नेपाल-भारतबीच सन् १९५० देखि भारत-नेपाल शान्ति एवं मैत्री सन्धि भए पनि यी दुई स्वतन्त्र देशबीच अनादी कालदेखि धार्मिक, सांस्कृतिक, भाषा तथा ऐतिहासिक महत्वपूर्ण सम्बन्ध छ।
उक्त अन्तर्राष्ट्रिय सन्धि अनुसार दुवै देशको सीमा एक-अर्का नागरिकका निम्ति खुला राख्ने र बिना रोकटोक आवतजावत तथा काम गर्न पाउने व्यवस्था गरिएको छ।
भारत सिमाना नजिकिरहेका जिल्लाबीच व्यापारी कारोबार हुनुको साथ साथै स्वास्थ्य सन्दर्भित कारोबार र उच्च स्वास्थ्य सुविधाका लागि नेपालीहरू भारत आवतजावत गर्नेमा एउटा जिल्ला धनुषा पनि रहेको छ। हुन त मधेश प्रदेशको राजधानी जनकपुरमा मात्र प्रादेशिक जनकपुर अस्पतालसँगै लगभग दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरू सञ्चालित छन् तर पनि उच्च स्वास्थ्य सुविधा प्रदान गर्न असक्षम रहेका छन्।
विशेष स्वास्थ्य सेवा, जटिल रोगको उपचारका निम्ति ३४९ किमी काठमाडौं, २३६ किमी विराटनगर, भरतपुर जानुभन्दा सिमाना परी ९० किमी दरभंगा, ३५ किमी जयनगर तथा १८५ किमी पटना जानु आर्थिक तथा समय दुवै बचत हुन जान्छ।
सँगसँगै एक अर्काको लहलहैमा राम्रो स्वास्थ्य सुविधा पाउँदा पाउँदै पनि विदेशीतिर जानुको लस्कर अझै छ।
झन्डै ५०५ साक्षरता रहेको धनुषा जहाँ अझै बाल विवाहले अग्रता कायम गरेकै अवस्थामा छ। अझै पनि अधिकांश आमाले छोरा पाउनुपर्ने बाध्यता भएको प्रदेश मा प्रजनन स्वास्थ्यलाई बारम्बार चुनौती दिइराखेको छ।
पचास लाख बालिका बधु जसमा दस लाख किशोरी १५ वर्ष नपुग्दै वैवाहिक बन्धनमा बाँधिने हाम्रो देशमा १७ वर्ष नपुग्दै युवती पहिलोचोटि गर्भवती भैसकेका हुन्छन्।
किशोरावस्थाको गर्भले एक्लेम्पसिया, प्युपेरल एण्डोमेट्रेटिस, पाठेघरको संक्रमण जस्ता समस्याको जडो निम्त्याउने कुरो आफ्नो ठाउँमा छँदैछ। जथाभावी बसेको गर्भ र असुरक्षित प्रसवले निम्त्याउने पाठेघरसम्बन्धी अन्य समस्या जस्तै पाठेघर सुन्निनु, झर्नु, प्रोलाप्स हुनु जस्ता समस्याले प्रत्येक दश जनामा एक महिला पीडित छन्।
पाठेघरसम्बन्धी समस्या सुरूकै समयमा पत्ता लगाउन सके उपचारका विभिन्न उपाय तथा साधन छन्।
पाठेघर मुखबाट झरेकै भए पनि तेस्रो डिग्रीको समस्या नभएसम्म खासै सर्जिकल ट्रिटमेण्ट गर्नु पर्दैन साथै यस्ता समस्याका सही र राम्रो उपचार हाम्रै नेपालमा पनि उपलब्ध छ।
जनकपुर प्रादेशिक अस्पताल, जानकी हेल्थ केयर एण्ड टिचिङ सेन्टर, कृष्णा मेडिकल केयर एण्ड टिचिङ सेन्टर तथा अन्य अस्पतालले पनि सुरक्षित सेवा प्रदान गर्दै आइरहेका छन्।
जानकारीको अभाव, चेतनाको कमी, बढी सुविधाजस्ता कारण जे पनि हुन सक्छ, हाम्रा देशका प्रायः महिलाहरू उपचारका लागि विदेशिएका छन्।
दु:खलाग्दो कुरा के हो भने पाठेघरसम्बन्धी समस्या लिएर भारत पुगेका महिलाहरू फर्किंदा आफ्नो गर्भाशय बिना नै फर्किन्छन्।
अज्ञानमा डुबेका र अरूको देखासिकी गर्ने ती महिलाहरूमा सानो अपरेसन र ठूलो अपरेसन नाम मात्रको जानकारी दिई जस्तो समस्या भए पनि तपाईंको पाठेघर फ्याल्नु पर्छ भन्ने जानकारी दिई अपरेसन गरिन्छ।
गत महिना असार मसान्तमा जानकी हेल्थ केयर एण्ड टिचिङ सेन्टरले एक दिवस नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।
उक्त शिविर धनुषाको देउरा, फलगमा, लग्मा, नगरायन गाउँमा सञ्चालन गरिएको थियो। जसमा देउरा ३०५, फलगमा ४०५, लग्मा ६०५ र नगरायन २०५ महिलाहरू प्रजनन स्वास्थ्यसम्बन्धी समस्या लिएर आएका थिए, जसमध्ये १५५ देउरा, ५०५ लग्मा र फल्गामाका महिलाहरूको इन्डिया (दरभंगा, जयनगर) मा उपचार गराउने क्रममा उहाँहरूलाई क्यान्सर भएको र छिट्टै अपरेसन नगराए मृत्यु हुने जानकारीका साथ हिस्टेरेक्टोमी (पाठेघर फ्यालेको) गरिएको पाइयो।
अझ अचम्मलाग्दो कुरा के थियो भन्दा, उहाँहरूको पुरानो रिपोर्ट हेर्दा र लक्षणहरू सोध्दा कुनै किसिमको जटिल समस्या थियो होला भन्न सकिँदैन।
असामान्य रिपोर्टको रूपमा एउटा भिडिओ एक्स-रे मात्रै थियो जुन प्रायः महिलाको उस्तै-उस्तै रिपोर्ट हुन्छ। यसो कुरा गहिरिएर बुझ्ने हो भने, विभिन्न दलालको षड्यन्त्रमा परी युटेरसको अपरेसन गर्ने व्यापारमा हाम्रा देशका महिलाहरू फसिरहेको पाइन्छ।
माथिको तथ्यांक एउटा भरपर्दो डाटा नदेला, यससम्बन्धी कुनै ठोस अध्ययन भएको पनि पाइएको छैन। तर ३०/३५ वर्ष उमेर समूहका महिलाबाट आफूलाई क्यान्सर भएर, पाठेघरको मुख सुन्निएर पाठेघर फ्याँलेको सुन्नुपर्दा कुनै पनि जिम्मेवार स्वास्थ्यकर्मीलाई सहिनसक्नु हुन्छ।
ती महिलाहरूको समूहमा एक जना १८ वर्षीया महिला पनि थिइन्, जसले अरूले जस्तै आफूले पनि गर्भाशय फालेको सुनाइन्।
सिमाना पारी हुने अपराधमा हाम्रा महिलाहरू नपरून् भन्ने स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यालय, मन्त्रालय, देश तथा हामी सबै जागरूक जनताको उत्ति नै जिम्मेवारी हो।
यसो हेर्दा खासै नदेखिने यो एउटा गम्भीर समस्या हो जसको बारेमा पूर्ण अनुसन्धान हुनु जरूरी छ, जागरूकता फैलाउनु, चेतना बढाउनु जरूरी छ। छोरी बचाऊ, छोरीको प्रजनन स्वास्थ्य पनि बचाऊ अभियान सँगै मात्र नेपाल-भारतको मैत्रीपूर्ण सम्बन्धलाई पनि जोगाउन सकिन्छ।
(लेखक जानकी हेल्थ केयर र टिचिङ अस्पतालकी म्याट्रोन हुन्।)