आजभोलि दैनिकजसो बालबालिकामाथि यौन दुर्व्यवहारका घटना भएको भन्ने समाचार आउँछ। कुटपिट, यौन दुर्व्यवहार, शोषणलगायत अनेक खालका अभद्र व्यवहारका कारण धेरै बालबालिका असुरक्षित छन्। यस्तो अवस्थामा परिवर्तन गर्न योगदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। राज्यको जिम्मेवारी हो।
बालबालिकाको दिमाग खासगरी १५–१६ वर्ष उमेर नपुगुन्जेल ठीक–बेठीक छुट्ट्याएर उचित निर्णय लिन सक्ने हुँदैन। यस बेलासम्म यौनांगको पूर्ण विकास पनि भएको हुँदैन। यसकारण धेरै मुलुकले निश्चित उमेर तोकेर त्यसभन्दा कम उमेरमा यौन सम्पर्कका लागि राजी गराउन बर्जित गर्ने कानुन बनाएका छन्।
स्वीडेनको कानुनले १८ पूरा भएको व्यक्तिले १६ वर्ष पूरा नभएका बालबालिकालाई आपसी समझदारीमै पनि यौन सम्पर्क गर्न बन्देज गरेको छ। यस्तो यौन सम्पर्कलाई बलात्कार मानेको छ। नेपालमा यस्तो उमेर १८ वर्ष तोकिएको छ।
समझदारीमै भए पनि कम उमेरमा भएको यौन सम्पर्कले अभिभावक र बालबालिकामा मानसिक रूपमा नकारात्मक प्रभाव पार्छ। जबर्जस्तीको असर त झन् भयानक हुन्छ।
बालबालिकाहरू कुनै प्रलोभन वा त्रासका कारणले आफूमाथि भएको शारीरिक, मानसिक वा यौनिक दुर्व्यवहारका घटनाहरू लुकाएर राख्छन् र त्रासमा बस्छन्। घटना बाहिर नआएपछि अपराधीहरू उत्साहित हुन्छन्। यसरी अपराध झन् बढ्छ।
यस्तो अपराध बढ्नुको मुख्य कारणमा शैक्षिक चेतनाको कमी, आर्थिक–सामाजिक विपन्नता मुख्य कारणका रूपमा रहेको पाइएको छ। तथ्यहरूले यस्ता कारणहरू प्रमाणित गरेका छन्।
समाजका भएका आपराधिक कामको भण्डाफोर गर्ने, अपराधीहरूलाई प्रहरीसम्म पुर्याउने, न्यायालयमा उभ्याएर सजाय दिलाउने र बालबालिकालाई सुरक्षित गराउने काममा आमाबुबा सहग रहनुपर्छ।
यसमा समाज पनि उत्तिकै सजग रहनुपर्छ। प्रहरी प्रशासन सशक्त रूपमा अगाडि आउनुपर्छ, अपराधीलाई हतकडी लगाउनुपर्छ र बालबालिकालाई सुरक्षा दिनुपर्छ।
सुरक्षित बाँच्न पाउने अधिकार
सुरक्षित रूपमा बाँच्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो। समाजमा बालबालिकामाथि अभद्र व्यवहार गर्ने र उनीहरूको शोषण गर्ने मानसिकताका व्यक्तिहरू पनि हुन्छन्। यस्ता व्यक्तिहरू थोरै हुन्छन् तर तिनको अपराधको प्रभाव गाढा हुन्छ।
कतिपय घटनाहरू अति नै निर्मम र अमानवीय ढंगका हुन्छन्। घटनाबाट बालबालिका र तिनका अभिभावकमा ठूलो क्षति भएको हुन्छ। मानसिक र सामाजिक रूपमा गम्भीर असर परेको हुन्छ।
यस्ता घटना न्यूनीकरण तथा नियन्त्रणका लागि बालबालिकालाई पनि जागृत तुल्याउनुपर्छ। कस्तो व्यवहार दुर्व्यवहार हो भन्ने कुरामा सचेत गराउनुपर्छ ताकि उनीहरूले आफूमाथि दुर्व्यवहार हुँदैछ भन्ने थाहा पाउन सकून्। आफूमाथि दुर्व्यवहार हुन लागेको छ वा हुँदैछ भन्ने कुरा थाहा पाउन सकून्। अभिभावकलाई, शिक्षकलाई तुरून्तै भन्न सकून्।
स्वीडेन लगायतका केही देशमा संयुक्त राष्ट्र संघीय निकाय युनिसेफले तय गरेको मानवअधिकार सम्बन्धी बुँदाहरूलाई नै आधार बनाएर बालबालिकाको हकअधिकारसम्बन्धी कानुन बनेका छन्। उनीहरूको काम अनुकरणीय छ।
बालयौन दुर्व्यवहारको रोग
कतिपय व्यक्तिले केही सोच्दै नसोची अपराध गर्छन्। मानसिक सन्तुलनको गडबडीले पनि आपराधिक काम गर्न पुग्छन्। कतिपय व्यक्ति त यौन दुर्व्यवहारको रोगी नै पनि हुन सक्छन्।
वयस्क व्यक्तिमा यौन चाहना स्वाभाविक हो तर यसको पनि सीमा हुन्छ। विवेकी व्यक्तिले त्यस्तो सीमा थाहा पाउँछ। के गर्न हुन्छ र के हुँदैन भन्ने सोचेर काम गर्छ। चेतनायुक्त व्यक्ति आफ्नो यौन चाहना पूरा गर्न आपराधिक गतिविधिमा संलग्न हुँदैन। विवेकसम्मत ढंगले चाहना पूरा गर्छ।
व्यक्तिहरूमा यौन आकर्षण र यौनव्यवहार फरकफरक रहेको पाइएको छ। कतिपय व्यक्ति यौनमा बालबालिकाप्रति आकर्षित हुने र कतिपय चाहिँ आफूभन्दा निकै बढी उमेरकासँग आकर्षित हुने गरेको पाइएको छ।
बालबालिकाप्रति यौन आकर्षण हुनुलाई 'पेडोफिल' भनिन्छ। यस्ता व्यक्तिहरू यौनका लागि कम उमेर बालबालिका रोज्छन्। यस्ता व्यक्तिले धेरै दिन लगाएर बालबालिकालाई आफ्नो विश्वासमा लिन्छन् र जालमा फसाउँछन्। अन्ततः अपराध गर्छन्।
जुनसुकै कारणले भए पनि बालबालिकाप्रति यौन दुर्व्यवहार, बालबालिका बलात्कार विश्वमै जघन्य अपराध मानिएको छ। कयौं देशमा बालबालिका बलात्कार र यौन दुर्व्यवहारको आरोपमा आजीवन कारावास हुने कानुनी प्रबन्ध छ। कतै त मृत्युदण्ड पनि हुन्छ।
कमजोर चेतना, अशिक्षा तथा कमजोर सामाजिक–आर्थिक अवस्था नै धेरैजसो आपराधिक घटनाको मुख्य कारणका रूपमा पाइएको छ। यस्तो अपराध निययन्त्रण गर्न कडा कानुन चाहिन्छ र कडाइका साथ कार्यान्वयन गर्नुपर्छ भन्ने धारणा निकै बलियो छ।
नेपालको हकमा बाल यौनदुर्व्यवहार सम्बन्धी कानुनमा तीन वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजार रूपैयाँदेखि एक लाख ५० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। पक्राउ परेकाहरूले सजाय पाएका उदाहरणहरू छन् तर कति घटना न्यायालयसम्म नपुगी मेलमिलापमा टुंगिने गरेका छन्। कति घटना त त्रासले वा इज्जतको आवरणले छोपिएका हुन्छन्।
कहिलेकाहीँ मिलेमतोमा प्रमाण कमजोर बनाएर दोषीलाई सजायबाट जोगाउने वा निर्दोष साबित गर्ने प्रयास भएको भन्ने गुनासो पनि सुनिने गरेको छ। यसरी दोषीलाई उम्काउँदा समाजमा अपराध जीवितै रहन्छ। अपराधी उत्साहित हुन्छ।
बालयौन दुर्व्यवहार र बलात्कारका आपराधिक घटना हुन नदिन व्यक्ति, परिवार र समाज सचेत र सजग रहनुपर्छ। घटना भइसक्दा धेरै क्षति भइसकेको हुन्छ। यौन दुर्व्यहार र बलात्कारको शिकार भएका बालबालिकामा मानसिक आघात पर्छ, जीवनभर कुनै न कुनै किसिमको नकारात्मक असर रहन्छ। परिवारजनमा पनि यस्तै अवस्था हुन्छ।
बालबालिकालाई यस्तो आपराधिक घटनाबाट जोगाउन अभिभावक, समाज र राज्यका निकाय पूर्ण सचेत र सजग रहनुपर्छ। आआफ्ना स्थानमा सबै जिम्मेवार बन्नुपर्छ।
अभिभावकको भूमिका
बालबालिकाको मनोविज्ञान बुझ्न सक्ने सबैभन्दा नजिकका साथी अभिभावक नै हुन्, आमाबाबु नै हुन्। आमाबाबुको प्रगाढ माया पाएका बालबालिकाले आफ्नो कुरा निर्धक्क भन्छन्। आफूसँग भएका सबै घटना आमाबाबुलाई सुनाउँछन्।
आफ्ना छोराछोरीसँग राम्ररी घुलमिल भएका आमाबाबु र अभिभावकले तिनलाई हेरेरै तिनको मनोविज्ञान थाहा पाउँछन्। तिनको मनमा केही चिन्ता छ, तिनलाई केही नराम्रो भएको छ भन्ने थाहा पाउँछन्।
गाली गरेर वा पिटेर काबुमा राख्ने आमाबाबु र अभिभावकले आफ्ना बालबालिकाको मनोविज्ञान राम्ररी बुझ्न सक्दैनन्। त्यस्ता बालबालिका डराउँछन्, आफ्नो मनको कुरा भन्न सक्दैनन्, लुकाउने प्रयास गर्छन्।
आमाबाबु र अभिभावकहरू यस कुरामा सचेत रहनुपर्छ। बालबालिकालाई भयमा राख्ने बानी सुधार गर्नुपर्छ।
नेपाली समाजमा बालबालिकासँग यौनसम्बन्धी कुरा गर्नु उचित नमान्ने चलन छ। यस्तो चलन राम्रो होइन। आफ्नो शरीरमा हुँदै गरेको परिवर्तनबारे जान्नु, यौनको कुरा थाहा पाउनु, यी विषयमा उचित जानकारी र शिक्षा पाउनु बालबालिकाको अधिकार नै हो।
उनीहरूलाई धेरै कुरा जान्ने चाहना र उत्सुकता हुन्छ। उनीहरू आफ्नो शारीरिक परिवर्तन र यौन अंगका बारेमा पनि जान्न चाहन्छन्। उमेर बढ्दै जाँदा हुने यौन आकर्षणका बारेमा पनि उत्सुकता हुन्छ। तर यस्तो विषयमा कुरा गर्नु राम्रो होइन भन्ने मानिन्छ।
यस्तो मान्नु नै गलत हो।
बालबालिकालाई शारीरिक परिवर्तन र यौनका सम्बन्धमा उचित शिक्षा दिनु अभिभावकको कर्तव्यभित्रै पर्छ।
करिब तीन वर्षको उमेरदेखि नै आफ्ना यौन अंगका बारेमा उत्सुकता हुन्छ। पाँच वर्ष उमेर नाघेपछि म कसरी आएँ, कसरी जन्मे भन्ने जस्ता कुरामा उत्सुकता हुन्छ तर आमाबाबुले यस्ता कुरा टारिदिन्छन्। जवाफ नपाएपछि बालबालिका निराश हुन सक्छन्। दस वर्ष उमेर पूरा हुँदा बालबालिकामा यौनांग र यौनसम्बन्धका बारेमा जानकारी भएको हुनुपर्छ। आमाबाबु, अभिभावक र शिक्षकले सहज ढंगले उनीहरूका जिज्ञासा समाधान गर्नुपर्छ।
गर्न नहुने काम के हो, किन गर्नु हुँदैन भन्ने कुरा बालबालिकालाई सानैदेखि सिकाउन र बुझाउन आवश्यक हुन्छ। कसैले तिम्रो छाती, तिघ्रा र यौनांग छुन्छ भने त्यसो गर्न दिनु हुँदैन भनेर सिकाउनुपर्छ। कसैले उसका यस्तै अंगहरू छुन वा समात्न लगाउँछ भने त्यसो गर्नु हुँदैन भनेर सिकाउनुपर्छ।
आइपर्न सक्ने यस्तै अन्य दुर्व्यवहारबारे पनि सचेत गराउनुपर्छ। यस्तो शिक्षा र चेतना आमाबाबुबाटै बढी प्रभावकारी हुन्छ।
विद्यालयको पाठ्यक्रम
नेपालको हकमा बालबालिकाहरूका लागि यथेष्ट यौनशिक्षा छैन। केही सुधार हुँदै आएको छ तर बालमनोविज्ञानमा मेल खानेगरीको हुन सकेको छैन। एक कक्षादेखि नै यौनसम्बन्धी जानकारी र चेतनाको पाठ्यवस्तु पाठ्यक्रममा राख्न आवश्यक छ।
कक्षा एकदेखि चारसम्म शारीरिक अंगहरूको बनावट र तिनीहरूको कामको जानकारी दिने पाठ्यवस्तु हुनुपर्छ। यसमाथि बालमनोविज्ञानसँग मिल्ने गरी यौन शिक्षाको पाठ्यवस्तु राख्नुपर्छ। उचित यौनशिक्षा पाएका बालबालिकाले आफूमाथि यौन दुर्व्यवहार हुन लागेको कुरा थाहा पाउँछन्। ठीक–बेठीक छुट्ट्याउन सक्छन्।
यसो भएपछि समाजमा आपराधिक मनोवृत्ति कम हुन्छ। व्यक्तिले अपराध गर्ने आँट गर्दैन। बालबालिकाले तुरून्तै घटना जानकारी गराउँछन्। अपराधी पक्राउ गर्न, कानुनको कठघरामा उभ्याउन र सजाय दिलाउन सजिलो हुन्छ।
(जनस्वास्थ्यविज्ञ डा. दिपराज थापा खोब्दे युनिभर्सिटी, स्वीडेनका प्राध्यापक तथा अनुसन्धानकर्ता हुन्। उनी अनुसन्धान संस्था 'निरी नेपाल' मा पनि संलग्न छन्।)
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)