२०७८ ८ गते सायद १२:१५ बजेको थियो होला।
म अफिसमा खाना खान थालमा खाना पस्किँदै थिएँ। साथीहरू खाना लिएर माथि गइसकेका थिए। एक्कासि दाइको फोन आयो। उठाएँ। दाइको स्वर एकदमै अत्तालिएको सुनिएको थियो।
‘बुवा बेहोस भएर ढल्नु भएको छ त हिँडी हाल।’ यत्ति भनेर फोन राख्नुभयो। के गरूँ भयो। रिंगटा लागेजस्तो भयो। थचक्क बसें।
नर्मल बिरामी भएको भए त यसरी आत्तिएर नभन्नु पर्ने होजस्तो लाग्यो।
त्यो बेला हिँडी हाल भनेसि फोन काट्टियो। अरू केही सोध्न पाइनँ। पछि फोन गरें। के भएर हो? कतै लड्नुपो भयो कि के भनेर दाइलाई सोधें ‘खाना खाएर यसो आराम गर्नु भएको अहिले बेहोस हुनुहुन्छ, हामी हस्पिटल लग्दै छौं त पनि हिँड् भन्नुभो।’
साथीहरूलाई बुवा बिरामी हुनुहुन्छ रे म घर जानुपर्ने भयो भनेर निस्कें। म सीतापाइला बस्थें। अफिस थापाथली थियो। हिँडेर टेकुसम्म पुगें। अस्पताल नपुग्जेल मन अत्तालिरह्यो। मामा कोठामा हुनुहुन्थ्यो। मामालाई कपडा प्याक गर्न भनें। ट्राभल कम्पनीलाई दुई जनाको भैरहवाको टिकट काट्न भनें।
घरबाट अंकलको फोन आयो। कता छौ? भन्नु भो। एयरपोर्ट छु भने अनि अंकलले हतास र रुन्चे स्वरमा रुदै फोन गरेसी अब बुवा हुनुहुन्न भनेर बुझ्न समय लागेन।
तै पनि के भयो? भनेर सोधें। रुदै बुवा हुनुहुन्न हस्पिटलले फिर्ता गर्यो बाबु भन्नुभयो। म थचक्क बसें। दिमाग शून्य भयो। रुन आएको थिएन, मलाई के गरूँ, कसो गुरूँ भयो। लगत्तै ठूलोबुवाको फोन आयो, जे नहुनु भयो नआत्ती आउनु। सबैले रुदै फोन गर्नु भयो। दाइलाई कल गरेर भनें- हामी नै आत्तियौ भने आमालाई सम्हाल्न गाह्रो हुन्छ, आमालाई सम्हाल्नु म आउँदैछु म, ठिक छु।’
फ्लाइट टाइम भयो, हामी भैरहवाको लागी उड्यौं २० मिनेट जस्तोमा भैरहवा पुग्यौं।
एयरपोर्टमा दाइ, भान्जाहरू लिन आएका थिए। त्यसबखत आफूलाई सम्हालिन सकिनँ।
गाडीमा बस्दा मनमा बुवाको बच्चादेखिको याद आयो। जति खेर हामी साना थियौं बुवा कलकत्ता हुनुहुन्थ्यो, जति खेर हामी ठूला भयौं, र आफ्नो काममा हिँड्यौं बुवा घर आउनु भएको थियो। घर जाँदा बुवासँग म अलि जिस्किन्थें।
दिमागमा एउटा मात्र कुरा आएको थियो। जाने त एकदिन सबै जना नै हो। सबैले आफ्नो बुवा आमा गुमाउने नै हो तर अचानक हुँदा एकदमै गाह्रो भएको थियो।
मनमा लाग्यो कति कुरा सुनाउन मन थियो होला अन्तिमचोटि। छोरा जिन्दगीमा जति सके गरे यत्ति रैछ अब आमालाई तिमीहरूले सम्हाल्नु है भन्देको भए पनि त हुने जस्तो लाग्ने।
गुनासो थियो किन छिट्टै गएको भन्ने। आँसु रोकिएको थिएन। तिम्ले जति गर्ने गर्यौ बुढा मैले पनि त गर्न थियो होला नि तिम्रो लागि। कति हतार गर्न परेको होला जान। नजान कसले भन्या थियो र अझै केही समय बाँचेको भए के जान्थ्यो, फेरि तिम्रो उमेर नि त जानैपर्ने भएको पनि त थिएन नि। कान्छा छोराको विवाह गर्ने उमेर भको थियो यसो बुहारी खोज्ने छोराहरूलाई के छ हो केटा हो? दाम साम कत्तिको कमाको छौ? हेराओ है अब मैले गर्न सक्दिनँ टक्क बसेर खाने हो तीन जनाले मिलाई मिलाई पठाओ भन्ने टक्क बस्ने गर्या भए के हुन्थ्यो हतार भएको जानलाई।
बा एकदमै सरल हुनुहुन्थ्यो। कहिले झुट बोल्नु हुँदैनथियो सकेसम्म सबैलाई दिन मन पराउनुहुथ्यो। धर्ममा एकदमै ध्यान हुन्थ्यो। रिटायर्ड भएर आएसी आफ्नो इच्छा अनुसार आफैंले बनाको घर मर्मत गर्नु भएको थियो। डिजाइन आफ्नै थियो। ठेकेदार आफैं। इन्जिनियर आफैं। म यसरी गरूँम न भन्दानि नमान्ने। म नि आफ्नो इच्छा होला भने, दाजु भाइ कसैले केही भनेनौ बुवालाई आफूलाई लागेपछि कसैको सुन्नु हुन्थेन।
ट्वालेट बाथरूम छुट्टै बनाउने रहर थियो। भन्नु हुन्थ्यो नुहाउने ठाउँमा अरू काम गर्न हुन्न। आफ्नो इच्छा अनुसार घर बनाउनु भयो घर सँगै २ तले मन्दिर पनि बनाउनु भयो।
मन्दिर बनाउने नि बुवाको पहिले देखिको रहर थियो। कोही आएर ओ हो नि राम्रो बनाउनु भएछ नि भन्दा नि मक्ख पर्थे बुढा। अनुहारमा प्रष्ट देख्न सकिन्थ्यो त्यो खुसी सायद आत्म सन्तुष्टि हुन्थ्यो होला।
बुवाको रहर त थियो नै त्योबाहेक नि घर मर्मत गर्नुको कारण दुइटा थियो। एउटा माइलो छोराको विवाह हुने वाला थियो, माइली बुहारी भित्र्याउन अनि भतिजा भतिजी विदेश थिए।
तिनीहरूलाई बाहिर नुहाउन अलि अप्ठ्यारो भयो बाथरूम बनाउनु न भनेर नि बालाई जोश चले होला।
लगभग जिन्दगीका ४० वर्ष इन्डियामा गुजार्नु भएको बाले। जीवनमा दुःख नि बहुत पाए आफूसँगै कलकत्ता गएको साइलो भाइ १७/१८ वर्षको उमेरमा कलकत्तामा आफूसँगै हुँदा गाडी तल परेर बितेको कुराले होस् या आफू ५/७ वर्षको हुँदा नै बुवा गुमाउनु परेको अझै छोरो ७/८ वर्षको छोरा गुमाउनु पर्दाको पीडा। बाले दुख नजिकबाट देखेका थिए।
गाउँमा हामीलाई मुखिया भन्छन्, हजुर बुवा मुखिया भएको कारण तर जिन्दगीमा मुखियाको जस्तो जिन्दगी बाँच्न पाए जस्तो लाग्दैन बाले। ४ जना छोरा छोरी इन्डियाको जगिर ३-४०० तलब। खाने मुख धेरै कमाउने आफू।
पैसाको महत्त्व राम्रोसँग बुझ्नु भएको थियो सायद।
मैले जान्दा बुवालाई रिसाहा स्वभावको जस्तो लाग्थ्यो। उत्तिखेरै एकदमै खुसी हुने फेरि उत्तिखेरी कुरा मिलेन भने रिसाइहाल्ने कहिलेकाहीँ त हामी दाजु भाइहरू-ठूलो बुवा सानो बुवाको छोरा छोरी मिलेर हाम्रो घरमा खेल्थेउ रिसको बेला पर्यो भने सबलाई हाम्रो घर नआइज निम्ता दिएपछि मात्र आउनु भन्न्नु हुन्थ्यो। मलाई लाग्थ्यो के गर्या होला यस्तो। तर जब जिम्मेवारीले काँध थिच्दै जान थाल्छ त्यसपछि बिनाकारण न कोहीसँग बोल्न मन लाग्छ न अरू सामान्य कुरा नै रमाइलो लाग्छ।
बाको रिस अझ तास खेल्दा देख्न पाइन्थ्यो आफूले भने अनुसारको तास न आओस् अथवा आफूभन्दा माथिकोले नफालोस् बा आगो। तैंले किन त्यो तास नफालेको? भनेर बाभन्दा माथि बस्नेको हुर्मत हुन्थ्यो।
एक एक गरी स्मृतिका पानाहरू पल्टिरहे।
गाडी स्यान्थुम्का पुग्यो त्यहाँसम्म मात्र जाने रहेछ स्कोर्पियो त्योभन्दा माथि कान्छाको गाडी भन्नु भको रैछ। गाडी फेरियो जति घर नजिक गयो उति मन गह्रुंगो हुँदै गएको थियो। दिमागले केही काम गरेको थिएन।
गाडीबाट झरे नजिकै धारो थियो। चिसो पानीले मुख धोएँ। पाइला चाल्न सकेको थिइनँ। सायद ५० देखि १०० मिटर हिँड्नु पर्थ्यो। पहिलो चोटि आफ्नै घरको आँगन टेक्न मन लागको थिएन।
गाउँका सबै जना हुनुहुथ्यो, वरबाट नै आमा रोको सुनिन्थ्यो, आमाको रुवाइबाहेक आवाज केही थिएन। सबैतिर चकमन्न थियो। हावा सिरसिर चलेको थियो। मन गह्रुंगो हुँदै गएको थियो। सायद दिमागले केही काम गरेको थिएन। आमाले र दाइले बुवालाई काखमा राखेर रुनु भाथ्यो। म गैसकेपछि आमाले मलाई झम्टेर अंगालो मार्दै भन्नुभयो ‘हेर त तेरो बुवाले हामी सबैलाई छाडेर जानुभयो बाबु।’
म बोल्न सकेको थिइनँ। सबै जाने नै हो ढिलो चाँडो हो हेर्नु न बुवाको कस्तो राम्रो मरण हो मात्र भन्न सकें। आमा बित्दा आशीर्वाद दिने कोही हुँदैन आशीर्वाद आमासँग जान्छ रे बुवा बित्दा हौसला। मेरो हौसला अब कहिले नउठ्ने गरी सुतेको थियो मेरै अगाडि।
बालाई सेतो कोराले ढाकेको थियो। खुट्टातिरको कपडा हटाएँ ढोगें र भनें, स्वर्गमा बास होस् बा।
सबै जना बुवालाई अंगालेर रुनुभएको थियो। म सकेसम्म नरुने कोसिस गर्दै थिएँ। आमालाई झन् गाह्रो हुन्छ भनेर।
भाउजूसँग १ गिलास चिसो पानी मागें। पर बारीमा गएर रोएँ एक्लै। चिच्याउन मन थियो। आमाले सुन्नु होला भनेर चिच्याउन सकेको थिइनँ। राति दाइ, म, भाउजू, आमा सबैले बालाई कुरेर बस्यौं। म बुवाको खुट्टापट्टि टाउको राखेर सुतेको थिएँ। आज अन्तिम दिन थियो बासँगै सुत्ने।
आमा रुन छाड्नु भएको थिएन। बिहान ६ बजेको थियो पण्डित आउनु भो। गाउँका सबै दाजुभाइ जम्मा भएरर कोही बाँस काट्न कोही लास सजाउने तयारी गर्दै थिए।
रातभरि हामी कोही झिमिक्क सुत्या थिएनौं। कपाल खौरिन लाग्यौं दाजुभाइ। कपालमा ब्लेड परेर ब्लेडभरिको कपाल झर्दा जिन्दगीमा केही दिन सकिनँ होला अब अन्तिममा यही कपाल त होला? बा तिमीलाई दिने भन्ने लाग्थ्यो। बुवालाई अन्तिम संस्कारको लागि राम्दी लगिँदै थियो।
आमालाई देख्दा लाग्थ्यो मान्छे यतिसम्म नि रुन सक्ने रैछन्। मलाई लागेको थियो बुवालाई छिटो छिटो दागबत्ती दिन पाए त आमाको रुवाइ त रोकिन्थ्यो कि। राम्दि घाटमा लगियो आफन्त सबै आए। शलो तयार भयो बुवालाई शला माथि राखियो, आमाको चुरा फुटे सिन्दूर पखालियो, मुखमा जल चढाउन अराइह्यो अन्तिम श्रद्धाञ्जली दिइयो। मुखमा चामल राखियो, आमाको नाकको फुलि निकालियो र बुवाको मुखमा राखियो। दाजुभाइलाई बुवालाई दागबत्ती दिन हातमा दागबत्ती थमाइयो दाहिने बर्त घुमाइयो बुवालाई दागबत्ती दिइयो।
आमाको श्रृंगार सकियो। छोराहरूको काख आड भरोसा विश्वास सबै दागबत्तीसँगै सकियो। भनें बा तिमीलाई कति खुसी दिएँ दिइनँ थाहा छैन तर स्वर्गमा बास होस् बा। समय बित्दै गयो। घरमा बिहेको कुरा चल्यो।
बुवा बितेसी आमाको कर्तव्य बन्ने रैछ बिहे गर्दिने।
आमाले जहिले पिर मान्थिन् यस्को बुटी मात्र बाधी दिन पाएँ त भनेर।
म हरेक दिन तिम्लाई सम्झिन्थें। बा तिमी भैदेको भएनी त हुन्थ्यो नि केटी हेर्न जादो हौ। मेरो छोरा यस्तो छ उस्तो छ भनेर गफ लाउँदा हौ। मेरी बुहारी यस्ती हुनुपर्छ भन्दा हौ। घर गएर चुरोट सल्काएर चाउरी पर्न लागेका गालाका छाला तन्काउदै मुस्कुराउँदै आफ्नी बुढीलाई क्या गफ लाउँदा होला है बा। तिम्रो भाग्य नभको कि मेरो थाहा भएन बस मेरो मानसपटलमा जहिले खड्किने कुरा मात्र भयो।
दुलाहा तामाको अम्खरीमा जल लिएर आमाहरू, ठूल्बुवा, स्यानोबुवा बीचमा राखेर घुम्यो आमाले मुख छोपेर दही खुवाइन्। दुबोको माला दिदीले लगाइदिइन् सबै गाउँका दाजुभाइ आफन्त जन्ती जान तयार भए दुलाहा तयार भयो। भत्खौरेले दहीको ठेकी समाए र कसारको सगुन समाउँदै अघि बढे बा मैले बिहे गरें। सबै भए बस् तिमी भएनौ!