घामको पहिलो किरण अन्नपूर्ण साउथ र हिमचुली हिमालको चुचुरोमा ठोक्किएर चाँदीझैं टल्केका थिए।
मर्दी घुम्न आएका युवायुवती कोही मोबाइल, कोही डि.एस.एल.आर त्यतै सोझ्याउँछन्। गोराहरू पनि अचम्मित हुँदै हिमालतिरै मन्त्रमुग्ध भएर हेरिरहेका छन्।
ठिहिराउँदो चिसोले हात कठ्याङ्ग्रिएका छन्। तर चिसोको परबाह कसैलाई छैन। समुद्री सतहबाट ४२०० मिटरको उचाइमा अवस्थित ‘मर्दी हिमाल भ्यू पोइन्ट’ बाट एकाबिहानै देखिएको दृश्य हो यो। धीतमरुन्जेल दृश्यहरू कैद गरेपछि ठिटाठिटी नजिकै रहेको सानो छाप्रोतिर कुद्छन्।
छानोमाथि चिम्नीबाट धुँवा पुत्ताइरहेको छ। सिदिङका चिया काका केत्लीबाट कपमा चिया हाल्दै छन्। अघि भर्खरसम्म चिसोको परवाह नै नगर्ने मर्दी घुम्न आएका यी केटाकेटी अब भने थरथर काँप्दै छन्। सबै भित्र पसेपछि भरिन्छ चिया काकाको चिया पसल।
नामै चिया काका हो उनको।
अँगेनामा तातो चिया उम्लिरहेछ। बाहिर फोटो, भिडिओ खिचिरहेकाहरू कोही चिया, त कोही तातो पानी र ब्ल्याक कफी अर्डर गर्छन्।
सबैको नमस्कार फर्काउनसम्म भ्याउँदैनन् चिया काका।
नमस्कार फर्काउँदासम्म तीन चार जनालाई चिया दिइसक्छन्।
केही दिन/हप्ता/महिनाको मात्र हैन, चियासँगको उनको साइनो लामो छ।
‘चिया काका’ उनको नाम मात्र रहेन, पछिल्लो समय सबैमाँझ उनलाई चिनाउने चिनारी समेत बनेको छ।
उनै चिया काका एक वर्ष अघिको त्यो सम्झनामा फर्किएँ। सिदिङबाट उनी होटल दर्ताका लागि घरेलु कार्यालय, पोखरा झरेका थिए। नयाँ होटलको नाम के पो राख्ने होला?
उनी बडो दोधारमा रहेछन्। डाँफे होटल, लालिगुराँस होटल, मर्दी हिमाल होटल यस्तै यस्तै नामहरू उनका मनमा खेलिरहेका थिए। घरेलुका हाकिमले उनलाई परैबाट चिने तर उनलाई भने ठ्याक्कै सम्झना आएन।
सम्झना रहोस् पनि कसरी?
पछिल्लो एक दशकमा मर्दी पदयात्राका लागि बेस क्याम्प उक्लने हजारौँलाई उनले चिया पिलाइसकेका थिए। दुई वर्ष अघि तिनै हाकिमलाई उनले मर्दी हिमालको ‘भ्यु पोइन्ट’मा चिया पिलाएका रहेछन्।
‘मर्दी पदयात्रा जाँदा सबैलाई तपाईंले चिया पिलाउनुहुन्छ, आज म तपाईंलाई चिया पिलाउँछु,’ हाकिमले मुस्कुराउँदै उनलाई चियाको प्रस्ताव राखेछन्। उनको मनको दुविधा मेटाउँदै तिनै हाकिमले चिया काकाको नयाँ होटलको न्वारन गरिदिएछन्, ‘होटल मर्दी चिया काका’।
चिया काका अघि उनको परिचय अर्कै थियो।
नागरिकताको टेकप्रसाद गौतमका नामले उनलाई गाउँ घरकाले मात्रै चिन्ने हुन्। माछापुच्छ्रे गाउँपालिका वडा नं ९, सिदिङमा जन्मे हुर्केका चिया काका दश कक्षासम्म गाउँ नजिकैको स्कुलमा पढे। त्यसपछि चाहेर पनि औपचारिक शिक्षालाई निरन्तरता दिन पाएनन्। अनि पुर्ख्यौली पेशा भेंडापालन र खेतीपातीतिर लागे। केही वर्ष यसैमा रमाए तर समयसँगै गाउँमा विदेश जाने लहर चल्यो। उनी त्यहीँ लहरमा मिसिए र साथीभाइको लहैलहैमा मलेसिया पुगे। मलेसिया, दुबई र कतार गरेर उनले करिब १७ वर्ष त विदेशी भूमिमै बिताए।
मरूभूमिदेखि भेँडीगोठसम्म चिया काकाको यात्रा
सिदिङ गाउँबासीहरू मर्दी हिमालको फेद ‘क्यु खर्क’ मा बर्खा लागेसँगै गोठ लगेर बसाल्थे। धेरै गोठमध्ये एक उनका हजुर बाका पनि थिए। उनी बाल्यकालमा गाईवस्तु धपाएर हजुरबालाई पछ्याउँदै खर्क उक्लन्थे। खर्कका रंगीचंगी फूलहरू, आँखै अगाडि देखिने हिमालहरू र प्रकृतिसँगको निकटताले उनलाई खुबै लोभ्याउथ्यो। उनी मर्दी हिमालको सुन्दरतामा महिना दिन हराउथे। उनै हजुरबा र बाको बिँडो धान्दै उनका दाइ पनि लेकतिर उक्लिसकेका थिए। यता परिस्थिति र बाध्यताले भने उनी विदेशिए।
उनै दाइका जेठा छोरा सुदिप गौतम, जो मर्दी हिमाल ट्रेकलाई प्रख्यात बनाएर आफू चाहिँ दिवंगत भए। टेकप्रसाद गौतमलाई चिया काका बन्न प्रेरित गर्ने भतिज सुदिप गौतम आज हामी माझ छैनन्।
मर्दी हिमाल पदमार्गलाई आजको यो उचाइसम्म पुर्याउनमा उनै सुदिपको अतुलनीय योगदान थियो। मर्दी काखमा उदाएर मर्दी काखमै अस्ताएका उनै भतिज सुदिपको सम्झनाले चिया काकालाई अझै पनि खुब पिरोल्छ। भतिज अझै जीवित भैदिएको भए, मर्दी पदमार्गको मुहार कति फेरिन्थ्यो झैं लाग्छ उनलाई।
सुदिप बालाई पछ्याउँदै खर्कतिर पुगिरहन्थे। चिया काकालाई सम्झना छ, त्यतिखेर मर्दी सेरोफेरोमा विस्तारै क्याम्पिङ ट्रेकको चहलपहल बढ्दै गएको समय थियो त्यो।
मर्दी हिमाल पदयात्रामा आएका विदेशी पर्यटकहरू गोठमा आएर चकलेट, कोक आदि पाइन्छन् कि भनेर सोध्थे।
गोठमा कहाँबाट चकलेट र कोक पाइनु? विदेशीहरू रित्तै फर्कन्थे। विस्तारै भतिज सुदिपले पोखराबाट विदेशीलाई चाहिने सामान ओसारेर गोठमै बेच्न थाले।
धेरथोर आम्दानी हुँदै गएपछि समयसँगै त्यहीँ भैँसीगोठले चियापसल हुँदै होटलको रूप लियो। पर्यटकको संख्या बाक्लिन थालेपछि उनै भतिजले चिठीमा काकालाई नेपाल बोलाए।
१७ वर्षपछि नेपाल फर्केका टेकप्रसाद मर्दी हिमालको काखबाट कहिल्यै फर्केर टाढा जानुपरेन। मर्दी हिमालले नै उनलाई ब्रान्ड बनाइदियो ‘मर्दीका चिया काका’ नामले।
त्यतिबेला मर्दी पदयात्रा भर्खर भर्खर बामे सर्दै थियो। ‘क्यु खर्क’ अर्थात् मर्दी हाइ क्याम्पमा तीन वटा मात्र होटलहरू मात्र सञ्चालनमा थिए।
हाइ क्याम्पभन्दा माथि उक्लेका पर्यटकलाई चिया र तातो पानी पिउनका लागि कुनै चिया पसल थिएनन्। भतिज सुदिपले काकालाई ‘मर्दी भ्यू पोइन्ट’मा चियापसल चलाउन सुझाव दिए। तर, त्यो काम त्यति सजिलो त कहाँ थियो र?
‘हाइ क्याम्प’ मा बास बसेका पर्यटक बिहानै ‘मर्दी हिमाल बेस क्याम्प’तिर उक्लन्थे। भ्यू पोइन्टमा न पानी पाइन्थ्यो न पर्याप्त दाउरा नै। उनी पर्यटकभन्दा पहिले नै थर्मसमा चिया, तातो पानी र चकलेट बोकेर पाँचै बजे ‘भ्यू पोइन्ट’ पुग्थे।
कठ्याङ्ग्रिँदो चिसोले मुटु काप्थ्यो। तै पनि जाडोमा पर्यटकलाई उनले पिलाउने चिया त अमृतसरह न लाग्दो हो। उनले पैसाभन्दा धेरै सम्बन्ध र प्रेम कमाए।
विगत सम्झँदै उनै चिया काका भन्छन्, ‘सुरूमा चियापसल चल्ने हो कि हैन भन्ने मनमा डर थियो। त्यसैले केही समय मैले खुला आकाशमुनि नै चिया बेचेँ। दुई चार थर्मस चिया र तातो पानीले कहाँ चियाको माग थेग्न सक्नु? सबैलाई चिया पिलाउन नसक्दा आफैंलाई नमज्जा लाग्न थाल्यो। केही वर्षपछि मात्र मैले ‘भ्यु पोइन्ट’ को पहिलो चियापसल सुरू गरेको थिएँ। त्यहीँ चियापसलले आज मलाई चिया काकाको परिचय बनाइदियो।’
चिया काका आफ्नो कर्मलाई पेशा मात्रै ठान्दैनन्। कामलाई धर्मका रूपमा लिन्छन्।
४२०० मिटरको उचाइको त्यो ठिहिराउँदो चिसो र बेतोड हावालाई उनले कहिल्यै वास्ता गरेनन्।
कम्मर कम्मरसम्म हिउँ पर्दा होस् वा पानी पर्दा बर्सादी ओढेर होस्, उनी हरेक दिन पर्यटकलाई चिया पिलाउन त्यहाँ पुगेकै हुन्थे।
‘ट्रेकिङको सिजनमा त एकै बिहानमै २५० कप चिया र कफी बेचेको थिए,’ उनी सुनाउँछन्, ‘विदेशमा अर्काको गुलामी गरेर कमाएको पैसाभन्दा यहीँ आफ्नै भीरपहरामा चिया बेचेर आएको आम्दानीले बढी सन्तुष्ट मिल्दो रहेछ। १७ वर्षको वैदेशिक बसाइभन्दा मलाई मर्दी काख नै प्यारो लाग्यो।’
मर्दी आउनु अघि उनी भतिज सुदिपका काका थिए। तर पछि उनी त मर्दी आउनेजाने सबैका चियाकाका बने। घुम्न आउनेहरू सबैको मुखैमा ‘चिया काका’ झुन्डिन्थ्यो। गोराहरू पनि उनलाई चिया काका नै भन्न रूचाउँदा रहेछन्। अझ उनकै काका पर्नेले समेत उनलाई चिया काका भनेर बोलाउछन् भन्दा जो कोही छक्क पर्छन्।
चिया बेचेर पैसा मात्र कमाएनन् उनले, नाम र प्रसिद्धि पनि साथैमा कमाए । ‘कमाएको मेहनतको पैसाले भन्दा पनि मान्छेसँग गाँसिएको सम्बन्धले अझ बढ्ता सन्तुष्टि मिल्दो रहेछ,’ उनी चियासँग जोडिएका किस्सा थप्दै छन्, ‘काठमाडौं वा पोखरातिर पुग्दा पनि धेरै मर्दी हिमाल घुम्न आएकाहरूसँग भेटघाट हुन्छ। तपाईंले हामीलाई त्यसबेला चिया पिलाउनुभएको थियो भन्दै सम्झन्छन्। जीवनमा कमाएको सबैभन्दा ठूलो सम्पत्ति त यस्तै यादगार पलहरू न रहेछन्।’
हरेक दिन थर्मसमा चिया र तातो पानी बोकेर तीन घण्टाको उकालो उक्लेर ‘भ्यू पोइन्ट’ पुग्नु त्यति सजिलो थिएन। स्थायी चियापसल बनाउने त्यहाँ एक्यापको अनुमति थिएन। त्यसैले उनले त्यहीँ चिया बेच्ने ठाउँमा अस्थायी चियापसल सुरू गरे।
बिहानै ‘भ्यू पोइन्ट’ उक्लेर उनी सबै पर्यटकहरू हाइ क्याम्प फर्केपछि मात्र ओरालो झर्थे। करिब दश वर्ष उनी मर्दी काखमै यहीँ दैनिकीमा रमाए।
घुम्न आउन पर्यटकहरूलाई चिया सँगसँगै खाना बस्नको व्यवस्थाका लागि उनले आफ्नै गाउँ सिदिङमा होटल बनाउने निधो गरे। अलिअलि कमाएको पैसामा ऋण थपथाप गरेर ६ वटा एट्याच बाथरुमसहितको कोठाहरू भएको होटल बनाए। अर्गानिक खान्की पाहुनालाई पस्काउनु नै उनको होटलको विशेषता हो।
जंगली च्याउ, निहुरो, गाइभैसीँको दूध, दही लगायतका मौसमी अर्गानिक परिकारहरू मेनुमा अटाएका छन् यहाँ। मर्दी र माछापुच्छ्रेको मनोरम दृश्य नियाल्दै अर्गानिक स्वाद चाख्न उनलाई सम्झदै घुम्नेहरू यहाँसम्म आइपुग्छन्।
पछिल्लो केही वर्ष मर्दी पदमार्गमा पर्यटकको राम्रो चहलपहल बढ्यो। थुप्रै देशी विदेशी पर्यटकहरू मर्दी काख उक्लिए। त्यहीँ चाप देखेर टि हाउस र होटलहरू दिनानुदिन थपिँदै गए। बाटामा थकान मार्ने चौताराहरू मासिए। मनोरम हिमश्रृंखला नियाल्ने अग्ला डाँडाहरु सम्याएर होटलहरू बने। पदमार्गमा डाँफे र मृगहरू देखिन छाडे। जताततै असरल्ल फोहोर नै फोहोर। मर्दी हिमालको छाती खोस्रेर चौतर्फी दोहन गरेको देख्दा उनको मन नराम्ररी दुख्छ।
एक्याम्प र स्थानीय सरकारबीचको द्वन्द्वले मर्दी पदमार्गमा रहेका टि हाउस र होटलहरू अव्यवस्थित बने। अव्यवस्थित रूपमा बनेका ती संरचनाले प्रकृति, वातावरण र जीवजन्तुमा पुगेको नकारात्मक असरहरूको कुनै लेखाजोखा छैन। ‘मर्दी हिमालले हामी गाउँलेहरूलाई पर्यटन व्यवसायी बनायो। धेरथोर सबैको जीवन स्तरोन्नति पनि भयो। तर, पछिल्लो समयको अव्यवस्थित संरचनाहरू निमार्णले मर्दी पदमार्गको भविष्य त धरापमा पर्छ पर्छ, हामी सबैको व्यवसायमा अन्योलता बढ्नेछ। समयमै बनिसकेका संरचनालाई व्यवस्थापन गर्दै थप बनाउन निरूत्साहित गर्दै मर्दी पदमार्गको भविष्य जोगाउनुबाहेकको विकल्प छैन,’ उनी सुनाउँछन्।
उमेर ढल्किँदै गएपछि भ्यू पोइन्टको उकालो ओहोरदोहोर गर्न उनको ज्यानले सक्दैन।
आफ्नै गाउँमा होटल सञ्चालनमा ल्याए पनि उनको मन भने मर्दी हिमाल भ्यू पोइन्टतिर कुदिरहन्छ। त्यो चियापसल न उनी आफैं सञ्चालन गर्न सक्छन् न कसैलाई बेच्न नै।
‘त्यो सानो छाप्रो न किन नहोस् । मेरो लागि महल नै हो। त्यहीँ चियापसलले आज मलाई सबै माझ ‘चिया काका’ नामले चिनायो। यहीँ सम्पत्ति बेचिदिनु भनेको त म स्वयं बेचिनु हो,’ उनी न्यास्रो मुहारमा त्यहीँ चियापसलप्रति माया पोख्छन्।
(दिवस गुरुङका अन्य लेख)