साउन महिनालाई हरियो महिनाको साथसाथै शाकाहारी महिना भनेर पनि चिनिन्छ। साउन महिनामा धेरैले माछामासु खाँदैनन्। कतिपयले सोमबारमात्रै खाँदैनन्।
यो मौसममा गर्मी हुने भएकाले मासुजन्य परिकार लगायत अन्य परिकार चाँडै कुहिने, सड्ने हुन्छ।
यो समयमा मासुमा जीवाणु चाँडै फैलिन्छ। त्यसैले मासुजन्य परिकारको लागि राम्रो हुँदैन। माछा अर्थात् समुन्द्रमा पाइने प्रजातिको कुरा गर्ने हो भने पानीमा पाइने जीवहरूको प्रजननको महिना हो।
प्रजननको समयमा हामीले जीवलाई नस्ट गर्यौं भने अर्काे वर्षमा उत्पादन घट्छ र विस्तारै लोप हुने सम्भावना हुन्छ।
त्यस्तै हाम्रो समाजमा प्रजनन समयको कुनै पनि जीवजन्तुलाई खाने चलन छैन। खायो भने पाप लाग्ने विश्वास छ। त्यसैले पनि साउन महिनालाई शाकाहारी महिना बनाएको हुन सक्छ। शाकाहारी बन्दा स्वास्थ्यमा फुर्तिलोपन आउँछ। शक्तिशाली र बुद्धिमानी हुन माछामासु नै खानुपर्छ भन्ने धारणा पनि रहेको पाइन्छ, तर त्यो सरासर गलत हो।
साउनमा कस्तो खानपान उपयुक्त?
हाम्रो तीन प्रकारको भोजनमध्ये सात्विक भोजन गर्नु राम्रो मानिन्छ। जसले तपाईंको पाचन प्रणालीलाई सहयोग पुर्याउँछ। त्यसैले साउन महिनामा दूध दहीको परिकार बढी खाने चलन छ।
जस्तै: साउन पन्ध्रमा खिर खाने चलन नै रहेको छ हाम्रो संस्कारमा। प्रोटिनको लागि हामीले काजु, बदाम, ओखर र गेडागुडी खाना सक्छौं। यसबेला हामीले सन्तुलित भोजन गर्नु अतिआवश्यक हुन्छ। सन्तुलित आहारको लागि खानालाई तीन भागमा विभाजन गरिएको छ।
पहिलो समूह: चामल, गहुँ, मकै, जौ, जुनेलो, फापर, कागुनो र कोदो जस्ता अन्न पर्छन् र जमिनमुनि फल्ने आलु, तरूल, पिडालु, कन्दमूल जसमा कार्बाेहाइड्रेट प्रचुर मात्रामा हुन्छ।
दोस्रो समूह: सिमी, भटमास, सानो केराउ, मुसुरको दाल, गेडागुडी तथा दुधजन्य परिकार। जस्मा विभिन्न भिटामिन र प्रोटिनको मात्रा बढी हुन्छ।
तेस्रो समूह: फलफूल, सागपात र तरकारीहरू पर्छन्।
यसरी तयार परिएको सन्तुलित भोजनलाई तपाईंले हरेक पटकको खानामा प्रत्येक समूहबाट एक परिकार हुने गरी ग्रहण गर्नुभयो भने तपाईंको शरीरलाई फाइदा पुग्छ। तर ध्यान दिनुपर्ने कुरा सागसब्जी पकाउँदा पूर्णरूपले गलाउने गरी पकाउनु हुँदैन।
तपाईंले सन्तुलित भोजन ग्रहण गर्नुभयोे भने धेरै रोगबाट तपाईं बच्नुहुन्छ। सन्तुलित भोजन ग्रहण गरौ, स्वस्थ रहौं।
(लेखक नेपाली रैथाने, लोक तथा मौलिक खानपान खोज,संकलक तथा संरक्षण अभियन्ता हुन्।)