हाल नेपालबाट विदेश जाने युवाको संख्यामा ठूलो मात्रामा वृद्धि भएको छ। वैदेशिक रोजगारीमा जाने युवाको संख्या धेरै रहेकोमा पछिल्ला वर्षहरूमा उच्च शिक्षा अध्ययनका लागि जानेको संख्याले आकाश छोएको छ। समाजमा विदेश जाने वा जान सक्ने व्यक्तिलाई सम्मानित हिसाबले हेर्ने प्रचलन बढेको छ।
विदेश जाने मोह किन यति धेरै बढेको होला! के विदेशमा चाहिँ केही समस्या नै छैन? जसरी पनि विदेश जानु नै सफलता हो? यस्तै प्रश्नहरूको उत्तर खोज्न गर्न यो लेख तयार गरेको हुँ।
नेपालमा बाह्र कक्षा पूरा गरेपछि पढ्न विदेश जाने प्रचलन बढ्दो क्रममा छ। ऋण खोजेर भए पनि सबै खर्च आफैं बेहोरेर जाने चलन पनि बढ्दै छ। विदेश जाने युवाहरूमा काम पाइहालिन्छ, डलरमा कमाइ हुन्छ, ऋण पनि तिर्न सकिहालिन्छ, पढ्दा लाग्ने खर्च पनि आफैं कमाउन सकिन्छ भन्ने विश्वास रहेको पाइन्छ।
बाबुआमाका लागि पनि छोराछोरी विदेश पठाउनु प्रतिष्ठाको विषय हुने गरेको छ। छोराछोरीले पैसा कमाइहाल्छन्, अहिले जति खर्च लागे पनि जुटाउनुपर्छ भन्ने धारणा रहेको देखिन्छ।
समुद्रपारिका विकसित मुलुक पुगेकाहरूले सामाजिक सञ्जालमा राखेका रमाइला क्षणका फोटा र भिडिओले पनि विदेश जान प्रोत्साहन गरेको छ। बाबुआमासमेत यस्तै दृश्यबाट प्रेरित भएका देखिन्छन्। देशको राजनीतिक र आर्थिक अवस्थाप्रति बढ्दो असन्तुष्टिले पनि विदेश जान उक्साएको छ।
विदेशको जीवन सामाजिक सञ्जालमा देखिएजस्तै रमाइलो र समस्याविहीन भने छैन।
हाम्रो सामाजिक परिवेशमा छोराछोरी बाबुआमासँग हुर्केका हुन्छन्। मुख्यतः बीस वर्षमुनिको उमेर बाबुआमाको रोहबरमा बितेको हुन्छ। जीवन भोगाइका अनेक आयामहरू थाहा भएकै हुँदैन। यस्तै अवस्थामा बाह्र कक्षासम्मको पढाइ पूरा गरेको हुन्छ अनि अपरिपक्व सोचाइ र जीवनको थोरै भोगाइ लिएर विदेश गएको हुन्छ।
यस्तो व्यक्ति कुलतमा फस्ने सम्भावना हुन्छ। अनेक स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छन्। नयाँ वातावरणमा घुलमिल हुन नसकेर मानसिक समस्या हुने सम्भावना हुन्छ। विदेशी भूमिमा यस्ता समस्याहरूमा सहयोग गर्ने कोही पनि नहुन सक्छ। बिस्तारै समस्या जटिल हुँदै जान सक्छ।
बाह्र कक्षा पढ्नासाथ छोराछोरी विदेश पठाउन चाहने बाबुआमाले धेरै कुरा ख्याल गर्न जरूरी छ। विदेशमा पढ्न पठाउँदा पढाइ खर्च कसरी बेहोर्ने, विदेश जाने क्रममा लागेको ऋण कसरी तिर्ने, विदेशमा दैनिक जीवन चलाउन चाहिने रकम कसरी जोहो गर्ने; यी कुरामा पहिले नै विचार पुर्याउनुपर्छ।
विदेशमा हुने खर्च घरबाट नबेहोर्ने, अझ ऋण तिर्न विदेशबाटै पैसा पठाउनुपर्ने हो भने पढाइको मतलब नगरी काम गर्नुपर्ने हुन्छ। नियमपूर्वक गर्न पाइनेभन्दा बढी काम गर्नुपर्ने हुन्छ। खाना, बसाइ र अन्य आवश्यकतामा पनि सम्झौता गर्नुपर्ने हुन्छ। बाह्र कक्षा पढ्नासाथ विदेश गएका धेरै नेपाली विद्यार्थीहरूमा यस्तै समस्या देखिने गरेको छ।
अपरिपक्व उमेरमा पढाइको बोझ र खर्च चलाउन गर्नुपर्ने कामको तनावका कारण मानसिक स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। सन् २०२० मा गरिएको एक अध्ययनले धेरैजसोमा २० देखि २९ वर्ष उमेरमा मानसिक समस्या सुरू हुने गरेको देखाएको छ।
सन् २०२१ को अर्को एक अध्ययनले अमेरिकामा १८ देखि २५ वर्ष उमेर समूहका एक तिहाई युवाले वर्षभरिमा कुनै न कुनै रूपमा मानसिक समस्या भोगेको देखाएको थियो। यस्तै तथ्यांक धेरै नेपाली युवाको आकर्षण रहेका क्यानडा, अस्ट्रेलिया लगायतका देशहरूको पनि छ।
हाम्रो सामाजिक परिवेशमा मानसिक रोगको समस्यामा खुलेर बोलेको र त्यसमा छलफल गरेको देखिँदैन। मानसिक समस्याका सुरूआती लक्षणहरू र समस्या समाधानका उपायबारे धेरैलाई थाहै हुँदैन। बाह्र कक्षा पूरा गर्नासाथ बाबुआमा छाडेर हिँडेको व्यक्ति कुनै समस्या पर्नासाथ अत्तालिने हुन्छ।
बाबुआमाबाट टाढा रहेको एक्लो जीवन, पैसा कमाउनुपर्ने बाध्यता, आफू हुर्केको भन्दा बिलकुलै फरक परिवेश; यस्तो स्थिति सामना गर्न सजिलो हुँदैन।
आफ्नो देश छाडेर विकसित देश जानु नै सबै थोक होइन, ठूलो उपलब्धि पनि होइन, कुनै समस्याको समाधान त झन् होइन।
विदेश पठाउन र जानका आफ्नो विवेकले भन्दा बढी देखासिकी र लहलहैले काम गरेको छ। आफ्नो हैसियतभन्दा धेरै खर्च गरेर छोराछोरी विदेश पठाउनु र छिटै ठूलो आम्दानीको अपेक्षा गर्नुको कारण पनि यही हो। यस कारण विदेश जानु नै ठूलो सफलता हो भन्नु भ्रम हो। यस्तो भ्रमबाट बाबुआमा र विद्यार्थी छोराछोरी दुवै मुक्त हुन जरुरी छ।
पढ्नका लागि छोराछोरी विदेश पठाउँदा पढाइ पूरा गरून्जेल आवश्यक खर्च बेहोर्न बाबुआमा सक्षम र तयार हुनुपर्छ। पढाइ सकेर काम नथालुन्जेल छोराछोरीबाट आम्दानी अपेक्षा गर्नु हुँदैन।
यसै कारणले बुढापाकाले आफ्नो घाँटी हेरेर मात्रै हाड निल्नुपर्छ भनेका होलान्। स्नातक तहको सबै पढाइ खर्च बेहोर्न सक्ने आमाबाबुले मात्रै बाह्र कक्षा सकिने बित्तिकै छोराछोरी विदेश पठाउनु उचित हुन्छ। होइन भने कम्तीमा पनि स्नातक तह पूरा गरेर मात्रै जानु राम्रो हुन्छ। स्नातकोत्तरका लागि छात्रवृत्तिको प्रयास गर्न सकिन्छ।
विभिन्न देशको परिपाटी हेर्दा स्नातकोत्तर र त्यसमाथिको अध्ययनका लागि विद्यार्थीको योग्यताका आधारमा विभिन्न किसिमका छात्रवृत्ति पाउने बलियो सम्भावना हुन्छ। यस्तो छात्रवृत्ति स्नातक तहमा विरलै पाएको देखिन्छ।
स्नातक तहको पढाइ सामान्यतया चार वर्षको हुन्छ। यव अवधिमा विकसित देशमा विदेशी मुद्रामा पैसा भुक्तानी गर्न निकै ठूलो आम्दानी चाहिन्छ।
यस्तो आम्दानी भएका बाबुआमाले मात्रै स्नातक तह पढ्न छोराछोरी विदेश पठाउने कुरा सोच्नु उचित हुन्छ। विदेशी मुद्रामा महिनावारी खर्च पठाउन नसक्ने बाबुआमाले स्नातकोत्तर तहका लागि मात्रै सोच्नु उचित हुन्छ।
विदेशमा पैसाको बोट हुँदैन। काम गरेरै कमाउनु पर्छ। पढाइ राम्रो गर्न पैसा चाहिन्छ। उपचार गर्नुपर्यो भने धेरै खर्च लाग्छ। यी सबै कुरा सोचेर उपयुक्त निर्णय लिनुपर्छ।
हरेक व्यक्तिका आआफ्नै इच्छा र चाहना हुन्छन्। विद्यार्थीको पनि व्यक्तिगत जीवन हुन्छ, पढाइको बोझ त हुन्छ नै। अनि विदेशी भूमिबाट पारिवारिक जिम्मेवारी पनि बहन गर्नुपर्ने हुन्छ भने विदेशी भूमि टेक्नुपूर्व नै पढाइ खर्च र आम्दानीको स्रोतबारे गम्भीरतापूर्वक सोच्नुपर्छ।
सबै जिम्मेवारीहरू पूरा गर्दै पढाइ राम्रो गर्न सक्छु भन्ने सुनिश्चित भएपछि मात्रै विदेशका लागि कदम चाल्नु उचित हुन्छ।
बाबुआमाले यस पक्षमा राम्रो सोचविचार गर्नुपर्छ। छोराछोरी विदेश जान्छु भन्छन् भने तिनलाई आफ्नो आर्थिक हैसियत र सम्भावित परिस्थितिबारे कुरा बुझाउनुपर्छ। बाबुआमा नै पठाउन खोज्छन् भने छोराछोरीले पढाइ खर्चका बारे सोधीखोजी गर्नुपर्छ र उचित निर्णय लिनुपर्छ।
विदेशी भूमिमा आफ्नो अभिभावकत्व लिन सक्ने व्यक्ति छन् भने तिनको रोहबरमा जानु उचित हुन्छ। विदेशी जीवनको सुरूआतमा विलासिताका सामग्रीतिर ध्यान नदिई पढाइ राम्रो गर्नेतर्फ अग्रसर रहनुपर्छ।
यस्ता विषयमा बाबुआमा र छोराछोरीबीच खुलेर कुरा गर्ने बानी गर्नुपर्छ। विदेशको जीवनमा अनेक हन्डर आइलाग्न सक्छ। पढाइ राम्रो गर्न नसक्ने हुन सक्छ। नयाँ वातावरणमा घुलमिल हुन कठिन हुन सक्छ। समयमा काम नपाइने हुन सक्छ।
यस्तो अवस्थामा आफ्नो कुरा सुनिदिने, उचित सल्लाह दिने, हौसला दिने र आपतमा सहयोग गर्ने व्यक्ति नहुन सक्छ। आफ्नो देश छोड्नुअघि यसतर्फ पनि सोचविचार गर्नुपर्छ। मानसिक रूपले तयार भएर मात्रै विदेशका लागि प्रस्थान गर्नुपर्छ।
आफ्नो देशमा आफ्नै परिवारमा बस्न पाउनु सुनौलो अवसर हो। आफूलाई माया गर्ने, कठिन अवस्थामा साथ दिने, आफ्नो खुसीमा रमाउने र आफ्नो भलो चाहने व्यक्तिहरूका बीच बस्न पाउनुको आनन्द अतुलनीय हुन्छ।
देशको आर्थिक, सामाजिक र राजनीतिक परिवेशमा असन्तुष्ट भएर भविष्यको चिन्ताले धेरै नेपाली युवाहरू विदेश पस्ने गरेका छन्। यस्तो दृश्य नेपालको मात्र होइन, सबैजसो अल्पविकसित देशको हो।
मान्छेले आफ्नो राम्रो र सुनिश्चित भविष्य खोज्नु स्वाभाविक हो। पहिले पहिले आफ्नै देशमा गाउँबाट सहर पस्ने चलन थियो। यो पनि छँदैछ, यससँगै विदेश पस्ने प्रवृत्ति ह्वात्तै बढ्यो।
विद्यार्थीले सकेसम्म स्नातक तहपछि मात्र विदेशमा पढ्ने कुरा सोच्नु राम्रो हुन्छ। विभिन्न देशमा पाइने छात्रवृत्तिका लागि पहल गर्ने, आफ्नो हैसियतभन्दा ठूलो आर्थिक बोझ नलिने र पढाइ पूरा गरेर मात्र काम गर्ने गरी प्रबन्ध मिलाएर विदेश जान सकिन्छ।
स्नातकोत्तर तहको पढाइका लागि यस्तो उपयुक्त अवसर जुट्न सक्छ। आफूले पढ्न चाहेको विषयले भविष्यमा उपलब्ध गराउने अवसरबारे पनि पहिले नै सोच्नु राम्रो हुन्छ।
विदेशी भूमिमा खानपिनमा ध्यान दिने, आफ्नो आर्थिक हैसियतले पुग्ने नभई विलासिताका सामानमा ध्यान नदिने र सहयोगी व्यक्तिहरूसँग संगत बढाउने गर्नुपर्छ।
आमाबाबुले आफूले धान्न नसक्ने आर्थिक बोझ पर्ने गरी छोराछोरी विदेश नपठाउनु सबैभन्दा राम्रो हुन्छ। पठाएपछि पनि चाँडै कमाइ खोज्ने विचार राख्नु हुँदैन। छोराछोरीसँग नियमित सम्पर्कमा बस्नुपर्छ र दैनिक गतिविधिको जानकारी लिनुपर्छ।
आशा गरौं, नेपाली बाबुआमा–अभिभावक र विद्यार्थीहरूले उल्लिखित कुराहरू राम्रो सोचविचार गरेर उचित निर्णय लिने छन्। विदेश जानु, विदेशमा पढ्नु नै ठूलो उपलब्धि हो र परिवारको प्रतिष्ठा हो भन्ने एकोहोरो भ्रम त्याग्ने छन्।
(प्रवीण आचार्य क्यानडामा विद्यावारिधिका शोधार्थी हुन्।)