झ्यालबाट चिसो बतास आउँदै थियो। म पनि ओछ्यानभित्र घुस्रिएँ। १२ बजिसक्दा बाहिरको हल्लाखल्ला कम हुँदै गयो।
मेरो ध्यान पुस्तकले खिचिसकेको थियो। केहीबेरमा फेरि बाहिर कतै टाढा कल्याङमल्याङ सुरू भयो। आवाज झन् झन् ठूलो हुँदै गयो। मलाई थाहा थियो, त्यो केको आवाज हो!
म उठेँ र झ्यालबाहिर कान थापेँ। त्यो कल्याङमल्याङमा मैले सुनेँ — तीनथरी आवाज!
देख्न पो पाउँछु कि भन्ने आशले झ्यालबाट टाउको बाहिर निकालेँ। निष्पट्ट अँध्यारो थियो। उनीहरूको छाया समेत देखिँदैन थियो।
यो पूर्णिमाको रात भएको भए त उनीहरूको छाया भए पनि देख्न पाउने थिएँ! जसरी वर्षौंपहिले जर्ज लरीले आफ्नो टेलिस्कोपबाट चन्द्रमा हेर्दा उनीहरूलाई देखेका थिए।
हजारौंको संख्यामा समुद्रमाथि उड्दै गरेका ती चरा थिए!
जर्ज लरी छक्क पर्दै भने होलान् — ओहो!
उनीहरू यसरी कहाँ जाँदैछन् भन्ने बारे जर्जलाई त्यो बेला धेरै थाहा थिएन मलाई भने थाहा छ — उनीहरू बसाइँ सर्दैछन्।
तैपनि मेरो मनमा यी सवाल खेलिरहे — कहाँ होला यिनीहरू जाने ठाउँ? कुन पाखा, कुन पखेरा? कुन जंगल? कुन मैदान? कुन खेत, बगर? कहाँ छ यिनको गन्तव्य? कहाँबाट आएको होलान्?
यसरी उनीहरूको उडानमा काल्पनिक भए पनि मैले भाग लिएँ। त्यो रात अबेरसम्म उनीहरूको यात्राको आवाज सुन्ने साक्षी भएँ। बसाइँसराइ गर्ने चराको साक्षी म मात्र त पहिलो होइन। मेरो जस्तो कल्पना सयौं वर्षदेखि कति दार्शनिक, वैज्ञानिक र लेखकहरूले गरेका छन्।
गर्मीमा देखिने चरा जाडोमा नदेख्दा उनीहरूले के के अनुमान गरे होलान्?
आजभन्दा २४ सय वर्षअघि, चार सेन्चुरी बिसीमा, एरिस्टोटल पनि यो सवालमा पक्कै घोत्लिए। र, त उनले एउटा लेखमा भनेका छन् — गर्मी मौसममा पाइने चराहरू जाडो मौसममा अर्कै प्रजाति हुन्छन्।
सन् १५०० तिर म्याग्नसले गौंथलीहरू माटोमा 'हाइबरनेट' (शीत निद्रामा) हुने अनुमान गरेका थिए। कतिपय दार्शनिकले चराहरू जाडोमा भ्यागुता बन्छन् भनेरसम्म सोचेका पाइन्छ। सन् १६८० तिरका बेलायती शिक्षक चार्ल्स मोर्टनले त झन् जाडोमा चराहरू चन्द्रमामा जान्छन् भन्ने अनुमान लगाएका थिए।
जाडोमा चराहरू कहाँ जान्छन् भन्ने कुराले दुई सय वर्ष अगाडिसम्म वैज्ञानिकहरूलाई अन्यौलमा पारेको देखिन्छ।
अमेरिकाको प्रसिद्ध चरा विशेषज्ञ जेम्स अडोवनले १८०४ तिर 'फिबी' चराको बच्चाको खुट्टामा धागो बाँधिदिएका थिए। अर्को वसन्त ऋतुमा त्यही चरा आफ्नो आँगनमा आएको भन्दै लेख लेखेका छन्। त्यसपछि बल्ल चराहरू जाडोमा 'माइग्रेट' गर्छन् भन्नेतिर वैज्ञानिकले अनुमान गर्न थालेका हुन्। यो अनुमानलाई प्रमाणित गर्न पनि धेरै वर्ष लाग्यो।
सन् १८८२ मा एउटा रमाइलो घटना भयो।
जर्मनीको उत्तरी भेगमा एक दिन गरूड (स्टोर्क) चरा देखापर्यो। गर्मीभरि युरोपमा हुने र जाडोमा हराउने त्यो चराको घाँटीमा साढे दुई फिट लामो तिर/भाला थियो। भाला काठको थियो। त्यसको अध्ययन गर्दा अफ्रिकामा पाइने काठ हो भन्ने थाहा भयो।
अफ्रिकाको कुनै ठाउँमा मानिसहरूले शिकार गर्ने क्रममा घाइते भएको त्यो चरा उडेर जर्मनी नै पुग्न भ्याएछ। त्यसपछि चराहरू जाडोमा अफ्रिका जाने रहेछन् भन्ने अनुमान बलियो बन्दै गयो।
पछि पनि जर्मनीमा त्यस्ता २५ वटा स्टोर्कहरू भेटिएका छन् जसलाई प्रदर्शनका लागि म्युजियममा राखिएको छ।
त्यसपछि नै हो चरा कहाँ जान्छन् भन्ने थाहा पाउन शरीरमा खुकुलो र हलुका ब्यान्ड लगाइदिन सुरू भएको।
सन् १८९९ मा डेनिस शिक्षक तथा पन्छी विशेषज्ञ ह्यान्स मोर्टेन्सनले व्यवस्थित रूपमा चराको खुट्टामा एउटा आलुमिनियमको चुराजस्तो सानो ब्यान्ड लगाइदिन थाले। ब्यान्डमा आफ्नो ठेगाना र नाम लेखेका थिए।
हुन त सन् १५९५ तिर खुट्टामा फलामको ब्यान्ड भएको चरा भेटिएको रेकर्ड छ। त्यस्तो ब्यान्ड लगाएको शाही बाज फ्रान्समा भेटिएको थियो। २४ घन्टापछि २१०० किलोमिटर दुरीमा पर्ने माल्टामा पुगेको थियो भन्ने रेकर्ड छ।
व्यवस्थित रूपमा ब्यान्ड बाँधिदिने काम सुरू गर्ने जस भने ह्यान्स मोर्टेन्सनलाई नै जान्छ।
सन् १९०२ ताका पल बार्स्टले अमेरिकामा पनि चरामा ब्यान्डिङ सुरू गरे। अनि ब्यान्डिङ गरिएका चरा नयाँ ठाउँमा भेटिन थाले।
यसरी ब्यान्डिङले चराको अध्ययनलाई धेरै सजिलो बनायो।
वैज्ञानिकहरूले चराको बसाइँसराइ कसरी पत्ता लगाए भन्ने कथा झन् रोचक छ।
चराको बसाइँसराइ (माइग्रेसन)बारे कसरी नयाँ नयाँ तथ्य फेला परे भन्ने अब म विस्तृतमा चर्चा गर्छु।
सन् १८८० ताका नै केही वैज्ञानिक तथा प्रकृतिप्रेमीहरू विलियम अर्ल डज, अरिन लिबी लगायतले चरा हरेक सिजनमा बसाइँ सर्छन् भनेर लेखेका छन्। उनीहरूले टेलिस्कोपबाट चन्द्रमा हेर्दा चराहरू बसाइँ सर्न उडेको देखिने बताएका थिए।
लिबीले त झन् एउटा डाँडामा बसेर पाँच घन्टाको दौरानमा ३८०० वटा चराको 'कल' सुनेको लेखेका छन्। यसरी चराहरू बसाइँ सर्छन् भन्ने लगभग निश्चित भइसकेको थियो। तर ती कहाँ जान्छन्, कसरी आफ्नो ठाउँभन्दा धेरै माइल परसम्म उड्छन्, कति लामो दुरीको यात्रा गर्छन् भन्ने कुराले वैज्ञानिकहरूलाई अन्यौल नै पारिरह्यो।
दोस्रो विश्व युद्धअघि पत्ता लगाइएको 'राडार' प्रविधिले चरा बसाइँ सर्छन् भन्ने अनुमान प्रमाणित गर्न वैज्ञानिकलाई सहयोग गर्यो। युद्धमा दुश्मनहरूको लडाकु विमान पत्ता लगाएर त्यसलाई रोक्न त्यो प्रविधि प्रयोग भएको थियो।
सन् १९३५ मा बनाइएको बिबिसीको सर्टवेब रेडियो ट्रान्समिटरले करिब १२ किलोमिटर परसम्मको लडाकु बम्बर विमान पत्ता लगाउन सक्थ्यो। विश्व युद्ध सुरू भएपछि त्यस्ता राडार स्टेसन इङ्ल्यान्डका धेरै ठाउँमा राखिए। ती राडारले विमान मात्र होइन, अरू चिज पनि भेट्न थाले।
विमानहरू स्थिर गति र निरन्तर एउटै दिशामा हिँड्थे। ती वस्तु भने फुत्त राडारमा देखिन्थे र हराउँथे। तिनीहरूको दिशा र गति अनियमित थियो।
कति ठाउँमा त अवरोध पुर्याउने ती चिज के रहेछन् भनेर बुझ्न विमान नै पठाइयो रे। त्यहाँ पुग्दा केही पनि हुँदैन थियो।
विश्व युद्धताका त्यसरी राडारमा आउँदै हराउँदै गर्ने चिजलाई 'एन्जल्स' (परीहरू) नाम दिएको रहेछ।
सन् १९४१ मा डेभिड ल्याक र जर्ज भार्ली नामका वैज्ञानिकले ती एन्जल्सको रहस्य खोले।
राडारमा एन्जल्स देख्नेबित्तिकै उनीहरूले आफूसँग भएको शक्तिशाली टेलिस्कोपले आकाशतिर नियालेका थिए। आकाशमा त चराहरूको झुन्ड उडिरहेको देखेका थिए।
केही सालपछि, अमेरिकामा जर्ज लरीले पूर्णिमाको दिन टेलिस्कोपले चन्द्रमा हेरिरहेका बेला हजारौं चराहरू अमेरिकाको उत्तरी भेगबाट दक्षिणतिर जाँदै गरेको देखे। ती चरा समुद्र हुँदै मेक्सिको जान्छन् भनेर उनले लेखेका छन्।
उनले लेखेको त्यो लेख त्यति बेला धेरै विवादित हुन पुग्यो। धरतीको बाटो प्रयोग नगरेर समुद्रमाथि रोकिनै नमिल्ने आकाशबाट चराहरू कसरी दक्षिण जान्छन् त भन्ने प्रश्न धेरैले उनलाई गरेका थिए।
प्रश्न गर्नेमध्ये अमेरिकाका प्रसिद्ध जीव वैज्ञानिक जर्ज विलियम्स एक हुन्। चराहरू समुद्रमाथिको आकाश हुँदै बसाइँ सर्छन् भन्ने विचारलाई उनले सिधै अस्वीकार गरे।
चरा बसाइँसराइ गर्छन् भन्ने निश्चित भए पनि कहाँ जान्छन् र कसरी जान्छन् भन्ने कुरा स्पष्ट भइसकेको थिएन। यसबारे केही वर्षसम्म बहस चलिरह्यो।
सन् १९५८ मा प्राणीशास्त्री सिड्नी गथ्रेक्सले विलियम्स जस्ता वैज्ञानिकलाई गलत सावित गरिदिए।
उनले समुद्रमाथिको आकाश हुँदै हजारौं चराहरू उत्तरी अमेरिकाबाट दक्षिणतिर लाग्छन् भन्ने प्रमाणित गरे। त्यसमाथि बसाईंसराइ गर्दा चराहरू राती उड्ने गरेको उनको खोजले देखायो। डब्लुएसआर-५७ नामको राडार र टेलिस्कोप प्रयोग गरेर कति मिनेटमा कति चराहरू उड्छन् भन्ने हिसाब समेत निकाले। स्थानीय मौसम च्यानलहरूसँग मिलेर उनले यो काम गरेका थिए।
सन् १९९६ मा डब्लुएसआर-५७ लाई पछि पार्दै नेक्सयार्ड नेक्स्ट जेनेरेसन राडार विकास गरियो। यसले चराहरूको आकार र गति पनि मापन गर्न सक्थ्यो। सन् २०१३ मा आएको डुअल पोलराइजेसन नामको मौसम प्रणालीले त झन् तलमाथि, अगाडिपछाडि सबै दिशामा उडेका चराको गतिविधि हेर्न सक्थ्यो। ती कतातिर हिँडेका छन् भन्ने कुरा समेत पत्ता लाग्न सक्ने भयो।
यो कुरा यहीँ छाडेर फेरि म तपाईंहरूलाई केही समय पछाडि नै लैजान्छु।
सन् १९६५ तिर राडारको प्रयोगले चराहरूको अध्ययन हुँदै गर्दा, अमेरिकामै चराहरूको बसाईंसराइ (माइग्रेसन) अध्ययनमा अर्को क्रान्ति हुँदै थियो।
त्यो थियो — रेडियो ट्यागिङ/टेलिमेट्री।
यसमा रेडियो वेब/ट्रान्समिटर जनावरहरूको शरीरमा राखिदिन थालियो। यसबाट उनीहरूको चाल, गति र स्थानजस्ता विवरण पत्ता लगाउन सकिन्थ्यो।
सन् १९६५ मा पन्छी विशेषज्ञ रिचार्ड ग्रेबरले थ्रस (कल्चौंडे) चराको खुट्टामा सानो रेडियो ट्रान्समिटर राखेर छोडिदिए। उक्त ट्रान्समिटर बिल क्रोचान नामका इन्जिनियरले बनाएका थिए। ग्रेबरले त्यो कल्चौंडे चरालाई ७०० किलोमिटर भन्दा धेरै पछ्याए।
त्यो बेलाका ट्रान्समिटरहरू अहिलेको जस्तो घर बसीबसी विवरण (डेटा) लिन मिल्ने हुँदैन थिए। चरा वरपर हुँदा मात्र विवरण लिन सकिन्थ्यो। अहिले पनि धेरै साना चरामा राखिने ट्यागमा भएका विवरण धेरै परबाट लिन सकिँदैन। समातेर मात्र लिने हो।
चराको तौलको ३ प्रतिशतभन्दा कम वजन हुनुपर्ने भएकाले यस्ता ट्रान्समिटरहरू बनाउन गाह्रो थियो। १० देखि १३ ग्राम हुने फिस्टे चरामा हाल्ने यस्ता ट्याग बनाउन वैज्ञानिकलाई अहिले पनि चुनौतीपूर्ण नै छ।
बिल क्रोचान आफैंले स्वेन्सन्स थ्रसलाई रेडियो ट्याग गरेर अमेरिकाको इलनोइ राज्यदेखि क्यानडाको म्यानिटोबासम्म रातारात पछाएका रहेछन्। चराकै गतिमा गाडी कुदाउँदा मिनेसोटामा प्रहरीले रोकेछ र छिटो चलाएको भन्दै जरिवानाको चिट थमाएछ। पुलिसले रोक्दा एकछिन हराएको चराको गतिविधि फेरि गाडी कुदाउँदा भेटियो रे।
नर्थडकोटा हुँदै उनी क्यानडा सीमातिर लागेका रहेछन्। रातीको बेला सीमा बन्द भएकाले उनी यतै रोकिए। अनि सीमापारि पुगेको चरा उनले गुमाए।
भोलिपल्ट बिहान सीमा खुलेपछि क्यानडातिर लागेका उनको गाडी बाटैमा बिग्रियो। अनि त्यो चराको खोजी रोकियो।
एकपटक उनले लेक मिसिगनमा पछ्याइरहेको चरा बेपत्ता भयो। हत्तपत्त मौसमको तथ्यांकमा हावाको गति र तापक्रम हेरे। धेरै चिसो हुँदा चराहरू उड्न खोज्दैनन् भन्ने अनुमान उनलाई थियो। मौसमको तथ्यांकका आधारमा चरा जहाँ हुन सक्ने अनुमान लगाएका थिए, त्यो त्यही ठाउँमा भेटिएछ।
त्यो बेलाको प्रविधि अहिलेको जस्तो विकसित थिएन। यी सबै अनौठा लाग्ने अध्ययनहरू नै अहिलेको ज्ञानका आधार हुन्।
अहिले त ट्र्याकरहरू साना हुँदै गए, विकसित हुँदै गए।
सन् १९९४ मा ब्रिटिस वैज्ञानिक ररी विल्सनले 'ग्लोबल लोकेसन सेन्सर' भन्ने यन्त्र बनाए। यसले प्रकाशको सेन्सरको प्रयोगबाट चरा भएको ठाउँबारे जानकारी दिन सक्थ्यो। दिनभरिमा सूर्यको स्थिति हेरेर त्यसले चराहरू कहाँ हुन सक्छन् भन्ने अनुमान लगाउन सक्थ्यो।
त्यही बेलातिर चराहरूको नंग्रा र पखेटामा राखिएको रेडियो आइसोटोपको अध्ययनबाट तिनीहरू कहाँ जान्छन् भनेर अध्ययन हुँदै थियो। यो विधिअनुसार हाइड्रोजनको दुर्बल आइसोटोपको मात्रा हेरेर चराहरू कहाँ पुगे पत्ता लगाउन सकिन्छ।
सन् १९७३ मा निर्मित 'ग्लोबल पोजिसानिङ सिस्टम' (जिपिएस) सेनाले मात्र प्रयोग गर्न पाउँथ्यो। सन् २००० मा भने अमेरिकी सरकारले जिपिएस सर्वसाधारणले पनि प्रयोग गर्न पाउने बनायो।
जिपिएसद्वारा कुनै पनि वस्तुको वरिपरिका कुरा पत्ता लगाउन मिल्छ। चराको अध्ययनमा यो प्रविधिको प्रयोग हुन थाल्यो। चरा बसेको ठाउँ पत्ता लगाउन सकिने भयो। सन् २००० सम्म चराहरू ट्र्याक गर्ने प्रविधिको विकास राम्रो भइसकेको थियो। चराको बसाईंसराइको अध्ययनले बिस्तारै गति लिँदै थियो।
सन् २००७ मा सारा संसार हल्लाउने एउटा घटना भयो।
बार टेल्ड गड्विट (मलगुझा) प्रजातिका चरा हरेक वर्ष अमेरिकाको अलास्कादेखि न्युजिल्यान्डसम्म बसाईं सर्छन् भन्ने वैज्ञानिकलाई थाहा भइसकेको थियो। तर यसको बाटो कस्तो हुन्छ (कहाँ कहाँ हुँदै उड्छ), कहाँ विश्राम गर्छन्, कुन बाटो जान्छन् र कुन बाटो फर्किन्छन् भन्ने थाहा थिएन।
यही पत्ता लगाउन एउटा पोथी समाएर त्यसमा सानो ट्रान्समिटर लगाइयो। त्यो पोथी चरालाई 'इ७' नाम दिइयो।
न्युजिल्यान्डबाट अलास्का जाने क्रममा 'इ७' लगातार उडेर चाइनाको यालु जियाङ पुग्यो। त्यहाँ केही दिन विश्राम गरेर अलास्का लाग्यो। अलास्काबाट न्युजिल्यान्ड फर्किने क्रममा भने त्यो चरा विश्राम नगरी लगभग १२ हजार किलोमिटर एकैचोटि उड्यो।
यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा लामो उडान हो।
त्यति लामो उडान एकचोटि पनि नरोकिइ कसरी गर्छन्? अझ हरेक साल त्यति लामो यात्रा किन गर्छन्? साइबेरियाका धेरै चरा त झन् नेपालमा रहेका ठूलाठूला हिमशृंखला पार गरेर आफ्नो 'विन्टरिङ ग्राउन्ड' आउँछन्।
हिमालको कुरा आउँदा मलाई एउटा प्रसंग याद आयो। तेन्जिङ नोर्गे र एड्मन्ड हिलारीले सगरमाथा आरोहण प्रयास गर्दा सगरमाथा माथिबाट चराहरू उडेको देखेको उल्लेख गरेका थिए। हुन पनि डेमोजिल क्रेन र बार हेडेड गिज नामका चराहरू सगरमाथा माथिबाटै उडेर नेपाल छिर्छन्।
यहाँसम्म पुग्दा हामीले चराहरू बसाईं नै सर्ने रहेछन् भन्ने बुझिसक्यौं। अब चराहरूले बसाइ चाहिँ किन सर्छन् भन्ने सुनाउँछु है।
चराहरू वसन्त ऋतु अर्थात् गर्मीमा राम्रो वासस्थानको खोजी गर्दै उत्तरतिर जान्छन्। जाडो मौसममा राम्रो ठाउँ र प्रशस्त खाने कुरा हुने ठाउँ अर्थात् दक्षिणतिर लाग्छन्।
दक्षिणमा त चराका लागि सधैं राम्रो मौसम हुन्छ। त्यसरी हजारौं किलोमिटरको जोखिम बोकेर आखिर किन गर्ने त बसाईंसराइ ? अझ बसाईंसराइको दौरान लगभग ५० प्रतिशत चराहरू मर्ने वैज्ञानिक अनुमान छ। बसाईंसर्ने क्रममा खानाको अभाव, बाजहरूको शिकार, आजभोलि चाहिँ ठूला ठूला भवनका सिसामा ठोक्किएर मर्ने गर्छन्। यस्तो जोखिम हुँदा हुँदै किन गर्ने त माइग्रेसन?
तर यसको ठ्याक्कै उत्तर वैज्ञानिकहरू सँग पनि छैन।
खाना र बासस्थानका लागि नै उनीहरू बसाइँसराइ गर्छन् भन्ने अनुमान भने छ।
बसन्त ऋतुमा उत्तरतिर पनि गर्मी हुन्छ। त्यो बेला त्यहाँ प्रशस्तै खानेकुरा पाइने र बासस्थानका लागि ठाउँ पनि पाइन्छ। तर त्यहाँ धेरै चरा हुँदैनन्। त्यसैले प्रतिस्पर्धा पनि कम हुने भयो। खानेकुरा र बासस्थानका लागि दुःख गर्न पर्दैन भनेर उनीहरूले धेरै जोखिम अपनाउन तयार हुन्छन्। दक्षिणमा मात्र सबै चराहरू बस्ने हो भने पक्कै पनि धेरै प्रतिस्पर्धा हुन्थ्यो। खानेकुराको कमी पनि हुन्थ्यो।
प्रतिस्पर्धा धेरै भएकाले खाने कुरा खोज्दै चराहरू बसाइँसराइ गरेका हुन् भन्ने कुराको निचोडमा पुग्दापुग्दै वैज्ञानिकहरूको मनमा अर्को प्रश्नले घर जमायो।
त्यसो भए पहिलोपटक उत्तरबाट दक्षिण झरेका हुन् कि दक्षिणबाट उत्तरतिर गएका हुन्?
यसबारे दुइटा परिकल्पना विकास भएका छन् — नर्दन होम र सदर्न होम। अर्थात् उत्तरी घर वा दक्षिण घर।
उत्तरी घरको परिकल्पनाले भन्छ — सुरूमा चराहरू उत्तरतिर बस्थे र राम्रो वातावरणको खोजी गर्दै दक्षिण झरेका हुन्।
दक्षिण परिकल्पनाले भन्छ — पहिले दक्षिणमा विकास भएर उत्तर जान थालेका हुन्।
यी दुईमध्ये कुन सही हो भन्ने प्रमाणित भइसकेको छैन।
केही वर्षअगाडि गरिएको अध्ययनले उत्तरी घर परिकल्पना ठीक हुन सक्ने बताएको छ। उक्त अध्ययनका अनुसार लामो दुरीको बसाईसराइ गर्ने चराहरूले आफ्नो बासस्थान बिस्तारै दक्षिणतिर सार्दै गएको पाइएको छ।
दक्षिणमै बस्ने चराहरू उष्णतटबन्दीय ठाउँ छोडेर अन्त जान नचाहने अर्को अध्ययनले पनि देखाएको छ। पहिल्यैदेखि उत्तरमा बस्ने चराहरू बसाईं सरेर दक्षिण जान थालेको उनीहरूले व्याख्या गरेका छन्। सायद अझै धेरै अध्ययनको क्रम बढ्दै जाँदा यो कुरा पनि बिस्तारै खुल्दै जान्छ।
अमेरिकाको उत्तरी भेगको एउटा ठाउँमा समातेर ब्यान्ड गरिएका चराहरू हेर्दा जाडोमा दक्षिण अमेरिका जान्छन्, त्यहाँ जाडो याम बिताउँछन् र अर्को वर्ष फर्केर आउँछन् भन्ने देखिएको छ।
चराहरू उत्तर या दक्षिण जहाँ गए पनि कसरी जान्छन्? कसरी बाटो पत्ता लगाउँछन् भन्ने पनि प्रश्न छँदैछ। तर यसको उत्तर सहज छैन। धेरै वर्षको अध्ययनले चराले माइग्रेट गर्दा सूर्यको किरण, खोलानाला, तारा, चुम्बकीय क्षेत्र, चन्द्रमा र हिमाल जस्ता परिदृश्यहरूको प्रयोग गर्छन् भन्ने देखाएको छ।
बिल क्रोचानले चराहरूले बसाइँसराइ गर्दा चुम्बकीय क्षेत्रको प्रयोग गर्छन् कि भनेर बुझ्न खोजेको देखिन्छ। एकपटक उनले दक्षिणबाट उत्तर लागेका चरालाई राती समातेछन्। तिनीहरूलाई झुक्याउन चुम्बकीय क्षेत्र बदलिदिएर बिहान छोडेछन्। ट्र्याक गर्दा थाहा भयो — बिहान उठेर ती चराहरू उत्तर जानुको साटो पश्चिमतिर लगेछन्। तर त्यसको भोलिपल्ट बिहान सूर्य उदाएपछि भने ९० डिग्री घुमेर गरेर उत्तरतिर लागेछन्।
त्यसैले चराहरूले कसरी बाटो पत्ता लगाउँछन् भन्ने अझै ठ्याक्कै थाहा छैन।
आफ्नो ब्रिडिङ ग्राउन्ड/प्रजनन स्थलभन्दा धेरै पर लगेर छोडिएका कोइली चराले आफ्नै बाटो पत्ता लगाएर गर्मी महिना बिताउने ठाउँमा पुगेको अध्ययनले देखाउँछ।
त्यसरी नै सन् २०१६ मा चिनियाँ वैज्ञानिकहरूले त्यहाँका कोइली चराहरू जाडोमा कहाँ जान्छन् भनेर अध्ययन गर्दा इथियोपियासम्म पुगेको पत्ता लगाएका थिए। त्यो कोइली चीन फर्किने क्रममा नेपाल, भारत हुँदै गएको उसको ट्र्याकरमा देखिएको थियो।
चराले अब बसाइँ सर्नुपर्छ भनेर कसरी थाहा पाउँछन् भन्ने अर्को रोचक प्रश्न हो।
वैज्ञानिक अनुसन्धानअनुसार चराहरूले फोटो पिरियड (प्रकाश), तापक्रम, कीराफट्यांग्राका सङ्ख्याहरू जस्तो संकेत हेरेर बसाईं कहिले सर्ने भन्ने थाहा पाउँछन्। चराहरूमा आफ्नै आन्तरिक घडी हुन्छ जसले उनीहरूलाई बसाईं सर्ने कहिले भनेर बताउँछ भन्ने पनि छ। यसबारे पत्ता लगाउन पनि वैज्ञानिकहरूले धेरै मेहनत गरेका छन्।
केही वैज्ञानिकहरूले बसाइँ सर्न तयार हुनु अगाडिका चरालाई पिँजडामा थुनेर गर्मी महिनाको फोटो पिरियडमा (प्रकाश देख्दा गर्मी मौसम भएझैं लाग्ने गरी) राखिदिए। पिँजडामै पनि तिनले बसाइँ सर्ने सिजनमै जस्तो व्यवहार देखाए। शरीरमा बोसो जम्मा गर्ने र आतुर भएर उड्न खोज्ने जस्ता व्यवहार देखाए। बसाइँ सर्ने गर्ने क्रममा चराहरू धेरै दिनसम्म नरोकिइ उड्न शक्ति चाहिने भएकाले पहिल्ये शरीरमा 'फ्याट' जम्मा गर्न थाल्छन्।
तीन ग्रामको रूबी थ्रोटेड हमिङबर्डले एकै दिनमा लगभग आठ सय किलोमिटरसम्म यात्रा गर्न सक्छ। 'इ७' ले त झन् १२ हजार किलोमिटर नै यात्रा गरिदिएको थियो।
एरिस्टोटलदेखि आजसम्म चराहरूको बसाइँसराइबारे धेरै कुरा थाहा भइसक्यो। तर अझ धेरै कुरा जान्न बाँकी छ।
आजसम्म पत्ता लागेका कुराले चरा संरक्षणमा धेरै नै मद्दत गरेका छन्। चराहरूमा ब्यान्डिङ, रेडियो ट्याग गर्दा तिनीहरू कहाँ जान्छन्, कस्तो बासस्थानमा बस्छन् जस्ता कुराहरू जान्न धेरै सजिलो भएको हो। जस्तो स्पुन बिल्ड स्यान्ड्पाइपर नामको एउटा चरा (सुड्सुडिया) को प्रजाति अहिले संसारमै तीन सयदेखि ६ सयसम्म वटा मात्र छन् भनिन्छ। ती चराको बासस्थान र बसाईं सरेर जाने ठाउँ कहाँ हो भन्ने थाहा पाउँदा दुवै देशका नीतिनिर्माता तथा संरक्षणवादीहरूलाई सजिलो भएको छ।
कुनै पनि चराहरूको संरक्षण गर्न तिनीहरूले कस्तो बासस्थान प्रयोग गरिरहेका छन्, कहाँ बस्छन् र के खान्छन् भन्ने जान्न जरूरी छ। अमेरिकाजस्तो चराहरूको संख्या धेरै भएको देशमा यस्तो अध्ययन हुन्छ। अमेरिकामा समेत चराको संरक्षण गाह्रो हुँदै गएको देखिन्छ। नेपालमा त जनशक्ति र कोष दुवैको कमी छ।
नेपालमा चराहरूको विश्राम गर्ने ठाउँ (रेस्टस्टप) र बसाईं सर्दा उड्ने बाटो (माइग्रेटरी रूट) जोगाउन पनि हामीले अझै धेरै अध्ययन गर्नुपर्ने हुन्छ। यसमा सरकारले नै एउटा नीति विकास गरेर चराको अध्ययन गर्ने विद्यार्थी तथा वैज्ञानिकहरूलाई यो कार्यमा सघाउनुपर्छ जस्तो मलाई लाग्छ।
नेपाल प्रवासी अर्थात बसाईसरेर आउने चराहरूका लागि ठूलो बासस्थान हो। धेरै वर्षदेखि उनीहरूले प्रयोग गरिरहेका ती बासस्थान हामीले नमासौं है!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)