भन्छन् सबै कि यो ओठको मुस्कानले जस्तोसुकै कठोर हृदय भएको प्राणीलाई पनि आफ्नो बसमा पार्छन्।
मेरो पनि एउटा नजिकको साथीको ओठको मुस्कान धेरै नै आकर्षित छ। उसले यही मुस्कानले हामीलाई कैयौं पटक घुम्न जाँदा चुनाटीका लगाइसकेको छ।
हुन त यो उनको व्यक्तिगत खुबी नै भन्ने मान्नु पर्छ। समय बित्दै गए उसको ओठको अनुहारले दिन प्रति दिन आफ्नो प्रभाव क्षेत्र बढाउँदै गएको जस्तो लाग्थ्यो। विद्यार्थी जीवनमा आफ्नो मुस्कानले जहाँ पनि आफ्नो काम अरूभन्दा चाँडै गराइहाल्ने ऊ आजकल निराश देखिन थालेको छ।
म उसको नजिकको साथीको नाताले यो कुरालाई गम्भीरतापूर्वक लिएँ। जतिबेला पनि हँसिलो अनुहार जस्तोसुकै रोएको मान्छेलाई पनि एकछिनमै हँसाउने सक्ने ऊ आजकल धेरै नै निरास देखिन्छ।
उसको न्याउरो अनुहारले मलाई राति सुत्न दिएको छैन।
मैले अब यसरी हुँदैन भनेर उसलाई कर गरेर नै के भएको भन्न नत्र म तिमीसँग बोल्दिनँ भनेपछि उसले मलाई भन्यो- अस्ति एउटा कामले मालपोत कार्यालय गएको थिएँ मैले जति पनि हाँसेर बोल्दा पनि त्यहाँका कर्मचारीले मेरो काम गरिदिएन उल्टै हप्काएर कुरा गर्छन्, जबकी नागरिक वडापत्रमा भए बमोजिमको सबै कागजात दिए पनि उल्टै हप्काएर बोल्छन्।
मैले पनि शब्दलाई गम्भीरतापूर्वक लिएँ र अर्को दिन म पनि गएँ ऊसँग त्यहाँको कार्यालयमा तर पनि उसको काम भएन सबै कागजात भए पनि थप पालिकाबाट सिफारिस जो चाहिँ नियमसंगत थिएन त् आवश्यक पनि थिएन, हामी न्याउरो अनुहार लिएर बाहिर आउँदै गर्दा एउटा फोटोकपी वालाले तपाईंहरूको काम मैले गराइदिन्छु तपाईं अलिकति नोट फाल्नु पर्छ। यसरी यहाँ नोट बिना कार्यालयमा जति पनि हँसिलो अनुहार र हाँसेर कुरा गर्दा पनि काम छैन भन्ने बुझियो।
त्यसरी नै एकदिन अर्को कार्यालयमा उपभोक्ताको भुक्तानी लिनको लागि जाँदा पनि त्यस्तै देखियो। विकासी अड्डा जहाँ पहिला माओवादीले बन्दुक लिएर जनताको पैसा लुट्ने गर्थ्यो त्यसरी नै अहिलेको सरकारी कार्यालयमा हाकिमवादी प्रवृत्तिको विकास हुँदै आएको छ।
कार्यालय प्रमुखले आफू हाकिम भनाउने धेरै रुचाउँछ, हाकिम भन्ने शब्द नेपालको संविधानमा छैन तर पनि आफूलाई शासक सम्झिने प्रवृत्ति अन्त्य भएको छैन।
सरकारी कार्यालयको प्रमुखको कुर्सीमा बसेर उसले समातेको रातो/कालो कलमले माओवादीको समातेको पेस्तोल र एके ४७ को बन्दुक जस्तै हुन्छ, उसको स्वार्थ पूरा भएको छ भने भुक्तानी दिन्छ नत्र बजेट सकियो भन्छन्।
यसरी रातो/कालो रंगको बन्दुक लिएर आतंकवादीको शैलीमा बसेको मान्छेनिर हाँसेर बोल्यो भने पनि उसले कलमको गोलीले भुक्तानी रोकिदिन्छ, त्यहाँ त एकदम निरिह भएर आफूले गरेको कामको भुक्तानी पनि भिख मागेजस्तो माग्नु पर्ने रहेछ।
हामी भएकै बखतमा एउटा निर्माण व्यवसायी आए। उसले प्रमुखसँग काधमा काध मिलाई एकछिनमै भुक्तानी लियो र ऊ जाने बेलामा प्रमुख भन्छन्- तपाईंको काम त भयो तर पनि बेला बेलामा आएर अनुहारको मुस्कान देखाउँदै गर्नु होला।
हामी बिहानदेखि भुक्तानीको लागि बसेको छौं तर कमिसन नदिएकोले हाम्रो अनुहारतिर पनि फर्किने फुर्सद छैन यिनलाई तर उसको अनुहार हेर्नलाई व्याकुल छन्, शायद यहाँ पनि हामीले नोट नदिएर नै होला हामीले हाँसेर बोल्दा पनि यिनलाई मन नपरेको।
प्राय जहाँ गए पनि सबैसँग हाँसेर नै बोल्थें तर कमिशन नदिँदासम्म हाम्रो हाँसो पनि अरूलाई पिरोल्थ्यो। कमिशन दिएपछि न्याउरो अनुहारमा मुस्कान फेरि तिनिहरूले नै ल्याउने गर्थे।
पैसा नभएको बखतमा आफन्तलाई भेट्न जाँदा पनि टाउको फर्काएर कुरा गर्थे। हामी जति हाँसेर कुरा गर्दा पनि सबैलाई हाम्रो हाँसोले पिरोल्थियो।
यतिसम्म हुन्थ्यो कि कुनै नानीबाबुलाई पनि भेट्दा नोट दिँदा आवश्यकता भन्दा बढी नै माया पाउँथे तर बिनानोट अहिलेको समयमा ओठको मुस्कान बिना झरीको वर्षाजस्तो हुन्छ, बिना शितलताको चन्द्रमा र बिना तापको सूर्यजस्तो हुन्छ।
एकदिन साथीलाई सल्लाह दिएँ 'तिम्रो यस्तो राम्रो ओठको मुस्कानलाई यदि कसैले बिना नोटको कुनै स्थान दिन्छ भने त्यो हो फिल्मी दुनियाँ।'
उसलाई पनि यो कुरा राम्रै लागेर होला उसले पनि फिल्ममा जाने सुरसार गर्न लाग्यो।
भाग्यबस एउटा चिनजानको अंकल नै निर्देशक भेटियो। हामीमा नयाँ आश जाग्यो। चिनजानको भएकोले केही सहज होला जस्तो लाग्यो।
एकदिन निर्देशक ज्यूले गोदावरीमा फिल्म सुटिङको लागि बोलाएको रहेछ, साथीले मलाई पनि सँगै जान भनेकोले म पनि सँगै थिएँ। निर्देशकसँग पहिला कुरा हुँदा कम्तीमा १० मिनेटजतिको रोल दिने भन्नुभयो तर छायांकन सुरू भएपछि त १० मिनेट भन्दा पनि बढीको रोल त दियो त्यो पनि बाइक राइडरको जहाँ पूरै सिन अवधिमा हेल्मेट लगाएर चलाउनु पर्ने रहेछ। यहाँबाट थाहा भयो फिल्मी दुनियाँमा त बिना नोटको ओठसम्म दर्शकसामू ल्याउन सकिँदैन नयाँ कलाकारहरूले।
यसरी बिना नोटको ओठको मुस्कानले कहीँ पनि केही काम गरेको देखिँदैन। नोटबिना कसैले केहिी गर्छ भने हाम्रो देशमा असम्भव नै रहेको छ। त्यसैले पहिला नोट जम्मा गर्नु, त्यसपछि ओठ र अनुहारमा लाग्नु नै उत्तम विचार हो।