लालु र कालु होटलको दशौं तलामाथि बसेर कफी पिउँदै हुन्छन्। काम विशेषले ऊ पिउँदै गरेको कफी टेबलमै छोडेर त्यहाँबाट निस्किन्छ। एकछिनपछि होटलको एक कर्मचारी आत्तिँदै आएर भन्छ,’कालु जी! कालु जी! तपाईंकी छोरीको बाइक एक्सिडेन्टमा मृत्यु भएछ।’
छोरीको मृत्युको खबर सुनेपछि, पीडाले असह्य भएर ऊ दशौं तलाबाट हाम फाल्छ। आठौं तलामा पुगेपछि ऊ झसंग हुन्छ, ‘म त कालु होइन लालु हो।’
त्यसपछि छैठौं तलासम्ममा आइपुग्दा फेरि झस्किन्छ, ‘मेरो त कुनै छोरी नै छैन।’ चौथो तलामा पुग्दानपुग्दै बल्ल थाहा पाउँछ, ‘म त अविवाहित हो।’
त्यसपछि!
राम नाम सत्य है !!!
समाजमा हामीमध्ये धेरै जना यस्ता लालुजीहरू छौं जो बुझ्नको लागि सुन्दैनौं, प्रतिक्रिया दिनको लागि, रियाक्ट गर्न कै लागि मात्र सुन्ने गर्छौं।
अंग्रेजीमा एउटा भनाइ छ, ‘Rumours are carried by haters, spread by fools and accepted by idiots.’
कसैसँग व्यक्तिगत रिस साँध्नको लागि हेटर्सहरू अफवाह बनाउन लगाउँछन्, निजी स्वार्थको लागि बेवकुफहरूले त्यस्ता अफवाहहरू फैलाउँछन् अनि तपाईं हामीजस्ता इडियट्सहरूले त्यस्ता अफवाहहरूलाई पत्याइदिन्छौं।
अरे यार! कसैले कागले कान लग्यो भन्दैमा कागको पछि दौडनु अगाडि कमसेकम कान त छाम्नु पर्छ नि!
यी तीनमध्ये, तपाईं आफूलाई अरूले के भनेर तारिफ गरेको सुन्न रुचाउनु हुन्छ त? हेटर्स, फूल या इटियट्स?
हामी तरकारी किन्दा कुन कुहिएको हो, कुन ताजा हो छुट्याउन सक्छौं। बाहिरबाट हेर्दा सर्लक्क परेको लौकाभित्र कीरा छ या छैन भनेर पनि थाहा पाइहाल्छौं। आँप त झन् सुँघेरै थाहा पाइदिन्छौं कुन मालदह कुन दशहरी। तर कुन अफवाह/हल्ला हो र कुन सही समाचार हो भनेर किन थाहा नपाएको होला? बाहिरबाट हेदा सर्लक्क परेको भन्दा गन्ठ्याङगुन्ठुङ परेका विषादीरहित काँक्राले फाइदा गर्छ भन्ने कुरा किन नबुझेको होला?
यहाँ गल्ती संचार माध्यमको हुँदै होइन। के गर्नु उनीहरूको पनि त रोजीरोटीको सवाल छ, अनि प्रतिस्पर्धा यति धेरै। चाख लाग्दो मसालेदार समाचार बनाउनु संचार जगतको गल्ती हो र? जंकफूडले फाइदा गर्दैन भनेर त हामीले पो बुझ्नु पर्ने हो।
केटाकेटी बेलामा एकदिन स्कुलबाट साथीसँग झगडा गरेर आएको कुरा आमालाई सुनाएँ।
सबै कुरा सुनिसकेपछि उहाँले मलाई यतिमात्र भन्नुभयो, ‘कसैलाई ऐना देखाउनु अगाडि, त्यो ऐनाले पहिला आफ्नो अनुहार हेर्नुपर्छ नानी।’
त्यतिखेर त ऐनामै गएर हेरे पनि केही देखिनँ तर भन्न खोजेको कुरा चाहिँ बल्ल छ्याङ्ग भयो।
कति दुःख गरेर लोकतन्त्र ल्याइएको छ। मनपरी बोल्न पनि नपाए यो मनपरीतन्त्रको पनि के अर्थ भयो र भन्ने लाग्छ होला फेरि कसैकसैलाई।
हो पाइन्छ मनपरी नै बोल्न, र लेख्न पनि पाइन्छ। तर गलत समयमा र गलत अवस्थामा तपाईं हामीले सही नै बोलेर आफ्ना अभिव्यक्तिहरू दिएका छौं भने, त्यो पनि गलत हो। तर, हामीलाई त भेंडाको हुलभित्र छिर्नुछ। अनि एउटा भेंडोले भीरबाट हाम फाल्यो भने सबै भेंडाहरूले हामफालेजस्तै हाम फाल्नुछ।
एउटाले फेसबुकमा आमाको फोटो राखेर रिप आमा लेखेछ। भर्खरै फेसबुक चलाउँदै गरेकी अर्की वृद्ध आमैले अन्जानमै कन्ग्राचुलेसनमा थिचेर कमेन्ट गरिछन्। त्यसपछि दुई चार जनाले उनलाई फेरि मरेकोमा लहरै बधाई नै दिएछन्। अर्कोले चाहिँ फोटो मात्रै हेरेर ह्याप्पी बर्थडे लेखेछ। त्यसपछिका अर्का दुई चार जनाले त्यही रिपिट गरेछन्। सबैले चिन्नुभयो हैन भेंडा प्रवृत्तिलाई?
केही समयअघि सञ्चार माध्यमले बहालवाला सचिव कृष्ण राउत ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेको कुरा यसरी फैलाइदियो कि अधिकांश मनिसहरू भात पानी नै छोडेर सामाजिक सञ्जालको मैदानमा एकजुट भएर उत्रिए वास्तविक कुराको खोजी नगरी उनलाई दोषी करार गर्न। कसले भन्छ नेपालीमा एकता छैन? अनि कसले भन्छ नेपालीहरू सबैलाई समान भावले हेर्दैनन्? नभए नुन र चिनीलाई हेर्ने नजरमा फरक परिहाल्थ्यो नि!
हेर्दा उस्तै देखिने नुन र चिनीको स्वाद थाहा पाउन त त्यसलाई छुट्टाछुट्टै गरी चाख्नुपर्छ भने, कसैको चरित्रमाथि औंला उठाउनु अगाडि उसको बारेमा अध्ययन गर्नु पर्दैन र? उसका विगत, त्यो ठाउँसम्म आइपुग्न उसले गरेका संघर्षहरू, अनि पो बल्ल उसको वर्तमानको कुरा आउँछन्।
जीवनभर लगाएर कमाएको इज्जत गुमाउनुको पीडा, हामीहरूले मजाकको रूपमा लिएर प्रहार गरेका धारिला वचनरूपी वाणहरूले कहाँ बुझ्छन् र हजुर?
तिनलाई गएर सोध्नुहोस् न जसलाई नखाएको विष लागेको छ। कृष्ण राउत त एक पात्र मात्र हुन्। समाजका हरेक क्षेत्रमा यस्ता सयौं कृष्ण राउतहरू छन्, जसले नखाएको विषलाई पनि खाएकै हो भनेर लाचार बन्दै स्वीकार्नु परेको छ।
यदि कसैले तपाईंको टाउकोमाथि बन्दुक राखेर हाँस्न लगाउँछ भने के गर्नुहुन्छ भन्नुस् त? सधैं गलत गरेरै मात्र सजाय पाइँदैन नि, कहिलेकाहीँ त धेरै असल बनेर पनि ठूलो किमत चुकाउनु पर्नेहरू पनि कति छन् कति।
दोषी ठहरिएकाहरू सबै भ्रष्टाचारी नहुन पनि त सक्छन्। त्यसभित्रको डार्क सिकरेट्स अरू नै केही पनि त हुन सक्छन्। सबैलाई एउटै घानमा हाल्दा अन्याय पो भयो होला कि भनेर पनि त सोचौं न कहिलेकाहीँ।
म यो भनिरहेकी छैन कि म भ्रष्टाचारीलाई समर्थन गर्छु। देश लुटेर खाने धमिराहरूले कडाभन्दा कडा सजाय पाउनैपर्छ। तर निमुखा निर्दोषलाई खाँदै नखाएको विषले ज्यूँदै मार्नु त भएन नि, हैन र?
जबसम्म सत्यलाई पैसाको बिटोमुनि लुकाएर जुत्ताले दबाएर पैंतालामुनि राखिन्छ तबसम्म निर्दोषहरूले निलकण्ठ बनिरहनुपर्ने छ हाम्रो जस्तो मुलुकमा। कहिलेकाहीँ त केटाकेटीमा खेलेको माछा माछा भ्यागुताको खेलजस्तो पो लाग्छ, जहाँ माछालाई पकड्नु पर्नेमा भ्यागुता समाएर झुक्याइन्छ।
दुःख त तब लाग्छ जब वास्तवमै दोषी अनि भ्रष्ट दलालहरू निस्फिक्री भएर गर्वका साथ छाती फुलाएर हिँडिरहेको आफ्नै आँखाले देख्नुपर्छ।
सत्य भनेका रहेछन् मार्क ट्वेनले, ‘A lie can travel half a way around the world, while the truth is putting on its shoes.’
नत्र आँखा झिमिक्क पार्दा, रकेटको गतिमा कहाँ उड्न सक्थे यसरी अफवाहहरू संसारभरी तर सत्य र असत्यबीचको यो सतरंजी खेलमा क्याटलिस्टको भूमिका खेल्नेहरूका लागि चाहिँ एउटा प्रश्न है!
जसरी झुटलाई तड्का लगाएर, यो नै सत्य हो भन्दै किटान गरी समाचार प्रचार गरिन्छ, त्यही समाचारपछि गएर झुटो साबित भैदिँदा किन र कसरी रकेटको गतिबाट सिधै बयलगाडाको गतिमा ओर्लिन्छ।
कोही निर्दोष साबित भएपछि, त्यसैगरी सेलिब्रेसन्सका अभिव्यक्तिहरू आउनुपर्ने, शुभ समाचारहरू बन्नुपर्ने जसरी दोषी ठहर गराउन न्वारनदेखिको बल लगाएर, मच्चीमच्चीकन गालीगलौजका समाचारहरू भाइरल बन्थे। हो कि होइन?
सत्य र तथ्य बुझ्दै नबुझी कसैलाई गाली गर्दा, झुटा लान्छना लगाउँदा अनि सामाजिक संजालमा भाइरल हुनकै लागि आफ्नो बौद्धिककता प्रदर्शन गर्दै लेखिएका हाम्रा तीता, अमिला अनि, टर्रा स्टाटसले एक व्यक्तिलाई मात्र होइन उसको सिंगो परिवारलाई नै तहसनहस बनाइरहेको हुन्छ।
मानसिक स्वास्थ्य यो शताब्दीकै ठूलो चुनौती बनेको छ। नचाहँदा नचाहँदै पनि यस्ता कुराहरू ‘सबकन्सियस माइन्ड’मा यसरी बसिदिन्छन् कि थाहै हुन्न को कतिबेला एन्जाइटी, डिप्रेसन, सुसाइड एटेम्ट, हार्ट अट्याक जस्ता दुःखद नियतिको शिकार बन्छ भनेर।
ईश्वरले हामीलाई दुई वटा कान र एउटा मुख, धेरै सुन्न, नचाहिँदा कुराहरूलाई फिल्टर गर्न अनि थोरै र चाहिँदो मात्र बोल्न दिएका हुन्।
यसको दुरूपयोग नगरौं न। पानी छान्ने युरोगार्डले त एक गिलास पानी दिन आफ्नो धर्म निभाएको हुन्छ भने हामी त मस्तिष्क भएका मानव हौं। कृपया आफ्नो खाली मगजमा कमसेकम गोबर त भरौं ताकि ताजा ताजा सकारात्मक कुराहरू खेल्न सकून्।
मलिलो ठाउँमा बेलाबेला झारहरू पलाइ रहन्छन्। त्यस्ता झारहरूलाई पानी हालेर हुर्काउने बढाउने, अनि तिनै झारका बिरूवाहरू बनाएर साथीभाइ छरछिमेकमा बाँड्ने होइन, बरू जरैदेखि उखेलेर फालिहाल्नुपर्छ किनभने कहिलेकाहीँ यस्ता झारहरू विषालु पनि हुने गर्दछन्।
जाँदाजाँदै एउटा कुरा सोधौं है? बिनाकसुर गुमाएको इज्जत अनि बलात्कृत भएको चरित्रको भरपाई पाउन कुन न्यायालय धाउनु पर्ला त हजुर? कसैलाई थाहा भए कृपया ठेगाना बताइदिनुहोला है!