माननीय मन्त्रीज्यू! मेरो सरूवा कहिले हुन्छ? यो प्रश्न मजस्तै तमाम चाकरीमा विश्वास नगर्ने, कथित ठूलाबडालाई कोसेली नबोक्ने, क्षमताले भ्याएसम्म पेशाप्रति बफादार रहने विवशताले निरीह पारिएका इमानदार शिक्षकहरूको हो।
सर्वप्रथम मानिस र नशाको सम्बन्धमा केही शब्द खर्च गर्न चाहन्छु।
मानिसको जीवनमा नशाको गज्जबको प्रभाव हुन्छ कि मानिस नशाको गुलामीमा देह त्याग गर्न तयार हुन्छ।
देख्नेलाई लाग्छ कस्तो खत्तम मान्छे नशाको लतमा ज्यान फाल्यो। नशा छोडेर बाँच्न सक्थ्यो नि। तर भन्नेलाई के थाहा उसलाई जीवन भन्दा प्यारो नशा थियो।
नशा बिनाको जिन्दगी ज्युनुको के अर्थ! नशाको तुलनामा नाथे जीवनको के महत्त्व?
नशा सकारात्मक र नकारात्मक हुन्छन्।
जेसुकै होस नशा भनेको नशा नै हुन्छ नि जसले मानिसलाई दास बनाउँछ। नशा कस्तो खालको अवलम्बन गरिन्छ, वातावरणले निर्धारण गर्छ।
मानिस जन्मिँदै नशा बोकेर जन्मेको हुँदैन, उसलाई परिवेशले बोकाउँछ। उसलाई सामाजिक परिस्थितिले सिकाउँछ। तर कुनै न कुनै नशाको गुलाम नबनी मानिस बाँच्नै सक्दैन। कसैलाई रक्सी चुरोटको नशा, कसैलाई राजनीतिको नशा, कसैलाई धनदौलतको नशा, कसैलाई जागिरको नशा, कसैलाई मायाप्रेमको नशा।
मन्त्रीज्यू! तपाईंलाई लाग्ला यो नाथेले मलाई प्रवचन दिइरहेको छ। नशासम्बन्धी प्रवचन।
कस्तो मूर्ख, म मन्त्रीजस्तो मान्छेलाई यति कुरा थाहा नहोला! तर त्यसो होइन मैले एउटा सम्भावित प्रश्नको प्रतिरोध गर्न यो कुरा भनेको हुँ।
तपाईंले सोध्ने प्रश्न।
सम्भवतः तपाईंलाई यो चिठी पढ्ने फुर्सद छैन होला। कृपा गरी पढी हाल्नुभएछ भने तपाईं भन्नुहुनेछ यो कस्तो वेबकुफ, अर्को पेशा अंगाल्नु पर्ने नि। त्यसो नहोस् भनी मैले नशाको दृष्टान्त दिइसकें।
म पश्चिम रूकुमको दुर्गम ठाउँमा जन्में। एउटा निम्नस्तरीय किसान परिवार। जीवन अत्यन्त कष्टकर। गाउँको सिरानमा एउटा प्राथमिक स्कुल। यदि गाउँमा कसैले सफा लुगा लगाउँथ्यो भने ती प्राथमिक स्कुलका शिक्षकले लाउँथे। नुहाइधुवाइ गरेको सफा शरीर।
साबुनले धोएका सफा सेतो सर्ट र कालो पाइन्ट (त्यतिबेला गाउँलेले रिठ्ठा वा खरानीले कपडा धुन्थे)। कम्मरमा लेदरको बेल्ट। काला लेदरकै जुत्ता। सर्टको गोजीमा पाइलट पेन। कालो कपालमा चमेलीको तेल। शिक्षकको जिन्दगी भनेको त भाग्यले पाइन्छ जस्तो लाग्थ्यो।
यसले मेरो बालमनोविज्ञानमा एउटा छाप पार्यो बनिन्छ त केवल शिक्षक बनिन्छ।
पानी चुहिँदै बोक्नुपर्ने गोबरबाट मुक्ति पाइन्छ। हिउँदको कठ्याङ्ग्रिने जाडोमा गरिने कामबाट मुक्ति पाइन्छ। वर्षाको झरीमा घाँस काट्नुपर्ने झन्झटबाट मुक्ति पाइन्छ।
मनमा सलबलाउँदा सपना बोकेर शिक्षक बन्ने ध्याउन्नमा लागियो। प्रवेशिका पास गरेपछि झरियो सहरको रमझममा। चाहारियो विभिन्न बोर्डिङ स्कुलहरू। संसार जितेजस्तो भयो। सजियो जिन्दगी बोर्डिङको युनिफर्ममा। क्या गज्जबको जिन्दगी। गोबर बोक्नु नपर्ने। घाँस काट्नु नपर्ने। हिरो होण्डा साइकलमा सरर।
समयको अन्तरालमा मनमा अर्को भावना पलायो अब सरकारी स्कुलको मास्टर हुनुपर्छ।
नेपालगन्जको कुनै स्कुलमा अङ्ग्रेजी शिक्षक चाहिएको रहेछ। त्यतिबेला आजकलको जस्तो नियमित शिक्षक सेवाको परीक्षा हुन्नथ्यो। स्कुललाई निजी स्रोतमा काम गर्ने शिक्षक चाहिएको। कुरा २०६० तिरको हो। तर उक्त निजी स्रोत शिक्षक छनोटको प्रक्रिया गज्जबको अपनाइयो। न कुनै परीक्षा न कुनै अन्तर्वार्ता। प्रतिस्पर्धा जम्मा दुई जनाको बीचमा। हामी दुबै जनालाई हेडसरले बोलाउनुभयो। तपाईंहरूको कुनै लिखित मौखिक परीक्षा हुँदैन। तपाईंहरूलाई एक हप्तासम्म क्लास लिन लगाइने छ र जसलाई विद्यार्थीले छान्छन् उही यस विद्यालयको अङ्ग्रेजी शिक्षक बन्छ।
हामी सहमत भयौं र सकेजति राम्रो प्रस्तुतिबाट विद्यार्थी आकर्षण गर्ने ध्याउन्नमा लाग्यौं। म विद्यार्थीको छनोटमा परें सायद मलाई शिक्षक बन्ने लेखेको रहेछ अर्को साथीको भाग्यमा पैसावाल सानको जागिर लेखिएको रहेछ।
उनलाई त्यतिबेला तीतो महसुस भयो होला तर त्यहीँ तीतोले औषधिको काम गरेछ। उनी आजकाल विद्युत प्राधिकरणको उपल्लो तहकै कर्मचारी छन्।
सरकारी स्कुल प्रवेश गरेपछि थाहा भयो त्यहाँ त सत्रथरी शिक्षक रहेछन्। कोही स्थायी त कोही अस्थायी, कोही राहत त कोही अनुदान।
मेरो विद्यालयलाई पनि एउटा राहत कोटा प्राप्त भएछ। साथीहरू भन्नुहुन्थ्यो तपाईं त भाग्यमानी कति छिटो राहत कोटामा बस्न पाउनुहुने भयो।
म पनि मख्ख थिएँ। नेपाल सरकारले निर्धारण गरेको तलब स्केल पाइने, कसैले जागिरबाट पनि नहटाउने।
सरकारी स्कुल प्रवेश गरेको केही महिनामै राहत शिक्षक भैयो।
राहत शिक्षक दरबन्दीमा प्रवेश गरेकै दिन हेडसरले भन्नुभयो, ‘प्रेम सर विद्यालयदेखि जिल्लासम्मका साथीहरूलाई नास्ता खुवाउने चलन छ है।’
मैले ‘हुन्छ’ भनिदिएँ।
छोएला, समोसा, म:म चाउमिन यस्तै त हो नास्ता दुई चार हजार त खर्च होला। यसमा पनि के लोभ गर्नु। ‘खानु होला नि सर म तिरम्ला नि’मैले भन्दिएँ।
जब भोलिपल्ट नास्ताको बिल मेरो हातमा पर्यो। रकम देखेर मलाई विश्वास लागेन।
हेडसरलाई सोधें, ‘सर साहुजीले बिलमा लेख्न गल्ती गर्नुभएको रहेछ। बिलको जम्मा रकम बाउन्न हजार थियो।’
‘हैन सर बाउन्न हजार नै हो’ हेडसरले भन्नुभयो।
मलाई एकछिन भाउन्न भाएर आयो, रिंगटा लाग्यो, रिस पनि उठ्यो तर परिस्थिति काबुमा नराखी सुख थिएन। वचन बोलिएको थियो। साथीभाइसँग सापट लिएँ, बिलको रकम भुक्तान गरिदिएँ। यो घटनाबाटै कथित ठूला भनाउँदाप्रति नकारात्मक भावना बन्यो र अझै सकारात्मक हुन सकेको छैन।
मलाई कसैको चाकडी गर्न मन पर्दैन। तिमी काम गर्ने संस्थालाई हैन तिम्रो कामलाई माया गर भन्ने भनाइले मलाई निक्कै छोएको थियो।
म आफ्नो काममा दत्तचित्त भएर लाग्थें। तर अन्य साथीहरू डाहा गर्थे। मेरो अनुपस्थितिमा बफादार शिक्षक भनेर खिल्ली उडाउँथे।
सरकारी स्कुल भनेपछि अंग्रेजी गाह्रो विषयका रूपमा लिइने। अतिरिक्त कोचिङ कक्षाहरू पढाउनुपर्ने। आम्दानी ठीकै हुने। लाग्थ्यो कति गज्जबको जिन्दगी।
कोहलपुरमा सानो घर बनाइयो। मलाई यही पेशाले खाना दियो, यसैले लाउन दियो, यसैले घरगृहस्थी बनायो। यो पेशाप्रतिको मोह र सम्मान घट्नुको साटो झन् झन् बढ्दै थियो।
समय क्रममा जिल्लामा दरबन्दी मिलानको प्रक्रिया अघि बढ्यो। घरको आँगन जोडिएको विद्यालयमा म कार्यरत रहेको समान पद रिक्त थियो।
मैले जिल्ला शिक्षा कार्यालयमा (अहिलेको शिक्षा विकास तथा समन्वय इकाइ) निवेदन हालें। चुपचाप आफ्नो काममा लागिरहें।
तर त्यहाँ त अर्कै विषयको शिक्षकलाई मिलान गरिएछ। न दरबन्दी मिल्छ न विद्यालयको आवश्यकता पूरा हुन्छ। यो कस्तो खालको मिलान हो? मैले जिल्ला शिक्षा कार्यालयका हाकिमलाई फोन लगाएँ।
‘सर यो कस्तो खालको दरबन्दी मिलान हो अन्याय भएन र ?’
‘कहाँ अन्याय हुनु फोन राख्नुस्, तपाईंलाई मिलाइएन।’
म तीनछक परें। यो कस्तो विडम्बना!
हेडसरको उर्दीले मैले एउटा शिक्षक सम्बद्ध संगठनको रसिद काटेको थिएँ। भनिन्थ्यो संगठनले अप्ठ्यारो र अन्याय पर्दा साथ दिन्छ। मैले संगठनका नेताहरूलाई हारगुहार गरें तर सहयोग कतै भएन।
‘के हो हेडसर संगठनले समस्यामा साथ दिँदैन र?’ हेडसरले भन्नुभयो रसिद काटेरमात्रै कहाँ हुन्छ कहिलेकाहीँ नेताहरूसँग उठबस पनि गर्नुपर्छ नि। त्यो दिनदेखि शिक्षकका नाममा खुलेका संघसंगठनप्रति विश्वास गुम्यो र लाग्यो यी शिक्षकको हकहितका लागि होइनन्।
वि.स. २०७० देखि नियमित रूपमा शिक्षक सेवा आयोगले शिक्षक पदपूर्तिका लागि परीक्षा लिन थाल्यो।
सुरूका वर्षमा त्यता खासै ध्यान गएन। तर कालान्तरमा स्थायी हुने हुटहुटी पलायो।
दोस्रो पटक खुलेको परीक्षामा समावेश भैयो। निमावि तहको परीक्षामा लिखित पास गरिएछ। तर अन्तर्वार्तामा गुल्टिइएछ। मनमा लाग्यो मा. वि. मेरो क्षमताको कुरो हैन निमाविकै लागि कस्सिएर लाग्छु।
लिखित पास भैएछ। अन्तर्वार्ता दिन गइयो अन्य प्रतिस्पर्धीको फूर्तिफार्ती बेग्लै थियो। लाग्थ्यो मभन्दा सबै जान्ने छन्। अन्तर्वार्ताको केही दिनपछि परिणाम आयो मेरो नाम सूचीको सबभन्दा माथि थियो। खुसीले सीमा नाघ्यो।
आफूले अंगालेको पेशामा अयोग्यको बिल्ला हट्यो। सबै सफल उम्मेदवारहरू आ-आफ्नो पायक पर्ने ठाउँमा मिलाउने ध्याउन्नमा लागे। आफ्नो त पावर न सावर। न त मेरिटको आधारमा छान्न नै पाइयो।
पहिलो प्राथमिकता अपांग अनि महिला।
दाङ जिल्लाको राजपुर गाउँपालिकाको एक स्कुलमा पोस्टिङ भैयो। जो दाङ जिल्लाको सबभन्दा दुर्गम मानिन्छ। एक वर्षे परीक्षणकालपछि घरपायक सरूवाको लागि कोसिस थालें। तर कहीँकतै सम्भव भएन। सरूवा गर्न सफल भएका साथीहरूसँग बुझ्दा पो थाहा भयो तीन चार लाख खर्च गर्नुपर्ने तथ्य। हेडसरदेखि समितिसम्म, पालिकादेखि जिल्लासम्म। छ सात ठाउँ कुद्नुपर्ने ब्यथा। पैसा भए सेतो कालो बन्दो रहेछ। विषय परिवर्तनदेखि सबै सम्भव हुँदोरहेछ।
मन्त्रीज्यू! यो कहालीलाग्दो अवस्था कसरी हटाउन सकिन्छ? पावर र पहुँचवाला सधैं सुगममा। सोझा सिधा सधैं दुर्गममा।
एउटा शिक्षक दुई वर्षमात्रै एउटा विद्यालयमा बस्न पाउने र दुई -दुई वर्षमा हरेक शिक्षकको स्वचालित रूपमा सरूवा हुने व्यवस्था मिलाउन सकिँदैन?
केही थान कथित शिक्षक नेताको वर्चस्वका लागि खोलिएका संघ संगठनलाई प्रतिबन्ध लगाउन सकिँदैन? यस्ता जन्जिरभित्र मेरो सरूवा कहिले हुन्छ मन्त्रीज्यू?