प्यारी बहिनी आरति,
अपार माया रमझम, सम्झना एक साथ हुरीझैं आउँछ। अनि निमोठिन्छ मेरो मन तेरो यादले। मैले यतिभन्दा र सोच्दा नमिठो गरेर तैंले आफ्नो मनलाई बोझिलो र आँखा ओसिलो नपार्नु। मैले नसम्झिएको सोच्दी होस् है! हैन तँलाई मैले कैले नै बिर्सिएको छु र? बिर्सिन पनि सक्दिनँ। साँचो भन्दा तँलाई कसैले पनि बिर्सेको छैन।
मेदीका फाटहरू, सालथुम्के खरबारी, छत्तिसेको स्कुल तँलाई सम्झिरहन्छन्। बिहानको झुल्के घामदेखि रातैभरी तिम्रै सम्झनामा बस्छन्। त्यो जल्केनीको रहमा नाङ्गै पौडी खेल्दाको याद आउँछ होला है!
मान्छेले एकटकले हेर्दा पानीभित्रै दुई घन्टा बसेको पनि याद छ नि?
घाँसका डोकासँगै तँलाई बगाएको भुलिस् र? पक्कै छैनेस् नि! स्कुल जाँदा बाटोमा खेल्दै जाँदा परीक्षा नै छुटेको पनि याद छ मलाई।
सबैभन्दा दु:ख त त्यतिबेला लागेको थियो! मलाई हेर्न भनेर त्यति टाढाबाट आएको केटाले मेरै अगाडि दिदीभन्दा बहिनी मन पर्यो भन्दा। किशोर अवस्थाको मेरो मन वर्षौंसम्म यो कुराले हिट गर्यो। त्यो परिवेशले वर्षौंसम्म निमोठिरह्यो।
तँभन्दा पन्ध्र मिनेट अगाडि यो संसार देखेकी मैले, जहिले पनि शक्ति र सत्ता मेरै हातमा छ भन्ठानें तँ अलि अग्ली, गोरी र सर्लक्क परेको शरीरकै कारण कति सम्म हुन्थ्यो! जो कोही प्रशंसा गर्थे तेरो। कोही मेरा साथी भेट हुन्थे त भन्थे, ‘बैनी मिलाइदेऊ न!’
सोच्दा कस्तो कस्तो हुन्छ। तर म भित्रभित्रै डाहाले आफूलाई पोलिरहेको हुन्थ्यो भत्भती। विस्तारै समय बदलियो। मेरो सोच बदलियो। चिन्तन बदलियो। के भन्नु आफू अलिकति परिपक्व भइयो।
आज शब्दहरू बोझिलो भएर नि कलम आफैं सर्दैछ। मैले तेरो हर कदममा बताससँगै चन्चल भएर रमाएका बादलको झै रफ्तार देखेको दिन म विश्वलाई चुनौती दिनेछु। संसारको सबैभन्दा भाग्यमानी म हुँ। भन्ने छु केवल ममात्र भाग्यमानी। कहिलेकाहीँ पुरानो समय सम्झन्छु।
अल्लि रिसाहा थिएँ। बहिनीलाई खुब पिट्थें। पिटाइ खाएकी छेस् तैंले मेरो हातबाट। कति दिन नबोले झैं पनि गरिस्। म उस्तै चण्डी थिएँ। रिसाहा चण्डी जस्ती। कसैलाई बाल नदिने काल भैरवी जस्ती। म सोच्छु। लाग्छ त्यो व्यक्तिसँग रिसाइन्छ जसलाई अथाहा प्रेम गरिन्छ।
मैले तेरो ओठमा पिँजडाबाट आजाद पंक्षीको झैं आजाद हाँसो देखेको दिन यो संसारलाई चिच्याएर सुनाउँछु। मेरो बहिनीको माया। मेरो सफलताको खुड्किलो अलि टाढा टाढा छ जति चोटी चढ्न खोजें। किन हो मलाई त्यो भन्दा धेरै पटक आशाले लोप्पा खुवाएको छ।
विस्तारै बोल्नु मेरो हैसियतभन्दा सानो कुरा हो जस्तो लाग्थ्यो। तर हिजोआज आएर लाग्छ दिदी बहिनी आमा पछिका आमा हुन् जस्तो लाग्छ। जति नै पिटे पनि म बिरामी हुँदा रात रात जागाराम बसेर पानी पट्टि लगाएको अझै सम्झना उस्तै छ बहिनी। तैंले मलाई निकै माया गर्थिस्।
यो साँघुरो काठमाडौंको रहनसहनमा भिजें पनि तेरो दिदीले किन्चित पनि मन साँघुराएकी छैन। सबै भावना धुवाँले उडाउने बानी परेता पनि मनमा आसिन तेरो मायालाई अलिकति पनि छुन दिएको छैन। बाँच्नको लागि साहस चाहिन्छ। सासको के भरोसा र? समय र संसारलाई साक्षी राखेर भन्छु। संसारमा त्यस्तो कुनै चिज छैन जो सधैं अमर रहिरहोस्। माया त्यस्तै होला सायद। अनि क्रमैसँग समयको चक्रसँगै अस्तित्व ननासियोस्। यो माया, पिरती याद, सम्झना, लोभ, ईर्ष्या, रोदन, हाँसो, आँसु, सम्झना, क्षणभरको लागि मात्र नहोस्। अनि हाम्रो दिमाख शून्यमा नहराई समयको क्षितिजमा शिखर बनेर ठिङ्ग उभिन्छ।
गइ त हाल्यौ परदेश, शून्य बनाएर घर देश। बाले दिएका आशीर्वादका पोकाहरू सुटुक्क झोलाको पिँधमा राखेर हजुरामाले दही खुवाउँदै, ‘बाबू झट्टै फर्केस है’ भनेको बिर्सिस् र? त्यो सबै चटक्कै छोडेर हुरूरू उडेर घरको आगँनमा टेकौं लाग्दो हो नि हैन र?
हामि गर्भमा हुँदैदेखि लागेको ऋणको बोझ किन हजार-हजार हजारौं पटक तिरेर पनि सकिन्न होला? आमा यही प्रश्न सोधी रहन्छिन् हाम्रा निम्ति सपना देखेका तिनी बा-आमा तिम्रा आँखालाई हेर्न समयको आँखामा जलप लगाउँदै होलान् तिमी पनि अर्को साल घर फर्क किनकि तैंले पठाएको रेमिट्यान्सबाट यो देश बाँचिरहेको छ।
विभिन्न समय परिवेश र काल खण्डको परिवर्तनसँगै जिन्दगी त नेटो काटिसकेछ। अर्को साल बुवा आमाहरू आँगन पोलेर बाजा बजाउने शुरमा हुनुहुन्छ। यसपालि रंगहरू फिक्का हुनेछन्, रंगहरू उदासी हुनेछन्। यसो सोच्नु पनि मेरो भ्रम हुनेछ। यसपालि पनि सयपत्री, मखमलीले फुल्न कहाँ छाडेका छन् र? फूलमा पनि म तेरै अनुहार र रूप देख्छु। उस्तै जीवन्त सौन्दर्य छरिरहेछन्। उस्तै उत्कृष्टताका साथ मुस्कुराइरहन्छन् मलाई हेर्दै। स्वागत गरिरहेछन् फूलहरूको पर्वलाई। प्यारी बहिनी तिमी बिहानी घामसँगै उदाउनु फूल हेरेर मुस्कुराउनु, उदास र निराश कहिल्यै नहुनु। उदास हुन तिमी जन्मेको पनि हैन,निराश बनाउन खोजेकी पनि छैन।
आजभन्दा चौबीस वर्ष अगाडि हामी दुई छोरीको उपस्थितिलाई अर्थहीन सोचेर उपेक्षा गर्नेहरू हाम्रो आगमनमा अधर्य भएर पर्खिऊन्। हो आज देखि नसहनेहरूले भोलि सर्वत्र देखिरहून्। परिस्थितिले बन्धक बनाएर के भयो त? हेर त आज हाम्रो जन्मदिन! यो वर्ष यस्तै भयो। अर्को ह्याप्पी बर्थडेमा मिले र परदेशीले छुट्टि पाए धुमधामले मनाउँला। तिम्रो दीर्घायुको निम्ति भगवान पशुपतिनाथसँग प्रार्थना गरिरहनेछु। एन्ड ह्याप्पी बर्थडे टू मी। तिमी खुसी लिएर फर्किनु हाम्रो त्यो सानो छानो चुहिने कुटीमा।
तँलाई गाली गर्ने दिदी पूजा