कोठाको ढोका खोल्न नपाउँदै 'इन्टरभ्यू कस्तो भयो, दाइ?' भनेर मैले सोधेँ।
'राम्रै भएको छ। यो पटक अधिकृत हुन्छु कि!' भन्नुभयो। म खुसीले गदगद भएँ। भित्र गयौँ अनि मैले कालो चियामा कागती हालेर खान दिएपछि दाइले आफ्नो पहिलेको आफ्नो अनुभव सुनाउन थाल्नु भयो।
'हेर्दाहेर्दै सपनाको नगरी काठमाडौं आएको पनि लगभग छ वर्ष हुन आटेछ। जसमा सुरूका तीन वर्षमा भएका जम्मा दिनभन्दा धेरै हन्डर भोग्नु परेको थियो। गाउँबाटै एसएलसी राम्रो अङ्कसहित पास गरेँ। गाउँमै अब्बल भएकाले बिहान आफू प्लस टु पढ्दै दिउँसो निमावि स्तरसम्म निजी स्रोतको शिक्षकको रूपमा त्यहीँ विद्यालयमा पढाउथेँ। दिनचर्या राम्रो बित्दै थियो। घरमा आम्दानी पनि भएको थियो। प्लस टु पनि राम्रो अंकसहित पास गरेँ।
वरिपरिको वातावरणले लोक सेवाको झिल्को मेरो दिमागमा गाडेको थियो।
म त्यस झिल्कोले जीवन उज्यालो पार्न काठमाडौं प्रवेश गरेँ।
गाउँकै साथी पहिलेदेखि नै यहीँ बस्ने भएकाले कोठा खोज्न परेन। सँगै बस्ने गरी आएँ। आफूले पढाउँदा जम्मा गरेको अलिअलि रकम, दुई बोरा चामल, थोरै गुन्द्रुक र एक बट्टा घिउ लिएर सपनाको भूमरीमा प्रवेश गरियो।
भोलिपल्ट बिहान हामी दुबै जना लोक सेवा तयारीको कक्षा बुझ्न पुतलीसडक हुँदै बागबजार गयौँ।
प्रायः सबै घरमा लोक सेवा तयारीको कक्षा, विदेश पलायनका म्यानपावर, र कन्सल्टेन्सी देख्दा अचम्म लाग्यो।
हुन पनि देशभरका युवा आउने भनेकै यहीँ हो भन्दै चित्त बुझाएँ।
भोलिपल्टबाट नै नियमित कक्षा जान थालेँ। म पहिलोपल्टमै नाम निकाल्छु भनेर मेहनत गर्न थालेँ।
न भन्दै त्यहीँ साल, संघीय नासु र खरिदार दुबै पदमा धेरै संख्यामा आवेदन खुल्यो। मन प्रफुल्ल भयो। अब यो परीक्षा मेरो कर्म र मेरो भविष्यको पुलको रूपमा बसेको थियो। तयारी राम्रो गरेको लागेको थियो। दुबै कोटाको पहिलो पत्र राम्रो भयो। दुबैमा नाम पनि आयो। दोस्रो पत्र पनि राम्रै गरेको लागेको थियो तर दुबैमा नाम आएन। जीवनमा पहिलोपटक धक्का लाग्यो। एक-दुई दिन कोठाबाट बाहिर जान पनि मन लागेन। घरबाट हौसलाको बहालपछि फेरि म आफूलाई जोडेर तयारीको कक्षा पुनः सुरू गरेँ। पढाउने सरहरू पनि मेरो नाम ननिस्किएको देखेर अचम्ममा हुनुहुन्थियो। यो चोटि पक्का निस्किन्छ भन्ने हौसला दिनुहुन्थ्यो।
दोस्रो वर्ष पहिलो वर्ष जस्तो सजिलो थिएन। सबैभन्दा गाह्रो काम भनेकै घरबाट पैसा माग्नु थियो। असाध्यै मन पर्ने गुन्द्रुक पनि तीतो लाग्न थालेको थियो। आफूले आफैंलाई चिन्न गह्रो भएको थियो। राति निन्द्रा रात बिराएर आउन थालेका थिए। किताबको बोझले त होइन तर आफ्नै भविष्यको चिन्ताले थिचेको थियो। घरीघरी लोक सेवा छोडेर म्यानपावर छिर्न मन लाग्थ्यो। तर बुबाआमाको मुहार सम्झेर मन बुझाउन बाध्य भएको थिएँ।
नभन्दै फेरि संघीय लोक सेवाको अर्को आवेदन खुल्यो।
यस पटक खरिदारको आवेदन नभरी नासुको आवेदन मात्र भरेँ। पहिलो पत्र सजिलैसँग उत्तीर्ण भएँ। दोस्रो पत्र पनि सोचेकोजस्तै भयो। अन्तर्वार्ता पनि राम्रै भएको थियो तर नाम वैकल्पिक दोस्रो नम्बरमा आयो। अब खुसी हुने कि दुखी बुझ्न सकिएको थिएन। चित्त बुझाउने आधार त थियो, वैकल्पिक! तर यही वैकल्पिक शब्दले थिचेको थियो। पढाउने सबै प्रशिक्षकहरू मेरो नाम नआउँदा अचम्ममा हुनुहुन्थ्यो। तर यथार्थ सबै सामु थियो।
यसपटक आफैंबाट विश्वास हटेको थियो। बाहिरी मुहारमा हाँसो थियो तर आत्मामा अमिलो पसेको थियो। आफ्नै नजरमा आफैं हारेको महसुस गरेको थिएँ। कसैले ठिकै छ, अब पक्का नाम निस्किन्छ भन्दा पनि खिल्ली उडाएको जस्तो आभास हुने गरेको थियो। घरको एक्लो छोरो भएर अनि बुबाआमालाई बोझ भएको जस्तो भान पर्न थालेको थियो।
तर, म प्रशासकको रूपमा सिफारिस भएको त्यो दिनको खुसी म वर्णन गर्न पनि सक्दिनँ होला। सबैभन्दा धेरै खुसी बुबा हुनुहुन्छ। सम्पूर्ण परिवारको खुसीको पनि सीमा हुँदैन। मेरो सपना पनि खुसी हुनेछ। मेरो सपना खुसी भएको देखेर मेरो विपना पनि नाच्छ होला। बुबाको आशीर्वाद र उहाँको ओठमा हाँसो देख्न पाउँदा मेरी ममतामयी आमाले आँसु थाम्न सक्नु हुन्न होला। सायद मेरो घरको अवस्था र बुबाआमाको सपना नै मेरो परिश्रमको रूपमा पुनर्जन्म भएको छ। यही सोच्दै मैले आफूलाई बाधेर राखेको थिएँ।
'वनको बाघले नखाए नि मनको बाघले खान्छ' भनेझैं वरिपरिका इष्टमित्रले फोन गरेर राम्रो बोल्नु भएता पनि मलाई गिज्जाएको जस्तो अनुभूति हुन थालेको थियो।
घरिघरि यो सबै छोडेर कहीँ पर जान मन गरेता पनि घरको अवस्था र आफूले छाडेर जाँदा आउने समस्या सोचेर पछि हट्थेँ।
पहिलो र दोस्रो वर्षभन्दा तेस्रो वर्ष निकै सकसपूर्ण भयो। तर यो नै अन्तिम पटक सम्झेर खुब मेहनत गरेँ।
आफैंलाई अन्तिम मौका दिएको थिएँ। सायद भगवान् पनि मेहनतको पक्षमा उभिनु हुने भएकाले लोक सेवाको तेस्रो वर्षमा मेरो नाम कालै अक्षरले लेखिएता पनि स्वर्णीमय देखिएको थियो। यो दिनको खुसी म बयान गर्न पनि सक्दिनँ। त्यो दिन सबै आफ्ना मान्छे हुन् जस्तो लागेको थियो। अरूबेला नसम्झिने महानुभावहरूले पनि सम्झिनु भएको थियो। तर जे होस् सम्झिनु त भयो भनेर सबैलाई धन्यवाद दिदै गएँ। परीक्षाफल राति आएकाले घरमा मैले त्यो रात खबर गरिनँ।
भोलिपल्ट बिहानै खबर गर्दा फोनबाटै आमाको आँसु देखेको थिएँ।
बुबाको पहिलो चोटि बोली अक्मक्किएको थियो। यो क्षणले मेरो तीन वर्षको थकान मेटाएको थियो। अब फेरि त्यसैगरी अधिकृतको लागि मेहनतको फलस्वरूप अर्को सफलताको प्रतीक्षामा छु।
दाइ खुसी भएको देखेर यतिकैमा मैले सोधेँ, 'दाइ, तपाईंको त्यो अन्तरालमा कोही साथी बनेनन्?' दाइ मुस्कुराउँदै अलि कुरा लुकाए जस्तै गरी फेरि आफ्नो कुरा राख्न थाल्नु भयो।
दिनहरू बित्दै थिए। खासै मोबाइल प्रयोग नगर्ने म, धेरैपछि फेसबुक खोल्नासाथ एक जनाको फ्रेन्ड रिक्वोइष्ट आएको रहेछ। यसो प्रोफाइल खोलेर हेर्दा चिनेको अनुहार थियो। उनी पनि म पढ्ने सेन्टरमा पढ्थिन्। मैले साथी बनाएँ। दुई दिनपछि उनको म्यासेज आएको रहेछ, 'आज आइक्यूको केही बुझेको छैन मैले, तपाईंले बुझ्नु भएको होला। समय मिलेमा सिकाइदिनुस् ल!'
मैले पनि त्यस विषयलाई सरल बुझ्ने तरिकाले साउन्ड रेकर्ड गरेर पठाइदिएँ।
उनले धन्यवाद भनिन् र संवाद टुंगियो।
यसैगरी दिनदिनै उनीसँग कक्षामा कुराकानी नभए पनि सामाजिक संजालमा कुराकानी चल्दै गयो।
उनी मलाई पढ्न खुब हौसला दिन्थिन् र अहिले पनि दिन्छिन्। उनीसँग सुत्न अगाडि एकैछिन कुराकानी गर्दा पनि दिनभरको थकान हराएको आभास हुने गरेको छ। उनको नजरमा मेरो अस्तित्व के छ, त्यो त थाहा भएन! तर उनी मेरो जीवनको अभिन्न पाटो बनेकी छन्।
यत्ति नभन्दै दाइले कुरा घुमाउनु भयो।
संघर्ष नै सपना हो भन्ने बुझेर मैले सपनालाई संघर्षमा परिणत गरेको छु। आफूले सकेको मेहनत गरेर मैले परीक्षा दिएको छु, परीक्षा सोचेभन्दा राम्रो पनि भएको छ। यही साल संघीय निजामतीको अधिकृतमा मेरो नाम सिफारिस हुन्छ भन्ने आशा पनि छ। तर मेरो भोगाइ अनुसार सपनाले पनि सपना देख्नेलाई नै धेरै गिज्जाउँछ। म तत्पर छु; मेरो सपना नै विपनाको प्रतिबिम्ब हो। म हार मान्ने छैन।
'ल, धेरै कुरा नसोध अब! तँ पनि राम्रोसँग पढ। बुबाआमाको धेरै आशा छ नि! यो कुरा कहिले नबिर्सनू। अरू सबै कुरा क्षणिक हुन्। तेरो पनि बुबाले मेरो आशमा तँलाई यहाँ पठाउनु भएको छ। कतै मन नडुलाई पढ। केही भए भनिहाल्नू, कुरेर नबस्नू!' भन्नू भयो।
यत्ति भन्दै दाइ एकैछिन 'सुत्छु ल' भनेर ओछ्यानमा ढल्किनु भयो।
दाइलाई प्रेरणाको स्रोत बनाएको मैले पनि खुब मेहनत गरेर पढ्नेछु भन्दै अरू सम्पूर्णमा दाइको सानो जीवन कथाले प्रेरणा दिनेछ भन्दै यो कथा प्रेषण गरेको छु।
पक्कै पनि समय अन्तरिम हो। मेहनत नै दीगो गुण हो।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)