आजभन्दा १८ वर्षअघि नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका ज्ञानेन्द्र मल्लले साउन १९ आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यासको घोषणा गरे।
नेपाली क्रिकेटलाई अहिलेको स्थितिमा पुर्याउन निकै महत्वपूर्ण भूमिका खेलेका मल्ल 'अन्डररेटेड' खेलाडी रहे। शायद धेरैलाई यो कुरा थाहा नहोला, ज्ञानेन्द्र मल्ल लिस्ट 'ए' फर्म्याटमा नेपालको तर्फबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्।
उनले लिस्ट 'ए' मा ११ अर्धशतकसहित १८०२ रन बनएका छन्। दोस्रो स्थानमा रोहित पौडेल (१७८७) छन् भने तेस्रो स्थानमा पारस खड्का (१४९७) छन्।
पारस खड्कासँगै नेपाली क्रिकेटलाई यहाँसम्म डोहोर्याउन आफ्नो काँध सुम्पेका ज्ञानेन्द्र मल्लले धेरै उतारचढाव खेप्न परेको थियो। आफ्नो लय गुमाएको बेला विभिन्न आलोचना खेप्नेदेखि लिएर निलम्बनसम्म भोगेका छन्।
पछिल्लो दशक नेपालको ब्याटिङ धान्ने जिम्मा पारस खड्का र ज्ञानेन्द्र मल्लको नै हुने गर्थ्यो। बलिङमा शक्ति गौचन, बसन्त रेग्मी लगायतका खेलाडीले साथ दिन्थे। मिडल अर्डरमा शरदले। तर राम्रो सुरूआत त टप अर्डरदेखि खेल अन्त्य गर्नेसम्म जिम्मा पारस र ज्ञानेन्द्रको हुने गर्थ्यो। जबसम्म उनीहरू दुई क्रिजमा हुन्थे, तबसम्म नेपाली समर्थकको आशा जीवित हुन्थ्यो। पारस र ज्ञानेन्द्रको ब्याटिङ हेर्नकै निम्ति आफ्नै टिमको ओपनर चाँडै आउट होस् भनेर पनि कामना गरिन्थ्यो, कुनै बेला।
पारस खड्कापछि नेपाली टिम लिड गर्न सक्ने एक मात्र खेलाडी थिए, ज्ञानेन्द्र मल्ल। उनी करिब १० वर्षसम्म उपकप्तान रहे।
उनले कप्तानी गर्ने मौका विरलै पाए। सन् २०१९ मा पारस खड्काले कप्तानीबाट राजीनामा दिए। त्यसपछि ज्ञानेन्द्र मल्लले कप्तानको जिम्मेवारी पाए। कप्तानीको जिम्मेवारी पाएको करिब २ वर्षमा नै उनले त्यो पद गुमाउन पुगे। क्यानले खेलाडीको ग्रेडिङमा गरेको अन्यायविरूद्ध आवाज उठाउने क्रममा उनीसहित अरू ३ जना खेलाडीलाई ६ महिनाको लागि निलम्बन गरिएको थियो।
मल्लको यो निस्वार्थ लडाइँले अन्त्यमा जित हासिल गर्यो तर त्यसको बदलामा उनले आफ्नो कप्तानी पद सदाका लागि गुमाए।
सन् २०२१ मा पारस खड्काको आकस्मिक संन्यासपछि ज्ञानेन्द्र मल्ल पनि उही रहेनन्। उनको खेल खस्कँदै गयो तर पनि उनी निरन्तर प्रयासरत रहे।
उनले हार मानेनन् पछि कमब्याक गरे। २०२२ मा केन्यामा भएको टि-२० अन्तर्राष्ट्रिय सिरिजमा ३ खेलमा १११ रन बनाएका मल्लले फेरि पछाडि हेर्न परेन। त्यसलगत्तै काठमाडौं र नामिबियामा भएको लिग २ को सिरिजमा पनि ज्ञानेन्द्र मल्लले राम्रो ब्याटिङ गरे।
त्यसबेला उनले ८ खेलमध्ये खेलमा २५ भन्दा माथिको स्कोर बनाएका थिए। त्यसपछि नेपाली टिममा नयाँ र युवा खेलाडीको उदय हुँदै गयो र बिस्तारै बिस्तारै ज्ञानेन्द्र पहिलो रोजाइबाट बाहिर बस्न पर्यो।
पहिलो एघारबाट बाहिर रहँदा पनि उनलाई आफ्नो योगदान कसैले रोक्न सकेन। मैदान भित्रभन्दा धेरै उनको जिम्मेवारी मैदान बाहिर पनि भयो। टोलीको सबैभन्दा धेरै अनुभव भएका मल्लले युवा खेलाडीलाई हौसला र सुझाव दिँदै बसे र आवश्यक परेको बेलामा मैदानमा पनि उत्रे।
मैदान बाहिरको एउटा ताजा उदाहरण भनेको केही महिना अगाडि युएइविरूद्धको खेल नै छ। नेपाली दर्शक आक्रोश भएर मैदानमा बोतल फालिरहेका थिए र त्यही बेला उनी दर्शकसामु गएर हात जोडेर त्यस्तो नगर्न आग्रह गरेका थिए र हामी जित्नेछौं पनि भनेका थिए। त्यसपछि दर्शक शान्त भएका थिए।
अन्तर्राष्ट्रिय खेलमा एउटै ब्याट र किट सबैले प्रयोग गरी सीमित सुविधाका बावजुद नेपाली क्रिकेटको साथ नछोडेका ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीहरूलाई राज्यले उचित सम्मान र सुविधा दिन जरूरी छ।