कहाँबाट सुरू गरौं लेख्न? के लेखौं र कसरी लेखौं? प्राय: मेरो मानसपटलमा यो प्रश्न गुज्रिरहेको हुन्छ। कहानी धेरै छन्। लेख्नु पर्ने विषयवस्तु पनि थुप्रै नै छन्। तर लाग्छ, कसैको जीवनमा आँसुले लेखिएको कथा/कहानी मेरो कलमले लेख्न सक्ला र? यद्यपि कोसिस गर्छु- कसैको हृदयभित्र लुकेको पीडा, नदेखिएको दु:ख र नझरेको आँसुको कथामा मेरो लेखाइले थोरै भए पनि मल्हम लगाओस्।
दिनदिनै आत्महत्याका घटना बारेमा खबर बाहिरिनुले पक्कै पनि हामी सबैलाई विछिप्त बनाएको छ। हामी शिक्षित हुँदैछौं। सम्पन्न हुँदैछौं। स्वस्थ रहनका लागि हरप्रयास पनि गरिरहेका छौं। तर पनि हामी खुसी छैनौं। वास्तवमा हामी सबै स्वस्थ रहन चाहन्छौं। सबैको जिन्दगीको एउटामात्र उद्धेश्य खुसी प्राप्ति हो। तर पनि खुसी पाउन सकिरहेका छैनौं। मानिस स्वस्थ हुनका लागि शरीर मात्र स्वस्थ भएर पुग्दैन मन पनि स्वस्थ हुनुपर्छ। जब मन बिरामी हुन्छ र उसले उपचार पाउँदैन तब मानिस आत्महत्याको सोचसम्म पुग्छ।
मानिसले आत्महत्या रोज्नुका कारणहरू थुप्रै हुन सक्छन्, यहाँ ती कारणहरू खोतल्नुभन्दा पनि हामीले के गर्न सक्यौं भने आत्महत्या गर्नबाट कसैलाई जोगाउन सकिन्छ भन्नेमा मेरो आजको लेख केन्द्रित छ।
उचित ध्यान पुर्याएर उपचार तथा मनोपरामर्श प्रदान गरेमा आत्महत्या रोक्न सकिन्छ। आत्महत्या प्रयास गर्ने व्यक्तिले उपयुक्त सहयोगको खोजी गरिरहेका हुन्छन्। यदि यसलाई बेवास्ता गरेको खण्डमा नतिजा घातक हुनसक्छ। जीवनको कुनै कालखण्डमा आत्महत्याको सोच बनाएका र आत्महत्याको प्रयास गरेका व्यक्तिहरू पनि त्यसबाट निको भई सबल रूपमा आफ्नो जीवनयापन गरिरहेका छन् र गर्न सक्छन्।
हामीले बुझ्नुपर्ने एउटामात्र चिज के हो भने हाम्रो वरिपरिका कुनै पनि चिज स्थायी छैनन् र हाम्रो जीवन अस्थिर पनि छैन। हामिले यो बुझ्नु जरूरी छ हामीलाई दुखी बनाउने कुनै पनि कारण स्थिर छैनन्। जब हामीलाई दुखी बनाउने/ पीडा दिने कारण नै स्थिर छैन भने अस्थिर कारणलाई लिएर दुखी हुनु पनि बेकार छ। हामीले आफ्नो मूल्य बुझ्नुपर्छ र जीवनको उद्धेश्यबारेमा सचेत हुनुपर्छ। जब हामीले आफ्नो मूल्य बुझ्नेछौं तब आफूलाई माया गर्न, आफ्नो हेरचाह गर्न जान्नेछौं। तब हामीले आफ्नो प्रियजन, आफन्त, साथीभाइ र आफ्नो वरिपरिका सबैलाई माया आफ्नोपन र कदर गर्न जान्नेछौं।
त्यसैले धन-दौलत, ओहोदा, पद र प्रतिष्ठाको घमण्डलाई त्यागेर हर एकपल आफू भित्रका र आफ्ना वरिपरिका चिजहरूलाई सम्मान र मूल्यका साथ अपनाऔं। सधैं ताजा रहौं र मायालु बनौं।
कहिलेकाहीँ एक हात, एउटामात्र मुस्कान, एकैदिन र एकैछिन मात्र पनि काफी हुन सक्छ कसैको घाउमा मल्हमपट्टि लगाउनका लागि। कसैको जीवन बचाउनका लागि।
के थाहा त्यो हात, त्यो साथ र त्यो मुस्कान हाम्रो नै पो हुन सक्छ कि? कसैको पीडा बुझ्नु भनेको संसारकै महंगो उपहार दिनु हो। बुझ्नु मायाको अर्को नाम पनि हो।
कसैको दु:खको कारण हामी नहोऊला तर खुसी र एक मुस्कानको कारण अनि दुखेको घाउमा मल्हम बनिदिनु पक्कै पनि हाम्रो जिम्मेवारी हो।
हामीले यो बुझ्नु जरूरी छ कि, कसैलाई हाम्रो आवश्यकता छ। हाम्रो साधारण उपस्थितिले मात्र पनि कसैको जीवनलाई उज्यालो बनाउन सक्छ।
त्यसैले कसैको जीवनको अन्त्यपछि हार्दिक समवेदना लेख्ने दिन कुरेर नबसौं।
हाम्रो समवेदनाले कसैको गएको प्राण फर्कंदैन तर हाम्रो सानो मात्र प्रयासले पनि कसैको प्राण बच्न सक्छ। आजै सोचौं, मनन गरौं। आजै महसुस गरौं आफ्नो परिवार, समाज, इष्टमित्र, साथीभाइ जो कोही पनि मानसिक विछिप्तताबाट गुज्रिरहेको हुनसक्छन्, जाऔं उहाँहरूको कुरा सुनौं, बुझौं र प्रेरणा प्रदान गरौं।
उहाँहरूको दु:खलाई, उहाँहरूको परिस्थितिलाई सम्झौं। म छु नि तिम्रो साथ भनी हौसला जगाऔं। मानसिक तथा मनोसामाजिक रूपमा स्वस्थ र समृद्ध समाज निर्माणका लागि हाम्रो योगदान अपरिहार्य छ। प्रण गरौं।
संसारमा एउटाै चिज अनमोल छ- त्यो हो जिन्दगी। बाँचौं र बचाऔं।