सायद ममा कुनै खुसीको भाव नदेखिएजस्तो लागेर होला। अस्तव्यस्तताले गर्दा सबै नियमित काम अवरोध भएका थिए। त्यही अफिस, तिनै भ्रष्ट कर्मचारीहरूसँग दिनदिनै ठोक्किन पर्ने पर्ने थियो।
मन्थर जीले मेरो नैरास्यतालाई धेरै दिनदेखि नियालिरहनु भएको थियो। उहाँ मसँग केही सोध्न चाहनुहुन्छ भन्ने भाव प्रष्ट बुझ्न सकिन्थ्यो। तर, सोध्न सक्नुभएको थिएन। उहाँको धैर्यता पनि धेरै दिनसम्म रहन सकेन। एकदिन साँझ टहलने क्रममा नसोधी बस्न सक्नुभएन।
‘आशु सर! तपाईंलाई त लोक सेवाले अयोग्य भनेर सरूवा गर्यो नि! के तपाईं साँच्चै अयोग्य हो?’
उहाँले सोद्धा संकोच मानेर सोधे पनि मलाई भित्रभित्रै आनन्दको महसुस भइरहेको थियो। किनकि म आफ्नो काममा अयोग्य छैन। बरू कार्यालयमा एउटा भ्रष्टाचारी या अपराधीले पाउने जस्तो व्यवहारको महसुस गरिरहेको थिएँ। त्यस्तो अपराधी जसले लोक सेवा छोड्ने बेलामा लगाइरहेको टिसर्ट समेत खोलेर, अफिसमा बुझाएर चार वर्ष काम गरेको कार्यालयबाट बिदा हुनु परेको थियो।
कारण थियो- सत्यको पक्षमा बोल्नु। इमानदारिता अपनाउनु। कार्यालयमा भएका अनैतिक कार्यको विरोध गर्नु। बस् मेरो गल्ती यति थियो कि कार्यालयमा भ्रष्टाचार भएको छ भने पनि कि टुलुटुलु हेर्नु पर्थ्यो कि अफिस छोडेर जानु पर्थ्यो। म बोलें, अयोग्य ठहरिएँ।
एउटा अपराधी या देशद्रोहीले पाउने जस्तो व्यवहार पाएँ।
अरू केही पनि गर्न नसकेपछि अयोग्य भनेर सरूवा गर्ने अधिकार त छँदैछ।
कामको विषयमा अयोग्य मान्नुहुन्छ भने कम्प्युटरको क्षेत्रमा सिक्ने र सिकाउने क्रम सुरू भएको झण्डै २० वर्ष जति भएछ।
२०५८ सालदेखि कम्प्युटर सिक्ने हुटहुटी थियो। इन्डिया गएर कम्प्युटर सिकें। २०६५ सालदेखि इन्स्टिच्युट खोलेर सिकाउन सुरू गरिसकेको थिएँ। ५ वर्ष कम्प्युटर सिक्ने सिकाउने गरेपछि निजामतीमा प्रवेश गरेर आफ्नो सीपको उपयोग गर्ने निधो गरें।
२०७१ सालमा सहायक कम्प्युटर अपरेटरमा १ नम्बरमा नाम निकाल्न सफल भएँ। लगत्तै अर्को वर्ष कम्प्युटर अपरेटरमा पनि १ नम्बरमै नाम निकालें। ९ वर्ष जति भयो निजामतीमा रहेर कम्प्युटरमा काम गर्न थालेको। म आफूलाई आफ्नो काममा अयोग्य छु जस्तो लाग्दैन।
आज नेपाल सरकारले तोकेको सेवा-सुविधा लिएर काम गरेको ८/९ वर्षको अवधिमा जहाँ मेरो वास्तविक सिकाइको सीप प्रयोग हुने ठाउँ हो। जहाँ मैले आफ्नो सीपको पूर्ण सदुपयोग गर्न सक्छु, त्यहाँ पनि पदीय र भत्ताको कारणले गर्दा प्रयोग गर्न सकेको छैन।
सिकेको, जानेको ज्ञानलाई कहाँ हो प्रयोग गर्ने। मजस्ता कैयौं युवाहरूले सिकेको सीपलाई विदेशमै गएर उपयोग गर्ने हो? आफूले जानेको ज्ञानलाई पदीय डोरीले बाँधेर कहिलेसम्म अपांग बनेर रहने।
कम्प्युटर खोल्न नजान्नेले कम्प्युटरको कपी चेक गरेको छ। त्यो पनि लोक सेवा आयोगमा। भत्ताको कारणले कपी रिचेक गर्न भाग लगाइरहनु भएको छ। धन्न स्थायी कार्यालय सहयोगी छैनन् र उनीहरूले कपी रि-चेक गर्न पाएका छैनन्। उम्मेदवारहरूको भविष्यसँग खेलवाड गर्न कसैलाई अधिकार छैन।
लाइसन्स छ भन्दैमा दृष्टिविहीनलाई बाइक चलाउन दिन त भएन नि! अहिले देशको अवस्था यस्तो छ:- पैसा फ्याँक्ने हो भने दृष्टिविहीनले पनि लाइसन्स लिन सक्छ। बाइक चलाउन नजान्नेलाई चाबी दिएपछि दुर्घटना हुने सम्भावना हुन्छ कि हुन्न?
कुनै एउटा खरिदार या सुब्बाले होइन! नेपाल सरकारको अधिकृत सरहको कर्मचारीले २/३ हजार पैसाको लोभले गर्दा आफ्नी श्रीमतीलाई कार्यालयको कर्मचारी बनाइदिन्छ। यो गलत हो भनेर कुनै कर्मचारीले विरोध गर्यो भने यो निजामती कर्मचारीहरूको स्वभाव हो, हजुरलाई इच्छा लाग्दैन भने कार्यालय छोडेर जान सक्नुहुन्छ, तर बोल्न पाउनुहुन्न। अरे अध्यक्षज्यू! मान्नै पर्छ तपाईंलाई।
यति मात्र कहाँ हो र! नेपालमा कुनै मर्यादित परीक्षा हुन्छ भने त्यो लोक सेवाको हो।
परीक्षा हुने केन्द्रमा केन्द्राध्यक्षले लोक सेवाबाट प्रश्नपत्र लानेदेखि लिएर परीक्षा सम्पन्न गराएर उपस्थित परीक्षार्थीहरूको उत्तरपुस्तिका रूजु गरेर कार्यालयमा नबुझाउने बेलासम्म केन्द्राध्यक्षको महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ। त्यस्तो केन्द्राध्यक्ष पैसाको लोभले गर्दा एकै समयमा काम गर्न अन्यत्र कतै जान्छ। र त्यही समयमा परीक्षामा पनि उपस्थित छु है भनेर भत्ता बुझेर खान्छ।
अरे! अलि अलि त केन्द्रका माननीयज्यूहरूलाई पनि लाज लाग्नु पर्ने हो।
भत्ताको कारणले एउटै समयमा दुई ठाउँमा काम गरेर दुई ठाउँबाट भत्ता बुझ्न मिल्छ र भन्या? केही त लाज मान्नु! केही त सरम मान्नु!
लोक सेवा जस्तो मर्यादित परीक्षामा केन्द्राध्यक्ष खटिएको अधिकारी, त्यो परीक्षा अवधिभर कहीँकतै जान मिल्दैन। केन्द्रमा कपी हरायो भने त्यसको जिम्मेवारी कसले लिन्छ? हुन त पछि कर्मचारीको लापरबाहीले हरायो भने पनि उम्मेदवार स्वयंले कपी लगेको भनेर मुचुल्का उठाइदिए भइहाल्यो।
सबै भ्रष्टाचारीहरू मिल्ने हो भने एक दिन लोक सेवा जस्तो पवित्र संस्थालाई पनि बदनाम गराउने छन्।
लोक सेवालाई आफ्नो इज्जत धान्नै गारो अवस्था आउने छ। र लोक सेवामा आश्रित सम्पूर्ण नेपाली जनताहरूको आँखामा आँसु मात्र बाँकी रहनेछ।
यस्ता भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिका विषयमा कोही बोल्दैन। कसैले विरोध गर्दैन। किनकि पाएसम्म सबैलाई भ्रष्टाचार गर्नुछ। यदि कोही बोल्यो भने या कसैले यस्तो प्रवृत्तिको विरोध गर्यो भने सरूवा गर्दिए भइहाल्यो। त्यो पनि एउटा भ्रष्टाचारीलाई या देशद्रोहीलाई गर्ने जस्तो व्यवहार गरेर। किनकि आइन्दा अरू कोही पनि नबोलून्।
सत्य बोल्दा या भ्रष्टाचारविरूद्ध बोल्दा एउटा अपराधी या देशद्रोहीले जस्तो व्यवहार भोग्नु पर्छ भने भोलिका दिनमा कुन कर्मचारी या नागरिकमा इमानदारिता रहन्छ?
चुप गराउने विधि, बिल मिलाउने विधि र ऐन नियमको गलत व्याख्या गरेर नीतिगत भ्रष्टाचार गर्ने विधि कर्मचारीलाई भन्दा धेरै अरू कसलाई थाहा हुन्छ र! जसले जे पढेको छ, जे सिकेको छ, जे जानेको छ उसले व्यवहारमा गर्ने, देखाउने त्यत्ति नै हो।
हुन त यहाँ सत्य बोल्नेलाई कसले पो राम्रो मान्छ र! केही दिन अगाडि मैले पूर्वप्रधानमन्त्री केपी ओली शर्माज्यूको लेख पढेको थिएँ उहाँले लेख्नुभएको थियो ‘म किशोरावस्थामा हुँदादेखि नै सत्यको बाटामा हिँड्ने प्रयास गर्दै आएको विद्रोही स्वभावको मानिस। मेरा अभिभावकहरूमा सत्यको ज्ञान र त्यसमा अडिग रहने अवस्था थिएन। तर म त सत्यको बाटामा हिँडेको मानिस! मलाई दुःख र कठिनाइ झेल्नुपरेकोमा कुनै पछुतो थिएन। कैयौं साथी मारिए; म जेल परें।’
त्यो समयमा उहाँलगायत अन्य कैयौंलाई सत्य र जनहितको पक्षमा बोल्ने जति सबैलाई दिएको ताडना आज सुन्दा पनि शरीर जिरिङ्ग भएर आउँछ। कोहीलाई जेल हाल्ने, कसैको जिब्रो काटिदिने।
अझ पुरानो इतिहासमा जाने हो भने सुकरातको जीवनी पनि कम कहालीलाग्दो छैन। सत्य बोल्दाखेरी मृत्युदण्डको सजाय पाउनु पर्ने। त्यो बेलाको समाज, समुदाय कस्तो प्रवृत्तिमा हुर्केको होला।
पूर्व प्रधानमन्त्री केपी ओली शर्माज्यूलाई सोध्न चाहन्छु। सत्य बोल्दा खेरी सुकरातलाई मृत्युदण्डको सजाय दिने शासकमा, तपाईंले सत्य बोल्दाखेरी चौध वर्ष जेल हाल्ने शासकमा र अहिले सत्य बोल्दा या भ्रष्टाचारको विरोध गर्दा एउटा देशद्रोहीलाई जस्तो व्यवहार गरेर कारबाही गर्ने वर्तमान लोक सेवाको अध्यक्षमा के फरक पाउनु भयो? अझ उहाँ त हजुरले सिफारिस गर्नुभएको व्यक्ति होइन र? ललिता निवासमा पनि मुछिनुभएको रहेछ।
अध्यक्ष हुँदा कति पैसा दिएर अध्यक्ष भए र त्यो रकम असुल गर्नलाई को-कोसँग कति-कति पैसा घुस खाए सबैको छनबिन होस् त! अझ एक हुल नयाँ अनुहारहरू लोक सेवा भित्रै देख्न पाइन्छ। लोक सेवा जस्तो जनविश्वसनीय मर्यादित संस्थामा पनि राजनीति गर्न थाल्नुभयो है। यहाँभित्र त जति भ्रष्टाचार गरे पनि कोही बोल्न पाउँदैन। के यही हो हजुरहरूले ल्याएको गणतन्त्रको उपलब्धी?
बाँच्नुको नाममा पुरानिएको मासुको डल्ला र खिइएको हड्डी सहितको शरीरलाई घिसारेर, जीवनभर भ्रष्टाचार गरेर एउटा उद्देश्यविहीन भएर बाँच्नुमा कुनै लज्जाबोध लाग्दैन है। बरू पशुहरू आ-आफ्नो ठाउँमा आ-आफ्नो कर्तव्य निभाएर बाँचिरहेका छन्। उनीहरूबाट केही सिक्नुस्।
ठग्ने, चोर्ने, बेइमान गर्ने, कामै नगरी काम गरेको भनेर घर जाने बेलामा हाजिर गर्ने फेरि सुत्ने बेलामा आएर हाजिर लगाएको भत्ता खाने, अझ सरमको कुरा त एकप्रति फोटोकपि गरेर रातभरि काम गरेको हाजिर देखाएर विस्तारामा सुतेको समेत पैसा लिन कत्ति पनि सरम लाग्दैन है। गर्दा गर्दा सरूवामा समेत चलखेल!
व्यक्ति फेरिएका रहेछन्। व्यवहार फेरिएको छैन। राजनीतिक परिवर्तन भएको हो। तर सुव्यवस्था कामय भएको छैन। सुव्यवस्था लागु हुनलाई पहिला सुशासन हुनु पर्यो। मनमा स्वार्थ भाव राखी, दम्भ र अहंकारले घडा भरेर, ठगेर, चोरेर, देशलाई बेइमान गरेर, जनतामा वैमनस्यता साँधेर, लोकहितको भावनालाई कदर नगरी एक प्याक मदिरामा झुमेर झुल्लिने निकृष्ट विचार भएका व्यक्तिहरु नेतृत्व तहमा रहुन्जेल सुशासन, सुव्यवस्था र देशमा समृद्धि हुनु भनेको लाटोकोशेरोले दिनमा संसार देख्नु जस्तै हो।
देशमा जति राजनीतिक नेतृत्व परिवर्तन भए पनि या जति कठिन परीक्षा पास गरेर नेतृत्व चुनिए पनि इमानदारीको परिभाषा व्यवहारमा सिकेको छैन भने अरू सबै शिक्षा निरर्थक हुन जान्छ भन्ने कुरा उच्च पदमा आसित घोकन्ते ज्ञानको आडमा अहंकार र दम्भले फुलेर बसेका महानुभावहरूलाई थाहा हुनु जरूरी छ।
मलाई एक जना परम मित्रले भनेका थिए ‘सर! तपाईंले देशको बारेमा चिन्तन गर्न थाल्नुभयो भने तपाईंले चिन्ताबाहेक केही पनि पाउनुहुने छैन।’
आज मलाई कता हो कता उनको त्यो कुरा मनमा खेलिरहेको छ।
यदि आफूलाई सत्यको मार्गमा हिँडाउँदा दुख, कठिनाइ, पीडा, चिन्ता आदि आइलाग्छन् भने पनि आइलागून् तर असत्यको मार्गमा हिँडेर, देशको अहित चाहेर, जनहितको विपरीत भावनामा लागेर, देश र जनतालाई बेइमान गरेर प्राप्त गरेको क्षणिक खुसीलाई पनि के खुसी भन्नू!
क्षणिक र तुच्छ खुसीको लागि बाँच्नुको कुनै अर्थ छैन। बाँच्नु नै छ भने योद्धा भएर बाँच्नुको जीवन छुट्टै छ। जसै मर्नु छ भने कायर भएर किन मर्ने। योद्धा भएर मर्नुको आनन्द छुट्टै छ। आखिरमा विरोधीले गर्ने भनेको अन्तिम प्रतिशोध पनि मृत्युदण्डसम्म हो। उसले मार्न सक्ने भनेको यो शरीरलाई मात्र हो। शरीर भित्रको धार्मिक व्यक्तित्वलाई त उसले मार्न सक्दैन। न उसलाई दु:ख, यातना, चिन्ताले नै केही असर गर्छ।