पुसको जाडोमा सिरक जति प्यारो हुन्छ युवा अवस्थामा निन्द्रा पनि उत्तिकै प्यारो।
बिहान घाम आँगनको घेरो नाग्नै खोज्दा पनि सिरक छोड्न मन नलाग्नु स्वाभाविक हो। त्यो समयमा राति चार बजे फोनेका घन्टी।
सिरानीको मोबाइल छामछुम गरें। यसो, हेरेको उनै नेताको फोन थियो। उठाऊँ कि नउठाऊँ ? दोधारकै बीच उठाएँ।
नेता बोलें– हेलो,गुड मर्निङ।
मैले पनि शिष्टाचार फर्काएँ।
नेता–बेडमै हो?
म –हजुर।
अइच्छा भावमा बोलें। कुरा गर्न पटक्कै मन थिएन।
नेता– मेरो भाषण कस्तो थियो?
उनको भाषण, उफ्, जहाँ पनि एउटै। नयाँ कुरा आए पो। बोल्ने स्थान मात्रै फरक नत्र, दुई वर्ष पहिलेको समाचार कपिपेष्ट गरिदिए पनि फरक नपर्ने खाले हुने।
पृथ्वीको उत्पत्ति देखिका कुरा। मुगुको राराको कुरा गर्दागर्दै ताल न बेतालले एक्कासि काठमाडौंको रानीपोखरीको कुरा सुरू गर्थे।
पट्यारलाग्दा भाषण। समयको बर्बादी। त्यो बिचरा निर्जिव माइकले कति दिक्क मान्दो हो। बोल्दा उनको मुखबाट निस्कने थुकका छिटाको कुरा नगरौं।
भाषणपछि राजनीतिक माहोलको कुरा झिके। निर्वाचनको समय जो थियो। नेतालाई त्यस्तोमा छटपटी हुनु अस्वाभाविक हैन भन्ने ठानें। मन भइ नभइ, हजुर, हो, हस थप्दै गएँ।
नेतालाई सही थपिदिने मानिस पाए के चाहियो! चन्द्रलोक पुगेर आए जस्तै गर्छन्। असम्भव र नहुने काम गर्ने वाचा गर्न थाल्छन्। भए गरेका सबै राम्राहरूको जस आफैं र आफ्नै दलले गरेको जसरी चर्चापरिचर्चा गर्न थाले। अरूको खेतीमा उनको आफ्नो जिद्दी देखेर सपना जस्तै लागि रहेको थियो। म सपनामा छु कि भनेर आफैंलाई चिमोटी हेरें। उनका कुराहरूले आश्चर्य लागिरहेको थियो।
यो पालि हामी मज्जाले चुनाव जित्छौं हैन? तपाईं त पत्रकार मान्छे, सबैको कुरा थाहा हुन्छ। जहाँ उनको संगठन निकै अस्तब्यस्त र कमजोर थियो, त्यही ठाउँमा आफ्नो पार्टीले दोब्बर बढी मतले लिड गर्ने दाबी गरिरहेका थिए।
मेरै ठाउँका बारेमा उनको सतही बुझाइ मलाइ बकबास जस्तो मात्रै लागि रहेको थियो। तर, पनि मैले मौनता साँधें। उनी एकाहोरो बोलिरहे। बिल उनकै चढ्ने हो भन्ने ठानेर सिरानी नजिक मोबाइल राखिदिएँ।
उनी कुशल संगठक पनि थिएनन्। उनीबाट सायदै नेता कार्यकर्ता कोही खुसी थिए। बरू केन्द्रबाट नेता आउँदा सबैभन्दा पहिले गणेश बनेर फन्को लगाउन र चाकडी गर्न उनै पुगेका हुन्थे। लाग्थ्यो यस्तै नेताका कारण राजनीति स्वार्थ प्रेरित बनेको हो। भ्रष्टाचार मौलाएको हो। म र मेरा अनि आफ्नो परिकर्मा गर्ने ‘एस म्यान’हरूको हितमा मात्रै काम। यस्तै प्रवृत्तिका कारण आमनागरिक र देशको हितमा काम गर्ने राजनीतिज्ञ औंलामा गन्न मिल्ने मात्रै हुने रहेछन्।
उनी मर्निङ वाकमा थिए। उनलाई त जति कुरा गरे पनि के भो र? बाटो काट्नु न थियो। तर, गाह्रो मलाई थियो। सिरकभित्र मोबाइल राखेर सुस्त बोलिरहेकी थिँए। आधा रातमा अविवाहित छोरी फोनमा गुनगुन गरेको सुने अभिभावकको मनमा के कुरा बित्छ होला? के सोच्छन्? लाग्यो, कस्तो नेता रहेछन्, अरूलाई समस्या होला भन्नेसम्म ख्याल नगर्ने? अझ फाल्तु गफ रबरजस्तै तन्काइरहने?
मैले मर्निङ वाकमा एक्लै हिँड्ने केही महिला हुन् वा पुरूष ननस्टप फोनमा कुरा गर्दै हिँडिरहेकी नदेखेको होइन। के कुरा गर्दा हुन् त्यसरी भन्ने सोच्थें। के उनीहरू आफ्ना आफन्तसँग त्यसरी घन्टौं गफिँदा हुन्? ती नेताको ताल देखेर मैले मर्निङ वाकका क्रममा देखे भेटेका केही अनुहारहरू सिनेमाको रिल जस्तै नाच्न थाले।
अनि एक थान शंका र आलोचनात्मक प्रश्नहरू उब्जिए।
हैन, त्यस्तो व्यवहार प्रदर्शन गर्नेहरूमध्ये अधिकांश परपुरूष वा महिलासँग मन मुटुको व्यापार गर्दा हुन्।
नेताले निन्द्रामै ललिपप खुवाउन थाले।
‘लौ, यो पटक हाम्रो पार्टीले जिते तिम्रो जागिर पक्का। तिमी जत्तिको मानिस सचिवालयमा जानु पर्छ। कोर टिममा समावेश हुनुपर्छ। त्यो सबै म मिलाइ हाल्छु। तिम्ले चिन्ता लिनु पर्दैन।’
जागिरका कुरा र आश्वासन सुन्दा हरिनका जस्तै मेरो कानहरू स्वचालित रूपमा ठाडा भएका थिए। अझै राम्रो गरौं, बाबु आमाको बोझ आफ्नै काँधमा राख्न पाऊँ भन्ने सोच हरेक सन्तानमा हुन्छ नै।
मानिस कम बढी होला थोरै भए पनि आफू केन्द्रित र स्वार्थी अवश्य छ। लाग्यो, ओहो, यी त असल नेता रहेछन्। मेरो बारेमा यति धेरै सोचेका रहेछन्। उनको जागिरको त्रुपले इञ्जिनलाई आवश्यक पेट्रोलको जस्तै काम गर्यो।
उनको कुरामा सही थाप्ने र हजुरको मात्रा गुणात्मक भयो।
मनै त हो लोभ जागिहाल्दो रहेछ।
नेताजी अब केही अग्रज दाजुहरू र साथीहरूमा प्रवेश गरे। है, त्यो फलानो, फलानी यस्तो उस्तो। अर्काको ब्यक्तिगत जीवनमा उनी प्रवेश गर्दै आलोचनाका तीरहरू वर्षा गर्न थाले। अचम्म –त्यो गलत हो। ब्याक बाइटिङ हो भन्ने जान्दा जान्दै म मौन बसिदिएँ।
नेताले यति धेरै सोचेका छन् भने बेकारमा म किन छुच्चो बन्नु भन्ने लाग्यो। अझ म अगाडि बढेर एउटै पार्टी भित्रको गुट उपगुट जस्तै गरी एक दुई जनाविरूद्ध चुकुली लगाइ दिएँ। जल, जमिन र आकाश प्रतिस्पर्धा जहाँ पनि छ। मैले ठानें प्रतिस्पर्धामा म अरूभन्दा अब्बल उत्रन सके मात्रै मेरो जागिर सम्भव छ।
त्यसैले मैले नेताजीकै सबै भन्दा नजिकका मानिसले उनलाई के भनिरहेका छन्– भनेर बनावटी सुराकी तोप फालिदिएँ।
‘दाइ, हजुरलाई उसले कदापी राम्रो मान्दैन। हजुरको अगाडि मात्रै ठिक्क पार्छ। हजुर नहुँदा हजुरकै कुरा काटी राख्छ।’
गफिन थालेको डेढ घन्टा पुगिसकेको थियो। सायद उनी आफ्नो घर नजिक पुगे।
‘भोलि कुरा गरौंला है’, भन्दै फोन राखे।
मानिसलाई चाकडी र बनावटी कुरा सत्य जस्तो लाग्छ। कोरटिमका कार्यकर्ता जस्तै मैले बिहानै गरेको चाकडीले कति ठूलो काम गरेको थियो भनेर म दिउँसोमा आफैं दंग परें।
दिउँसो मलाई लिन गाडी घर नजिकै आइपुग्यो। अचम्मको कुरा के थियो भने मेरो बुवा समान उमेरका नेताजी सँग जहिल्यै छाया बनेर हिँड्ने केही ब्यक्ति आज गाडीमा थिएनन्। युद्ध जितेजस्तै भयो। मन गदगद थियो। मेरो निशाना सही ठाउँमा लागेको ठानिरहें। ती नेतासँग झनै खुलेर राजनीतिक विषय वस्तुमा कुराहरू हुन थाले।
राजनीति नीतिहरूको उत्कृष्ट नीति हो भन्ने सुनेकी थिएँ। तर, ‘म’ केन्द्रित राजनीति गर्नु हुन्न र कसैलाई माकुरो जस्तै गरी जाल विच्छाएर फसाउनु हुन्न भन्नेमा म स्पष्ट थिएँ ।
ती नेतासँग नजिक हुनु खोज्नुको एउटै स्वार्थ थियो। त्यो के भने उनले देखाएको जागिरको सपना प्राप्त गर्छु भन्ने लाग्यो। त्यो बाहेक अरू कुनै सोच वा कल्पना मनमा थिएन।
मेरा बुवा आमालाई जागिर खाएर केही सुख दिन सकूँ भन्ने थियो। नेताको आश्वासनले मलाई यति विश्वास परेछ कि, उनले शुक्रबारलाई आइतबार भन्दा पनि मैले सही थाप्दै मुन्टो हल्लाउन थालेकी थिएँ। कहिलेकाहीँ लाग्यो – म गलत बाटोमा हिँड्न खोजिरहेकी त छैन? त्यतिखेर मनलाई आफैं शान्त पार्थें, सम्हालिन्थें। यो निर्वाचन मात्रै होस्, त्यसपछि ढुक्क मेरो नियुक्ति!
नत्र मलाई रणनीतिको दुष्चक्र कसैलाई प्रहार गर्नु नै थिएन। रामायण र चाणक्य नीतिको दुरूपयोग कतै गर्नु थिएन। मलाइ मेरा हरेक क्षेत्रका गुरू र अभिभावकले कर्म गर्नु तर फलको आश नगर्नु भन्ने गीताको शार रटाउँदै आएका थिए।
नेता यतिसम्मका आडम्बरी थिए कि उनलाई कसैले उनको कुरा काटेको पुरक प्रश्नहरू गरेको पटक्कै मन पर्दैन थियो। आफैं ब्रह्माण्ड हुँ, सर्वज्ञाता मै हुँ भन्ने भ्रम उनमा थियो।
माथि नै उल्लेख गरेकी छु – त्यो चुनावको समय थियो। २०७४ सालको। एक डेढ महिना मलाई लिन र छोड्न सधैं गाडी घर नजिकै पुग्थ्यो। चुनाव आउन झन्डै हप्ता दिन बाँकी थियो। ती नेताले मलाई त्यो दिन पनि बिहानै फोन गरे।
‘हे, ‘लेजी वोन’, गेट अप। एक बोत्तल पानी खन्याउन आम कि? अर्लि टू बेड एण्ड अर्लि टू राइज, मेक्स ए म्यान हेल्दी एण्ड वाइज।’ आधा टुटेफुटे अंग्रेजीमा कुरा भनिरहन्थे। त्यतिखेर उनले मेरो कपालको एक अनुच्छेद बखान गरे। जसलाई मैले सहज रूपमा लिँदै हाँसिदिएँ ।
आज उनको स्वर अघिपछि भन्दा केही मधुर थियो। लागिरहेको थियो, हिजो राति किड्नी र लिभर विरूद्धको बिजुली पानी धेरै चढाए छन्।
‘हेर म त गोहीजस्तै सिधा कुरा गर्ने नेता हो। कुरा चपाउने र लुकीछिपी सिकार गर्ने बानी छैन।’
उनी बोलिरहे र म सुनिरहेकी थिएँ।
अचानक उनले मेरो कपालको बखान गरेजस्तै गरी रूप रङको बखान सुरू गरे। अनुहार हुँदै मेरो अन्य अंग अंगको गाथा गाउन थाले। मैले रोक्दै ‘दाइ आज हजुरलाई के भा’को? किन यस्तो कुरा गरिरहनु भएको छ?’ त्यही बीचमा उनले फ्याट्टै ‘मेरो मन मुटुमा तिमी राज गरिरहेकी छौ। म तिम्लाई साह्रै मन पराउँछु। आज समय मिलाएर कतै एकान्तमा भेटौं है।’
उनको कुराले मलाई रिंगाटा लाग्यो।
‘थुक्क साले, तेरो छोरीलाई यो सबै कुराहरू भनेस्।’ यही शब्द मेरो मुखबाट अप्रत्यासित रूपमा निस्किएछ। त्यसपछि उसले फोन काट्यो। अनि मैले ती नेतालाई ‘ब्लक’ हानें।
सामाजिक सञ्जालहरूबाट मात्रै हैन मोबाइल नम्बर पनि ब्लक लिष्टमा राखिदिएँ। आज कतै सार्वजनिक कार्यक्रममा भेट हुँदा उनी कहिल्यै मसँग नजर जुधाउन सक्दैनन्।