अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान दिवस मनाउँदै आइएको छ।
यसलाई नै अनुसरण गरेर नेपालमा पनि यस दिवस मनाउँदै गरेको सामाजिक सञ्जालमा प्रशस्त देखिन्छ।
अझ मानौं होडबाजी नै चलेको छ।
विभिन्न सरकारी अनि गैरसरकारी संघसंस्थाहरूले विभिन्न कार्यक्रम साताभर नै सञ्चालन गरेको पाइन्छ। अस्पतालहरूमा यस वर्षको नारा ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता: सबै सरोकारवालाको प्रतिबद्धता’ लिखित ठूल्ठूला ब्यानर टाँगिएको पाइन्छ।
यस्ता कार्यक्रमहरूले हामी सबै जनालाई झस्काइरहन्छ। हुन त हाम्रो देशको स्तनपानको आंकडा हेर्ने हो भने हरेक आमाले स्तनपान गराएको पाइन्छ।
अनि किन चाहियो त यस्तो कार्यक्रम? जब आमाले ६ महिनाको उमेरसम्म केबल स्तनपान मात्र गराएको हुन्छ तर पूर्ण स्तनपान (स्तनपानबाहेक अन्य कुनै बाह्य दूध वा खाद्य पदार्थ) गराउने आमाको आंकडा भने नेपालमा निकै कम पाइएको छ।
स्तनपानको महत्व थाहा हुँदाहुँदै पनि आमाहरूले किन पूर्ण स्तनपान गराउन सकिराखेका छैनन् त?
के वर्षको ५२ सप्ताहमध्य एक सप्ताह स्तनपानसम्बन्धी चेतनामूलक कार्यक्रमले आमाहरूको पूर्ण स्तनपान बढाउन सकिन्छ त?
पूर्ण स्तनपानका समस्या र यसका केही पहल यहाँ केलाउन कोसिस गरेकी छु।
१) स्तनपानको पहिलो चुनौती बच्चा जन्मेको पहिलो केही दिनबाट नै सुरू हुन्छ। एक त प्रसव पीडा, थकान अनि त्यसमाथि घाउको दुखाइ र स्तनपान अनुभवको कमी। यस्तो अवस्थामा सबभन्दा महत्वपूर्ण सहयोग परिवारका सदस्य र स्वास्थ्यकर्मीहरू हुन्छन्। यस्तो समयमा जब परिवार अनि डाक्टर, नर्स, स्वयंसेविकाले आमालाई हौसला दिन्छन्, सहयोग गर्छन्। तब स्तनपान सुरू गर्न सजिलो हुन्छ।
यस समयमा आमा भावनात्मक र शारीरिक रूपमा कमजोर हुन्छन्। यस समयमा बढीभन्दा बढी स्नेह, साथ र सहयोगको जरूरी पर्छ। त्यसमाथि स्तनपानमा गाह्रो भइराख्दा सजिलैसँग अन्य बजारी दूधतिर आकर्षित हुनु सामान्य हो।
हुन पनि परिवारका सदस्यहरूले आमालाई गाह्रो होला भन्ने हेतुले सजिलो बनाइ दिनका लागि फर्मुला दूधतिर लाग्ने गरेको पाइन्छ।
एकपटक यस्ता कृत्रिम दूधतिर लागि सकेपछि फेरि फर्केर आमाको दूध सुरू गर्न केही धैर्यता चाहिन्छ। तसर्थ बच्चालाई केबल स्तनपानमात्र गराउनका लागि हरेक महिला अनि परिवार सबैले स्तनपानसम्बन्धी ज्ञान राख्नु जरूरी हुन्छ। त्यस्तैगरी, स्वास्थ्य केन्द्रहरूमा स्तनपानका लागि मात्र भनेर यससम्बन्धी सेवा विस्तार गर्नु पर्दछ। सुन्दा सरल भएता पनि स्तनपान स्थापनाका लागि समर्पित स्वाथ्यकर्मी, तिनका समय र कठिनाइ भएमा समाधानका लागि आवश्यक ज्ञान तथा व्यावहारिक कौशलता भएका स्वास्थ्यकर्मीहरूको व्यवस्थापन अहिलेको ठूलो चुनौतीभन्दा फरक नपर्ला।
तसर्थ यसका लागि सम्बन्धित निकायले जबसम्म यसलाई प्राथमिकता दिँदैन तबसम्म ‘नवजात शिशुलाई स्तनपान गराउनु पर्छ’ भन्ने नारा केवल कागजमा मात्र सीमित रहन पुग्छ।
२) दोस्रो चुनौती भनेको बजारमा छ्यापछ्याप्ती पाइने स्तनपान प्रतिस्थापन गर्ने वस्तुहरू ( कृत्रिम पाउडर दूध / दूधदानी/ बोतल /निप्पल) हुन्।
पाउडर वा बट्टाका दूध केही सीमित अवस्थाहरू जस्तै: आमाको विमारी वा स्तनपान गराउन आमा नहुनु, बच्चाको केही जटिल स्वास्थ्य अवस्थामा मात्र आवश्यक पर्दछ। प्राय: सबैजसो आमाहरूले (अपरेसनपछि पनि) केही मद्धतपछि सजिलोसँग नै स्तनपान गराउन सक्छन्। तर कृत्रिम पाउडर दूधको प्रत्यक्ष /अप्रत्यक्ष विज्ञापन; आम जनमानसमा यसको सजिलोसँगको पहुँचले गर्दा पनि यसतर्फ आकर्षित भएको देखिन्छ।
हुन त ‘आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (विक्री/वितरण नियन्त्रण) ऐन २०४९’ अनुसार यसलाई विस्तृत रूपमा व्याख्या गरिएको छ तर बिडम्बना यस ऐन लागु गर्ने र कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी मन्त्रालयको मातहतमा रहेको स्तनपान संरक्षण तथा संवर्द्धन समिति पनि सक्रिय देखिँदैन।
कतिपय अवस्थामा ऐन उल्लंघन भएको थाहा हुँदाहुँदै पनि सोको उजुरी कता दिने भन्ने कुरामा नै अन्यौल पर्ने गर्दछ। केही समयअघि केही गैरसरकारी संस्थाहरू र सरकारको समन्वयमा यस ऐनसम्बन्धी जनचेतनाका कार्यक्रम अघि बढाएको छ तर पनि प्रत्यक्ष रूपमा आमासँग काम गर्ने स्वास्थ्यकर्मीमाझ यी ऐनसम्बन्धी ज्ञान अपर्याप्त देखिन्छ। जानीनजानी यस्ता वस्तु वितरक अनि उत्पादकहरूको सञ्जालमा परी स्वास्थ्यकर्मी आफैंले पनि यस्ता वस्तुहरूको प्रयोगमा उत्प्रेरणा दिएको पनि बेला बखतमा देखिन्छ।
‘के साँच्चिकै बच्चालाई कृत्रिम दूधको आवश्यक छ त? कतै मलाई कम्पनीले प्रयोग त गर्दै छैन? भन्ने कुराहरू स्वास्थ्यकर्मीले बुझ्नु जरूरी हुन्छ किनकि यहाँ केही पनि नि:शुल्क पाइँदैन। यसका साथै सम्बन्धित निकायले पनि कडा रूपमा यस कानुनलाई अघि बढाएमा यस्ता वस्तुहरूको विक्री वितरणमा पनि केही नियन्त्रण गर्न मद्दत पुग्छ।
यसले सिधै आमाहरूलाई पूर्णरूपले स्तनपान गराउनका लागि थप प्रोत्साहन भने पक्कै दिन्छ।
३) तेस्रो चुनौतीको रूपमा सुत्केरी बिदालाई लिन सकिन्छ। कतिपय हाम्रा छिमेकी राष्ट्रहरूमा जस्तै: बंगलादेश, भारतमा सुत्केरी बिदा १८० दिन वा ६ महिनासम्म छ भने हाल नेपालका सरकारी कार्यालयहरूमा ९८ दिनको तलबी सुत्केरी बिदा पाइन्छ।
प्राइभेट अफिसमा त त्यो पनि पाइँदैन भने ज्यालादारी कामकाजी महिलाका निमित्त त यो केबल सपना मात्र हुनसक्छ।
कामकाजी महिलाहरूले पनि आफ्नै दूध संकलन गरी बच्चालाई खुवाउन सकिन्छ भन्ने ज्ञान अलि कम नै पाइन्छ। यसबाहेक दूध संकलन घर तथा अफिसमा पनि गर्न सकिने भएको हुँदा यस्तो सुविधाहरू उपलब्ध गराउन सकिएमा पनि यसले बच्चालाई त फाइदा हुने भइहाल्यो, अफिसलाई पनि अदृश्य फाइदा हुन जान्छ।
झट्ट सुन्दा लामो तलबी बिदा दिँदा कतै अर्थतन्त्रमा त नकारात्मक असर पर्ने हैन भन्ने तर्क आउन सक्छ। तर यसलाई गहिरिएर विचार गर्ने हो भने पूर्ण स्तनपानले दीर्घकालीन फाइदा परिवार, कार्यालय, समाज अनि पूरै राष्ट्रलाई पुग्न जान्छ।
पूर्ण स्तनपान गरेका बालबालिकाहरू कम बिरामी हुन्छन्। यसले औषधि उपचारको खर्च बच्छ र साथै आमाबुवाले पनि कामबाट कम नै छुट्टी लिनुपर्ने हुन्छ। स्वस्थ बच्चा हुँदा परिवारमा सौहार्दता पनि ल्याउँछ अनि यसले काममा पनि अदृश्य ऊर्जा ल्याउन मद्दत गर्दछ।
बट्टाको दूध मात्र दिने गरिएको छ भने ६ महिनासम्म झन्डै २४ देखि ३० बट्टा त दूधमा नै खर्च हुन्छ।
यदि नेपालमा जन्मिएका सबै बच्चाले बट्टाको मात्र खाने हो भने यो हाम्रो पूरा स्वाथ्य्य बजेटले पनि अपुग देखिन्छ। यसका साथै दूध तयार गर्न चाहिने इन्धन र समयको हिसाब किताब नै छैन।
यसबाहेक पूर्ण स्तनपान गर्ने बच्चाको मानसिक विकास पनि सोही अनुसार स्तनपान नगर्ने बच्चाको भन्दा बढी पाइएको धेरै अनुसन्धानहरूले प्रमाणित गरिसकेको छ र भविष्यमा गएर यसले साक्षरतालाई अघि बढाउन ठूलो भूमिका खेल्दछ।
यही फाइदाहरू थाहा पाएर नै होला कतिपय विकसित देशहरूमा स्तनपानलाई निकै प्रत्साहन गर्ने र कतिपय राष्ट्रहरूमा त झन्डै १ वर्षसम्म पनि सुत्केरी बिदा दिने गरेको पाइन्छ।
नेपालको सन्दर्भमा हाल कमसेकम अरू सार्क राष्ट्रजस्तै १८० दिन सुत्केरी बिदाको पहल हुन थालेको छ।
परिवार कल्याण महाशाखाले उक्त ६ महिना सुत्केरी बिदाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरिसकेको र त्यहाँबाट पनि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेश भैसकेको अवस्थामा अब सो कानून मन्त्रालयबाट छिटो भन्दा छिटो पारित गर्नका लागि सहृदय विनम्र अनुरोध गर्दछु।
सो पारित भएर मन्त्रिपरिषदबाट पनि सो बिदा छिट्टै नै पारित हुने आशा पनि देखिन्छ।
यो कानूनले समस्त महिला र बालबालिकाहरूको स्तनपान गराउन र गर्न पाउने मौलिक अधिकारलाई संरक्षण गरी अमूल्य भूमिका खेल्ने कुरामा दुईमत नहोला।
(डा.श्रेष्ठ महाराजगञ्ज मेडिकल क्याम्पसकी सहप्राध्यापक, विशिष्ट बाल विशेषज्ञ हुन्।)