आज म प्रहरीका रूपमा मेरो व्यावसायिक जीवन यात्राको क्रममा गरेका विभिन्न सफल अनुसन्धानमध्ये एक घटनालाई उल्लेख गर्दैछु।
दाङको इलाका प्रहरी कार्यालय तुलसीपुर अन्तर्गतको अस्थायी प्रहरी पोष्ट दमारगाउँ क्षेत्रमा गत वर्ष असोज २७ गते रातिदेखि तुलसीपुर उपमहानगरपालिका– १३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतारा र दंगीशरण गाउँपालिका –६ थपगाउँ घर भई दमारगाउँमा आमासँगै मामाघर बस्दै आएका १४ वर्षे शरद आचार्य हराइरहेको सूचना २९ गते मात्रै प्रहरीलाई आयो।
तत्काल इप्रका तुलसीपुरबाट हुलिया परिपत्र तथा खोज तलास सुरू भयो। ३० गते दिउँसो साढे १२ बजे डाडाँगाउँको जनकल्याण सामुदायिक वनको खोल्सोमा सँगै एउटै खाडलमा गाडेको अवस्थामा उनीहरूको शव फेला परे। घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान प्रकृया सुरू भयो।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख र दाङ जिल्ला प्रहरी प्रमुखसहितको टोली केहीबेरमै त्यहाँ पुग्यो। प्रारम्भिक अनुसन्धानबाटै घटना रहस्यमय देखियो। त्यसैले बाँकेको कोहलपुरबाट घटनाको थप अनुसन्धानमा सघाउ पुगोस् भनेर तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली झिकाइयो।
घटनास्थलमा प्रहरीको बुटको छाप भेटिएको भनेर पीडितका आफन्तले घटनामा प्रहरीको संलग्नता रहेको दाबी युट्युबरसँग गरिरहेका थिए। त्यस्तै कुरा सुनेका भिडले कौवापुर प्रहरी चौकीका प्रमुखमाथि आक्रमण गर्ने खतरा बढ्यो। उनलाई त्यहाँबाट स्थानान्तरण गर्नुपर्ने परिस्थिति बन्यो।
माहोल जो संसदीय चुनावको थियो। घटनामा राजनीति पनि घोल्न खोजियो। प्रत्येक सेकेण्ड घटना पेचिलो बन्दै गरेको महसुस प्रहरीले गरिरहेकै थियो।
विभिन्न राजनीतिक दलहरू र उनीहरूका उम्मेदवार घटनास्थल पुग्ने क्रम जारी थियो।
उनीहरू तारन्तार फोन गरी छिटो हत्यारा पत्ता लगाइ सार्वजनिक गर्न दबाब दिन्थे।
यी कलिला किशोर किशोरीलाई मार्नुपर्ने कारण खुल्ने सुराक कतैबाट मिलिसकेको थिएन। घटनास्थलको प्रकृति हेर्दा शव गाडिएको स्थानमा उनीहरूको मृत्यु भएको होइन भन्ने कुरामा हाम्रो एकमत थियो। उनीहरूको कहाँ र कसरी मृत्यु भयो ? किन यहाँ ल्याएर शव गाडियो ? उनीहरूको हत्याको कारण र उद्धेश्य के थियो होला ? यस्तै कुराहरूलाई लिएर घटनास्थलको वरिपरि पटक/पटक घोत्लियौं।
विभिन्न शंका उपशंकामाथि लख काट्नुको विकल्प थिएन। घटनास्थल वरपर सयौं मानिसको उपस्थिति थियो। उनीहरू आक्रोश पोखिरहेका थिए। भिडले जे पनि बोल्थ्यो। कोलाहलमय वातावरण थियो।
अनेक अवरोधका बावजुद बेलुका करिब ८ बजेतिर घटनास्थल लास जाँच कार्य पूरा भयो। शव पोष्टमर्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइयो। प्रहरी घटनास्थलका व्यक्तिहरूसँग आफ्नै ढंगले निगरानी र सोधपुछ गरिरहेकै थियो। कुनै पनि घटनापछि झिल्को जस्तै सुराक संकलन महत्वपूर्ण मानिन्छ।
३० गते नै मकवानपुर भीमफेदी– १ घर भई दाङ घोराही– १८ मा बस्ने टिपर चालक सुवास थिङ पक्राउ परे। हरेक घटनापछि सुरूको समय अति नै महत्वपूर्ण र जानकारीमूलक हुन्छ।
घटनाको अनुसन्धानले कुन गति लिन्छ भन्ने पूर्बानुमान त्यहीँबाट लगाउन सकिन्छ।
सुवासले दिएको सूचना अनुसन्धानको एउटा महत्वपूर्ण लिड हो भन्ने अनुभूति प्रहरीले गर्यो।
अब अनुसन्धानलाई केही बल मिल्छ भन्ने विश्वास थियो।
यद्यपि सुवासलाई रातको २ बजे मात्रै भेट्ने मौका मिलेको थियो। उनले घटनाको बेलिविस्तार लगाउँथे र म टिपोट गर्थें।
उनका धेरै कुरा विश्वास लाग्ने खाले भए पनि कतिखेर अनुसन्धानलाई मिस गाइड गर्दै छन् कि भन्ने आभास हुन्थ्यो।
मैले घटनाको बारेमा पटक/ पटक उनलाई सोधेको थिएँ।
१९ पटक सोध्दासम्म आफू लगायत चार जना मिलेर उनीहरूलाई घाँटी थिचेर मारेको कुरा सुवासले गरिरहे। हत्यापछि चार जना मिलेर शव बोकेर चिरोमा गाडेको कुरा स्पष्ट भनेका थिए।
घटनास्थलबाट तुलसीपुर बजार आई आ–आफ्नो गन्तब्यतर्फ लागेको कुरा उनको थियो।
त्यो रात बिहान करिब ५ बजेसम्म सोधपुछ चलि नै रह्यो। सुवासकै भनाइका आधारमा सल्यान कपुरकोट गाउँपालिका – ६ का सुशिल पुनलाई नियन्त्रणमा लिइयो।
सुवास पुनको समेत घटनामा संलग्नता रहेको कुरा गरिरहेका थिए। सुशिलले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरे।
सुवासले तिमी र मसहित चार जनाले यसरी उनीहरूलाई मारेको होइन? भन्दा सुशिल मौन बसिदिन्थे।
जति जति सेकेण्ड मिनेट हुँदै घण्टा बित्दै थिए, त्यति त्यति प्रहरीतर्फ आम मानिसका प्रश्न र आक्रोश बढिरहेको थियो।अनुसन्धानको लागि दर्जनौं व्यक्ति निगरानीमा थिए। कतिलाई स्क्रिनिङ गर्दै जमानीमा छोड्दै गयौं।
घटनाको चुरो पत्ता लगाउन हर प्रयास भइरह्यो। तर, अनुसन्धान अधिकृत स्वयम् सन्तुष्ट हुने वैज्ञानिक आधार प्राप्त भइरहेको थिएन। त्यस्तोमा बेचैनी बढ्नु स्वाभाविक हो।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको प्राविधिक विज्ञ टोली तुलसीपुर आएको थियो।
विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको थियो। घटना घटेको गाउँमा सादा पोशाकमा प्रहरी परिचालन गर्नेदेखि गाउँकै व्यक्तिलाई सुराकीको रूपमा परिचालन गरियो।
उक्त गाउँमा घर भई हाल प्रहरी सेवामा विभिन्न स्थानमा कार्यरत प्रहरी, पीडितका आफन्तसँग निरन्तर समन्वय, भेटघाट, पक्राउ परेका शंकास्पद व्यक्तिबाट घटनास्थलको पहिचान, प्राविधिक विश्लेषणको सहयोग, उब्जिएका प्रश्नहरूको जवाफ खोज्ने अनि पुनः सोधपुछ। यो प्रकृया पटक/पटक दोहोर्याइयो।
जति प्रयास गर्दा पनि कतिपय प्रश्नहरू निरूत्तरित हुन्थे। फेरि अनुसन्धान अधिकृत घोत्लिएर सोच्न बाध्य हुन्थ्यौं।
विभिन्न खाले समाचारका कारण एकातिर राष्ट्रिय स्तरबाटै चासो ब्यक्त भइरहेका थिए। घटनाको निष्पक्ष छानबिन गर्न नेता, मन्त्री र प्रहरीका उच्च अधिकारीले फोन गरिरहन्थे।
प्रहरी संगठनबाटै पनि अनुसन्धानमा धेरै समय लागिसक्यो अब छिटोभन्दा छिटो पक्राउ परेकालाई कानूनको दायरामा ल्याउन अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाऊ भन्ने निर्देशन बारम्बार आइरहेकै हुन्थ्यो।
तर नियन्त्रणमा लिइएका व्यक्तिहरूले दिएको विवरण र प्राविधिक विश्लेषणबीच तादात्मयता देखिएको थिएन। आदेशको पालनाको नाममा निर्दोष पर्नु हुन्न भन्नेमा सजग थिएँ।
केही घन्टाको समय थप दिन अनुरोध गर्दै प्रमाण खोज्न लागि पथ्र्यौं। अनुसन्धानकै क्रममा यतिसम्म भयो कि नियन्त्रणमा लिइएका एक जना शंकास्पदले प्राइमरी क्राइम सिन नै देखाइदिएका थिए। हुनसक्छ उनी केही गाइड भए या नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई हिरासत अभावका कारण विभिन्न कक्षमा राख्दा उनीहरूबीच भएका कुरा सुनेको आधारमा त्यो ठाउँ देखाए!
तालिम प्राप्त कुकुरको सहयोगमा उनले देखाएको घटनास्थलबाट रगतजस्तो देखिने रातो पदार्थका छिटा, मृतकले लगाएका चप्पलहरू, उनीहरूका मोबाइल लगायत वस्तु फेला परेका थिए। त्यसका आधारमा घटनाको मुख्य व्यक्ति यही हो भन्ने करिब विश्वास हुन्थ्यो।
यत्ति मात्रै नभई घटनाका सम्बन्धमा धेरै संयोग देखिएका थिए। शरद आचार्यका एक साथीले सन् २०२२ अगस्त २६ तारिक, सेप्टेम्बर ३ तारिक र घटना घटेकै दिन १३ अक्टोबरमा फेक फेसबुक आइडी खोलेर ज्यान मार्ने सम्मको चेतावनी दिएको पाइएको थियो।
त्यसमा पनि अनुसन्धान टोलीले पूर्ण रूपमा विश्वास गर्न आधार भेटेन। त्यसैले घटनास्थलमा खिचिएका शवका अंश अंशका फोटोहरू केलाउने काम सयौं पटक गरियो।
रोशनी महताराको बाँया हातको औंलामा तारले कोतरिएका खतहरू थिए। कतै उनीहरूको मृत्यु चोरी शिकारी गर्ने ब्यक्तिहरूले थापेको विद्युतीय धरापमा परी भएको त होइन? भनेर मैले सुरूमै कुराहरू उठाएको थिएँ।
चोरी शिकारी गर्ने समूहबाट हुन पुगेको दुर्घटना त होइन ? यो तथ्यलाई आत्मसाथ गर्दै त्यसतर्फ अनुसन्धान नसोझ्याएको पनि होइन। त्यो गाउँमा पहिले शिकार खेल्ने व्यक्तिको अभिलेख बुझियो पनि। उनीहरूका पछिल्ला गतिविधि पनि बुझ्ने कार्य जारी थियो। तर त्यसलाई पनि ठ्याक्कै प्रमाणित गर्ने आधार फेला परिसकेको थिएन। तथ्य यही हो भन्ने स्थिति थिएन। यी बालबालिका आखिर किन मारिए त्यो तथ्य स्थापित गर्ने आधार फेला परिरहेको थिएन। विभिन्न शिराबाट अनुसन्धान भने भइरहेकै थियो। अन्यौलका स्थितिमा सयौं प्रश्नहरू हाम्रासामु उभिन्थे। ती प्रश्नहरूको निराकरणका लागि जतिखेर मैले दैनिक २४ घन्टामा २२ घन्टा काम गरे।
दिन प्रतिदिन चुलिँदै गएको दबाको पारो थेग्न हम्मे हम्मे जो भइरहेको थियो। मन नआत्तिएको होइन तर दृढ विश्वास लिएर अनुसन्धान कार्य अगाडि बढी नै रह्यो। शरीरमा लगाएका बुट र चुस्तामा अनुसन्धान कक्षको कुर्चीमा कति दिन बिते पत्तै भएन। दिनरात थाहा नपाउने स्थितिमा दिनहरू गुज्रिँदै थिए। खाना खाँदासमेत समय खेर गयो कि जस्तो लाग्थ्यो। कहिलेकाहीँ एक अर्काको त्यही मनोभाव बुझेर व्याकुल बन्दथ्यौं।
त्यही बीचमा फेरि झिनो आशाको किरण सानो छेदबाट निक्लन्थ्यो। र हामी आशाको शक्ति प्रवाह गराइ काममा तल्लीन हुन्थ्यौं। सिनियर सर मेडमहरू, सहकर्मीहरू, अनुसन्धानमा चासो राख्ने सबै प्रहरी कर्मचारीहरू र अन्य क्षेत्रबाट निर्देशन, सुझाव, सल्लाह अनि अनुभवलाई ग्रहण गर्दै अनुसन्धान अगाडि बढिरह्यो।
भनिन्छ हरेक कुरामा गठ मिल्नुपर्छ त्यस्तै भएको थियो सिआइबीबाट खटिएका प्रहरी नायब निरीक्षक मनिज लामासँग। उनीसँग गठ मिलेको थियो मेरो। हामी सँगसँगै खटिन्थ्यौं। सानो कुरा पाउँदा निकै ठूलो सम्भावना देख्थ्यौं। ऊर्जाका साथ पुनः तल्लीन हुन्थ्यौं।
कानूनी रित पुर्याएर अनुसन्धानका प्रकृया सुचारू गथ्र्यौं। धेरै आशा गरिएका तथ्य प्राविधिक रूपमा मिथ्या सावित हुन्थे। फेरि निराशा अनि दबाबमा पर्दथ्यौं हामी। करिब तीन हप्ता व्यतित हुँदै थियो। विभिन्न चरणहरू पार गर्दै अनुसन्धानको दायरा साँघुरो बनाउँदै लगेका थियौं।
विभिन्न आयाम तथा क्षेत्रहरूको प्राविधिक विश्लेषण गरी प्रत्यक्ष रूपमा ७० जना तथा अप्रत्यक्ष रूपमा करिब ४७८ जना व्यक्तिहरूलाई निगरानीमा राखी सूक्ष्म रूपमा अनुसन्धान गर्दै थियौं।
कात्तिक १८ गते अनुसन्धानको रकेट प्रक्षेपण गर्न सफल भयौं। तुलसीपुर– १३ का ३९ बर्षे हरिशचन्द्र पौडेल, ३८ का नुमानन्द कार्की , ३१ का खिमबहादुर बुढा र ४७ का अम्मरराज कार्कीसमेत चार जनालाई सोधपुछका लागि ल्याइयो।
उनीहरूको कुराले म दंग परें। किनकि युट्युबरसँग सबभन्दा कुर्लने मध्यका उनीहरू पनि थिए।
मैले सुरूमा सोचेकै जस्तो जंगली जनावरलाई भनेर थापेको विद्युतीय धरापमा परी रोशनी र रोशनको मृत्यु भएको तथ्य उनीहरूले बके।
स्थानीय ५७ बर्षे हरिबहादुर आचार्यले सिकाएको आधारमा असोज २७ गते राति दश बजेतिर माथि उल्लेखित चार जनाले जंगली जनावरहरूलाई करेन्ट लगाइ मार्नको लागि धराप थापेको र त्यसैमा परी दुई बालबालिकाको मृत्यु भएको कुरा खुल्यो।
हरिशचन्द्रको कुखुराको खोरबाट बिजुलीको वाइरिङ तार प्रयोग गरी करेन्ट प्रवाह गरी नजिकैको जनकल्याण सामुदायिक वनमा पासो थापेका थिए।
उक्त रात शरद र रोशनी त्यही स्थानमा जाँदा विद्युतीय धरापमा परी मृत्यु भएको तथ्य उनीहरूले बयान गरे।
असोज २८ गते बिहान करिब साढे ५ बजेतिर हरिशचन्द्र पासो थापेको ठाउँमा पुग्दा दुई व्यक्तिको मृत्यु भएको उनले देखे। हरिशचन्द्रले अम्मरराज कार्कीलाई बोलाए। यी दुई जना मिलेर जंगलको झाडीमा शव छिपाएका थिए।
मृतकका मोबाइल र चप्पलसमेत सोही झाडीमा फालिदिए। उनीहरूले अरू दुई जनालाई पनि घटनाका बारेमा बताइसकेका थिए। कसैलाई नभनी उनीहरूको शव वनको चिरोमा गाड्ने उनीहरूका बीचमा सल्लाह भयो।
सोही दिन राति दश बजेतिर माथि उल्लेखित चार जना जम्मा भए। अम्मरराजले घरबाट ल्याएको फोरुवाले घटनास्थलदेखि अन्दाजी ८० मिटर पश्चिम जंगलको खोल्सोमा खाडल खने।
दुई शव त्यही गाडिदिएको तथ्य उनीहरूले स्वीकारी बयान गरे। त्यो दिन बल्ल अनुसन्धान अधिकारीले चैनका सास फेर्न पाएका थियौं।
पाँच जनाविरूद्ध पीडित परिवारको तर्फबाट कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए।
सम्पूर्ण अनुसन्धान पूरा गरी मंसिर ९ गते सजायको माग दाबीसहित जिल्ला अदालतमा अनुसन्धानको मिसिल पेश भयो।
सबै प्रतिवादी मंसिर १८ गतेको आदेशले पुर्पक्षको लागि कारागार पठाइए। बालबालिका गुमाएका पीडित अभिभावकले त्यसपछि बल्ल प्रहरीलाइ धन्यवाद दिए।
सुरूमा आवेशमा गालीगलौज गरेकोप्रति अपसोच व्यक्त गरे। ‘सयौं अपराधी छुटून् तर एक जना निरपराधी नफसोस्’ भन्ने मर्म अनुसार हामीले काम गरेका थियौं।
कुनै पनि अनुसन्धान भिडले लिड गर्न पाउनु हुन्न भन्ने मलाई लाग्छ।
तथ्यले प्रमाणित नगरिरहेको अवस्थामा अनुसन्धान अधिकारी सन्तुष्ट नहुँदा नहुँदै दबाबमा मुद्दा दर्ता गरी अगाडि बढेको भए निर्दोष फस्ने निश्चित हुन्थ्यो। जसले जीवनभर म पछुताउनु पर्ने हुन सक्थ्यो। त्यसैले अनुसन्धान अधिकारी अनुसन्धानको क्रममा आफैं पूर्ण रूपमा सन्तुष्ट हुनु जरूरी ठान्छु,तब मात्र सर्वमान्य परिणाम निकाल्न सम्भव हुन्छ।
(लेखक इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हुन्।)