नेपालमा यत्रतत्र सर्वत्र रूपमा उपलब्ध भनेको सल्लाह हो। सितिमिति पैसो पनि नपर्ने चाहिएको बेला मात्रै नभई नचाहिएको बेला पनि यो सजिलै पाइन्छ। आवश्यक थोरै, अनावश्यक धेरै पाइने गर्छ।
'सिभिल इन्जिनियरिङको भन्दा त आइटीको स्कोप धेरै छ, कोठामै बसेर विदेशको काम पनि गर्न सकिन्छ' एउटा भाइले चिया बसाइमा सल्लाह दिइहाले। सल्लाह ठीकै पनि होला तर दिमागमा ढुंगा, माटो, गिट्टी बालुवामात्रै छ, गोबरभन्दा यिनै चिज भरिनु ठीक भनेर सन्तोष मानेर बसिएको छ अब आइटीतिर हात हाल्न कहाँ सक्नु?
आफैंले पाइराख्ने अर्को साझा सल्लाह स्थानीय तहको जागिर सधैं खाएर हुँदैन, संघतिर खानुपर्छ। सके त के संघसम्म मात्रै पुग्नु राष्ट्रसंघमै पुग्न हुन्थ्यो नि!, बिहानी पख अढाई बजेपछि मात्रै पर्ने निन्द्राको सपनीमासम्म पनि आउन नसक्ने कुराको के पछाडि लाग्नु भनेर मात्रै पो हो त!
सल्लाह मैले मात्रै पाउने हैन समाजमा एकाअर्कालाई दिइराखेकै हुन्छन्, विषय प्रसंग जे सुकै होस्।
कसैले मानसिक रोगको कारण आत्महत्या गर्छ, प्रतिक्रिया यस्तो आउँछ 'तपाईंले बाआमा घरपरिवार सम्झिनुपर्थ्यो मृत्युपछि नि सल्लाह दिइएकै छन्। यस्तै सन्दर्भमा मनोचिकित्सकले महत्त्वपूर्ण परामर्श दिँदै थिए।
एउटा प्रतिक्रिया आइहाल्यो 'डाक्टर आफैं विरक्तिए जस्तो देखिन्छ। यहाँ उल्टै बिरामीले डाक्टरलाई सल्लाह दिए जस्तो देखिन्थ्यो।'
यस्ता घटनापश्चात् सामाजिक सञ्जालका स्टोरीमा सहानुभूतिका शब्द देखिन्छन्, कुराहरू शेयर गरौं 'से नो टु सुसाइड' के के देखिन्छन्।
अरू बेला जहाँ पायो त्यहीँ प्याच्च थुक्नेले पनि तिम्रो थुक काम लाग्छ हातमा थुक्देऊ त भन्दा मुखमा आएको थुक निल्छन् तर थुक्दैनन्, यस्तै मान्छेले भरिएको स्वार्थी समाजले गर्ने भनेकै घटनापछि सहानुभूति देखाउने काम मात्रै त हो।
वैदेशिक यात्रा बारेको सल्लाह त झनै चलेको छ अचेल।
करले या रहरले जेले भए पनि विदेशिने सोच बनाएको मान्छे कन्सल्टेन्सी (परामर्शदाताकहाँ) धाउँछ।
परामर्शदाताले विदेशमा त रूखमै पैसा फल्छ जसरी विदेशिने सल्लाह दिन्छन्, त्यो पनि आफूमार्फत् जान सकिने देशमा।
नेपालीको औसत उचाइ कम छ रूखमा फलेको पैसा टिप्न गाह्रो हुन्छ त कहाँ भन्छन् र? होचो भएनी भर्याङ हुन्छ सजिलै टिपिन्छ जस्तो सल्लाह दिन्छन्।
अरूको खाँचो हामी बुझ्दैनौं। बस् आफ्नो तर्कसहितको सल्लाह चाहिँ हामीलाई दिनैपर्छ।
महंगी पनि कति बढेको हो भन्दै तरकारी पसलमा तरकारीको मूल्य सोध्दै थियौं।
एक जना बुढीआमाले हातमा धनियाँको मुठो समाउँदै 'हरियो तरकारी किनेर खान नसकिने भयो, बरू सादा दाल भात मात्रै खाने गर बाबु' भनिन्।
हामीले सिमी र काउली किनेका थियौं।
'धनियाँ किन्नुको साटो त्यही पैसाले अरू तरकारी आउँथ्यो नि!' आमालाई मैले पनि सल्लाह दिइहालें।
धनियाँको बास्नाले बुढीआमालाई दुई गाँस बढी रूच्थ्यो होला र पो हो कि! भन्ने मैले पनि कहाँ सोच्न सकें र?
माया प्रेमकाबारे सल्लाह दिने लभगुरूहरू नि प्रशस्तै छन्। मिलन बिछोड सामान्य कुरा हो मन दह्रो गराउनुपर्छ भनेर सम्झाइहाल्छन्।
'रूपमात्रै हैन मनकी पनि राम्री छ केटी', 'धनमात्रै कहाँ हो र मन पनि राम्रो छ केटाको' यसरी बिहेवारी गराउनेहरू अरूको मनभित्र पस्ने अन्तर्यामी बनेर सल्लाह दिएकै छन्।
जीवनसाथी हुन नसकेका प्रेमीप्रेमिकाहरू हाम्रो यात्रा यहाँसम्म रैछ, आफ्नो ख्याल राख्नु, खुसी भएर बस्नु, चिन्ता नलिनु अर्को जुनि भएछ भने भेटौंला भन्दै सस्तो सल्लाह हाताहाती दिएर महंगो साथ उधारो लिएर छुट्टिन्छन्।
हरेक कुरामा सल्लाह दिन सक्ने, टिप्पणी गर्न सक्ने हामी सल्लाहकार र टिप्पणीकार नेपालीको आइक्यू लेभल पुच्छरमा छ भन्ने बजारमा भेटिएको सर्वेक्षण कसरी पत्याउनु?
हामी सबै जान्ने सुन्ने नै छौं र मान्छौं।
त्यसैले होला पछिल्लो समय राजनीतिमा आएको जान्नेलाई छान्ने नाराप्रति आकर्षित छन् मान्छेहरू।
जीवनलाई सहज बनाउन अरूको सुझाव सल्लाह चाहिन्छ नै। तर सल्लाह उपयुक्त होस् सुझबुझपूर्ण होस्, परिस्थिति बुझेर दिइयोस्। औपचारिकता निभाउनका लागि मात्रै नहोस् खाँचो परे साथ र उत्तरदायित्व निभाउने किसिमको होस् भन्ने सल्लाहसहित अन्त्य गरें।