अनि सुरू भो मेरो जिन्दगीको नयाँ यात्रा, नयाँ मान्छेसँगको दैनिकी।
बिहे अगाडि घरमा कसैले गाली गर्दा पनि लाग्थ्यो कि म जस्तो दुखी कोही छैन तर होइन रैछ।
फिल्म र सिरियल देख्दा लाग्थ्यो जिन्दगी कति मिठासपूर्ण हुँदो रैछ तर होइन रैछ।
मैले देखेको फिल्म र सिरियलको जस्तो रोमान्टिक जिन्दगी वास्तवमा रहेनछ। बाँच्न र जीवन जिउनका लागि कला चाहिँदो रहेछ अन्यथा हरेक मोड कठिन।
घरमा म पढ्नको लागि जान्ने सन्तान गनिन्थे, स्कुलमा पनि कमजोरमा कहिल्यै परिनँ। भाषा साहित्यमा अब्बल मानिने म आफ्ना कागजात बेचेर जिन्दगी सजिलै कटाउँछु भन्ने भ्रममा थिएँ तर के थाहा सीप बिनाका खोस्टा बजारमा बिक्री हुन गाह्रो हुन्छ भन्ने।
एकातिर म आफ्नो जन्मघरदेखि टाढा हुन सकेकी थिइनँ। उता जाँदा देउरालीदेखि नै गाडीभित्रबाट १० पटक हेर्थें। मन फुरुङ्ग हुन्थ्यो। भाइबहिनीलाई देख्दा लाग्थ्यो कि यिनीहरू कति खुसी छन्, न केही आवश्यक केबल झगडा गरेकै भरमा सबै पाइन्छ।
अनि फर्किंदा देउरालीसम्मै रुँदै रुँदै फर्किन्थें। तिजका गीत हुन् कि तिहारका भैलो, सबैले मलाई आफ्नो जन्मघरतिर लैजान्थे र भावुक बनेर आँसु खसाल्थें। लाग्थ्यो छोरी बनाएर मलाई कुन जन्मको बदला लियौं भगवान!
आफ्नो दैनिकी सबै मेटाएर फेरि अर्कै जिन्दगी? मलाई किन किन यता आउन मन नै लाग्दैनथ्यो। तर नआएर पनि के सुख! अर्कोतिर यता आएपछि उहीँ दैनिकी फेरि।
भैरहवा वृहस्पति बोर्डिङबाट मेरो सङ्घर्षको कथा सुरू भयो। जति मेहनत मैले आफ्ना शैक्षिक प्रमाणपत्र बटुल्न लगाएकी थिएँ त्योभन्दा कैयौ गुना ती प्रमाणपत्र फिजाउन लगाउनु पर्यो। अर्धसरकारी विद्यालयमा पढेकी मैले प्रखर अंग्रेजी बोल्न सक्दिनथेँ। बिहे अगाडि जागिर खानुपर्छ भन्ने सोच कहिल्यै आएन। पछि मलाई मौका नै दिइएन यद्यपि मेरो लेखाइ सरल र त्रुटिरहित हुने गर्थ्यो। भैरहवा छोडेर हामी बुटवल सर्यौं। त्यहाँ पनि शंकरनगरको प्यारामाउन्ट, जोगीकुटीको सिद्धार्थ, गोलपार्क समिट र वेस्टर्न एकेडेमी, लक्ष्मीनगरको लक्ष्मी नि. मा. वी सबैतिर मेरा प्रमाणपत्रका फोटोकपि बिछ्याइयो। तर कतै मौका पाइएन। एम. एस नेपाल (पाल्पा) भन्ने प्रोजेक्टमा पनि आवेदन भरेँ।
लिखित, प्रयोगात्मक कक्षामा निस्किएर अन्त्यमा फालिएँ पछि बुझियो मेरो अंग्रेजी बोलाइ भएन रे, अनुभव भएन रे। के गर्नु संस्थाहरूले मौका दिएर भविष्य बनाइदिने ठेक्का लिएका हुँदैनन् क्यारे, अनुभवी र चाहिएको बखत नै योग्य हुनुपर्यो। तर बेरोजगारलाई एक ठाउँमा घुस्नै नदिइ अनुभव कहाँबाट आउँथ्यो? बोर्डिङ स्कुलमा पनि धेरैजसो लिखित, प्रयोगात्मकमा निस्किएर अन्तर्वार्तामै फालिएँ। कहीँ अप्रत्यक्ष 'छोराछोरी नभएकालाई छोराछोरी जन्मिने बेला बिदा दिनुपर्छु' भन्ने प्रतिक्रिया मिल्यो। कतै 'यस्तो प्रमाणपत्र हुनेहरू सिक्नको लागि आउँछन् र सिँढी बनाएर जान्छन्' भन्ने।
कुनै पत्रिका हात पर्यो भने सिधै 'आवश्यकता' भन्नेतर्फ आँखा जान्थे अनि अन्त्यमा लेखिएको हुन्थ्यो 'अनुभवीलाई विशेष प्राथमिकता' अनि निराश हुन्थेँ। हर तर्फ लाख कोसिस गरेर पनि मेरा खोस्टा बिकेनन्। माइतमा झगडा पर्दा उपल्लो तलामा लुक्ने म आफैं कराउन सिकेँ, सवाल जवाफ फर्काउने भएँ। अभावले नै घरमा कलहको बिजारोपण भयो। के गर्नु उमेर थियो, बैँस थियो। मन लागेको खान लाउन नपाइदा कति पिर पर्यो। कति रहरहरू मनमै मार्नु परेको थियो। किन किन म खुसी छँदै थिइनँ। तै पनि कहिले पसिनै पसिना भएर रिक्सा चलाउनेलाई हेर्थेँ आफ्नो जीवन उत्तम लाग्थ्यो, कहिले त्यो टन्टलापुरे घाममा खेतमा काम गर्नेलाई देख्दा म जस्तो सुखी को छ र भन्ने लाग्थ्यो यसैगरी मन बुझाउँदै थिएँ।
'पढेका मान्छे गाउँ बस्नु हुँदैन' भन्ने सङ्किर्ण मानसिकताले मलाई बजारमा अभाव र दबाबका बीच बस्न बाध्य बनायो। घर माइत जहाँबाट फोन आउदा पनि 'देवका केही काम गर्न थाल्यौ त?' भन्ने प्रश्नले नराम्रोसँग चिमोठट्थ्यो, लाचार बनाउथ्यो अनि फोन गर्न पनि मन लाग्दैनथ्यो।
बजारको बसाइ, श्रीमानको सीमित आम्दानी, घर व्यवहार यी सबैले आकुल -व्याकुल पार्दै थियो। मेरो पढाइलाई निरन्तरता दिने सोचले झनै गाह्रो भएको थियो। आखिर कतै बिक्री नभए पनि यो मन यत्तिकै बस्न मानिरहेको थिएन।
कहिले विदेश जाऊँ कि भन्ने सोच आउँथ्यो कहिले व्यापारतिर होमिऊँ कि भन्ने तर हातमा सुकी मोहोर थिएन कहाँबाट सुरू गर्नु? लोक सेवा आयोगको तयारी गरौँ भने समय लाग्छ, लामो समय बेरोजगार बस्नुपर्छ, मलाई तत्कालै जीवन सहज बनाउन आर्थिक पाटाेको खाँचो थियो। यो सबै कुरा माइत भन्न सक्दिनथेँ। स्वस्थानीका कथा सम्झेर आफ्नो जिन्दगीलाई यथार्थपूर्ण रूपमा स्वीकार्न बाध्य हुन्थेँ। कहिले रुन्थेँ, कहिले सम्हालिन्थेँ। देख्नेहरू मेरो जिन्दगी विन्दास छ भन्थे। मनमा कैयौं चोट र पीडा लिएर रमाउने अल्पसंख्यकमध्ये एक म पनि हुँ।
कुनै देखाउन मिल्ने कुनै भन्नै नसकिने पीडालाई अपनाएर जीवन गुजार्न सिकिसकेकी थिएँ जसको निरन्तरता अझै पनि जारी छ। माइत जाँदा भाउजूहरूको जिन्दगी कति आनन्दको छ काम नै गरे पनि व्यवहारको कुनै चिन्ता छैन, कति बुझ्ने हुनुहुन्छ दाइहरू भन्ने लाग्थ्यो। फेरि अर्काको भाग्यदेखि के आरिस्? मेरो जिन्दगी मैले नै बनाउनु छ भन्दै मन दरो पार्थेँ।
यसैबीच सँगगै भाडामा बस्ने बहिनी मेनकाले आफूले नजानेको कुरा मसँग सोध्थिन्अनि भन्थिन् 'दिदी हाम्रा सरले केही बुझाउनन् हजुरले कति जान्नुभाको छ यस्तो बुझाएर सिकाउनुहुन्छ बरू होम ट्युसन भए नि पढाउनु न।'
उमेरले सानो भएर के, बहिनीको बोलीमा मेरो लागि मल्हम थियो।
मेनका, मन्जु लगायतका मेरा प्रिय बहिनीहरूका सहयोगले केटाकेटी जम्मा गरेर मैले १२ कक्षा अंग्रेजी विषयको होम ट्युसन सुरू गरेँ।
सुरूमा १५ जना केटाकेटी थिए अन्त्यमा ८ जनामा झरे। त्यही पनि ४ जनाले मात्र पैसा दिए त्यो नै मेरो जीवनको पहिलो कमाइ थियो।
सोच्थेँ एउटा राम्रो जागिर गरेँ भने आमालाई मेरो पहिलो कमाइले साडी किनिदिऊँला तर आफ्नै अभावको जिन्दगी थियो केवल कल्पनामा मात्रै सीमित भयो। त्यसपछि मेरो पढाइ र ठूलो बाबु पेटमा हुर्किंदै थियो एकदिन अचानक बुढोले मलाई '१२ कक्षा पढाउन पाइएको छ, जान्छेउ ?' भन्नुभयो।
आफू दोजिया भए पनि म त्यो अवसर गुमाउन चाहिनँ। दुनिया संघ संस्थाबाट गलहत्याइएकी म एक कक्षा नपढाइकनै सिधै १२ कक्षा प्रवेश गरेँ, डर थियो तै पनि हिम्मत साथमा। सुरू सुरूमा पढाएर निस्किँदा ठूलै काम सकाएजस्तो लाग्थ्यो पछि बानी पर्दै गयो।
मेरा विद्यार्थी मेरा साथी बने मेरो पेशा मेरो कर्म बन्यो। आफ्नो पकेट खर्चको जोहो भयो। एक वर्षमै म मेरा विद्यार्थीको मन पर्ने शिक्षक बनेँ, यो मेरो जीवनको उत्कृष्ट उपलब्धि थियो।
मेरो घाउमा मल्हमपट्टी गरिदिने दोभान उच्च मा. वि प्रति मेरो सदैव उच्च सम्मान रहिरहनेछ यद्यपि अहिले म अध्यापनको क्षेत्रमा छैन। म पार्टटाइम काम गर्थेँ तर पनि यो सानो खुसीले मेरो जिन्दगीमा अरू बाटो खोलिदिँदै गयो। बिस्तारै सानातिना सफलताहरू हात पर्दै गए। मेरो जिन्दगी अब बामे सर्दै थियो, हिँड्न सकूँला भन्ने विश्वास मनमा बस्यो।