लेखक तथा कूटनीतिज्ञ माकियाभेलीलाई आधुनिक राजनीतिको पिता भनेर चिनिन्छ। उनी प्लेटो र शुकरातको नैतिकताको ठीक विपरीत ध्रुवमा उभिएका छन्। उनका सिद्धान्तहरू सही र गलतको हाम्रो परम्परागत मूल्य र मान्यताभन्दा विपरीत छन्। उनी निरंकुशता र छलकपट वाञ्छनीय मान्छन् र आदर्श र सदाचारलाई ढोंग।
उनले एउटा किताब लेखेका थिए 'द प्रिन्स' जसको भाषागत अनुवाद 'राजकुमार' हुन्छ, तर भावानुवाद 'महापुरूष' को नजिक हुन्छ। महापुरूष, जो सामान्य घरपरिवारमा जन्मेर, आफ्नो पराक्रम र कुटिलताले समाजका वर्गीय दायराहरू पार गर्दै राजकाजको नजिक पुग्छ र सबभन्दा शक्तिशाली बन्छ। ऊ भित्रबाट आफ्नो व्यक्तिगत स्वार्थले मात्र अभिप्रेरित हुन्छ, आफू सर्वशक्तिवान् बन्न चाहन्छ र त्यो प्राप्तिका निम्ति जे पनि गर्न तयार हुन्छ। तर बाहिरबाट झट्ट हेर्दा समाजले उसलाई सधैं आदर्शवान र नैतिकवान देख्छ। राम्रो हुनु आवश्यक कुरा होइन, त्यो बरू एउटा कमजोरी हो। आवश्यक कुरा हो, राम्रो देखिनु।
'प्रकृतिमा कुनै नैतिकता छैन, बाघले शिकार गर्दा उसलाई कुनै धर्मसंकट आइलाग्दैन। पाप र धर्म केबल परिकल्पना हो, यो संसार नै शाश्वत हो, योभन्दा अन्त कतै हाम्रो इहलिलाको लेखा जोखा हुने छैन। संसारमा छलकपट, अन्याय र अत्याचार प्रशस्त छ। यसबाट बच्ने एउटै उपाय भनेको आफू सबभन्दा ठूलो पापी बन्नु हो।'
किताबमा उनले एउटा कथा वर्णन गर्छन्-
एकादेशको राजाले आफ्नो वरिपरिका राज्यहरूको एकीकरण गर्दै जाँदा एक ठाउँमा भने शासन व्यवस्था कायम गर्न मुस्किल परेछ। त्यहाँका जनता अलि विद्रोही स्वभावका हुनाले नियमित रूपमा दंगाफसाद गर्दा रहेछन्।
यसरी नियन्त्रण बाहिर गइरहेको इलाकालाई सम्हाल्न राजाले आफ्नो निकटम सरदारलाई बोलाएर भनेछन्, 'तिमी त्यो राज्यमा मेरो अधिकार लिएर, सर्वेसर्वा बनेर जाऊ। जे गर्नुपर्छ गर। हत्या र हिंसा गरेर भए पनि त्यो ठाउँलाई नियन्त्रणमा लिऊ।'
सरदार पनि खुसी हुँदै गएछ र राजाले अह्राए बमोजिम क्रुरतापूर्वक कयौंलाई यातना दिएर, मारेर त्यो ठाउँको अस्थिरतालाई केही शान्त बनाएछ। तर राजा त्यहाँ लोकप्रिय हुन सकेनन्। मान्छेहरूको मनमा राजाप्रति गहिरो घृणा र बदलाको भावना रह्यो। केही समय बितेपछि राजा राजकीय भ्रमणमा त्यहाँ गएछन् र प्रजाको दुःखसुखको कुरा सुनेजस्तो गरेछन्। त्यही रात आफ्नो बफादार सेनाको टुकडीलाई बोलाएर 'सरदारको कोठामा जाऊ र उसलाई सहरको चोकमा लगेर दुई टुक्रा पारिदेऊ' भनेछन्।
भोलिपल्ट बिहानै गाउँलेहरूले आफूमाथि बर्बर दमन गर्ने सरदार सहरको बीचैमा मारिएको देखे।
अनि हल्ला फैलियो- आफूले दिँदै नदिएको अधिकार प्रयोग गरेर सरदारले निर्दोष जनतालाई प्रताडित गरेको महाराजले थाहा पाउनुभयो। त्यसैले हाम्रा न्यायप्रेमी राजाले सजाय स्वरूप त्यो बदमासलाई मृत्युदण्ड दिनुभयो। जनताले पनि ठूलो निसाफ भएको महसुस गरे र महाराजको जय होस् भन्दै जयजयकार गरे!
अब एकछिन विचार गरौं। आफ्नो पूर्वाग्रहलाई, सञ्चारमाध्यम र सामाजिक सञ्जालले हामीमा लादेका मत-अभिमतहरूलाई केहीबेर अलग राखेर एकैछिन सोचौं, हाम्रो राष्ट्रिय राजनीतिमा त्यो किसिमका पात्रहरू छन्? को को छन्? पुराना को छन्, नयाँमा को छन्? उनीहरूले गरेका कुराहरू तथ्यपरक छन् कि हामीलाई सत्यबाट विमुख गर्ने खालका छन्? उनीहरूको वक्तव्यबाजीले हामीमा के कस्तो प्रभाव पारेको छ? समग्र देशलाई फाइदा या बेफाइदा भएको छ? या केबल उनीहरूको राजनीतिक स्वार्थ मात्र पूरा भएको छ?
हाम्रो देश नयाँ राजनीतिक संस्कार स्थापित हुने संघारमा छ। आगामी चुनावमा एउटा नयाँ राजनीतिक दलले ताजा अनुहारहरूलाई नेतृत्वमा पुर्याउनेछ भन्ने अपेक्षा गरिएको छ। तर यो परिवर्तनका लागि सबभन्दा पहिले हामी जनता तयार हुनुपर्छ। किनभने हामी पहिले जस्तै भड्काउ भाषणले उत्तेजित, खोक्रो राष्ट्रवादले अस्थिर, थोरै करूणाले विह्वल र सानो हेपाइले विस्मित भइरह्यौं भने नयाँ नेताहरूले पनि पुरानै दाउपेच, पुरानै चलाखीले हामीलाई, हाम्रो भोटलाई प्रभावित गरिरहने छन्। हामी परिवर्तन भयौं, हामीले उनीहरूले बोलेका कुराहरू र गरेका कामहरूको अन्तर्य बुझ्न सक्यौं भने बल्ल उनीहरू आफ्नो खेल बदल्न प्रेरित हुनेछन्। नत्र भने मात्र नेताहरू बदलिने छन्, उनीहरूको स्वभाव बदलिने छैन। नयाँ बोतलमा पुरानै रक्सीजस्तो स्वाद बदलिने छैन।
र, परिवर्तनकै संघारमा भएको हुनाले म एउटा यस्तो घटनाको वर्णन गर्छु जुन अझै निचोडमा पुगेको छैन।
घटना टीकापुरको हो।
आजभन्दा ८ वर्षपहिले भएको टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई तिनै तहको अदालतले दोषी करार गर्यो। तर सरकारले माफी दिएर कैद मुक्त गर्यो।
घटना वीभत्स थियो। वास्तवमै चौधरी मुख्य योजनाकार हुन् भने उनलाई माफी दिनु कतै जायज देखिँदैन। वरिष्ठ प्रहरी अधिकृतलाई १८ ठाउँमा भालाले घोचीघोची मारिएको छ। प्रहरी जवानलाई जिउँदै जलाइएको छ। र, दुई वर्षको बालकले गोली लागेर ज्यान गुमाएका छन्। वारदातको व्याख्या पनि रगत उमाल्ने खालको छ। छानबिन आयोगको प्रतिवेदन निस्केको छैन। तर अभियुक्त जेलबाट निस्किसके।
यो मैले बुझ्न सकिनँ। त्यसैले मैले यथार्थ बुझ्न खोजेँ। टीकापुरमा के भएको थियो? उपलब्ध जानकारीहरू केलाउँदा विरोधाभाष झन् बढेर गयो। पहिलो भाला रोप्ने रेशम नै हुन् भन्नेदेखि घटनास्थलभन्दा उनी कमसेकम ३० किलोमिटर टाढा थिए भन्नेसम्मको कुरा सुनियो।
तर मलाई एउटा सुविधा छ, पुनर्अवलोकनको। घटना भएको ८ वर्ष भइसकेको छ। मैले आफ्नो धारणा बनाउँदा त्यसअघिका घटनाक्रम र त्यसपछिका परिणामलाई फर्केर नियाल्न सक्छु।
भदौ ७ गतेको त्यो घटनाको विजारोपण भने त्योभन्दा धेरै अगाडि भइसकेको थियो। २०५२ सालदेखि सुरू भएको माओवादी जनयुद्धमा उसले ठूलो जोडबलका साथ जातीय मुद्दा उठाएको थियो- एकल जातीय पहिचानदेखि आत्मनिर्णयको अधिकारसम्मका वाचाहरू गरेको थियो। फलतः भित्रीमधेसमा हजारौंको संख्यामा थारू र पहाडमा मगरहरू जनमुक्ति सेनामा भर्ति भएका थिए। यी वफादार सिपाहीहरूले साथ नदिएको भए माओवादीको क्रान्ति यो बिन्दुमा आइपुग्ने थिएन। माओवादीको तर्फबाट लडेर ज्यान गुमाउने चार हजारभन्दा बढी संख्यामा थारूहरू छन्। उनीहरूले थरूहटका लागि ज्यान दिएका थिए।
मलाई देशको कुनै एउटा भूभागको कार्यकारिणी अधिकार एउटै समुदायलाई मात्र दिने कुरा सही लाग्दैन। मेरो कल्पनाको एउटा राम्रो नेताले (चाहे त्यो बाहुन, जनजाति या जुनसुकै समुदायको किन नहोस्) समग्र देश र देशवासीकै भलो चिताउँछ र सबै जातजाति र वर्ग समुदायको भलो गर्छ।
तर थारूहरूको सवालमा त्यो कहिल्यै हुन सकेन। थारू समुदाय देशको चौथो बहुल समुदाय हो। देशमा बाहुन-क्षेत्री र मगरपछि सबैभन्दा बढी जनसंख्या उनीहरूको छ, पुग-नपुग बीस लाख।
म उमेरले ३० नाघेँ। यो क्रममा मैले प्राथमिक र माध्यमिक विद्यालय, र उच्चशिक्षाको अध्ययन गर्दै अहिले व्यवसायिक रूपमा काम गर्न थालेको पनि दस वर्षभन्दा बढी भइसक्यो। यो पढाइ या जागिरका क्रममा धेरै साथीभाइ बनाएँ। ती तराईका यादव थिए, झा थिए, काठमाडौंका नेवार थिए, विश्वकर्मा थिए र मुसलमान थिए तर चौधरी समुदायका दौंतरी औंलामा गन्न सकिने मात्र छन्।
म काठमाडौंको भीडको बीचमा बस्छु। छतमा गएर वरिपरिका घर एक नजर हेर्छु। थारूको घर देख्दिनँ। तपाईंले पनि आफ्नो अनुभवमा विचार गर्नुभयो भने यो कुरा महसुस गर्नुहुन्छ होला। जनसंख्याको आधारमा हेर्दा यति धेरै भएको समुदाय शिक्षा र रोजगारका ठाउँमा, राजधानी र नेतृत्वको आसपासमा खोज्दा किन भेटिँदैन?
हामी सल्यानबाट दाङ झरेको। आजभन्दा ६० वर्षअघिसम्म पनि मेरा बाजेहरू हिउँदमा दाङ र गर्मी लागेपछि माथि फलाबाङ नै बस्ने गर्थे। औलोको डर हुन्थ्यो। तर थारूहरूलाई औलोले नछुने! बाह्रै महिना भित्री मधेसको तराईमा उनीहरू सदियौंदेखि सजिलै बसेका थिए। यसको जैविक प्रमाण उनीहरूको रगतमा भेटिन्छ। औलोको प्रकृतिप्रदत्त प्रतिरोध, 'इभोलुसन' ले उनीहरूलाई दिएको बिटा-थालेसिमिया अर्थात् हजारौं वर्षदेखि उनीहरू यो जमिनको र यो जमिन उनीहरूको भन्ने कुरामा शंका छैन।
तर अचम्म के भने मेरो पुर्खाहरू तराई झरिसक्दासम्म उनीहरू भूमिहीन बन्न पुगे र मेरा पुर्खाहरू जमिनदार। र थारूहरू कमाराकमारी बनेर बस्न बाध्य भए।
मैले रेशम चौधरीले भदौ ६ गते कुनै टेलिभिजनमा दिएको अन्तर्वार्ता सुनेँ- के लाग्यो भने उनी लगायत आन्दोलनरत पक्षको माग भनेको माओवादीले देखाएको सपना पूरा गर्ने, आत्मनिर्णयको अधिकार या त्यो हुँदैन भने अधिकतम समावेशिता र पहिचानसहितको संघीयता चाहिन्छ भन्ने थियो। आफू बसेको ठाउँको राजनीतिक र प्रशासनिक अधिकार आफूमा निहित भयो भने त्यहाँको स्रोतसाधन र आर्थिक अधिकार प्रयोग गरेर आफ्नो ठाउँ राम्रो बनाऔंला भन्ने उनीहरूको सिधा उद्देश्य थियो।
अन्त्यमा सबभन्दा महत्वपूर्ण प्रश्न, भदौ ७ गते त्यो घटना भयो र त्यसको प्रभावस्वरूप देशमा अरू के के भयो?
त्यो समयमा संविधान सभाले देशलाई संघीयतामा लैजाने भन्ने टुंगो गरिसकेको थियो। तर प्रदेशहरूको सिमाना केको आधारमा निर्धारण गर्ने भन्ने छलफल पेचिलो बन्दै थियो। सभाले आफ्नो हिसाबले नक्सा पनि तयार पारिसकेको थियो। तर लाखौंको संख्यामा थारूहरू असन्तुष्ट थिए। कुनै पनि हालतमा उनीहरूले त्यो नक्सा मान्ने छाँटकाँट थिएन। प्रत्येक घरबाट एक-दुई जना प्रतिनिधि स्वःस्फूर्त रूपमा सडक-बजारमा आएर प्रदर्शन गरिरहेका थिए। जुन कुराका लागि थारू सहिदहरूले बलिदान दिए, त्यसैको निधो हुने घडीमा पछि सर्ने मनस्थितिमा उनीहरू थिएनन्। 'एक जुगमा एकपटक आउने एक दिन' उनीहरूलाई त्यही बखत आएको थियो।
सरकारले जति बल लगाए पनि, जति पदलोलुपता देखाए पनि उनीहरू टसको मस भएनन्। तर अचानक भदौ ७ को घटना भयो। नाबालकसहित ८ प्रहरी मारिए। एक्कासि पासा पल्टियो। थारू समुदाय पीडितबाट पीडक बन्न पुग्यो। हेर्दाहेर्दै माहोल अर्कै बन्यो।
आन्दोलन सकियो, नयाँ नक्सा पारित भयो, संविधान सभाले अन्ततः संविधान दियो।
त्यो नरसंहारबाट आफ्नो निकटतम परिवारजन गुमाउनेहरूलाई सबभन्दा ठूलो क्षति भएको छ। उनीहरूको घाउ भरिन गाह्रो छ।
अर्को ठूलो क्षति भनेको थरूहट र समावेशिताको आन्दोलनलाई भएको छ। एकदिनको त्यो घटनाले उनीहरूको वर्षौंदेखिको बलिदान र माग शून्यमा पुग्यो।
के त्यो क्षणिक भावावेश थियो? कि त्यो माकियाभेलीको कथाजस्तो भयो?