रोसियो स्क्वायरको छेउमा बसेर मनमोहक लिस्वोनको मनोरम दृश्य अवलोकन गर्दा नजिकैबाट आवाज आयो, प्रष्ट बुझिने नेपालीमा 'एक महिना भइसक्यो आएको तर अझै काम पा'को छैन। घरमा पनि कसरी भन्नु पैसा पठाइदिनु भनेर। मर्नुको तनाव भयो यार।'
जर्मनी बसाइ रमाइलो चल्दै थियो। तीन दिनको समय निकाल्दै पोर्चुगलको यात्रा सुरू गरियो। पोर्चुगलमा नेपाली धेरै छन्, सबै नेपाली परिकारहरू नेपालमा जस्तै गरी खान पाइन्छ भन्ने जताततै सुनिन्थ्यो। अहिलेको समयलाई सदुपयोग गर्दै रमाइलो लिन र नयाँ ठाउँको अवलोकन गर्ने सोचसहित हाम्रो यात्रा सुरू भयो।
फ्र्यान्कफर्ट एयरपोर्टको स्वचालित सिस्टममा सबै प्रक्रिया पूरा गरी हामी बसेको जहाज लिस्बोनतर्फ उड्यो। एयरपोर्टमा झरेर बाहिर निस्कने बित्तिकै लाग्यो यो सहर सभ्य छ। बाहिर पुग्दा ट्याक्सीको लाइन देखिन्थ्यो। एक जनाले सबै ट्याक्सीलाई पालैपालो पठाउँदै थिए। हाम्रो पालो आयो। हामी गाडीमा पुग्यौं। चालकले हाम्रो लगेज गाडीमा राख्यो र हामीलाई चढ्न भन्यो। हामी ड्राइभरको बोली बुझ्दैनौं र ड्राइभरले पनि हाम्रो कुरा बुझ्दैन। हामीले हाम्रो गन्तव्य मोबाइलमा देखायौं अनि उसले बुझेर गाडी हुइँकायो।
एक जना साथीले आन्जोस आउनुस् खाना खाएर होटल लग्दिन्छु भनेकाले हामी त्यतै लाग्यौं। पुग्नेबित्तिकै अचम्ममा पर्यौं। जताततै नेपालीको हुल छ, नेपाली स्वर सुनिन्छ। झ्यालमा टाउको बाहिर निकालेर चुरोट पिउनेदेखि रेस्टुरेन्टका साउजी र पाहुनासम्म सबै नेपाली।
खसीको मासुसँग खाना खाँदै गर्दा आफू काठमाडौं आएको महसुस भयो।
यतिकैमा पल्लो टेबलमा गफ सुनियो, ‘१५ लाख तिरेर आएको, दुई महिना भयो तर काम नै पाएको छैन। साथीले अलिअलि सहयोग गरिरा’छ र सहज भएको छ। घरमा पनि थाहा छ काम छैन भनेर अनि जसोतसो पैसा पठाइरहेका छन्। तर के गर्नु, नेपाली पैसा युरोमा कन्भर्ट गरेर पठाउँदा पठाउनेलाई धेरै पठाए जस्तो तर यता आउँदा अलिकति पनि हुन्न। युरोप छिर्न त पाउ भन्ने सोच आयो। नेपाल छोड्न मात्र पाए त सबै आफैं राम्रो हुन्छ जस्तो लाग्यो। अहिले एकदमै तनाव छ। गाउँघरमा छिमेकीलाई बाहेक कसैलाई मेरो जिन्दगी तुलनात्मक रूपमा ठीक भएको लाग्दैन। छोरो युरोपमा छ, अब तिम्रा दुःखका दिन गए भन्दै सजिलै ऋण चाहिँ दिइरहेका छन्।’
बहुत चासो लागेर नजिकै टेबलमा सर्दै मैले उनीहरूसँग चिनजान गरें।
एक जना एक वर्ष पहिले माल्टा र त्यहाँबाट दलाललाई पैसा बुझाएर पोर्चुगल आएका रहेछन्। अर्को रोमानियाबाट तीन वर्ष पहिले आएका रहेछन्। उनी अलि खुसी देखिन्थे र भन्दै थिए, ‘म त युरोपतिरै सेट हुने सोचिरा’को।’
‘केही समयअघि टिआर (टेम्पोररी रेजिडेन्ट कार्ड) पाएपछि उसको रवाफ नै बेग्लै छ’, नजिकै बस्ने अर्को साथी बोल्यो।
‘सुरूमा उसको दुःख पनि कमको थिएन। आउनेबित्तिकै काम पाउन मुस्किल, बस्ने ठाउँ उस्तै अभाव। लाग्छ एडजस्टमेन्टको अर्को नाम नै जिन्दगी हो, ऊ भन्थ्यो। घर र आमाबुवा नसम्झेको हो भने त अहिलेसम्म यो जीवन नै के भइसक्थ्यो नै थाहा छैन।’
मैले सहजै अनुमान लगाउन सके कि यहाँ आउने सबैजसो माल्टा, रोमानिया र साइप्रस हुँदै आउँदा रहेछन्।
उक्त देशको भिसा लगाउने, केही समय काम गर्ने र त्यहाँबाट दलाल समाएर सेन्जेन छिर्दा रहेछन् र त्यसो गर्दा तुलनात्मक रूपमा लगानी अलि कम पर्दोरहेछ।
नेपालबाट सिधै पोर्चुगल जाने भनेर आउनेहरुको चाहिँ लगानी निकै हुँदोरहेछ।
उनीहरूले बताउँदै थिए नेपाल रहुन्जेल नेपालमा केही गर्न सकिन्न, केही हुँदैन, जसरी पनि विदेश नै जानुपर्छ भन्ने सोच हाबी भयो र जसोतसो घरमा पनि मनाउन सफल भइयो।
हुनत यता आउनेले यस्तो दुःख छ भन्ने नथापाएको पनि होइन। दुःख पछि सुख छ भनेजस्तै भयो र छोटो समय त हो जति दु:ख परे पनि गरौंला भन्ने सोच आयो, उनीहरूले बताए।
यता आएपछिको जीवन कसरी अगाडि बढ्छ त भन्ने मेरो प्रश्नमा पुरानो र टिआर पाइसकेको साथी अरूलाई उछिन्दै बोल्न थाले, ‘पहिला यहाँ साथी छन् र उनीहरूकोमा सुत्ने ठाउँ छ भने त भाग्य चम्कियो। छैन भने युरोले बाटो तताउन थाल्छ। होस्टेलमा बस्नुपर्छ। एउटा रूममा जति धेरै मान्छे हुन्छन् उत्ति नै सस्तो पर्छ तर यहाँका नेपालीले हामी गैरकानुनी रूपमा आएको थाहा पाएपछि ठग्छन्, नेपालीको बानी त हो।’
मैले सोधिहालें, ‘होस्टेल नेपालीले नै चलाएका छन्? उसले अझ गहिरो आवाज निकाल्दै भन्थ्यो, ‘दाइ, यहाँ पैसा कमाउने नै होस्टेल चलाउने र कन्ट्याक्ट बेच्नेले हो। मैले कन्ट्याक्ट बेच्ने भन्ने नबुझेको अनुहार बनाएपछि उसले भन्यो आउनेबित्तिकै त्यसै टिआर पाइन्न नि! त्यसका लागि काम गर्नुपर्छ र ट्याक्समा दर्ता हुनुपर्छ। अनि उक्त कामका लागि पनि नेपाली नै अगाडि छन्।यहाँ हामी नेपाली ठग्ने कहाँ पोर्चुगिज हुन्छन् त! कि त नेपाली नत्र साउथ एसियन हुन्। सहर नै साउथ एसियनले भरिएको छ।
दोस्रो दिन लिस्बोनका केही सहरहरू घुम्दा उसले भनेको कुराहरूमा पूर्णरूपमा विश्वास भयो। किस्टो रि, वेलेम टावर घुमेर क्रुजको सयर गर्दै रोसियो स्क्वायर आएपछि गोधुली साँझको वातावरण अति नै रमाइलो थियो।
समुद्री किनारको आवाज नजिकै म्युजिकल प्रस्तुति थियो जहाँ धेरै मानिसहरू आफ्नो–आफ्नो धुनमा रमाइरहेका थिए। हामी एक छेउमा बस्यौं। नेपालीको आवाज त यत्रतत्र सर्वत्र सुनिन थालेपछि हिजोसम्म नेपाली शब्द सुन्ने बित्तिकै ओहो महसुस हुने हामीलाई पनि बानी परिसकेको थियो।
नपरोस् पनि कसरी आन्जोस र मार्टिमुनिज नेपालीको मात्र जस्तै लाग्ने रहेछ।
मार्टिमुनिजमा देख्दै भव्य लाग्ने ‘लव लिस्वोन नेपाली रेस्टुरेन्ट’ का नेपाली स्वादको धित मेट्ने गरी मीठामीठा परिकार खाएर निस्कने बेलामा होटलमा काम गर्ने एक जना मित्रबाट मिजास सहितको निमन्त्रणा आयो, ‘बेलुका लाइभ म्युजिक छ आउनु ल।’
हामी मुस्कुराउँदै बाहिरियौं।
हाम्रो साथीले नजिक भएका केही नेपाली रेस्टुरेन्ट देखाउने भएपछि हामी पछि-पछि लाग्यौं। त्यस क्षेत्रमा मलाई म नेपालभन्दा बाहिर भएको आभास भएन।
‘क्याटमाण्डु रेस्टुरेन्ट’, ‘दियालो खाजा घर’, ‘दाइको हुक्का’ यस्तै यस्तै रेस्टुरेन्टहरू हुन्छ।
हिँड्दै गर्दा नजिकै आएर एक जना नेपालीले भनिन्, ‘आउनुस् दाइकोमा हुक्का खाएर जानुस्।’ हामी पछि आउँछौं भन्दै अघि बढ्यौं।
साँझ ढल्किएपछि हामी निम्तो स्वीकार्दै ‘लव लिस्वोन’ पुग्यौं।
त्यहाँ पुग्दा नेपाली लोक भाकादेखि आधुनिक र रक जनराको गीत सुन्दै झुम्दै थिए। धेरै नेपाली र केही विदेशीहरू। हामीलाई नेपालमा नै भएको आभास पलपल भइरह्यो।
अन्तमा १९७४ एडीको ‘यो मन त मरो नेपाली हो’ गाउँदै सांगीतिक साँझको अन्त्य भयो र हामी हाम्रो होटलतिर लाग्यौं।
रोसियो स्क्वायरमा रम्दै गर्दा हिजो सुने जस्तै कथा त्यहाँ पनि सुनिन थाल्यो। संजोगले हामीलाई घुमाउने साथीको साथीहरू रहेछन्। मलाई हिजोदेखि चासो लागेको कुरामा अझै गहिरिन चाहन्थें। मौका मिल्यो। दुई जनामध्ये एकले सुनाइन् ‘म त यहाँ ५/७ पटक आइसके।’ गफ गर्दै जाँदा अर्को साथीले काम नपाएको थाहा पाएपछि मैले सोधेँ, ‘उनलाई जागिर किन नलगाइदिएको त?’
उनी भन्छिन्, ‘सोध्न बाँकी काहीँ छैन। पैसा कम भए पनि हुन्छ सम्म भनिसकेँ।’
मैले सोधें, ‘कहिले आएको हो र तिमी?’
‘आएको एक महिना हुन लाग्यो। केही दिन लिस्वोन बाहिर आफन्तकोमा बसेँ अनि यहाँ त भर्खर एक हप्ता भयो। काम नपाउन्जेल पैसा माग्न बाहेक अरू त ठिकै छ, बस्न गाह्रो भएको छैन।’ बुझिहालें उनी साथीकोमा बस्ने रहिछिन्।
म मेरो यात्राभरी एकदमै सोचमग्न रहें। आउनका लागि नै ठूलो पैसाको जोहो गर्नेदेखि धेरै दुःख गर्नुपर्ने रहेछ। वैदेशिक यात्रा आफैंमा धेरै कष्टपूर्ण छ। विदेशमा पुगेपछि कहाँ, के गर्ने, कसरी बस्ने थाहा छैन। काम पाएपछि सामान्यतयाः दुई वर्षपछि मात्र अस्थायी कानुनी बसाइ बन्छ। त्यसपछि पनि ५/७ वर्षमा मात्र स्थायी बसोबास गर्ने अनुमति पाइन्छ। पिआर पाएपछि अरू कुनै देशमा जाने र जीवन सुन्दर बनाउने सपना बुनेरै करिब दश वर्षको दु:ख र १५ लाखको जोह गरेर युरोप जाने तयारी गरेका युवाको लामो लस्कर देखेर अत्यन्त नमीठो अनुभव भयो।
राजनीतिक नेतृत्वबाट अब पनि सही र सकारात्मक अनि दीर्घकालीन कदम चाल्न ढिलो भयो भने नेपालमा रहने मानिस विदेश जान नसक्ने हुन सक्छन्।
अहिले केही काबिल र देशका लागि केही गर्छु भनेर बस्नेहरूको पनि आश मर्यो भने थेग्नै नसक्ने मानवीय भुइँचालो जान कत्ति पनि टाढा छैन।
(नुवाकोटका के.सी. हाल जर्मनीमा बस्छन्)