नेपालमा चलेको उखानै छ, ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी।’ सदियौं पुरानो यो उखानले हाम्रो सदियौं पुरानो चिन्तनलाई गतिलोसँग उजागर गरेको छ।
केही छ त सबै छ, केही छैन त कोही छैन। सर्वमान्य सिद्धान्त पनि यही हो। जोसँग केही हुन्छ त्यसलाई कैयौंले पछ्याउँछन्, सुन्छन् अनि वाहवाही गर्छन्।
साइकल चढ्नेको भन्दा बाइक चढ्नेको कुरा धेरै सुनिन्छ। बाइक चढ्नेभन्दा गाडी चढ्नेको कुरा धेरै सुनिन्छ। लखपतिभन्दा करोडपतिलाई धेरैले पछ्याउँछन्। करोडपतिभन्दा अरबपति अनि अरबपति भन्दा खरबपति। यो आम मानवीय प्रवृत्ति हो। खास पुँजीवादी व्यवस्थाको सूचक नै यही हो। टल्कने तारा, फुलेको फूल, फलेको रूख अनि बगेको नदी यही त हो मान्छेले माया गर्ने कुराहरू। दिनभरी साथमै हुने सूर्यलाई रातमा कसले सम्झेको छ र?
भौतिक उन्नतिलाई नै सम्पन्नताको खुड्किलो मान्ने आम मान्छेको बुझाइ देखिन्छ।
आज तोते बोल्ने सन्तान, जुनजस्ती मायालु अनि डाँडापारीमा बाबाआमा छाडेर मान्छे तल्लोबाटो ‘बाँचे साथमा मरे घाटमा’ भन्दै अमेरिका पुगेको छ, युरोप पुगेको छ।
कोही त मेहन्दीले नाम लेख्ने मान्छे भेटेको पहिलो पटक आफ्नै नाम पनि म्यासेन्जरबाट हेरेर चित्त बुझाउँदै हिँडेको छ।
यही ‘केही छ’ बनाउनका लागि त हो। केही नहुँदा पनि कोही हुने भए किन मान्छेले यति अग्लो दु:खको पहाड वियोगले काट्ने थियो र?
साँच्चै केही नहुँदाको जिन्दगी समुद्र जस्तो पो हुँदो रहेछ। केही नछेकिने पनि, केही नदेखिने पनि। जीवनका यामहरू खुलेयाम शिशिर बोकेर जान्छन्, आफ्नाहरू गोरेटो बदलेर जान्छन्, सम्बन्धहरू 'अदालत' जान्छन्, खुसीहरु फरार सूचीमा पर्छन्, मनको राजा भन्नेहरूले गणतन्त्र ल्याउँछन्। हो केही नहुँदा, कोही हुँदैन।
केही दिन अगाडि एक नेता भन्दै थिए 'मन्त्री हुँदा क्या सान थियो फुस्केको दिन फेरि उही सडकमा भइयो'।
मानिसले पाउने पद स्थिर हुँदैन। पाएको दिन वाहवाही हुन्छ गुमेको दिन बोलिदिने पनि कोही हुँदैन। भन्छन् त असली मान्छे पदमा पुगेपछि चिनिन्छ। हो पदमा पुर्याउनेले पनि चिन्छ, पदमा पुग्नेले पनि चिन्छ। मान्छेको मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय सूचक यही पद त रहेछ। हरेकलाई संघर्षका दिनमा अर्काको धेरै साथ चाहिएको हुन्छ। तर तपाईंले आफ्ना संघर्षका दिनहरूलाई फनक्क घुमेर हेर्नुहोस् त कतिले दिएका थिए तपाईंलाई साथ? कति थिए तपाईंको हात तानेर अगाडि बढाउनेहरू? त्यतिबेला फर्केर हेरिदिने मान्छे पनि थिएन होला। सुनिदिने र मनको कुरा गुनिदिने मान्छे पनि हुँदैन। एक्लो हुँदा आफ्नो मन पनि त विरक्तिन्छ, आफैंसँग हुँदैन। कहाँ कहाँ जान्छ सम्हाल्नै नसक्ने गरी। संसारमा केही पनि नहुनु भनेको मान्छे नै नहुनु हो त? अहिलेको सामाजिक व्यवस्थालाई हेर्दा माथिको प्रश्नको जवाफ सकारात्मक नै आउने गर्दछ।
मलाई जागिरे जीवनबाट अवकाश हुने बेलामा कथाकार महेश विक्रम शाहले लेखेको स्टाटसले साह्रै मन छोएको थियो।
उनले जागिरे जीवनमा सबैले नजिक नजिक बनाएपछि जागिरे जीवनपश्चात सामान्य मान्छेले पनि वास्ता नगरेको गुनासो गर्दै पीडा पोखेका थिए। अवकाश पछिको जीवनमा अधिकांश मानिसहरू डिप्रेसनको सिकार हुनुका पछाडि उसलाई नगर्ने वास्ता नै महत्वपूर्ण कुरा हो। सधैंभरी भिडमा बाँचेको मान्छे एकाएक एक्लो भएपछि के हुन्छ? सधैं भरिने नारायणी सुक्यो भने के हुन्छ? हामी सहज अनुमान लगाएर पीडाबोध गर्न सक्छौं। जीवनभर जागिरका क्रममा हरेक मान्छेसँग जोडिनुपर्ने हुन्छ। कैयौं मान्छेका काम गर्नुपर्ने हुन्छ। धेरैले सहयोगका लागि लालायित भएका हुन्छन्। तर जब जागिरे जीवनको समाप्ती हुन्छ आफूले काम गरिदिएका मान्छेहरू नै आफैंलाई एक्लाउँछन्। सम्बन्ध स्वार्थले मात्रै जोगाएपछि यस्तै हुने हो। आजभोलि यस्तो लाग्छ स्वार्थको संसर्गले मात्रै सम्बन्धको जन्म हुने त होइन? जब स्वार्थको नै 'बन्ध्याकरण' हुन्छ अनि सम्बन्धहरू जन्मन बन्द गर्छन्।
अधिकृतस्तरका एक रिटायर्ड कर्मचारी आफ्नो तीतो अनुभव सुनाउँदै थिए।
'पहिला पहिला चिया पसलमा कुरा गर्दा सारा भिडका मानिसहरूले एकाग्र भएर स्वस्थानी सुने जसरी कुराहरू सुनेका हुन्थे। चियाको पैसा तिर्न लाग्दा समेत मैले तिरिदिन्छु भन्ने मान्छेहरूको चर्को आवाज सुनिन्थ्यो तर रिटायर्ड भएको एक सातापछि कुरा सुनिदिने त टाढाको कुरा राम्रोसँग बोल्ने पनि हुँदैनन्।'
यसले पनि देखाउँछ केही हुनेको मात्रै कोही हुन्छ। यो भोगाइ आम अवकाशप्राप्त मान्छेको हो। अवकाश अगाडि र पछाडि मोबाइलको कल लग हेर्ने हो बुझिन्छ जिन्दगी के हो भनेर। एकबारको जीवनलाई सार्थक तुल्याउनका लागि हो, केही न केही हुनुपर्दछ। तर सबै मान्छे कहाँ केही बन्न सक्छन् र? यस्तो लाग्छ केही नहुनु कतै मान्छे नै नहुनु त होइन? 'केही' मा त्यस्तो चुम्बकीय शक्ति हुन्छ जसले गर्दा जे बोले पनि सबैका लागि अमृत बचन हुन्छ तर त्यो सकिएको दिन जे बोले पनि निरर्थक मात्रै हुन्छ।
मान्छेलाई पछि पछि लगाउने, जस्तासुकै कुराको पनि प्रशंसा गर्न लगाउने यो 'केही' भनेको के हो त? पैसा? पावर? क्षमता? या अन्य? माथिको कुरालाई अलग अलग ढंगले हेर्न सकिन्छ।
पहिलो कुरातिर नै जाऊँ पैसा।
पुँजीवादी व्यवस्थामा पैसा सबैभन्दा चुचुरोमा हुन्छ। कसले भनेको सगरमाथा अग्लो हुन्छ भनेर? मान्छेको सान, रवाफ सबै कुरा पैसाले निर्धारण गर्दछ। तपाईं आफैंलाई हेर्नुहोस् त पैसा हुँदा र नहुँदा तपाईंलाई कस्तो अनुभूति हुन्छ? जोसँग पैसा छ आज त्यसलाई समाजले केन्द्रमा राखिरहेको छ। धेरै जनाको दिक्दारी हामी सुनिरहेका हुन्छौं 'फलानो जस्तो पैसा कमाउन सकिएन, जीवनमा केही गर्न सकिएन' आज हरेक व्यक्तिका लागि यो साझा समस्या बनिरहेको छ। पैसा कमाउनु नै जीवनको सफलताको मापनका रूपमा हेर्ने प्रवृत्ति कोरोना भाइरस जस्तै फैलिएको छ।
पैसा कमाउनु आम मान्छेका लागि गुणस्तरीय जीवन बिताउने बलियो आधार पनि हो। तर पैसामात्रै कमाउनु भने जीवनको तिरस्कार हो। मान्छेलाई बाँच्नका लागि कति पैसा चाहिन्छ?
एकपटक मैले पडकास्टमा अरबपति ज्ञानेन्द्रलाल प्रधानका कुरा सुनेको थिए।
'मान्छेको जीवनमा पैसा कमाउनुले एउटा तहसम्म मात्रै महत्व राख्छ त्यसपछि त्यो केवल आफूले गर्व गर्ने साधनमात्र हुन्छ, जस्तै मैले केही करोड कमाउँदासम्म मलाई पैसाको महत्व हुन्छ तर अब अरब कमाएको पैसाले मलाई केही पनि महत्व राख्दैन। मैले जति पैसा कमाए पनि चढ्ने एकाध करोडको गाडी हो, बस्ने पनि त्यस्तै घर हो, खाने उही कुरा हो त्यो पैसा मेरो जीवन गुणस्तरीय बनाउनका लागि कहिल्यै काम लाग्दैन केवल मसँग यति सम्पत्ति छ भनेर सन्तुष्टि गर्ने कुरा मात्र हो' उनले विनोद चौधरीको उदाहरण दिँदै भनेका थिए, 'अब विनोद चौधरीले हरेक वर्ष बढाएको धनले उनको जीवनलाई खासै प्रभाव पर्दैन बस सूचीमा कहाँ परे भन्ने मात्रै हो।'
आज मान्छेका लागि पैसा नै केन्द्रमा छ। पैसाबिनाको मान्छेको तौल कपासजस्तो पो हुँदोरहेछ। पैसा कमाउन सकिएन भने कुनै पनि कामको अर्थसिद्ध हुन छाडेको छ।
'सरकारी कर्मचारी भनेर के गर्नू, यताउता गरेर कमाउने होइन' यो प्रश्नको सामना कतिले गर्नुपरेको छ?
केही हुनु भनेको अर्को महत्वपूर्ण कुरा पद हो। धेरैलाई लाग्छ पद आफ्ना लागि हो। तर अलिक गहिराइमा डुबेर सोच्नुस् त? पद तपाईंका लागि भन्दा पनि तपाईंका 'तपाईंहरू' का लागि हो।
पदमा पुगेको मान्छेले केही न केही गरिदिन्छ भन्ने स्वार्थले गर्दा अनुयायीहरू एकाएक बढेर जान्छन्। जुन दिन पद सकिन्छ आफ्नाहरू पनि सकिन्छन्।
जीवनभर इमानको राजनीति गरेर कहिल्यै सत्तामा नपुगेको मान्छेका पछाडि कति जना छन्? गन्नुभएको छ? नगन्नु होला 'इमान' शब्दप्रति नै तपाईंलाई वितृष्णा आउन सक्छ।
खास अर्थमा केही हुनु भनेको क्षमतावान हुनु पनि हो। कुनै पनि विषयमा पोख्त हुनु, जानकारी राख्नु, गहिरो ढंगले बुझ्नु या त्यो विषयमा उठेका प्रश्न र जागृत भएका समस्या चुड्कीको भरमा समाधान गर्नु यही त हो क्षमता भनेको। तर क्षमता भएर त्यसलाई पैसा उत्पादन गर्ने कारखाना बनाउन सकिएन भने 'मुकुन्दे' भइन्छ। आज क्षमताका आधारमा यसले कति द्रव्य संकलन गर्यो भन्ने कुरा मात्रै मापनमा आउँछ।
दुर्गम जाने डक्टर, आफ्नै घर बनाउन नसक्ने इन्जिनियर, छोराछोरीलाई राम्रो ठाउँ पढाउन नसक्ने शिक्षक, बैंक एकाउन्टमा तलब मात्रै आउने कर्मचारीका आफन्त अनि कसैले 'केही' मानेको तपाईंले देख्नुभएको छ? हो केही नहुनेको कोही हुँदैन।