धेरै मान्छेहरू वैवाहिक सम्बन्धपछिको जीवनप्रति धेरै गुनासो गर्छन्। त्यो गुनासो महिलाहरूबाट खासै सुनिँदैन तर पुरूष मान्छेबाट कसैगरी पनि छुप्दैन।
कहीँ न कहीँ जति लुकाउन खोजे पनि कहाँ लुक्छ र मान्छेका पीडा! कसैले पिएको बेला ओकल्छन्, कसैले नपिएरै थाहा नपाउने गरी सुटुक्क।
आफूलाई बिहे गर्न सल्लाह दिने साथीहरू भन्छन् कृष्ण बिहेको लड्डु खाए पनि पछुतो नखाए पनि पछुतो जे भए पनि बिहे गर्नुपर्छ पछुताए पनि लड्डु खाएरै पछुताउने!
म चाहिँ यी दुवै कुराको अतिवादीताबाट जोगिएर सल्लाह दिन्छु ‘साथी बिहे जरूर गर्नु तर केटी चाहिँ यस्ती हेर्नु।’
उमेर पुगेका तर बिहे नगरेका धेरै साथी छन् मेरा। भेटमा चिया कफीसँगै हुने कुरा उनै हुन् 'अब बिहे कहिले?' भनेजस्तो केटी नै पाइँदैन।
अझ हाँसो उठ्दो कुरा त अहिले त कोही पनि सिंगल हुँदैन, कोही न कोही रिलेसनमा हुन्छ विश्वासै गर्न गाह्रो रे!
कति भन्छन् बिहे गरेर पनि पाइने त के हो र नगर्दा पनि समाजले के भन्ला भन्ने लाग्छ। नत्र त जिन्दगी एक्लै पनि बिन्दास चल्छ।
मनपर्ने जीवनसाथी नभेटिएपछि यसो भनेर पनि चित्त बुझाउँछन् कति साथीहरू।
पहिला बिहे गर्दा कूलको हेरेर बिहे गर्नुपर्छ है भन्थे घरकाले। अहिले त क्षत्रिनी भए पनि चल्छ भन्छन् रे एक जना साथीको कुरा।
अर्काे साथीको कुरा ‘एक ठाउँमा हेरेको, केटी मास्टर डिग्री गरेकी रे तर त्यत्तिकै घरमा बसेकी के गर्नु?’
यस्ता केही प्रतिनिधि गुनासाहरू हुन्।
कतै घरपरिवारबाट अत्यधिक दबाब त कतै भनेजस्तो केटी पाउन गाह्रो।
कतै वैवाहिक जीवनपछि आउने लड्डु खाएको नतिजाको डर।
म भन्छु- साथीहरू विवाह आफैंमा न केही सुख हो न दु:ख। वैवाहिक जीवन आफैंमा न पट्यारलाग्दो न वाहवाह!
विवाहले मान्छेको जीवनमा केही फरक ल्याउने होइन फरक ल्याउने त्यो सम्बन्धमा जोडिएको पात्रको भूमिकाले हो।
विवाहपछि कसैको जीवन कस्तो हुन्छ भन्ने कुरा उसको जीवनमा जोडिन आएको पात्र कस्तो छ, उसको भावना र चरित्र कस्तो छ, उसको जीवनप्रतिको दृष्टिकोण कस्तो छ, उसको सोच्ने शैली र जिउने शैली कस्तो छ त्यसमा भर पर्छ।
म भन्छु साथीहरू विवाह गर तर विवाह गर्दा केटीचाहिँ विचार गरेर हेर।
सुरूमा एउटा कुरा यसमा ढुक्क वन कि तिमीले सोचेजस्तो केटी कहिल्यै भेटाउँदैनौं। संसारमा मान्छेको यही कमजोरी छ कि हामी आफैं आफूले सोचेजस्तो मान्छे बन्न सकिरहेका हुँदैनौं हाम्रो मन नै कहिले कस्तो, कहिले कस्तो भइदिन्छ अनि भन्छौं अर्काे मान्छे ठ्याक्कै हामीले सोचेजस्तो होस्। त्यो सम्भव छैन जसरी हामी पनि अरूले सोचेजस्तो मान्छे बन्न सक्दैनौं, अरूको इच्छाले हामी परिवर्तन हुन सक्दैनौं त्यस्तै हाम्रो सोच अनुसारको अर्काे मान्छे पनि हुँदैन। केही समय हाम्रा विचार मिल्न सक्छन् भोगाइ र अनुभव समान भएपछि विचार मिल्नु स्वाभाविक हो तर परिस्थिति बदलिएपछि मान्छेको भोगाइ र अनुभव बदलिन्छ अनि मान्छे उही बन्न सक्दैन। हाम्रा आफ्नै सोच पनि सधैं उस्तै कहाँ हुन्छन् र?
जीवनसाथी हेर्दा ठ्याक्कै आफ्नै सोच विचारकै नखोज्नु फरक विचार छ भने पनि स्वीकार्नु तर त्यसले जीवनलाई जटिल बनाउनुहुँदैन। कसैलाई ठ्याक्कै आफ्नै सोचअनुसार ढाल्न खोज्नु आफ्नै इच्छाअनुसारको ढाँचामा लैजान खोज्नु राम्रो होइन।
पृथकतालाई स्वीकार्न र त्यसमा रमाउन सकियो भने राम्रो हो। तर ज्यादै प्रतिकूल विचार छ भनेर सधैं त्यही विचारसँग सम्झौता गरेर बसिरहनुपर्छ भने सधैं त्यसलाई स्वीकारिरहनु पर्छ भन्ने होइन। स-साना मतभेदमा इगो राखेर बस्नु ठीक होइन।
कतिपय उसको विचार अनुसार चल्दा राम्रो हुने देखिन्न भने राम्रो हुने आफ्नो विचारले उसलाई बाँध्न सक्ने हुनुपर्छ। उसको विचार पनि स्वीकार्न नसक्ने र आफ्ना विचारले पनि उसलाई मनाउन नसक्ने हो भने वैवाहिक जीवन बेकार छ।
अर्काे कुरा अहिलेका समय प्रत्येक मान्छे असीमित भोक र महत्वकांक्षा बोकेर बाँचेको छ। आवश्यकताभन्दा ज्यादा विलासिताले पिरोलेको छ। तिमीले बिहे गर्दा त्यो केटी मान्छेका रूचि चाहनाबारे पहिलै स्पष्ट बन।
उसलाई आफ्नो व्यक्तिगत खर्च धान्न महिनाको औसत कति खर्च लाग्छ निर्धक्क सोध। घुम्ने फिर्ने, उत्सवहरू मनाउने तरिका सबै हेर। अरूको अघि आफूलाई कति देखाउन चाहन्छे त्यो बुझ।
केटीको रूप यस्तो हेर म भन्दिनँ तर ज्यादै राम्रो रूप देखेर मात्र त्यसबाट प्रभावित नबन। रूपको सुन्दरता र हृदयको पवित्रता यी दुवै कुरा एउटै मान्छेमा पाउनु बडो दुर्लभ छ।
नजिक हुँदा ऊसँगको सामिप्यतामा केहीबेर रहँदा र उसका भावना विचार अनि कुनै व्यवहारले तिमीलाई छुन्छ र मनले उसलाई अँगाल्न खोज्छ भने धेरै सुन्दरता केही नखोज।
उसको नजिक रहँदा तिमीलाई जीवनको नजिक भएजस्तो आभाष गराउँछ भने उसलाई अरू कुनै बहानामा बेवास्ता नगर मज्जाले उसलाई प्रेम गर, अंगाल। हात देऊ, हात समाऊ। अनुहारमा सुन्दरतामात्र छ कि आत्मविश्वासको आभा पनि छ तिमीले आफ्नो जीवनसाथी छनोट गर्दा यस कुरामा पनि ध्यान देऊ।
फेरि अनुहारमा आत्मविश्वास सुन्दरताको अहंकारले भरिएको छ कि क्षमताले त्यो पनि हेर। सुन्दरताको अहंकारले भरिएको आत्मविश्वासमा मुस्कान बडो मुस्किलले आउँछ त्यो बनावटी हुन्छ।
तिमीले मन पराएको वा अपनाउन खोजेको केटीलाई मज्जाले सोध तिमीलाई मासिक कति पकेट खर्च भए काम चल्छ?
तिमीलाई मन पराउने मान्छेलाई निर्धक्क सोध बिहेपछि तिमी पनि मजस्तै जागिर गर्न मन पराउछ्यौ कि घरमै बस्न?
यो पंक्तिकारले कति केही मान्छे यस्ता पनि भेटेको छ दु:ख त जति सहनु व्यहोर्नु बिहे अघि नै हो बिहेपछि पनि कहाँ दु:ख गर्नु मज्जाले बसेर खाने हो।
यस्ता केटी मान्छेलाई सकभर जीवन साथी नबनाएकै बेस। सुख-दु:ख सँगैसँगै बाँडौंला नि। जिम्मेवारी अलिअलि त म पनि केही गर्नु भन्ने केटी मान्छे भए मज्जाले स्वीकार्नु। अहिलेको समय घरमा एउटाले काम गर्ने, अर्काेले खर्च गर्न चाहनेमात्र भयो भने सन्तुलन मिल्दैन।
तिम्रो रुचि चाहना सबै भन उसलाई। तिम्रो रुचिलाई उसले सम्मान गर्न सक्छ भने जिन्दगी ठीक चल्छ नत्र तिम्रो मनले गर्न चाहेका हरेक कुरामा उही बाधक बन्न सक्छ। जस्तो कि म भन्छु मलाई बिदाको समय आयो कि झोला बोकेर घुम्न हिँडिहाल्न मन लाग्छ, यात्रा मेरो रुचि हो। म भन्छु मेरो जीवन साथीको रूपमा आउने मान्छे कि मसँगै झोला बोकेर घुम्न हिँड्ने होस् कि आफू जाँदैन भने मेरो लागि झोला र सातुसामल तयार पारिदिने होस्।
पारिवारिक सम्बन्धमा घरकी नारी मान्छे सबैभन्दा जिम्मेवार हुन्छिन्। मैले कुनै पनि घरपरिवार असाध्यै खुसी र दु:खी किन छ भन्ने प्रश्नको उत्तरमा त्यो घरमा बस्ने नारी पात्रको भूमिका पाउँछु। केटी हेर्दा तपाईंको परिवारमा समायोजन हुन सक्ने खालको पनि हेर्नुपर्छ।
जीवन साथी भनेको जीवनभरिको साथ र सहयात्राको लागि हो। दु:खमा असाध्यै आत्तिने र सुखमा मात्तिने केटी मान्छेबाट खुसी मिल्दैन। जस्तासुकै परिस्थितिमा पनि नहडबडाउने आफ्ना संवेगलाई नियन्त्रण गर्न सक्ने केटी हेर्नुपर्छ। प्राय:जसो केटी मान्छेमा संवेगलाई नियन्त्रण गर्ने क्षमता हुँदैन।
केटी मान्छे यस्ती हेर्नु कि जसले आफ्नो माइतीको सम्पत्तिमा कहिल्यै घमण्ड नगरोस् र केटाको सम्पत्ति कति छ नसोधोस्। बरू दुई जना मिलेर कति कमाउन सकिन्छ त्यसमा गर्व गर्न सकोस्।
यस्तो केटी मान्छेलाई जीवनसाथी बनाऊ कि उसले कहिल्यै तपाईंको उपलब्धि आफूले बाँचेको जीवनलाई अरूको जीवनसँग तुलना नगरोस्। केही हुँदा पनि र केही नहुँदा पनि कोही हुँदा पनि र कोही नहुँदा पनि ऊ तपाईंसँग रहिरहोस्।