। यो ’प्रतिभा पलायनको’ एक कम्पन हो। डिपेन्डेन्ट भिसामा बाहिर जानको लागि युवाहरूले जीवन साथी चुन्ने र बिहे गर्ने जस्तो विषयमा गर्ने गरेको सम्झौताहरू देख्दा पनि मलाई नौलो लाग्दैन।
गाउँघरबाट सहर बसाइसराइ र सहरबाट विदेश पलायन हुने सिलसिलाले एउटा शून्यता कोर्दैछ, जुन बेवास्ता गर्नुपछि घातक सावित हुन सक्दछ।
दक्ष पेशाकर्मीको बिदाई र युवाहरूको विदेश मोहले अन्धकार चित्र कोरेको छ, चित्र कमजोर नेतृत्वको, चित्र पहिचानको र चित्र कमजोर राष्ट्र, राष्ट्रियता र नीति–नियमको!
यही गतिमा देशबाट युवा शक्तिहरू पलायन हुँदै गए १० वर्षपछि देशको अवस्था कस्तो होला?
तर नकार्न नसकिने कुरा यो पनि हो कि भोको पेटले राष्ट्र प्रेम बुझ्दैन, सपनाले साकार हुने ठाउँ र अवसर खोज्दछ।
जिम्मेवारी र आवश्यकताहरू पूरा गर्ने क्रममा कुनै दिन परिस्थितिले म पनि देश छोडेर परदेश रोजेछु भने, त्यो पनि कुनै नौलो कुरा हुने छैन ।