मेरा बुवाका बाजे बराजुहरू पहिले व्यापार वा कुल्लीका काम गर्दै भोट देशसम्म पुग्थे। मावली हजुरबुवा लाहुरे जागिर खाँदै भारत र बर्माका विभिन्न कुना काप्चा पुगे। मेरा बुवा काभ्रेबाट श्रम बेच्न काठमाडौं, हेटौंडा, चितवन, भैरहवाजस्ता विभिन्न सहर छिरे। मेरी आमाको पनि पनौतीदेखि भैरहवा आएर सुगर मिलमा काम गरिरहेको बेलामा बुवासँग भेट भएको थियो। आज हाम्रो घर काठमाडौंमा छ। म आएँ अस्ट्रेलिया। भाँडा माझ्न।
बुवाको पुर्खाकै कुरा गर्ने हो भने भोट बर्मेली भाषी नेवार, चीनको 'ह्वाङ्ग हो' वा 'याङ्गजी' नदी तटबाट बसाइसराइ गर्दै आएका किरात महाजातिबाट छुट्टिएर नयाँ नेवार सभ्यता बनाएर भक्तपुरमा बस्न आएको हुनुपर्छ। र मेरी खस आमाका पुर्खा युरोपको ककेसस हिमालको फेदबाट हजारौं वर्षको बसाइसराइपछि पृथ्वीनारायण शाहसँगै नेपाल जितेर पनौतीमा जग्गा जागिर कमाएर बसेको हुनुपर्छ। हुन त मानव जातिमा पर्ने अधिकांश जातका मानिस पहिले एउटै उद्गमस्थल अफ्रिकादेखि आएका हुन्।
म स्वयम् विदेश पुग्छु भन्ने मैले कहिल्यै सोचेका थिएन। हाम्रो आफन्तजनहरूमा भने हरेक परिवारका कोही न कोही विदेश पुगेकै थिए। पहिला त सानाबा इराकमा छन् भनि सुनेको थिएँ। अनि सानीआमा इजरायल जानु भयो। भैरहवा घर भएको ठूलाबा भारतमा कतै थिए। काकाको छोरो मलेसिया पुग्नु भयो र भिनाजु दुबई।
ठूलीआमा पट्टिको जेठा दाइ अस्ट्रेलिया पुग्ने पहिलो आफन्त भए। १० वर्षपछि ठूला बा पट्टिको कान्छा दाइ, मेरो छिमेकी साथी र आमाकी साथीकी छोरी झन्डै एकचोटि अस्ट्रेलिया पुगे। हामीलाई खान, बस्नको ठूलो संकट त थिएन। तर सबै बाहिरिँदा आफ्नो एक्लो छोरोलाई बाहिर पठाउन सकिनँ भन्दै मेरी आमा खुब चिन्ता लिन थालिन्। म नेपालमा आवारा बनेर हिँडिरहेथें। लौ न त एकचोटि आमाको चित्त बुझाइदिऊँ भनेर मैले पनि भिसा अप्लाइ गरें। फ्याट्ट आइ पनि हाल्यो।
सबले विदेश गाह्रो छ भन्थे। म्यान पावरले फसाएर दास बनेर खाडी मुलुक छिर्न पर्ने नेपालीको व्यथा एक ठाउँमा छ। तर हाम्रा आफन्त र छरछिमेकले नेपालमा जति हाड खियाए, विदेशिएपछि कसैले नि त्यति सम्मको दुःख भोग्नु परेको छैन। आज पनि मेरी आमा दिनको १० घण्टा काम गर्छिन्। ठूला बुवाको अझै १२ घण्टा फ्याक्ट्रीमै बास हुन्छ। ठूलीआमा दिन रात खाना नास्ता बेच्ने होटल चलाउनु हुन्छ। झनै पहिले आफन्तहरूले आधा पेटमा के कस्तो काम गर्थे भन्ने चर्चा गर्ने हो भने अर्को दिन बित्छ।
आज अन्तर्राष्ट्रिय जगतमा हामीले भोगेको 'दुःख' त कहाँ बिलाई जान्छ कहाँ। त्यसैले विदेशिएपछि हामी सबैको जीवनमा मैले त सुखमात्र देखेको छु। त्यही घरको याद, एक्लोपन भन्ने हल्का चिन्ता हुन्छ। तर इन्टरनेट प्रविधि आएदेखि त्यो पनि हल्का कम भएको छ।
बुवाको समयमा ६ महिने बाली काटी पेट भर्न १०-१२ वर्षको उमेरमा इलम खोज्दै तराई झर्नु परेको थियो।
आज मेरो समयमा सम्पत्ति जोड्न महिनाको लाखौं रुपैयाँ पठाउने गर्छु। त्यसैले मलाई त युवा विदेशिएर देशलाई सङ्कट पर्न गयो भन्ने भाष्य एकदमै वाहियात लाग्न थालेको छ। कुनै जीवन पद्दतिले जनसङ्ख्याको ठूलो हिस्साको मानिसलाई इज्जतको जीवन जिउने अवसर दिन्छ भने, त्यसलाई सङ्कट भन्ने कि समाधान?
२०२० को कुल ग्राहस्थ उत्पादनको २३.२% आम्दानी रेमिटले धानेको थियो। सामान्य अनुमानतः यो प्रवृत्ति आउँदो दिनहरूमा बढ्ने छ भन्ने लाग्छ। त्यसैले यो समयमा नेपाली न्यूनतम ज्यालामा काम गर्न नेपाल फर्क भन्ने विज्ञापन दिने राजनीतिक पार्टीको मति देख्दा टिठ लागेर आउँछ। कुनै पत्रिकाको रोजगारी अवसरको पृष्ठमा आफ्नो पार्टीको फोटो टाँसेर के जात्रा गरेका हुन्!
यो रोजगारी सिर्जना भन्ने नारा नै खराब हो खासमा। उत्पादनको वृद्धि र राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच भए पो रोजगारी हुन्छ। रोजगारीको निमित्त रोजगारी भन्ने नारा दिएर के गर्ने? नेपालको तत्कालीन समस्या त भएकै उत्पादन आफ्नै देशको बजारसम्म पनि नपुग्नु हैन र? राज्यले अन्तर्राष्ट्रिय व्यापारीहरूको दलाली नगरेर आफ्नो देशको उत्पादन आफ्नै देशभरिको बजारसम्म पुर्याओस् त, कसो रोजगार सिर्जना नहोला।
अनि बजारसम्म पुगेको सामान किन्न बजार पनि त तगडा हुनु पर्यो। देशको श्रमिक तथा किसानहरूको उचित पारिश्रमिक ग्यारेन्टी गर्ने मूल्य भाव तिर्न सक्ने हुनुपर्यो। अनि पो अझै उत्पादनलाई प्रोत्साहन मिल्छ र अझ रोजगारी सिर्जना हुन्छ। यो सबैमा २३.२% आम्दानी सुनिश्चित गरिरहेको रेमिटेन्सको पनि त्यति नै ठूलो भूमिका बन्न जान्छ।
त्यसैले अहिले रोजगारीको लागि विदेशिएकाहरूलाई हतोत्साहित नगरौं। बरू अन्तर्राष्ट्रिय श्रमिकहरूको हकअधिकार सुनिश्चित गर्न राज्यको भूमिकालाई प्रश्न गरौँ। विदेशमा विभिन्न कुनामा छरिएका नेपालीहरू आफैं सशक्त ढङ्गले सङ्गठित हुन सक्दैनन्। प्रत्येक देशसँगको नेपाल सरकारले गरेको सौदा-सम्झौता बमोजिम नै ती देशहरूमा नेपाली श्रमिकहरूले हकअधिकार पाउने हुन्। ती हकअधिकार र श्रमको मूल्य यसै पनि अरू देशवासीहरूले पाउनेभन्दा नेपालजस्ता तेस्रो विश्वको श्रमिकले कम पाउँछन्। त्यसमा पनि ती हकअधिकार उल्लंघन भएमा गुहार गर्ने संयन्त्रको पहुँच पनि एकदमै निम्न स्तरको छ। यही निम्न पहुँचमा सुधार ल्याउन यहाँ छिटोभन्दा छिटो प्रवासी नेपालीहरूको चुनावमा भोट दिन मिल्ने व्यवस्था बनाउन जरूरी हुन्छ। अन्तर्राष्ट्रिय श्रमिकको जमातमा एउटा तगडा भोट बैंकले आकार लिएपछि राजनीतिक पार्टीहरूले नै धेरै हदसम्म यस्तो पहुँच सुनिश्चित गर्न मद्दत गर्ने छन्।
राष्ट्रको पहुँच महसुस गरेपछि मात्र यी अन्तर्राष्ट्रिय नेपालीहरूले फेरि फर्केर नेपाल नै आउने र नेपालमै केही गर्ने सपना बुन्छन्। त्यसको लागि खर्चभन्दा पनि बचत गर्ने अभिप्रायले रेमिटेन्स गर्न थाल्छन्। अनि बचतले राष्ट्रिय ढुकुटी बढ्छ जसले उत्पादनको लागि पुँजी सुनिश्चित गर्छ। अनि बल्ल भावी नेपाली सन्ततिहरूले नेपाल मै रोजगारी पाउने छन्।
म पनि पहिले अरूलाई बहिर नजाऊ देशमा केही गर्नुपर्छ भन्थें। अहिले पनि देशमा केही गर्नुपर्छ नै भन्छु। तर बाहिर नजाऊ भन्न सक्दिनँ। आजको अन्तर्राष्ट्रिय अर्थतन्त्रको विधान नै यस्तै छ।