कुनै बेला आफू पनि ‘मेन्टल डाउनफल’ को दलदलबाट गुज्रिएको हुनाले होला बारम्बार सुनिरहने आत्महत्याका खबर र मानसिक समस्याका कुराले म सदैव सशंकित हुन्छुl
समयको प्रवाह अनि केही असल मानिसको हौसला अनि सहयोगका कारण म अनि मेरो जीवनदृष्टिमा ल्याएको सकारात्मक परिवर्तनले यो म जान्दछु कि अलिकति धैर्य अनि साहसले अगाडि बढ्यौं भने हामी जोकोहीले पनि यस किसिमका समस्याबाट आफूलाई उतार्न सक्छौंl
म कुनै मनोविज्ञ या यस क्षेत्रको अनुसन्धानकर्ता त होइन तै पनि आफ्नो कुराले कतै कसैको खस्केको मनोवृत्ति सुधारमा मल्हमको काम गर्छ कि भन्ने हेतुले मेरो सर्कलमा भएका मानिसहरूलाई सहज महसुस गराउन म आफ्नोतर्फबाट सदैव प्रयासरत नै हुन्छुl
सूचना र तथ्यभन्दा पनि हामी कसैको प्रयास र जीवनीबाट बढी प्रभावित हुने र आफूलाई पनि बदलिनका लागि हौसला मिल्ने मेरो अनुभव रहेको हुँदा मसँग अन्जान रहनुभएका कोही एक पाठकलाई पनि हिम्मत दिन सक्छु कि भनेर आज आफ्नो जीवनको अनुभव यहाँ साझा गर्दैछुl
हुन त मेरो समस्या उतिसारो जटिल पनि हैन कतिलाई यस्तो वाहियात कहानी भन्ने पनि लाग्न सक्ला तर मेरो बुझाइमा चिन्ता या तनाव जटिल बन्नलाई कुनै निश्चित आकारको या हदको हुनुपर्छ भन्ने छैन। यो व्यक्तिको स्वभाव र उसले सोच्ने शैलीमा भरपर्ने कुरा हो l अरूका लागि नगन्य मानिएको कुरा कोही एकका लागि जन्जिर बनिरहेको हुन सक्छ। त्यसैले, आफ्ना मनोभावना दबाउनु या लुकाउनुभन्दा हामी सबैले बुझ्ने र यदि आफूबाट व्यवस्थित हुन नसकेको खण्डमा स्वस्थ मानसिकता कायम गर्न सकारात्मक सुझाव दिने मानिससँग शेयर गर्नुपर्छ जस्तो मलाई लाग्छl
म दाङ तुलसीपुर नजिक गाउँको एक मध्यम वर्गीय ब्राह्मण परिवारकी छोरी। घरमा सिकाइएको संस्कार अनि पढाइमा राम्रो गर्दै सधैं असल बन्नुपर्छ भन्ने मेरा मान्यजन एवम् गुरूहरूको ज्ञान अनुसार नै चलें। सबैको आँखाकी तारा बन्दै वाहवाहीसँगै हुर्किएँl बढ्दो उमेरसँगै किशोर बनिरहँदा कसैको मनमा म गहिरोसँग गडेछु जसको मलाई कुनै हेक्कासम्म थिएन l
सानोमा ८ कक्षासम्म सँगै पढेको साथी थियो ऊ र मलाइ उसले हामी अलग विद्यालयमा पढ्ने भैसकेपछि मात्र आफ्नो विचार सुनाएको थियोl
म स्वाभाविक रूपले अलि खुलस्त पाराको र स्वतन्त्र भएर बस्न रूचाउने हुँदा प्रेमको झन्झटमा पर्ने या डेटिङ गर्ने खालको त पक्कै थिइनँl त्यसैले मैले जब उसको प्रेम प्रस्ताव पाएँ, मैले आफ्ना कुराहरू खुलेर भनें र रिलेसनमा नबस्ने निर्णय पनि सुनाइदिएँl घरमा मम्मीको दायाँबायाँ नलाग्नु भन्ने कुरा सधैं मेरो कानमा गुन्जिरहन्थ्यो र म आफूलाई असल छोरी बनाउन सदैव लागिपर्थेंl त्यसैले मैले उक्त केटालाई सकेसम्म इग्नोर गरेंl
म ती कुराहरूलाई टिनएज आकर्षण हुन् भनी नजरअन्दाज गरेर अगाडि बढें तर बिचरा ऊ भने आफ्नो पहिलो माया भनेर सदैव मेरो कल्पनामै बसिरहेको रहेछl
मेरो परिवारमा पुत्रशोक पर्यो। मैले आफ्नो एकमात्र भाइ गुमाएँl जेठी छोरी भएका कारण मलाई शोकसंगै बाबामम्मीको हिम्मत बन्ने जिम्मेवारी पनि थपियो र म झन् कठोर बन्दै अगाडि बढेंl
हाम्रा कर्मले बाबाआमालाई छोराको कमी हुन नदेओस भनेर मैले ठूलो लक्ष्य राखेर ब्याचलर पढ्न काठमाडौं आएँ र ठूलो मान्छे बन्ने दौडमा आफूलाई दौडाउँदै थिएँl
त्यहीक्रममा मेरो भेट उही पुरानो साथीसँग हुन पुग्यो जो त्यतिन्जेलसम्म पनि मेरो सपना देखेर बसिरहेको रहेछ l मैले बेवास्ता गर्दा पनि उसको मनमा वर्षौंसम्मको मप्रतिको माया अनि त्याग देख्दा म अचम्मित परें। तर पनि भावनामा नबहकिइ परिवारको लागि ऊसँग सम्बन्ध जोड्न असमर्थ रहेको कुरा फेरि दोहोर्याएँ l हुन त ऊ असल थियो कुनै खोट या बैगुन भएको कदापि थिएन तर हाम्रो जातमा थोरै उचनिचको प्रसंग उठ्ने र मेरो परिवारले हाम्रो सम्बन्धका लागि सहमति नदिने बुझेका कारण म उसलाई पन्छाउन चाहन्थें l
तर उसको गहिरो भावनाको अगाडि मेरो कारण निष्काम बन्यो l उसले तिमीलाई बिर्सन सक्ने भए वर्षौंदेखिको यो इग्नोरेन्स पाउँदा पनि किन तिम्रैपछि लाग्थें र भन्दै तिमीलाई भुल्न अब मर्ने मात्रै विकल्प छ भनेपछि म झस्किएँ l
प्रेमका कारण मानिसले आत्महत्या गरेका समाचार सुनिरहन्थें त्यसैले एकदमै सोझो र एकोहोरो प्रवृत्तिको उसले त्यस्तो नगर्ला भन्ने पनि ग्यारेन्टी लिन सकिनँ l भाइको मृत्युले पीडित म आफ्नो कारण कोही मरोस् भन्ने कल्पनासम्म गर्नै सक्दैनथें त्यसैले उसको त्यो कुरा मेरा लागि अग्निपरीक्षा समान बन्यो l
त्यतिबेला मेरो मस्तिष्कमा ‘मेरो बाबाको इज्जत’ र ‘उसको जिन्दगी’ यी २ कुरा तुलनात्मक बनेर आएl कसैको जिन्दगीको अगाडि मैले इज्जतको बचाऊँ गर्दा उसले कतै गलत कदम नउठाओस् भनि बरू उसकै बन्ने निर्णय गरेंl त्यो घडी मेरालागि अप्रत्यासित थियो l मैले आफ्नो र परिवारको बारेमा भन्दा उसको जिन्दगी बचाउने मात्रै सोचें र आफैंमाथि त्यो आपतकालीन निर्णय थोपरेंl त्योभन्दा अगाडि मैले बाबामम्मीलाई नसोधी केही गरेकी पनि थिइनँ र उहाँहरूले चिन्ता लिनुपर्ने कुनै सानो गल्तीसम्म गरेकी थिइनँ l तर यो कुरामा उहाँहरूको सहमति कहिल्यै पाउँदिनँ भन्ने जानेर मैले सोध्ने हिम्मत पनि गरिनँ र आफूले यस्तो गरें भनेर खबर मात्र पठाएँl त्यो दिन मेरा बाबामम्मीसँगै मलाई पनि बज्रपात पर्यो l मनले लिएको निर्णय भए म आफूलाई प्रेम गर्ने मान्छेसँग जीवन जिउन लागेकामा खुसी हुन्थें होला तर मस्तिष्कले जरूरी ठानेर लिएको निर्णय भएकाले बाबामम्मीलाई धोका दिएँ भन्ने अपराधबोधसँगै म आफूलाई दाम्पत्य जीवनमा खुसी पाउनुभन्दा पनि आँसुको भेलमा मात्र पाएँl
त्यो निर्णयपछि मेरो जिन्दगी फेरियो l बाबामम्मी दुखी हुनु त स्वाभाविक थियो तर अन्य टाढाका आफन्त अनि साथीभाइका सामु पनि म एक्कासि आकाशबाट भुइँको धुलो जसरी गिरेंl
कतिले मलाई दुनियाँ केटापछि लगाएर हिँड्थी भनेर चरित्रहीन बनाए, कतिले जात हाल्नु नै थियो भने अलि गतिलोसँग पो जानुपर्थ्यो भनेर घोचे l विजातमा बिहे गरे पनि या त धनी या सम्पन्न हुनुपर्ने रे या त डाक्टर, इन्जिनियर, अधिकृत हुनुपर्थ्यो रेl मेरो लोग्ने यी कुनै क्राइटेरियामा नपर्ने हुँदा म सबैको हेलाको या उपहासको पात्र मात्र बनेंl
छोरीबाट बुहारी भएर फेरिएका जिम्मेवारी त मेरा लागि कहिल्यै अप्ठ्यारा बनेनन्, मेरो लोग्ने अनि उसको परिवार सधैं मेरा लागि सकारात्मक रह्यो l तर मेरा आफ्नै भनाउँदाका तीररूपी वचन अनि आफैं ग्लानीमा परेको मनस्थितिमा सबैले प्रहार गरिरहँदा म भित्रभित्रै डिप्रेसनको बिरामी बनिरहेकी थिएँl
मलाई आफ्नो अगाडिको जिन्दगीप्रति कुनै उत्साह थिएन, न मलाई मेरो दाम्पत्य जीवनमा कुनै रंगरस नै पस्यो l बस म आफ्नै निर्णयको बोझ उठाउँदै जिन्दगी धकेलिरहेकी थिएँl
मेरो मन दुख्यो भनेर सुनाउने न ठाउँ थियो न बुझिदिने मान्छे छन् जस्तो लाग्थ्यो। त्यसैले मैले हरेक दिन एकान्तमा रोएर आफूलाई सजाय दिइरहेकी थिएँl
केही समय त बाबामम्मीलाई स्पेस दिनुपर्छ भनेर मैले सम्पर्क गर्ने हिम्मत पनि गरिनँ l तर १ डेढ वर्षपछि मैले प्रयास गर्दा पनि उहाँहरू मसँग सम्बन्ध राख्न नचाहेपछि मैले आफूलाई अझै दोषी ठहराउँदै गएँ l
मैले आफू सँगसँगै आफ्नो लोग्नेलाई पनि दलदलमा पारेकी थिएँ, स-साना कुरामा झर्किनु र मेरो जिन्दगी बर्बाद पारिस् भनी रोइरहने गर्नाले उसलाई पनि मायामा आफूले एकोहोरो प्रयास गरी बिहे गरेकामा पश्चाताप हुने बनाइसकेकी थिएँ l
‘यदि सबै पैलेजस्तै सहज बन्छ भने तिमीलाई मैले बाबामम्मी सँगै फर्काइदिन्थें, तिमीलाई रूवाउन पक्कै आफ्नो बनाको हैन यस्तो दिन आउला भन्ने जानेको भए बरू मै वियोगमा बस्थें’ भनी ऊ पनि पछुताउँथ्यो l
हामी जतिसुकै कुशल मार्गमा हिँडे पनि नियतिमा हामीलाई मोडिनु लेखिएको छ भने हामी भागेर पनि त्यसबाट बच्न सक्दैन रहेछौंl
सधैं बाबामम्मीलाई खुसी दिने सपना बोकी हिँडे पनि नियतिले मलाई अन्ततः चिप्ल्याएरै छाड्योl
परेको स्वीकारेर बस्नुबाहेक म त्यतिबेला केही गर्न सक्ने अवस्थामा थिइनँl
म जेजस्तो मनोदशाबाट गुज्रे पनि मैले लोग्नेलाई अगाडिको जिन्दगीका लागि भए पनि केही गर्न साथ दिनैपर्थ्योl अझ उसको हैसियत सोध्दै उसलाई समेत यस्तो र उस्तो भन्नेहरूको सामु हामी दु:ख पाएर बस्नु त पक्कै थिएन मलाई। त्यसैले मैले उसको विदेश गइ लाइफ बनाउने योजनालाई सहमति दिएँ र एक्लो जिन्दगीलाई स्वीकारेंl
कमजोर बनेको मानसिकतासँगै अब मलाई एक्लोपनसँग पनि लड्नुपर्ने भयो, त्योसँगै ब्याचलरको पढाइ पनि यथावत् नै थियो l म झन् नाजुक बन्दै गएँl
काठमाडौंको कोठामा एक्लै बस्ने अनि मनभरी नकारात्मक कुरा खेलाउने मेरो दैनिकी बन्योl त्यसपछि मलाई अब बाँचेर के नै गर्नुछ र? न असल छोरी बन्न सकें, न असल श्रीमती नै बन्न सकें भन्ने लाग्न थाल्योl
ठूलो मान्छे बन्ने सपना पनि त्यो मानसिकताले सफल हुने छाँट देखेन अनि गर्न केहि सकिँदैन भनेर मर्ने सोच पाल्न थालेंl
सायद मरिन्छ भन्ने ग्यारेन्टी हुने केही सजिलो उपाय भए म आज जीवित हुँदैनथें, तर कथमकदाचित मेरो आत्महत्या प्रयास असफल भइ अपांग या पागल भई बाँच्नुपरे झन् अर्को सकटमा परिन्छ भनेर झट्ट मरिहाल्न पनि हिम्मत जुटेन र म जसोतसो जीवित चाहिँ रहेंl जिउँदो लास सरी जीवन बिताइरहँदा मलाई हौसला दिने कोही पनि थिएनन्, नजिक हुने साथीभाइहरू पनि खाली नेगेटिभ कुरा सुनाउने र नीचो महसुस गराउने भएकाले मैले कसैसँग खुलेर आफ्नो पीडा भन्न पनि सकिनँ l त्यो विषम अवस्थामा धन्न एउटी साथीले भने मलाई अभिभावक बनेर सम्हाली l
‘सुनायना’ मेरो प्लस टु पढ्दाकी साथी, जो अस्ट्रेलियामा थिई उसले बेलाबखत फोन सम्पर्क गरेर दृढ रहन सम्झाउथीl नजिक रहनेहरूले मलाई सहारा देलान् भनेको खण्डमा उल्टै दूरी बढाएका थिए तर उसले भने मनोचिकित्सक जस्तै बनेर रेगुलरजस्तो मेरो हालखबर लिन थालीl
उसले ममाथि ठूलो उपकार नै गरी, जानेर या नजानेर मलाई बिस्तारै सकारात्मक बनाउँदै गई l मेरा अप्ठ्यारा कुराहरूलाई सहज रूपमा ब्रिफिङ गर्दै मलाई सकारात्मक बन्दै केही गर्न हौसला दिन्थीl अन्ततः ऊ अनि मेरो लोग्नेको असल साथ अनि हौसलाका कारण म फेरि सकारात्मक बन्दै गएँl
मैले युट्युबमा मोटिभेसनल भिडिओ हेर्ने अनि त्यस्तै सकारात्मक कहानीहरू समेटिएका पुस्तकहरू पढ्ने गर्न थालेंl
सुनेका राम्रा कुरा लागु गर्ने स्वभाव ममा पहिलेदेखि नै भएकाले मलाई ती कुराहरूले सशक्त बनाउँदै गएँ l अब म अरूले के सोच्छन् या के भन्छन् भन्ने जन्जालबाट मुक्त भई आफूलाई सकारात्मक बनाउनुपर्ने कुरामा फोकस गर्ने भएँ र जीवनप्रति सकारात्मक बन्न थालेंl
आफूलाई सम्हाल्ने भैसकेपछि, सबैभन्दा महत्वपूर्ण मलाई मम्मीबाबासँग जोडिनु थियो l कमसेकम त्यस कुरामा मात्रै भए पनि म आफन्तहरूको सहारा चाहन्थें तर त्यसो हुन सकेनl बलेको आगो ताप्ने समाज भनेर त्यसै भनिएको रहेनछ, आफन्त अनि साथीहरूको असली रंग मैले त्यतिबेला चिन्न पाएँl यद्यपि मैले कसैप्रति गुनासो भने गरिनँl
अन्त्यमा, मेरो धैर्यताले सीमा नाघेपछि करिब ३/ साढे ३ वर्षपछि म ठूलो मुटु बनाएर बाबामम्मीसामु आफैं गएँl त्यो पल मेरा लागि जीवनको एक भयानक पल थियोl डराएरै भए पनि मैले कदम चालें र बिस्तारै मैले आफ्ना अभिभावकको छहारी पाउन थालेंl
हामी सामजिक प्राणी भएकाले एक्लै जिउन पनि मुस्किल नै हुन्छ त्यसैले मैले त्यो अप्ठ्यारो समयमा कसले के भने भन्ने हिसाब नराखी सबैप्रति सौहार्दता नै जनाएँl सकारात्मक भाव देखाउनेहरूसँग म बिस्तारै जोडिदै गएँ।
त्यतिबेलासम्म जीवन अनि ब्याचलर जसोतसो पार लागेका थिएl मानसिक रूपमै कमजोर बनेकीले मलाई कति गर्न सक्छु भन्ने यकिन त थिएनl तै पनि प्रयास जारी राख्नाले मैले स्नातकोत्तर पढ्ने अवसर पाएँl त्यसपछि मैले जीवनलाई समीक्षा गर्दै व्यवहारिक भएर हेर्न थालेंl
मैले पढाइका अलावा उच्च शिक्षा अध्ययन गरिरहेका मेरा समकालीन युवा पिँढी एवम् कैयौं प्राध्यापकहरूलाई नजिकबाट नियाल्ने अवसर पाएँl
अधिकांशलाई आफ्ना अनेक समस्यासँगै फरक मनोदशाबाट गुज्रेको बुझेपछि झन् मलाई नाम या करिएर मात्र सबथोक नभई मानसिक शान्ति र व्यक्तिगत सन्तुष्टि सहितको सन्तुलित जीवन महत्त्वपूर्ण रहेछ भन्ने पाठ मिल्योl
मैले मास्टर्स अध्ययनका बखत किताबी कीरो मात्र नबनी आफ्नो एक्लोपन, डिस्ट्यान्स रिलेसन लगायत अन्य पारिवारिक सम्बन्ध पनि सन्तुलनमा राखी अगाडि बढेंl
त्यसो गर्दा म आफूलाई छोरी, श्रीमती, बुहारी सँगै विद्यार्थीको भूमिकामा उत्कृष्ट बनाउन नसके पनि सक्षम, सबल र सफल नै पाएँl प्रौढ भैसकेका हामी सैद्धान्तिक रूपमा कुनै एक फिल्डमा मात्र उत्कृष्ट भई अन्य पारिवारिक एवम् सामाजिक भूमिकाबाट थिचिनुभन्दा सबैको सन्तुलनसँगै अगाडि बढ्दा जीवन यात्रा धेरै सहज अनि हलुंगो बन्दो रहेछl
जीवनका उतारचढाव सँगै यी कुराहरू अनुभव गरी म करिब ५ वर्षमा फेरि सामान्य बन्न सकेंl
अब अहिले मसँग मेरो पढाइ, थोरै भए पनि माया गर्ने मान्छे अनि गरेर खाने क्षमता सबै छ र म आफ्नो दाम्पत्य जीवनप्रति पनि सन्तुष्ट र खुसी छुl
जुन पीडाले म बाँच्न सक्दैन भनि मर्न तत्पर थिएँ, त्यसकै कारण मिलेका अनेक भोगाइ, सिकाइ सँगै जिउने दृष्टिकोण नै फेरिनाले अहिले जीवन पहिले भन्दा बहुमुल्य लाग्छl
यो पुनर्जीवन दिन सहयोग गर्ने मेरी साथी सुनयना र मैले जतिसुकै सताए पनि मलाई घृणा नगरी मायाले सम्हाल्ने मेरो लोग्नेप्रति म सदैव ऋणी छुl
हुन त अझै पनि मलाई नीचो बनाउन मेरो मानसिकतामा प्रहार गर्दै मलाई के प्रगति गरिस् या तैंले आफ्नो गल्ती प्राय:श्चित गर्न केही गर्नैपर्छ भन्नेको जमात ठूलै छl तर अब म ती ढोंगी आफन्तप्रति भन्दा आफ्नो खुसीप्रति चासो राख्छु र कसैलाई देखाउन भन्दा पनि आफूलाई भलो हुने गरी अगाडि बढ्नुपर्ने सोच्छुl
म आफैंमा केन्द्रित भइ अगाडि बढेकी छुl जीवन ओरालो लागेपछि मर्ने हैन जिउने शैली बदल्नुपर्दो रहेछl जीवनमा जानअन्जानमा गल्ती नै गरे पनि सच्चिने अधिकार सबैलाई छ, त्यसैले तँ यस्तो भनेर प्रहार गरिरहने र मानसिक शान्ति बिथोल्ने जमातसँग लड्नुभन्दा टाढिएर आफ्नो सिर्जनाशीलतामा केन्द्रित रहनु नै मलाई उचित लाग्योl
यसैकारण अचेल म आफ्नै कम्फर्टको सानो दुनियाँ सजाएर उत्साहले जीवन जिउँदै छुl
कानुनले जातीयता नमाने पनि अझै पनि म पस्दा भान्सा छोइने मेरा आफन्तहरू छन्, तिनका पवित्र घरहरू नबिटुलिऊन् भन्दै आफूलाई उनीहरूबाट पाखा लगाएकी छुl
हाम्रो समाजको परिवर्तन खाली बोलीमा मात्र सीमित रहेछ, अझैसम्म पनि कैयौंबाट उही व्यवहारिक क्रूरता महसुस गरेर सम्बन्धमा तिक्तता झेल्नुभन्दा जबर्जस्ती कसैको मन अनि घरमा स्थान खोज्न छाडेंl
आधुनिकतासँगै सूचनाको पहुँच अनि सामाजिक सञ्जालको प्रयोगले हाम्रा जीवनशैली फेरिएl मानिसहरूका प्राथमिकता र चेतना बदलिए पनि बैवैचारिक परिपक्वतामा भने हामी अलि कमजोर नै छौं कि जस्तो लाग्छl जसकारण सानातिना कुरामा हतासिँदै जीवन नै त्याग्ने ट्रेन्ड बसेझैं भएको छl
कसैलाई सस्तो लोकप्रियता अनि वाहवाहीले भगवान् बनाइहाल्ने अनि कसैलाई अनावश्यक जज गर्दै गालीगलौज गर्ने संस्कार बसेकाले यसले समाजलाई अशान्त बनाइरहेको भान हुन्छl बालबालिकाहरूलाई समेत क्षमताको क्षेत्र पहिचान गर्नुभन्दा पनि उही ग्रेड र मार्क्स मै अल्झिएर उनीहरूलाई अगाडिको जीवनको बोझ बोकाइरहेका छौंl
असल संस्कार, नैतिकता अनि परिपक्व बन्ने ज्ञान नबुझ्दा बालबालिकाहरू पनि अलिकति असहज अवस्थामा हतासिँदै मर्ने कुरा गर्ने भएको पाइन्छ।
त्यस्तै कसैको व्यक्तिगत जीवन, कसैको शारीरिक बनोट, प्रस्तुति या जिउने शैलीका बारेमा अनावश्यक टीकाटिप्पणी गरी पनि हामी अरूको मानसिक शान्ति बिथोलिरहेका भेटिन्छौंl
कसैको असफलतामा हतार गरी आलोचक बन्दा उसको हौसला घट्न सक्छ भन्ने हामीले भुल्नु हुँदैनl
जितहार, सफलता-असफलता अनि अनेक अनपेक्षित परिस्थिति जीवनका पाटा रहेछन् l तिनिसँग डराएर जिउने रहर छाड्नुभन्दा जस्तोसुकै उतारचढाव अनि असफलतामा हामी नआत्तिकन, उच्च मनोबलका साथ जुधेपछि बरू समाधान भेटिँदो रहेछl
सत्कर्मको बाटो अंगाल्दै आफूलाई अरूले के भन्ला भन्ने कुराबाट मुक्त पारी अगाडि बढ्दा जीवन सरल बन्दै जाँदो रहेछl
सकेसम्म आफ्नो लागि आफैं लागिपरेको राम्रो होl तर यदि कसैबाट आफ्नो तनाव व्यवस्थापन भएको छैन भने उसको परिवार रक्षक बनेर खडा हुन जरूरी छl
आफ्ना अभिभावकको माया अनि हौसलाले मानिसले आफूलाई सच्याएर अघि बढ्नका लागि पुनर्जीवन पाउँछ तर समाजले के भन्ला भनि सुध्रिने मौकै नदिई उपेक्षा गर्यौं भने आफ्नो सन्तान गुमाउनुको पीडा आफैंले भोग्नुपर्नेछl
त्यसैले कसैलाई घृणा एवम् उपहास गर्नुभन्दा क्षणिक इगो बिर्सेर उसको जीवन बदल्ने कारण बनौंl
कसैको जीवन बचाउनुभन्दा अरू ठूलो धर्म पनि केही हुन सक्ला र? यदि शारीरिक रोगजस्तै मानसिक रोगमा पनि परिवार या साथीभाइले आफ्ना प्रियजनको साथ दिँदै उसको हौसला फर्काउन सहयोग गर्यौं भने यस किसिमका घटना पक्कै कम हुनेछन्l