रामुको फोन आयो। मैले अनुमान गरिसकेको थिएँ, यसले खुसीको खबर सुनाउन फोन गरेको होला।
उताबाट आवाज आयो।
'दाइ', लामो स्वास लिएर फेरि भन्यो 'दाइ मेरो नागरिकता बन्यो' अनि भक्कानियो।
भक्कानिनुका कारण म बुझ्न सक्छु। आँसु हेर्न नसके पनि उसको खुसीको आँसु पानीको रूपमा केही थोपा पक्कै पनि जमिनलाई स्पर्श गरे होला। अनुमान लगाउन सक्छु।
मैले उसलाई रोकिनँ। केहीबेरपछि ऊ फेरि बोल्यो 'दाइ, मेरो नागरिकता बन्यो नि मेरो अब बिहे हुने भयो।'
'हैट, केटा तिमीलाई पनि बिहे मै चासो छ? जे भए पनि बधाई छ तिमीलाई। अब तिमी देशको प्रमाण बोकेको नागरिक भयो', मैले जवाफ दिएँ।
उसको बिहेको कुरामा एउटा कुरा याद आयो।
रामुको तीन वर्ष देखिको प्रेम बिहे नहुँदै टुटेको थियो।
'नागरिकता पाएपछि त्यो हुन नसकेको सम्बन्ध जोडिन्छ कि, तर अझै रामुको प्रेमिका यसको पर्खाइमा होला र?' भन्ने मेरो मन प्रश्न उब्जियो।
सोधिहालें, 'भाइ, नागरिकता नभएर हुन नसकेकी बुहारी अझै तिम्रो बाटो हेरेर बसेकी होली?'
'दाइ, जब मेरो नागरिकता नभएर हुन लागेको बिहे नभएपछि तबदेखि उसलाई सम्पर्क गरेको छैन सारै चित्त दुखेको थियो। तर सुन्नमा आएको छ कि, घरपरिवारले जति कर गरे पनि बिहे गरेको छैन रे।' उसको जवाफ आयो।
'ल ठिक छ त्यसो भए।'
'तिमी पनि एकपल्ट खबर गर्दिनु 'मेरो नागरिकता बन्यो' भनेर, के थाहा तिम्रो अथाह मायाको प्रतिक्षामा होला क्यारे', मैले जवाफ दिँदै थपें।
'अनि कस्तो रह्यो नागरिक हुने ‘जरनी’ सुनाउन पक्कै पनि सहज नहोला है हिरो?'
'दाइ, त्यो कुरा सुन्नु हुन्छ र?' उसको आवाजमा यात्रामा भोगेको पीडाको भाव झल्किरहेको थियो।
'होस् न सुन्नु दाइ, तपाईंलाई थाहा होला कस्तो थियो भनेर बीचमा कैयौंपल्ट तपाईंलाई फोन गरेको थिएँ', खुसी शैलीमा उसको जवाफ आयो।
कुरा ठीक हो। कुनै कुराको वास्तविक पीडा उसलाई नै थाहा हुन्छ, जसले अनायसैमा पीडा भोगेको हुन्छ।
'रामु, तिम्रो बिहे मात्रै हैन। तिम्रो पसल दर्ता भएर तिमी प्यान, भ्याट भएको बिल बनाएर सरकारी कार्यालयमा सामान बेच्न पाउने भयौ। यति मात्रै कहाँ हो र।
आफ्नै नामको सिम कार्ड, बैंक खाता, प्यान कार्डजस्ता सबै सरकारले जारी गरेको हरेक सुविधा तिमीले पाउने भयो है। ल मलाई त पार्टी चाहिन्छ यार।'
'दाइ पार्टी त दिन्छु नि', उसको जवाफ आयो। अनि थप्दै भन्यो, 'दाइ, म खुसी छु तर उनीहरू पनि खुसी होला जसको वर्षौंदेखि नागरिकता बिना कति सपनाहरू तुहिएका थिए।
अनागरिकहरूले नागरिक भएर पढेर सरकारी जागिर पाउने भयो।
उच्च शिक्षा हासिल गर्न बाहिर जाने सोचकाहरूले बाहिर जाने भयो, आफ्नै नाममा विभिन्न किसिमका व्यवसाय संचालन गर्न पाउने भयो, नागरिकता बिना आफ्नै छोराछोरीको जन्मदर्ता बनाउन नसकेकाहरूले जन्मदर्ता बनाउने भयो।
यति मात्रै कहाँ हो र, वैदेशिक रोजगारका ढोका खुल्यो। जसले आर्थिक रूपमा सक्षम बनाउँछ। मजस्ता युवाहरूमा देखिएका मनोसामाजिक समस्या समाधन पनि हुँदै जान्छ र देशले दक्ष जनशक्ति पाउँछ।'
'दाइ, तपाईंलाई थाहा नहोला। नागरिकता नभएर केही पनि गर्न नसकेको धेरै थिए, यति वर्षदेखि नागरिकताबिना भएको नोक्सानको भरपाइ कसले गर्ने? त्यो पनि हामीले नै गर्नुपर्यो है?', उसको फेरि प्रश्न तेर्सियो।
'अब ती कुराहरूमा अल्झेर बस्नु भएन नि। अब नवयात्राको सुरूआत गर्नुपर्छ। आफूले मात्रै हैन परिवारकाले देखेका सपना साकार गर्न नागरिकताले रोकेको थियो त्यो पूरा गर्नतिर लाग्नुपर्यो।'
'कति काम ढिला भए पनि त्यसलाई सहजै स्वीकार गरी जीवन चलायनमान गर्नुपर्छ', मैले जवाफ दिएँ।
'तपाईंले भनेका कुरा ठीक हो। अब ममात्रै हैन मजस्ता सबै नागरिकताविहीनहरूले आवश्यकता अनुसार आ-आफ्नै दिनचर्यामा लाग्छन् र उनीहरूको जीवन सहज हुँदै जान्छ। अब हामी पनि आफ्ना ठाउँका लागि प्रतिनिधि चयन गर्न सक्षम भयो। राज्य बीचको सम्बन्ध कायम भयो। अब ढिला भए पनि सरकारलाई धन्यवाद भन्न', उसको जवाफ आयो। यसको आवाजमा बलभरोस थियो।
उसको कुरा सुनिरहँदा बौद्धिकता प्रष्ट देखिन्थ्यो। मान्छेलाई परिस्थितिले सबै कुरा सिकाउँछ र सबल बन्न मद्दत गर्छ।
'ल हिरो, अब तिमी पनि घर जाऊ। सबै जनासँग ‘सेलिब्रेसन’ गर्नु है।'
'हुन्छ दाइ, तपाईंले यस अवधिमा साथ रहनु भयो त्यसको लागि जीवनभरि आभारी हुनेछु,' भन्दै फोन काट्यो।
रामुको जीवनको कठिन समय गयो। अब ऊ नागरिक भएर बिहे मात्रै हैन, सामान्य जीवनयापन गर्नतिर लाग्नुपर्छ। राज्यले ढिलै भए पनि उचित निर्णय गरेको छ।
फोन काटेपछि फेसबुक खोलें।
रामुले पोष्ट गरेको रहेछ।
हातमा नागरिकता लिएर सेल्फी लिएको थियो। फोटोमा आँखा रसाएको प्रष्ट देखिए पनि अनुहार हँसिलो थियो।
'आज बल्ल सफल भयो' पोष्टमा क्याप्सन पनि लेखेको थियो।
वास्तवमा रामुलगायत नागरिकताविहीनहरूको ठूलो सफलता हो।
अहिलेको समयमा सामाजिक सञ्जाल पोस्टाउनै पर्यो त्यो पनि 'जसन' जस्तै त हो नि!
अब रामुको बिहेको भोजको प्रतीक्षामा छु र मिलेसम्म तपाईंहरूलाई पनि निमन्त्रणा गर्नेछु।