मेरो टोलमा करिब ७ जना विद्यार्थी भाइ-बहिनीहरूले यो वर्षको एसइई राम्रै ग्रेडका साथ उत्तीर्ण गरेछन्। एसइई परीक्षा सकिएको केही दिन पछिको भेटमा अब कुन विषय पढ्ने भन्ने मेरो प्रश्नमा उनीहरूमध्ये कतिपयको जवाफ अब रिजल्टपछि थाहा हुन्छ, खै घरमा के भन्नु हुन्छ, साथीहरूले जे पढ्छन् त्यही, भन्ने आयो।
केहीले मात्र म यो विषय पढ्छु भनेर ढुक्कसँग जवाफ दिए। जब नतिजा सार्वजनिक भयो मैले फेरि उनीहरूलाई सोही प्रश्न दोहोर्याएँ। जसमा उनीहरूले निर्धक्क भएर निर्णय गर्न नसकेको आभाष भयो। यो समस्या ती भाइबहिनीहरूको मात्र होइन यस्ता तमाम विद्यार्थीहरूको समस्या हो।
एसइई २०७९ को नतिजा प्रकाशन भइसकेको एक महिना करिब करिब पूरा भइसकेको छ। नतिजा प्रकाशन भएको यत्तिका समय भइसक्दा समेत कतिपय विद्यार्थीहरू भने उच्च शिक्षा अध्ययनका लागि कुन विषय रोज्ने भन्ने कुराको अन्यौलमा रहेका छन्।
एसइई नतिजापछि कुन विषय पढ्ने प्रश्नको जवाफ उनीहरूसँग छैन। सबै विद्यार्थीका अभिभावकहरू पढे लेखेका हुँदैनन्, आफ्ना सन्तानलाई उचित निर्णय दिन नसक्ने हुँदा, विभिन्न कलेज, प्राविधिक शिक्षालय सञ्चालकहरूको तानातान, कुन विषय पढ्दा आफ्नो भविष्य सुरक्षित बनाउन सकिन्छ भन्ने थाहा नहुँदा, जानकारी गराउनेहरूले पनि विद्यार्थीहरूको भविष्यको भन्दा पनि आफ्नो स्वार्थलाई माथि राखेर उनीहरूलाई परामर्श दिँदा पनि उनीहरू अझै अन्यौलमा रहेको देखिन्छ।
अहिले कलेज सञ्चालकहरूले शिक्षालाई सामाजिक सेवाको रूपमा भन्दा पनि व्यापारका रूपमा लिँदा पनि विद्यार्थीहरूमा अझ बढी अन्यौलता देखिन्छ।
एसइई उत्तीर्ण पछिको पहिलो पाइलाले नै उनीहरूको सँगसँगै यो देशको भविष्य समेत निर्धारण गर्ने हो।
कक्षा १ देखि १० कक्षा पढ्दा सम्मको समय उनीहरूले आधारभूत र अनिवार्य कुराहरू मात्र पढिरहेका हुन्छन्। तर जब उनीहरूले एसइई पार गर्छन् अनि उच्च शिक्षाका लागि कुन क्षेत्र अंगाल्छन् त्यहीँबाट थाहा हुन्छ कि उनीहरू भविष्यमा के बन्छन् भनेर।
आजका एसइई उत्तीर्ण विद्यार्थीहरू नै भोलिका यो देशका प्रशासक, शिक्षक, डाक्टर , पाइलट , इन्जिनियर, कृषि विज्ञ, वन विज्ञ, खाद्य विज्ञ लगायत हुन् र उनीहरूमा नै यो देशको भविष्य अडिएको हुन्छ। त्यसैले यो समयमा उनीहरूले सही निर्णय लिएर यदि अघि बढ्न सकेनन् भने यो देशको भविष्य अन्धकार निश्चित छ।
हिजोआज विभिन्न चिया पसलहरूमा, सामाजिक सञ्जालहरूमा, लेखक विश्लेषकहरूका लेखमा, विश्लेषणमा, अन्तर्क्रियाहरूमा यो देशमा युवा जमातको खडेरी पर्न लागेको, गाउँ समाजमा जाँदा वृद्धवृद्धाहरू, बालबालिकाहरू मात्र भेटिने अधिकांश युवा युवतीहरू विदेशिएको कुरामा चिन्ता व्यक्त गरिएको हुन्छ।
यदि यसरी नै चिन्ता मात्र गर्ने तर यसको सही उपचार खोजिएन भने यो देशको भविष्य के होला? सम्झिँदा पनि डर लाग्छ।
केही वर्ष पहिलेसम्म हाम्रो देश नेपालको भन्दा पनि नाजुक अवस्था भएका देशहरूको विकासले यसरी फड्को मारेको देख्दा लाग्छ गरेपछि असम्भव केही छैन। त्यसैले कुनै पनि देशको विकास र समृद्धिका लागि गुणस्तरीय शिक्षामा लगानी गर्नु पनि एक माध्यम हो।
विभिन्न तथ्यांकहरूलाई हेर्दा प्राविधिक शिक्षा अध्ययन गरेका जनशक्तिहरू कम मात्रामा विदेशिएको पाइन्छ या भनौं प्राविधिक शिक्षा अध्ययन गरेका जनशक्तिले सकेसम्म स्वदेश मै केही न केही गरिरहेको पाइएको छ।
प्रायः जसो विद्यार्थीहरूमा प्लस टु सकेपछि कुनै राम्रो देशमा जाने र त्यहाँ गएर आफ्नो पढाइलाई अगाडि बढाउने भन्दा पनि पैसा कसरी धेरै कमाउन सकिन्छ र त्यहाँको नागरिक बन्नका लागि पहल गर्ने अनि त्यही आफ्नो बन्दोबस्त गरेर बस्ने मनशाय देखिन्छ। त्यसैले अहिले प्राविधिक शिक्षामा भन्दा कैयौं गुणा धेरै संख्यामा विद्यार्थीहरू प्लस टु अध्ययन गरिरहेका छन्।
हिजो आजको अवस्था हेर्दा स्वास्थ्य बाहेकका प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या गएको वर्षमा भन्दा पनि कमी आउने देखिन्छ।
एसइई पछि कसरी अगाडि बढ्ने या भनौं प्लस टु पछि विदेशिने संख्या घटाउनका लागि सरकारले केही न केही नीति ल्याउन सकेन भने समृद्ध नेपाल नारामा मात्र सीमित हुने निश्चित छ। जसका लागि कक्षा ९ देखिकै पाठ्यक्रममा कसरी उद्यमशील बन्ने , उनीहरूमा देशप्रेम र देश विकासको भावना बढाउने अनुसारको, एसइई पछिको उनीहरूको गन्तव्य निर्धारणका लागि सहज वातावरण सृजना गर्नुपर्ने देखिन्छ।
हामी कहाँ कुनै एउटा विद्यार्थी पढ्दै छ भने उसको काम नै पढ्ने मात्र नबनाएर उसलाई केही न केही काममा व्यस्त बनाउन सकिन्छ। जसले गर्दा उनीहरूलाई आफू आत्मनिर्भर भएको महसुस होस्।
हाम्रो देशबाट विदेश जाने विद्यार्थीहरूले अनिवार्य रूपमा पढ्दै र कमाउँदै गर्न सक्ने त्यही काम भने हाम्रो देशमा गर्न नसक्ने भन्ने पनि हुन्छ? यसका लागि जब सम्म सरकारले उद्यमशीलतालाई प्रोत्साहन गरेर युवालाई स्वदेशमै राख्न पहिला त पूर्वाधार तयार गरी कार्यान्वयनमा ल्याउन जरूरी छ, जसले उद्योग व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सकोस्।
विभिन्न तरिका अपनाएर स्कुल कलेजको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरू आफ्नो जीवनको परीक्षामा पास हुन सकेका छन् कि छैनन् यसको मूल्यांकन कहिले भएको छ कि छैन? त्यसैले सरकारले विद्यालय तहदेखि नै किताबी शिक्षा मात्र नभएर व्यवहारिक र व्यावसायिक शिक्षा प्रदान गर्ने नीति ल्याएर त्यसलाई व्यवहारमा लागु गर्यो, कामको आधारमा दण्ड वा सजायको व्यवस्था लागु गर्न सक्यो भने यो देशबाट नागरिक निर्यात गर्ने मात्र नभएर आयात गर्न पनि कसो नसकिएला र?