तपाईं आश्चर्य मान्न सक्नु हुन्छ आखिर पैसा कहाँ हरायो? यहाँ हरेक व्यक्ति पैसाको खोजीमा दौडिरहेका छन्। आज मजदुरको गोजीबाट पैसा हराएको छ। ठेकेदारको गोजीबाट पैसा हराएको छ। उद्योगी, होटल, किराना, कपडा, कृषक सबै किसिमका व्यवसायीको खाताबाट पैसा हराएको छ। बजारबाट ग्राहक हराएका छन्। हिजो आज माग्नेहरूले बजारमा पैसा हराएको थाहा पाएछन् उनीहरू नै माग्न आउन छाडेका छन्।
सबै सोधिरहेका छन् आखिर पैसा कहाँ हरायो। म हिजो आज सहरका गल्लीगल्ली कहिले गाउँका घरघरमा गइरहेको छु। अहँ कोही पैसा छ भन्दैन। हिजो धनि जस्तो देखिने व्यक्ति आज एकाएक गरिबजस्तै देखिएका छन्। यहाँ गरिबको त के कुरा गर्नु ऊ सधैं गरिब नै छ उसलाई बजारमा पैसा हराएको खासै चिन्ता छैन।
हिजोआज एकाएक सहकारी संस्थाबाट सर्वसाधारण ग्राहकको बचत पैसा हराएको छ। यता सहकारी संस्था अगाडि बचत फिर्ता लिनेको ग्राहकको भिड लागेको छ। सहकारीका मालिक सहकारीको पैसा लिएर फरार भएका छन्। ज्यान जोगाउन फरार भएका हुन या त पैसा लिएर त्यो उनीहरू नै जानुन्। सहकारीबाट पैसा हराएकोमा सरकार बोल्दैन स्थानीय निकाय बोल्दैन। सहकारीका मालिकलाई कारबाही कसले गर्ने सरकार नै उनीहरूको छ। सहकारीका मालिक नै उनीहरू हुन् कारबाही कसले गर्ने?
आज सहकारीबाट पीडित जनता आन्दोलनमा छन् सरकार सुनेको नसुनेझैं गर्छ।
यहाँ बैंक भनिरहेका छन् लगानी गर्ने पैसा छैन। व्यवसायीले ब्याज तिरेका छैनन्। सरकार भनिरहेको छ कर्मचारीलाई तलब खुवाउने पैसा छैन। उद्योगी भनिरहेका छन् कच्चा पदार्थ ल्याउने पैसा छैन। त्यसैले उद्योग चल्न सकेको छैन। उद्योग नचलेपछि कामदारलाई दिने पैसा छैन। ठेकेदारले भनिरहेका छन् सरकारले पैसा निकासा गरेको छैन। मजदुर भनिरहेका छन् उद्योग, ठेकेदारले ज्याला ‘पैसा’ दिएका छैनन्। किराना, होटल व्यवसायी भनिरहेका छन् उधारो लिएर गएका कामदारले पैसा दिएको छैन।
वृद्धवृद्धा सोधिरहेका छन् हाम्रो बैंकमा सरकारले वृद्धभत्ता कहिले हालिदिन्छ। आखिर पैसा कहाँ छ त? न त यहाँ बैंकसँग छ न त सरकारसँग नै आखिर पैसा कहाँ गयो?
सडकदेखि सदनसम्म सबैले सोधिरहेका छन् पैसा कहाँ गयो सरकार खोजिरहेको छ पैसा कहाँ गयो? सरकार र राष्ट्र बैंक भनिरहेका छन् बिस्तारै ठीक हुँदैछ।
यता व्यवसायी बैंक वित्तीय संस्थाको ब्याजदर बढी भएको भन्दै सडकमा चिच्याइरहेका छन्। सहरमा आधा सटर बन्द हुँदैछन्। व्यवसायी पलायन हुन थालेका छन्।
दैनिक जसो कुनै न कुनै व्यवसायीले आत्महत्या गरेको समाचार आइरहेको छ। देशमा रोजगारी नभएपछि युवायुवतीहरू मेनपावर दलालको खोजीमा भौंतारिरहेका छन्।
दलालले युवाहरूलाई युरोपको सपना देखाएर करोडौं उठाएर बेपत्ता छन्।
सरकार भनिरहेको छ देशमा रोजगारीको वातावरण सृजना हुँदैछ। सरकार भनिरहेको छ अर्थतन्त्र ठीकठाक चलिरहेको छ। केही समय अगाडिका अर्थमन्त्रीले भन्दै थिए पैसा कता हरायो कसैले सिरानीमुनि लुकायो कि!
‘म खोज्दै छु’ भन्दै थिए उनी। आफैं हराए हिजो आज कता छन् कतै उनी आफैंले लुकाएको पैसा सिरानीमुनि खोज्दै छन्।
उनी आफैं जानुन्। अहिले नयाँ अर्थमन्त्री आएका छन् उनी पनि पैसा कहाँ हरायो राज्यको ढुकुटी कसले कब्जा गर्यो भन्दै कहिले कर्मचारीलाई थर्काएका छन् त कहिले व्यवसायीलाई। उनी पनि पैसा खोज्दाखोज्दै कति बेला हराउने हुन उनी आफैंलाई थाहा छैन। उनलाई पनि आरोप लाग्ने गरेको छ। तस्करीसँग मिलेर काम गरे।
बजारमा पैसा छैन सबैलाई थाहा छ तर दैनिक उपभोग्य सामानको मूल्य बढेको बढ्यै छ। बजारमा व्यापार छैन तर बच्चाबच्चीको फी बढेको बढ्यै छ। यहाँ पैसा बिना डाक्टरले उपचार गर्दैनन्। पैसाबिना विद्यालयले विद्यार्थी भर्ना गर्दैनन्। बाउसँग पैसा नभएको छोराछोरीलाई थाहा छैन। हिजो आज पैसा बिना मलामी आउँदैनन्। तर सरकार भनिरहेको छ सबै ठीकठाक चलिरहेको छ।
बैंक वित्तीय संस्थाको तनाव कसरी खेपेका होलान्? आजसम्म व्यवसायीहरूले व्यवसायको लागि ऋण लिएको हुँ पार चलेको छैन बैंक वित्तीय संस्थालाई थाहा छ। सबै कुरा बजारमा व्यापार चल्न सकेको छैन तर पनि उनीहरू किस्ता ब्याज माग्न छाड्दैन्।
हिजो आज पसल खोल्न मन लाग्दैन। खोलिहाले ग्राहकभन्दा धेरै बैंक, साहु आउन थाले। साथीभाइ कराउन थाले। यो सबै कसलाई सुनाउने कसलाई भन्ने सुन्ने सरकार छैन।
सरकार नभएको पनि हैन घर अगाडि सरकार छ त्यो कर उठाउनमात्र जानेको छ समस्या बुझ्दैन। त्यस्तालाई के सरकार भन्नु नवसामन्ती हुन्। सुन्ने हाम्रो कुरा लेख्ने उनै पत्रकार हुन् उनीहरू पनि अहिले आफैं समस्यामा छन्। आफैं समस्या भएको बेला कसको समस्या सुन्ने कसको समस्या लेख्ने?
उनीहरू नै समयमा तलब पाउन सकेका छैन। व्यापार नभए पनि घरबेटीलाई भाडा तिर्नैपर्ने छोराछोरीको स्कुल फी तिर्न पर्ने। बाँच्नको लागि एकछाक खानै पर्यो।
ए सरकार सबैलाई भनि दे! पहिला हामीलाई बाँच्न दे! हामी बिस्तारै तिर्ने छौं तिम्रा ऋण तिमीलाई कर हाम्रो बाध्यता बुझी दे! एउटा मजदुरले ज्याला किन पाएन किसानले उत्पादन गरेको तरकारीको मूल्य किन पाएनन्। बजारमा ग्राहक किन आएनन्। आखिर बजारबाट पैसा कहाँ गयो सरकार आफैं भनि दे। हामीलाई यहाँ बाँच्न गाह्रो भयो सरकार पैसा कहाँ हरायो!