एकछिन, एकछिन श्रीमान ज्युहरू माथिको टाइटल हेरेर आफ्नो जन्म कुण्डली, राशिफलका बारेमा होला, भन्नेतिर नलागौं है।
मैले यहाँ कुनै ज्योतिषी शास्त्रसँग सम्बन्धित कुरा गर्न लागेकी हैन। रंगी विरंगी मुगा, पञ्चधातुका लाखौं पर्ने औंठी र जन्तर लगा अनि आफ्नी श्रीमतीलाई आफ्नो इसारामा नचा भन्न खोजेकी पनि पटक्कै हैन।
यसको लागि त अलिकति आफैंबाट कसरत गर्नुपर्छ। फेरि त्यो फलाम उचालेर जिम खानामा गर्ने कठिन किसिमका कसरत पनि पक्कै हैन।
पिर नगर्नुस्, मेरा कसरत र उपाय गर्नलाई एकदम सरल छन् जसलाई आत्मसाथ मात्र गर्ने हो भने हजुरहरूको घर मन्दिर बन्नेछ।
मेरा यी टिप्सहरू कुनै नाम कहलिएका किताबबाट लिइएका हैनन् न त कतै सुनेकै भरमा यसै लेखिएका हुन्। कुनै कुनै आफ्नै पनि र अधिकांश आफ्ना इष्ट मित्रहरूका अनुभवबाट लिइएको हो जुन एकदम व्यवहारिक छ।
विवाह एक संयोग हो चाहे मागी होस् या भागी। विगत सबैको हुन्छ त्यसैले तपाईंले कस्तोसँग विवाह गर्नु भयो त्यो कुराले फरक पर्दैन तर विवाहपछि फरक चाहिँ तपाईंले गर्ने व्यवहारले पार्छ।
एक अर्काबाट सही व्यवहार मात्र पाएमा अपवादबाहेक सबैमा सकारात्मक परिवर्तन आउँछ जहाँ दुईमत नै छैन।
हाम्रो व्यवहार एउटा यस्तो अस्त्र हो जसको प्रहारले जस्तोसुकै राम्रा मानिसलाई नराम्रो र नराम्रो मानिसलाई राम्रो क्षणभरमै परिवर्तन गर्न सक्छ।
श्रीमती विवाह गरेर भित्रिँदा एउटा विद्यालयबाट विश्व विद्यालयमा भर्ना भए जस्तो हो जहाँ पाइलापिच्छे नयाँ नियम कानुन हुन्छन्।
समय लाग्छ उसलाई त्यहाँको तौरतरिका बुझ्न अनि सिक्न। नयाँ घरको तौरतरिका, चालचलन सबै पहिला नै बुझाइदिने हो भने श्रीमतीलाई नयाँ घरमा भिज्न एकदम सजिलो हुन्छ र घरमा पक्कै पनि द्वेषले ठाउँ पाउने छैन।
श्रीमती भनेको आफ्नो जीवनभरिको साथी हो। उसको पनि एकबारको जुनी हो। उसलाई पनि आफ्नो योग्यता अनुसार आर्थिक रूपमा सबल हुन मन हुन्छ अनि त्यो कुरा बुझिदिनुपर्यो। यो एकदम महत्वपूर्ण अनि गम्भीर कुरा हो किनकि अधिकांश काम गर्ने श्रीमतीका आधाउधि तनाव घर बाहिर निस्किँदा मात्र पनि कम भइसकेका हुन्छन्। हाम्रो समाजमा बच्चा भएपछि अधिकांश महिलाहरूले काम छाड्ने गरेको पाइन्छ तर आमा भइसकेपछि त झन् उसको तनावलाई कम गर्न एकछिन भए पनि घर बाहिर निस्किनै पर्ने हुन्छ। के कसरी मिलाइने हो राम्ररी सोचिनु पर्यो।
हुन त श्रीमान-श्रीमती एउटै रथका दुई पांग्रा हुन् तर ती पांग्रालाई दुई अलग अलग मानिसहरूले चलाइरहेका हुन्छन्। दुवैका आनीबानी, स्वभाव, सोचाइ, बुझाइ आदि फरक फरक हुन्छन् र त्यो कुरालाई बेलैमा बुझी एक अर्काको भिन्नतालाई स्वीकार्न सक्नुपर्छ।
हाम्रो समाजमा श्रीमानलाई इज्जत दिने काम चाहिँ श्रीमती कै मात्र हो भन्ने मानसिकता छ जुन एकदम गलत छ। धेरै ठाउँमा श्रीमतीहरू आफ्नै श्रीमानका यस्ता व्यवहार र रूखो बोलीबाट जमातमा लज्जित हुनु परेको देखिन्छ। घर परिवार, इष्टमित्रका अगाडि त श्रीमतीका गलत कुरालाई पनि नजरअन्दाज गर्न सक्नुपर्छ। बरू एक्लै भएको बेला एक अर्काका गल्तीलाई स्वच्छ वार्तालाप गरेर सुल्झाउन सक्नुपर्छ।
श्रीमतीलाई तपाईंले जस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै व्यवहार परिवारका अरू सदस्यले पनि गर्छन्। त्यो तपाईंको हातमा हुन्छ कि तपाईंले आफ्नी श्रीमतीको स्थान कस्तो तय गर्ने। तपाईं आफ्नो घरकी छोरी, बहिनीका लागि पक्कै पनि असल ज्वाइँ नै चाहनुहुन्छ। अनि फेरि तपाईंकै व्यवहारपछि तपाईंको छोरोले पनि सिक्ने हो नि। हाम्रा छोराछोरीहरूले हामीले गरेका कुरा सिक्ने हुन् हामीले भनेका होइनन्, याद राख्नुस्।
तपाईं जुन पेसामा संलग्न हुनुहुन्छ, त्यो पेसागत ठाटबाठ, पेसागत तहका पगडी र पेसागत तनाव आफ्नो कार्यालयसम्म मात्र सीमित राख्नुस्। घरको गेट पस्नुअघि नै पगडी खोलिनु पर्यो। घरमा तपाईं केवल आफ्नी श्रीमतीको साधारण लोग्ने हो, जहाँ पेसागत मतभेद र घमण्ड दुवै हुनु भएन। श्रीमान र श्रीमतीबीच औपचारिकता पनि हुनु भएन र सँगै हुँदा माहोल यस्तो हुनुपर्यो कि त्यहाँ जे गर्न पनि दुबैलाई छुट होस् र सहज पनि। कुनै डर अनि अप्ठ्यारो नहोस्।
तपाईंले आफ्नी श्रीमतीलाई प्रशंसा वा तारिफ गर्न कुनै हालतमा पनि चुक्नु भएन। उसले गरेका राम्रा कामहरूलाई सबैका अगाडि भन्न सक्नुपर्यो यदि तपाईं आफ्नी श्रीमतीबाट भविष्यमा त्यसता अझ धेरै राम्रा काम पाउने चाहना राख्नहुन्छ भने। प्रशंसा नै एउटा यस्तो इन्धन हो जसले मानिसलाई अझ राम्रो गर्न उत्प्रेरित गर्छ।
बुढा र बुढीबीच पवित्र माया मात्र छ भने पनि श्रीमतीले झुपडीलाई स्वर्ग बनाई दिन्छे। श्रीमानका लागि श्रीमतीको माया यति आघात हुन्छ कि तपाईं कल्पना नै नगर्नुस्। उसको एकबारको श्रीमान जस्तोसुकै नालायक, जडिया, बेरोजगार, कुरूप, रोगी होस्, ऊ कसैको नराम्रा कुरा सुन्न सक्दिनँ। बरू आफ्नो श्रीमानलाई एउटा नौलो दुनियाँमा लगेर लुकाउँछे अनि स्याहार सुसार गर्छे, सपार्छे तर आफ्नो श्रीमानको आत्मसम्मानमा सानो आँच पनि आउन दिन्न।
भुलेर पनि बाहिरी प्रेमका चक्करमा नफस्नुस्। यसले हाम्रो सम्बन्ध मात्र हैन कि हाम्रो अस्तित्व र चरित्रलाई नै खरानी बनाइदिन्छ। नहुने नाजायज सम्बन्धमा आफ्नो प्रयास किन खर्चिने! बरू आफ्नी श्रीमतीलाई यति खुसी दिने प्रयास गर्नुस् कि उसको अनुहारमा चमक ल्याउन कुनै लाली पाउडरको आवश्यकता नै नपरोस्। भानिन्छ नि श्रीमतीको हाँसोको लम्बाइ हेरेरै उनीहरूको खुसीको आकलन लगाउन सकिन्छ रे।
अर्को एकदम महत्वपूर्ण कुरा हो झुट। जुन कुनै हालतमा पनि आफ्नी श्रीमतीसँग बोलिनु भएन। एक अर्काबीच कुनै कुरा पनि लुक्नुभएन। कुनै कुरा भन्दा नराम्रो हुन्छ त्यो थाहा नै भए पनि भन्ने गर्नुस् बरू एकछिन सम्झाउन तनाव होला तर भविष्यमा त्यो बोलिएका एउटा झुटले सयौं झुट निम्त्याउन सक्छ त्यो बारेमा सोच्नुहोस्| झुट भनेको तपाईंको अविश्वास हो जुन भएमा कहाँ सम्बन्ध अगाडि बढ्न सक्छ र! श्रीमतीका अगाडि आफू यति सरल र सही बन्नुस् कि श्रीमतीले पनि केही कुरा तपाईंसँग लुकाउनु नपरोस्।
माथि उल्लेख गरिएका सबै कसरत गर्ने श्रीमानलाई इष्ट मित्र आफन्तहरूले ‘जोइटिंग्रे’ पक्कै भन्लान् तर तपाईं लागि पर्नुस् किनकि पछि तिनैले तपाईंलाई भाग्यमानी भन्ने छन् है। आफ्नो व्यक्तिगत जीवनमा खुसी अनि सुखी हुने लक्ष्य हरेकको हुन्छ त्यसैले हेर्नुस् कागहरू कराउँदै गर्छन् तर तपाईं आफ्नो कसरत इमान्दारी साथ गर्नुस् र आफू अनि आफ्नो परिवारलाई सुखी राख्नुस्।
माया दिनुस्, माया पाउनुस्, सम्मान दिनुस्, सम्मान पाउनुस्। ताली दुबै हातबाट बज्छ र जति बल तपाईंले बजाउन लगाउनु हुन्छ त्यही अनुसार आवाज निस्कन्छ पनि। घर स्वर्ग बनोस् भन्ने चाहना सबको हुन्छ र त्यो सम्भव पनि छ बस अलि अलि कसरत गर्नुपर्छ।