अनिच्छित भागदौड छ यत्रतत्र, अस्पतालभरि नै। लगभग सबैका उस्तै खाले मलीन र उग्लिएका चेहरामा अनपेक्षित धाइफाल देखिन्छ। आआफ्ना दुर्दशाबीच पनि हुन्छ परिचय आदानप्रदान। आखिर दिन–रात त काट्नु नै छ के खबर आऊला डक्टरका तर्फबाट भन्ने पट्यारिलो प्रतीक्षाबीच।
'एक जना नेपाली पनि आउनुभएको रहेछ नि यहाँ,' किञ्चित उज्यालो अनुहार लगाउँदै एकबिहानै हरि भन्छन्।
'हँ! नेपाली!!'
'मलाई हिजै त्यस्तो लागेको थियो। प्रतीक्षालयमा कसैसँग नेपालीमा बोलेको झटक आएथ्यो कानमा।'
'अनि फेरि भेट भयो त?' जिज्ञासा राखेँ।
'माथिको बसाइ नजिकैको सोफामा सँगै पर्यो। राति उहाँसँग केही गफ भयो।'
गत वैशाख (२०८०) को कुरा, ससुराबुबालाई १९ गते अपरेसन गरेर सघन उपचार कक्षमा राखेपछि हरिको बसाइ चौथो तलाको सघन उपचार कक्षबाहिर थियो। एक जना कुरूवालाई मात्र माथि जाने अनुमति भएकाले म अलग्गै थिएँ। ससुराबुबाको मुटुको शल्यक्रियाका लागि हामी १५ गतेदेखि मुम्बईको हिन्दुजा अस्पतालमा थियौं।
सबै विभाषी भएको मुलुकमा स्वभाषी भेटिँदा आफन्त भेटेजस्तो लाग्दो रहेछ। हरिको अनुहारमा पनि त्यस्तै भाव झल्किएको थियो।
कुरा थियो २१ गते बिहानको। मान्छेको मन न हो, त्रास स्वाभाविक थियो। फेरि २० गते नै शल्यक्रिया गर्नु परेपछि हरिको उग्लिएको अनुहार खासै उज्यालिन सकेको थिएन। तैपनि मन बलियो बनाउनु थियो।
'यो हस्पिटल निकै राम्रो छ रे, कुनै चिन्ता गर्नु पर्दैन भन्दै हुनुहुन्थ्यो,' हरिको बोलीमा केही निर्धक्कपन र अनुहारमा अलिक आत्मविश्वास बढेको हो कि भन्ने आभास भयो।
आत्मलाप गरेँ– शब्दको ढाडसले मात्र पनि निकै बल दिँदो रहेछ मान्छेलाई!
मुम्बईको अस्पतालमा नेपाली भेटिनु बढो हर्षको कुरा थियो। कमसेकम खुलेर कुरा गर्न त पाइन्छ नि! पीडालाई शब्दमा साटासाट गरेर मन हलुको गर्न त पाइन्छ नि!
ममा एक खाले जिज्ञासा थियो ती नेपाली दिदीप्रति। नेपालको कुन ठाउँबाट आएकी होलिन् र यहाँ कसरी आइन् होला?
'मसँग भेट होला कि नहोला?' कौतुहल थियो मनमा।
'श्रीमानलाई ल्याउनुभएको छ रे। अपरेसन रे उहाँको पनि,' हरिको संक्षिप्त जानकारी काममा गुञ्जिरहेको थियो, 'रात काट्न चाहिँ अलि सजिलो भयो।'
अपरिचित भूमिमा समभाषा सेतुले जोडेका पात्रहरूबीच अपनत्वको भाव हुनु अस्वाभाविक थिएन।
'शाब्दिक संवादको माध्यमले मनमा उत्साह भरिदिन सक्ने ती नेपाली सहयोगी पनि होलिन् त!' भावनाहरू तरंगित हुन थाले। कुराले मात्र त उनीसँग भेट हुने निश्चित थिएन।
बीस गते साँझबाट हामी दुबै जनालाई सघन उपचार कक्षमा कुरूवा बस्ने अनुमति मिल्यो, हरि भित्र र म बाहिर। हामी पालैपालो बुबाको सेवामा हुन्थ्यौं। एक्काइस गतेसम्म यसरी नै बित्यो। हरिले भनेकी नेपाली दिदी यतिन्जेल देखा नै परिनन्।
'सायद घर पठायो कि उनका बिरामीलाई!'
होइन रहेछ, २२ गते राति उनी झुलुक्क देखा परिन् सघन उपचार कक्षबाहिर।
'उहाँ नै हो नेपाली दिदी,' हरिले चिनायो।
'तपाईंको नेपालमा कहाँ?' अभिवादनको औपचारिकता सकिएपछि मेरो जिज्ञासा थियो तर उनको ध्यान अन्त कतै थियो।
यही कुरा हरिलाई सोधेको थिएँ तर रातभरि गफिएर पनि नेपालमा उनको बसाइबारे अनभिज्ञ थियो।
उनले मतिर ध्यान दिनासाथ सोधेँ, 'नेपालको कुन ठाउँ?'
'म त दार्जिलिङबाट हुँ नि, खरसाङ।'
आखिर नेपाल नभएर के भो त? नेपाली त हो नि। अचम्मको हुँदो रहेछ यो मन पनि। नेपालभूमि बाहिरकै भएर पनि भाषाले हामीलाई जोडेको थियो। आफन्त भेटेको अनुभूति भएको थियो।
'खरसाङ।'
जवाफ सुन्नासाथ मेरो मनमा झुलुक्क देखा परिन् देवकुमारी थापा। खरसाङमा जन्मेर विराटनगरलाई कर्मक्षेत्र बनाएकी देवकुमारी समाजसेवा र नेपाली साहित्यमा विशिष्ट पहिचान बनाएकी प्रतिभा हुन्।
यिनले देवकुमारीलाई चिनेको होला कि नहोला' मेरो मनका अर्को जिज्ञासा उठयो।
मैले सोधेँ– देवकुमारी थापालाई जान्नुहुन्छ?
'नाम चाहिँ सुनेको छु, भेट भएको छैन। उतैकी हुन् भन्ने चाहिँ राम्ररी थाहा छ।'
'बवरसिंह थापासँग बिहे गरेपछि देवकुकारी थापा नेपालको विराटनगरमा बसिन्।'
म संवाद तन्काउन चाहन्थे।
उनी अलिकति खुलिन्, 'मेरो पनि सोह्र वर्षको उमेरमा बिहे भएको हो।'
'अनि !'
'मेरो बुढो मारवाडी हो। हामी काठमाडौं गयौं। उसका पुर्खा नेपालबाट खर्साङ आएका। ससुरालाई नेपालको भूत सवार थियो। आफ्नो पुर्ख्यौली थलो निकै प्यारो थियो। म ओखलढुंगाकी, बुढाको पुर्ख्यौली भोजपुर, पछि खर्साङ।
'काठमाडौंमा कहाँ हुनुहुन्थ्यो?'
'बसाइ न्युरोडमा थियो। सात वर्ष काठमाडौं बसेर पनि केही उपलब्धि भएन। खाली बिरामी हुने, काठमाडौं फापेन। त्यता छाडेर मुम्बई आयौं। यता आएको पनि ४१ वर्ष भयो। यता राम्रै भयो, घर किनियो। छोरीहरू पढाइयो।'
'अनि दार्जिलिङ नि?'
'यसो कहिलेकाहीँ गइन्छ। नेपाल पनि जान्छौं। देवर–देउरानी उतै छन्। धेरै दिन बस्न पाइँदैन फर्किहाल्छौं।'
मैले जिज्ञासा राखेँ, 'मुम्बईमा के परिवर्तन देख्नुभयो त झन्डै आधा शताब्दीमा?'
'यो मुम्बई चालीस वर्षअघिको होइन। कहाँ थिए र यस्ता गगनचुम्बी भवन! अग्ला घर तीन तलाका हुन्थे। महँगाइ यस्तो थिएन। हामीले एक लाख सात हजारमा फ्ल्याट किनेका हौं। अहिले त कति हो कति! फराकिला सडक, रेलमार्ग, यो सब भएको त कति नै भयो र!'
उनले मुम्बईको महँगीको कुरा गरिन्।
'तपाईंहरू उतादेखि आउनुभयो। साह्रै महँगो पो छ त। खान त स्ट्रिट फुड (सडकको खाना) सस्तोमा पाइन्छ तर बस्न धेरै महँगो छ।'
उनले हितकारी केही नेपाली संस्थाको सम्पर्क नम्बर दिइन्।
साँच्चै रात धेरै महँगो थियो। लजमा एक रात सुत्न चार-पाँच हजार नेपाली रूपैयाँ तिर्नुपर्ने। हाम्रो आर्थिक हैसियतले धान्न मुस्किल थियो।
थप दुई दिन हामी साथै रह्यौं। खार पश्चिमस्थित हिन्दुजा अस्पतालको चौथो तलामा छौं हामी। भवन एघार तलाको छ। दिनमा बातचित अलि बाक्लो हुन्छ।
ती दिदीले भनिन्, 'केही सहयोग चाहियो भने भन्नु है!'
त्यो बिरानो ठाउँमा यस्तो अपनत्वको भाव नै हाम्रा लागि पर्याप्त थियो। सहयोगको लागि त्यसरी तत्पर हुने दिदीको मुम्बईको दिनचर्या चाहिँ कस्तो होला भन्ने लागेको थियो तर सोधेको थिइनँ।
अचानक उनले भनिन्, 'तपाईंहरू नेपालबाट आएको धेरै दिन भयो। नेपाली खाना खान पाउनुभएको छैन होला, म ल्याइदिऊँ है!'
'पर्दैन दिदी। कति दुःख दिने हजुरलाई!'
मैले हुन्छ भन्नु उचित ठानिनँ। झन्झट दिनु प्रीतिकर लाग्दैन मलाई। एक दिन खाएर हुने पनि होइन।
उनले जोड गरिन्, 'खाना बनाउनु मेरो रूचिको काम हो, पेसा पनि हो। खाना पकाउने मान्छे छँदै छन्। तपाईंहरूका लागि अलग्गै पकाउनु पर्ने भए पो!'
म मुसुक्क हाँसे मात्रै।
अर्को दिन उनी नेपाली खाना बोकेर आइन्। हामी अनुगृहित भयौं, खुसीले खायौं, तृप्त भयौं। आफ्नै घरमा आमाको हातले पस्केको खाना खाएजस्तो भयो।
उनको पेसा र पारिवारिक अवस्थाबारे केही जानकारी भयो। श्रीमान दीर्घरोगी रहेछन्। दुई छोरी रहेछन्। जेठी छोरी अस्ट्रेलियावासी रहिछन्। आमालाई फोन गरिरहन्थिन्।
ती दिदीका बारे मलाई अझै चासो जाग्यो। केही जिज्ञासा राखेँ।
उनले समाज सेवाको पोयो खोलिन्, 'सुनाखरी नेपाली महिला समाज छ। फोन गरिरहन्छन् साथीहरू।'
पच्चीस वर्षअघि खोलिएको रहेछ सुनाखरी नेपाली महिला समाज। विशेष गरी नेपाली समाजलाई केही सहयोग गर्ने उद्देश्यले संस्था बनेको रहेछ।
अहिले भने प्रवासी नेपाली समुदायमा मात्र सीमित छैन। आर्थिक समस्यामा परेका क्यान्सरका बिरामी र गरिब तथा जेहेन्दार विद्यार्थीका लागि आर्थिक सहयोग जुटाउने काम गर्दो रहेछ।
कति सहयोग पाउँछन् छ त?
'धेरै त गर्न सकिँदैन। यस्तै १५–२० हजार रुपैयाँ दिन्छौं। दाता खोज्नै गाह्रो छ।'
उनले गायक उदितनारायण झा र फिल्मी कालाकार सुनिल थापाका बारे आफ्नो धारणा सुनाइन्।
'सुनिल थापाकी श्रीमती यतै छिन्। उनी पनि सुनाखरीमा छिन्। सुनिल र उदितसँग खाना खाएका छौं।'
मैले पनि फिल्ममा र गीतमा उनीहरूको योगदानको कुरा गरेँ।
उनले सुनिलको खुब प्रशंसा गरिन्। उदितनारायणसँग चाहिँ केही गुनासो रहेछ। उदितले आफ्नो धरातल बिर्से भन्ने उनको धारणा रहेछ।
संस्थाको नाम सुनाखरी राख्नुमा पनि रोचक कथा रहेछ। दार्जिलिङ र नेपालको पहाडी सुन्दरता मुम्बईमा कहाँ हुनु! जन्मभूमिको स्मृतिदंश जिउँदो राख्न जुराइएको नाम रहेछ 'सुनाखरी'।
कुरैकुरामा मेरो पेसा र साहित्यिक रूचिबारे उनले पनि थाहा पाइन्।
अनि भनिन्, 'मेरा ज्वाइँ हुनुहुन्छ दार्जिलिङमा, कृष्ण प्रधान। उहाँ पनि लेख्नुहुन्छ। नेपाल गइरहनुहुन्छ। म तपाईंलाई भेट्न भनौंला।'
जीवनका अनेक पाटाहरू क्रमशः खुल्दै गएका थिए तर मलाई उनको नाम थाहा भएको थिएन। कुरैकुरामा सोधेँ।
'विष्णु, विष्णु सिंह।'
मेरो मानसपटलमा हठात् पारिजातको विम्ब आयो। पारिजात अर्थात् विष्णुकुमारी वाइबा। संवादकी पात्र विष्णु, पाठकीय पहिचान भएको 'शिरीषको फूल' की लेखक पनि विष्णु। थुप्रै अन्तरका बीच किञ्चित सादृश्य पहिल्याउने प्रयास गरेँ।
उनी विष्णुकुमारी वाइबा, यिनी विष्णु सिंह। दुवै दार्जिलिङका। एक जना नेपाली साहित्यकी महान साधक र अर्की मुम्बईमा समाजसेवी, जो नेपालीलाई सहयोग गर्न हरदम तयार छिन्।
यी दुईको तुलना अस्वाभाविक लाग्न सक्छ तर मेरो मनले सँगै उभ्याउँछ दुवैलाई। दुवैमा कतै न कतै तुल्यता वा समता देख्छु।
पारिजात परिवर्तनका लागि लेखनसँगै सामाजिक संस्थामा सक्रिय थिइन्। विष्णु साहित्य लेखिदनन् तर सामाजिक सेवामा समर्पित छिन्। उनलाई भेट्न पाएर म खुसी छु।
म निष्कर्ष निकाल्छु— मुम्बईमा भेटिएकी अर्की पारिजात।
सम्झनाका यस्तै केही कोसेली बोकेर फर्किनु थियो नेपाल। अस्पतालबाट बिदा भएको भोलिपल्ट बिहानै मेरो कल्पनाकी पारिजात अर्थात् विष्णु दिदीको पहिलो सन्देश आइपुग्छ– 'बाबु, बुबा पास्ड अवे।'
उनका श्रीमान बितेछन्।
म निकै बेर टोलाउँछु– अब समवेदना र श्रद्धाञ्जलिको सन्देश कसरी लेखू!
लेखक पारिजात बितेको ३० वर्ष भयो, देवकुमारी बितेको १२ वर्ष। मैले फेरि एकपटक यी दुई लेखकलाई पनि सम्झेँ।