मानिसको जीवनमा सबैको आ–आफ्नो भोगाइ हुन्छ, अनुभव हुन्छ। कसैको बाल्यकालमा यादबिना बिताएका पलहरू हुन्छन्।
कतिले युवास्थामा हुर्कंदै सँगालेका सम्झनाहरू हुन्छन्। कतिपयले युवादेखि बुढ्यौलीपनमा खेप्नुपरेका सुखदायी र पीडादायी क्षणका स्मरणहरू हुन्छन्। कतिपय भोगाइ सुखद् हुन्छन् भने कतिपय दुखद्। यी दुवैको सम्मिश्रणयुक्त भोगाइ नै सायद जीवन हो। अनुभव भनेको त यिनै दु:खसुखबाट सिकिने पाठहरू नै हुन्।
आजकालका बालबालिकाको रचनात्मक गतिविधिहरू देख्दा मेरो पनि मानसपटल एकाएक ती बालापनका सम्झनाहरूले भरिए। रमाइलो मात्रै गर्न मन पराउने उमेरमा किताब र कापीका थानहरूले सम्झँदा सम्झँदै केही यादहरू थिचिएको थियो बालापन। किताबका आकार साना भए पनि किताब भित्रका विषय सूचीको लाम लामो हुन्थ्यो। घोक्नुपर्ने, बुझ्नुपर्ने र लेख्नुपर्ने कार्यको चाङ पनि ठूलै हुन्थ्यो। यसरी बालापन सम्झिएर यादहरू कोर्ने ऊर्जा मलाई सामाजिक सञ्जालमा हेरेको एउटा भिडियोओले दियो।
सानै उमेरमा विभिन्न प्रविधि र क्रियाकलापयुक्त अभ्यास र सिकाइले भरिएको शिक्षा अवस्था भिडिओमा उल्लेख थियो।
समय अनुसार प्रविधिको विकाससँगै भएका उपलब्धिले नै यो सम्भव भएको हो। भिडिओ हेरेपछि मैले पनि मेरो बालापन सम्झिएँ र बितेका पलहरूको बारेमा केही कोर्ने जमर्को गरें।
मेरो पुर्ख्यौली घर काभ्रेको दूरदराजमा पर्ने भुम्लु गाउँमा पर्छ, जहाँ म जन्मिएँ। मेरा केही बालसखाहरू थिए जोसँगै मेरो बाल्यकाल बित्यो, बिताएँ।
आजभन्दा तीन दशक अगाडिको समय पढ्नुपर्छ, पढाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको अवस्था थियो। हरेक अभिभावकमा आफ्नो सन्तानले शिक्षामा प्रगति गरेको हेर्ने र सुन्ने हुटहुटी हुन्थ्यो। दश नङ्ग्रा खियाएर गाउँका खेतबारीमा गरेका दुःखहरूको मैझारो गर्न पनि हरेक अभिभावकले पनि आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास गरेका थिए।
सोही अनुसार म पनि पढ्नको लागि विद्यालयमा भर्ना भएँ। गाउँमा विद्यालय त थियो। तर, विद्यालय बन्नको लागि आवश्यक पूर्वाधारहरू पूर्ण थिएनन्। भौतिक संरचना राम्रो थिएन। वर्षा हुँदा कक्षा कोठामा पानी चुहिन्थे। विद्यालयमा डेस्क र बेन्च हुँदैन थियो। कालोपाटीमा चकले लेखेर पढाउने चलन थियो। तिनै चकको धुलोको असरका कारण कतिपय शिक्षक र विद्यार्थीहरू त दीर्घरोगको सिकार हुन परेको थियो।
कोखामा किताब कापी च्यापेर विद्यालय आवतजावत गर्नुपर्थ्यो। अहिलेजस्तो सहजै पुस्तक राख्नको लागि विभिन्न ब्रान्डका झोला बोक्न पाउने अवस्था थिएन। झोला बोक्नै मन लागेमा खेतबारीमा हाल्नको लागि ल्याइएको मलको बोरा धोएर सिलाउने गरिन्थ्यो। यसैलाई हामीले झोला भन्ने गरेका थियौं।
हातमा बोक्नुपर्ने किताब तिनै मलको बोराबाट बनेको झोलामा हालेर छड्के भिर्न पाउँदा मन चंगा हुन्थ्यो।
हिजोको समय त्यस्तै थियो। मलकै झोलामा किताब बोकेर विद्यालय जाने सयौं विद्यार्थीले अहिले पिएचडी गरेका छन्। विभिन्न विश्वविद्यालयका डिग्री हासिल गरेका छन्। अभावै अभावका बीच पढाइ हुन्थ्यो। पढ्नको लागि लगाव मुख्य कुरा रहेछ अभाव गौण हो भन्ने परिभाषा पनि बन्न थालेको थियो।
म सम्झन्छु, हामीले हिजोको दिनमा पढेको समय र आजको समय। यो मेरो अझै भनौं मसँगै विद्यालय जाने बाल्यकालका बालसखाहरूको साझा भोगाइ र अनुभव हो।
विद्यालयको प्रांगण टेक्न अहिले जस्तो विद्यार्थीहरूलाई पोशाक अनिवार्य गरेको थिएन। नेपालभरका सरकारी विद्यालयको एउटै विद्यालय पोशाक थियो। खरिद गर्न सक्नेले आकाशे रङको सर्ट र नीलो पाइन्ट लगाएर आउने गर्थे। विद्यालयमा पोशाक लगाउनेभन्दा नलगाउनेको संख्या धेरै हुन्थ्यो।
जोडबलले दशैं तिहारमा बाहेक जुत्ताको परिकल्पना गर्नसक्ने अवस्था हुँदैन थियो।
चप्पल लगाएरै विद्यालय आउजाउ गर्ने गरिन्थ्यो। त्यो स्मरण मस्तिष्कमा ताजै छ। गाउँको बाटो उकाली ओराली बल्ल बल्ल किनेर ल्याएको चप्पल धेरै समय खप्दैन थियो। अहिलेजस्तो चप्पल छिनिएपछि अर्को फेरिहाल्न त्यो समय असम्भव थियो। छिनेको चप्पल कयौं पटक टुकी बत्तीको सहाराले जोडिन्थ्यो।
एकपटक चप्पल लगाएपछि पातलिएर कुर्कुच्चाले भुइँ नभेटेसम्म अर्को जोर चप्पलको आशा पटक्कै हुँदैन थियो।
विद्यालयबाट छुट्टी भएर घर फर्किएपछि गृहकार्य गर्ने फुर्सद सायदले पाउने थिए। गाउँले जीवन गुजारा गर्न कृषि र वस्तुभाउ पाल्ने प्रायः सबै घरमा अनिवार्य नै थियो। पानीको मुहान टाढा हुन्थ्यो, अहिले जस्तो हरेक घरमा धाराहरूको व्यवस्था थिएन। गाउँकै एउटा मुहान हुँदा पानीको पालो आउन समय लाग्थ्यो। बोकेर घरसम्म पुर्याउनुपर्ने चुनौती त छँदै थियो। गाईवस्तुदेखि सबैको लागि पानी बोकेरै पुर्याउन पर्थ्यो। विद्यालयबाट आएपछि घाँस काट्ने र ल्याउने, वस्तुभाउ चराउन लैजाने, खाना पकाउने लगायतका काममध्ये केही न केही दिनचर्या नै बन्थ्यो। बिहान उठेदेखि कामै कामले थाकिएको अवस्थामा राति अबेरसम्म बसेर पढ्ने जाँगर चल्दैन थियो। थकानबीच कैंयन् रातहरू किताबहरू पढ्दै निदाएको इतिहास ज्यूँदो छ।
हामी विद्यालय जाने समयमा विद्युतको सुविधा थिएन। गाउँमा बिजुली बत्ती पुगेको धेरै समय भएको छैन। स्विच थिच्दा बत्ती बल्छ रे भन्ने सुन्दा अचम्म लाग्थ्यो। बिजुली भनेको कस्तो हुन्छ होला जान्न पाउने हुटहुटी खुब लागको थियो। सिसाको बोतलमा मट्टितेल हालेर पटुकीको झुम्रो चोबेर टुकी बत्ती बाल्ने जमानामा विद्युतीय बल्बको कुरा सुन्दा जोकोहीलाई अचम्म लाग्ने नै भयो।
धेरै रातहरू स्विच दबाएर बल्ने विद्युतीय बल्बको मुनि बसेर पढ्ने कल्पनामै बित्ने गरेका थिए। टुकी बत्तीकै सहारामा जोडतोडले केही समय भए पनि किताब हेर्ने गरिन्थ्यो। टुकी बत्तीबाट निस्केको कालो धुवाँले बिहान उठ्दा नाकको प्वालहरू टालिएका हुन्थे। मुख धुँदा नाकबाट धुवाँको काला ढिकाहरू निकालेको हिजो झैं लाग्छ। समयले कति धेरै परिवर्तन ल्याइसकेछ भन्दै ती अभावमा बिताएको विगत झल्किन्छ।
थकानले निदाएपछि गर्न छुटेका गृहकार्यहरू त्यसै बाँकी हुन्थे। गृहकार्यबिना विद्यालय जाँदा त्यतिबेलाको सजाय भनेको कुटाइको विकल्प थिएन। त्यतिबेला पिटेपछि मात्रै यो सुध्रिन्छ र हरेक गल्तीको समाधान भनेको पिटाइ नै हो भन्ने भाष्य निर्माण भएको थियो।
मेरो कलिलो दिमागमा विद्यालय भनेको कुटाइ खाने थलो हो भन्ने नकारात्मक प्रभाव परेको थियो। कालोपाटीमा चकको धुलो मेटाउन प्रयोग हुने डस्टर शिक्षकको हतियारको रूपमा विद्यार्थीहरूका टाउकाहरूमा बर्सिन्थ्यो।कतिपय विद्यार्थीको टाउकोमा अझै पनि डस्टर भेटेपछि उठेका टुटुल्को र तिनका डोबहरू होलान्। कलिलो गालामा शिक्षकको खाँदिएका हातहरूले हानेको थप्पड, मसिनो लौरीले हिर्काएपछि बसेका डाम र चोटहरू र औंलाको कापमा कलम राखेर थिचेर दिइने विपनाका सजायहरू कहिलेकाहीँ तर्कनाको रूपमा सपनाले पनि सम्झाउने गरेको छ।
आज हामी जुन अवस्थामा छौं त्यो देन गुरूहरूको नै हो। मेरा माथि उल्लेखित भोगाइले अन्यथा अर्थ लाग्दैन र लाग्न गएमा यहीँबाट माफी चाहन्छु। अहिलेको अवस्था परिवेश बुझ्दा लाग्छ वास्तवमा विद्यार्थीलाई सजायबापत दिइने भौतिक र मानसिक यातना गलत हो भन्ने धेरै प्रमाणहरू छन्।
कतिपय विद्यार्थीहरूले शिक्षकको कुटपिटको कारण नै स्कुल छोड्ने गरेका छन्। समग्र शिक्षकहरू माझ मेरो विनम्र अनुरोध छ। भौतिक र मानसिक यातना समस्याको समाधान होइन। यहीँ कारण धेरैको भविष्य बर्बाद भएको छ।
शिक्षकले विद्यालयमा दिने यातनाले बाल मनोविज्ञानमा ठूलो असर पुर्याउँछ। हिजो आज शिक्षकबाट छात्राहरू माथि हुने यौनजन्य अपराधका घटना बाहिरिन थालेका छन्। सकारात्मक कार्य गर्न सधैं अभिप्रेरित गर्ने शिक्षकहरूबाट नै विद्यार्थीको भविष्य डामाडोल पार्ने स्थिति आउनु निकै पीडादायी विषय हो।
त्यस्ता घटनाले समाज, विद्यार्थी, अभिभावकलाई ठूलो असर पर्दछ। यस्तो विषयमा गम्भीर आत्मसमीक्षा र सुधारको खाँचो छ।
कक्षामा को प्रथम हुने भन्ने ठूलो प्रतिस्पर्धा चल्थ्यो। प्रतिस्पर्धामै प्रायः म पनि कक्षामा प्रथम नै हुन्थें। प्रथम हुने विद्यार्थीसँग शिक्षकको केही झुकाव अवश्य नै हुन्थ्यो। सोही कारण साथीहरूको तुलनामा कुटाइ कमै खाइन्थ्यो। शिक्षकले साथीहरूलाई दिएको यातना भने पटक्कै मन पर्दैन थियो। नतमस्तक भएर हेर्नुको विकल्पै थिएन। यस्ता गलत हर्कत र यातना दिने अपराध बन्द गर्नुपर्छ। बाल्यकालमा बालबालिकाहरू स्वभावैले चकचके हुन्छन्। केही स्वतन्त्र चाहन्छन्। त्यो समाज र परिवेशको पनि उपज हो तर यही बहानामा यातना दिनु ठीक होइन।
परापूर्वकालदेखि विभेदको भूमरीमा परेको शिक्षा प्रणाली अहिले पनि निर्मूल हुन सकेको छैन। शिक्षामा विभेद कायमै छ। धनीले पढ्ने निजी स्कुल र गरिबले पढ्ने सरकारी स्कुलकै पहिचान अझै छ। शिक्षामा निजी क्षेत्रले लुट मच्याएको छ। सरकारले समान शिक्षा प्रणाली लागू गर्ने विषयमा निर्मम ढंगले लाग्नुपर्छ। समयको माग अनुसारको शिक्षा छैन। पढेलेखेका मानिस अधिकांश बेरोजगार छन्। सबैले शिक्षा क्षेत्रको आमूल परिवर्तनका कुरा उठ्छन् तर परिवर्तन भएको छैन। आगामी दिनमा शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता हुनुपर्छ। भाषणमा होइन व्यवहारमा लागू गर्नुपर्छ। यी लगायतका विषयहरू उठाउनका लागि युवापुस्ता जाग्नुपर्छ। हाम्रो पुस्ताले नगरे कसले गर्ने? परिवर्तन सम्भव छ। जागौं युवा।