अनुभवहरूको संगालो नै रहेछ जीवन। २०७२ सालको चैतमा बुटवलको नवीन औद्योगिक कदर बहादुर रिता उच्च माध्यमिक विद्यालयबाट एसइईको परीक्षा दिएपछि ३ महिनाको बिदाको सदुपयोग गर्न काठमाडौं देख्न तेस्रोपटक काठमाडौं आइयो।
काठमाडौं सहर नै बेग्लै पहिलोपटक म सानोमा आएको थिएँ त्यसपछि कक्षा ८ मा हुँदा आएँ। काठमाडौं सहर देख्दा लाग्छ रहर भनिन्छ। काठमाडौं आउँदा केही समयपछि आन्टी बिरामी हुनुभयो। त्यसपछि यहाँ उहाँको ख्याल राख्ने मौका पनि पाएँ। त्यतिबेला आन्टीको भान्जाले पशुपति र स्वयम्भूनाथ घुमाएको याद छ।
स्वयम्भू नाथबाट काठमाडौं देख्दा मन आनन्दित भएको थियो। काठमाडौंको बसाइको उत्तारार्धमा मेरो आन्टीले यतै बसेर यहीँको प्राइभेट स्कुलमा म्यानेजमेन्ट पढ् राम्रो हुन्छ मलाई ख्याल पनि हुन्छ भनेको त सम्झिन्छु।
काठमाडौंको महत्त्व त्यतिबेला मैले बुझेको थिइनँ तर कक्षा ११ र १२ मा काठमाडौंमै बसेर पढेको भए मेरो जीवनको बाटो र भविष्य अर्कै हुने रहेछ भनेर अहिले आएर विचारमग्न हुन्छु। काठमाडौं सहरले जिउन सिकाउँछ। यो सहरले त सपना देख्न पो सिकाउने रहेछ।
बिदा सकिएपछि काठमाडौंबाट घर बुटवलको लागि प्रस्थान गर्दा काठमाडौं छोडनुपर्ने भएर अलिकति पनि पछुतो भएन।
काठमाडौंमा पढ्न पाएको भए म के हुन्थें, मेरो सोच कस्तो हुने थियो, यहाँको विद्यार्थी र यहाँको वातावरणसँग घुलमिल भएर आजै राम्रो पो गर्न सक्थें कि अहिले म नेपालमै पनि हुन्थे हुन्थिन होला भन्नेमा सोचमग्न हुन्छु।
बुटवल आएर पनि के पढ्ने, कसो गर्ने भनेर केही समय त सोच्दा सोच्दा आजित भइयो। कक्षा ९ र १० मा जबरजस्ती एच्छिक गणित लिएर पढ्नुपर्ने भएको थियो किनकि म आफ्नो बाबासँग डराउने अनि उहाँको कुरा नकार्न नसक्ने स्थिति थियो। जुन मेरै लागि पछि गएर प्रत्युत्पादक भयो किनकि म गणितमा त्यसै पनि कमजोर र त्यसमाथि एच्छिक गणित लिएर पढ्नुपर्यो। एच्छिक गणित लिएर एउटा फाइदा भएको भनेको एच्छिक गणित लिने टाठाबाठाहरूको छुट्टै सिम्बल नम्बर हुँदो रहेछ। त्यो देखेपछि राहत भयो र छेउमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका इन्जिनियरिङ पढ्ने विद्यार्थी परेका थिए। त्यसले झन् अर्को सन्तुष्ट दिलायो भाग्य मेरो बलियो भएको भनेर खुसी भएँ।
मलाई सामाजिक शिक्षा, अंग्रेजी र नेपालीमा राम्रो ज्ञान भएको हुँदा ती विषयको परीक्षा हुँदा अघिपछिको साथीलाई सिकाएँ भने एच्छिक गणित र गणितको लागि म अरूमा निर्भर भएको थिए।
एसइईको रिजल्ट आयो सायद बि प्लस आएको थियो क्यारे। अब मेरोसामु दुई विकल्प थिए कि होटल म्यानेजमेन्ट पढ् कि शिक्षा पढ् भन्नेमा दुईथरी मत आए। होटल म्यानेजमेन्टमा बाहिरको लागि र देशमै पनि राम्रो छ भन्ने एकथरिको मत थियो भने मेरो घरमा भने लोक सेवा लगायतमा शिक्षा पढ्दा ठिक हुन सक्छ भन्नेमा मत विभाजन भयो। त्योमात्र नभएर कहाँ पढ्ने भन्नेमा पनि दोधार भयो। नजिकैको न्यू लाइट कलेजमा होटल म्यानेजमेन्ट पढ्ने कि कालिकामा गएर शिक्षा पढ्ने भन्नेमा दोधार भएको थियो। अन्त्यमा कालिका मानवज्ञान माध्यामिक विद्यालयमा शिक्षा पढ्ने पछि लोक सेवा लडाइँ गर्न साथ हुने भन्नेहरूकै कुरा ठिक लागेर फारम भर्न गएँ।
मेरो बाबा शिक्षक भएको हुँदा मलाई केही हदसम्म साथ भएको थियो।
मलाई कक्षा ९ मा अंग्रेजी पढाउनुभएको इवराज तिवारी सर स्थायी भएर नजिकैको कालिका मानवज्ञान माध्यामिक विद्यालयमै सरूवा हुनुभएको थियो।
उहाँ मलाई कक्षा ९ बाट नै मनपर्ने शिक्षक हुनुहुन्थ्यो किनकि मलाई पनि अंग्रेजी राम्रो लाग्ने विषय थियो। सोही क्रममा २०७३ मा कक्षा ११ को प्रवेश परीक्षाको लागि फर्म भर्ने क्रममा सबै विवरण भरेर कुन विषय पढ्ने भनेर टिक लगाउने समयमै उहाँ आइपुग्नु भएको थियो।
उहाँले अहिले कानुन आएको छ बाबालाई पनि भनेको छु कानुन पढ् पछि वकिल न्यायाधीश हुन पाइने सजिलो पनि हुन्छ भनेर भन्नुभयो।
यसो सोच्दा कानुन पढ्दा अन्ततोगत्वा पछि मलाई फाइदा हुनेमा विश्वस्त भए। म कानुन पढ्न राजी भएँ।
त्यतिबेला नेपालमै पहिलोपटक कानुनको अध्ययन सुरू भएको थियो। त्यतिबेलाका प्राचार्य घनश्याम पाठकलाई धन्यवाद दिनैपर्छ किनकि उहाँकै जोडबलमा हामीले कानुन पढ्न पायौं। सुरूका दिनहरूमा विद्यार्थी कम भएर मानविकी कक्षामा हामीलाई पढाइएको थियो।
एक महिनापछि होला सायद विद्यार्थी बढी हुँदै गएपछि बल्ल हाम्रो छुट्टै कक्षा भयो। मैले पढेको बुटवलको कालिका मानवज्ञान माध्यामिक विद्यालय र नवीन औद्योगिक कदर बहादुर रिता उच्च माध्यमिक विद्यालय अहिले सामुदायिक विद्यालयमध्येमा नेपालकै उत्कृष्ट विद्यालयमा गनिन्छ यसमा पनि गर्व लाग्छ।
कानुन पढ्दा रमाइलो लागिरहेको थियो। गर्न सकिन्छ है भन्ने विश्वास लाग्यो। सामाजिक विषयको शिक्षक र प्रत्येक दिनको रातको ७ र ८ बजेको समाचार हेर्नैपर्ने स्थिति थियो त्यसले मलाई कानुन पढ्दा साथ पनि दियो।
सामाजिक सञ्जाल पनि ११ र १२ मा हुँदाखेरि नै हो चलाउन सिक्दै गरेको किनकि आफ्नो मोबाइल बल्ल हातमा पाएको थिएँ।
कक्षा ११ को कानुन अन्तर्गत प्रथम परीक्षामा कक्षामा प्रथम हुँदाको रमाइलो क्षण यहाँ व्यक्त गर्नैपर्छ।
कक्षा १० सम्म आउँदा गणितमा सधैं कमजोर नम्बर आउने र फेल हुने म कक्षा ११ मा आउँदा टप गरे भन्ने सुनेर मेरो नाम आउँदा त मेरो खुसीको सीमा नै रहेन।
मैले टप गर्न सक्छु भन्नेमा मलाई नै विश्वास थिएन मेरो परीक्षा राम्रो भएता पनि त्यस्तो राम्रो होला भनेर चाहिँ अनुमान नै गरेको थिइनँ। सायद त्यतिबेला राम्रो लेखेर प्रथम आएरै भएर होला अहिलेसम्म विश्वास ढगमगाएको छैन। केही गर्न सकिन्छ गर्न सक्ने रहेछु भन्नेमा आफूलाई सधैं त्यसले प्रेरणा दिन्छ।
कक्षा ११-१२ पढ्दा हाम्रो विवादित भूमि नवलपरासीको सुस्तामा गइयो। डुंगामा नारायणी पार गरेर जाँदा खोला देख्दा पानी छुँदा आनन्द लागिरहेको थियो। सुस्ता र कालापानीबारे पुस्तकमा पढेको थाहा थियो त्यहाँ पुगेपछि नेपालबारे बुझियो त्यहाँको जनताको बेदना सुनियो।
अनौठो लागिरहेको थियो। भारतको ज्यादतीबारे स्थानीय बोल्दै थिए। सीमामा रक्षा गरेर बसेका स्थानीयहरूको साहस देख्दा गर्वले छाती चौडा पनि भयो र नेपालका नेता सम्झेर रिस पनि उठ्यो।
११ र १२ मा कानुन पढ्दा वडा कार्यालयम निवेदन लेख्न कलेजले प्राक्टिकलको लागि आफ्नै वडामा पठाउँदा पनि सरकारी कामको जानकारी राख्न पाइयो। त्यसपछि कक्षा १२ पछि स्नातक पढ्न हामीसँग अहिलेको जस्तो विकल्प थिएन।
काठमाडौंमा त्रिभुवन विश्वविद्यायल अन्तर्गतको ३ विद्यालय थियो। अध्ययन गर्न काठमाडौं आउनुपर्ने भयो काठमाडौंमा आफ्नो भन्नु अंकल आन्टी नै भएको हुँदा यहीँ बसेर प्रवेश परीक्षाको लागि तयारी गर्ने निधो गरियो।
प्रवेश परीक्षा अंग्रेजीमा हुन्छ भन्ने थाहा पाएपछि नेपालीमा कानुन पढेता पनि अंग्रेजी भन्दैमा डराउनेमा म थिइनँ। प्राइभेट छोडेर सरकारीमा जाँदा मेरो अंग्रेजी ध्वस्त भयो भने नेपाली राम्रो भयो। काठमाडौंमा अंग्रेजी जान्नेहरूकै बोलबला छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्यापसमा नाम निकाल्नुपर्छ है भन्दै तयारी गर्नतर्फ थालियो तर सोही क्रममा केही अराजक तत्त्वहरूले एलएलबीको कारण देखाउँदै क्याम्पसमा ताला लगाएपछि निर्धारित समयमा हुनुपर्ने बिएलएलबीको परीक्षा हुन नपाएर दुई महिनापछि सरेको थियो।
सोही क्रममा कर्णालीको मध्यपश्चिम विश्वविद्यालयमा स्नातक पाँच वर्षे कार्यक्रम आएपछि हामी त्यता पनि परीक्षा दिन गयौं।
दोस्रो स्थानमा नाम निस्कियो तर त्यहाँ दुई महिनासम्म बस्दा समेत शिक्षकको अत्तोपत्तो भएन। विद्यार्थी राजनीतिले शिक्षा विकृत पारेर केही सुधार होला भन्नेमा पनि संशय भएपछि सुर्खेत छोड्ने निधो गरियो र अर्को वर्ष काठमाडौंमै पढ्ने हिसाबले तयारी गर्न थालियो।
सोही दौरानमा कानुन नै पढ्ने उनीसँग पनि नजिक हुँदै थिए। कुरैकुरामा नजिक भइने रहेछ भन्नेमा मलाई थाहा थिएन।
सायद टिनएजमा यस्तै होला। केटीसँग म कहिल्यै राम्रोसँग नजिक नभएको र झ्याप्प बोल्न लाज लाग्ने मलाई भेट्ने निधो भएपछि एक्कासि डर लागेर पो आयो।
अरूको माया प्रेम देखेर हाँस्ने म आफू नै प्राक्टिकल रूपले आबद्ध हुनुपर्दा भेट्नै नजाम जस्तो भयो तर नभेटुन्जेल पनि उसको फोटो हेर्दै मन्दिरमा मलाई यहीँ चाहिन्छ भन्दै माग्न थालिने पो रहेछ।
हाम्रो पहिलो भेट २०७५ चैततिर भयो सायद उसको फोटो हेर्दै यस्तो केटी मजस्तो मान्छे हेर्ली र? भन्ने लागिरहेको थियो। बुटवलको चैराहाको सिनेमा हलमा फिल्म हेर्ने भन्दै हामी भेट्ने निधो गर्यौं।
उसलाई देख्दै पसिना पो आउन थाल्यो तर फिल्ममा मेरो ध्यान भने फिल्ममै गयो। अरू पनि गर्छन् भनेर पो पछि थाहा पाइयो।
दोस्रोपटक उसलाई म मणिग्राममा लिन गए कुरा भयो। तेस्रोपटक भेट्दा किताब पढ्न दिएँ। त्यसैगरी भेट पनि भयो टाठाे पनि उनी थिइन् नै तर पछि व्यवहारमा परिवर्तन आउँदै गयो। बोलचाल केही महिनामै निकै पातलियो र हाम्रो प्रेम कहानी त्यसरी नै समाप्त भयो सायद उसको मन मरेको थियो होला।
हाम्रो माया नेपाल सरकारको आयुजस्तै भयो ९ महिनामै समाप्त।
उनले मलाई विभिन्न आक्षेप लगाएर नबोल्ने निधो गरिन् म भने यता त्यसै सोचमग्न भएँ। एउटा सपना समाप्त भएको थियो। ममै कमजोरी होला भनेर पछि चित्त बुझाएँ।
मेरो जीवनबाट यो अवधि एक सङ्क्रमणकालजस्तै भयो। एक वर्ष अध्ययनको लागि खेर गएको थियो त्यसमाथि प्रेसर थपिने क्रम जारी भयो। साथ दिने निकै कम थिए म ढग्मगाएन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेसनल ल कलेजमा नाम निस्कियो।
नाम निस्किएपछि नयाँ साथीहरू पाएँ। काठमाडौंमा सतहत्तर जिल्लाकै मान्छे अझ मेरो कक्षामा त ३५ जनामध्ये ७ प्रदेशबाट नै प्रतिनिधित्व छ। एक वर्षपछि ०७७ मा उनको पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै क्याम्पसमा नाम निस्कियो।
केही यादहरू भुलाउन नसकिने रहेछ। धेरैपछिसम्म त्यसले दु:ख नै दियो तर उसको पनि सच्चाइ थाहा पाइसकेपछि भने म होइन ऊ नै मेरो लायकको रहिनछिन् भन्नेमा विश्वस्त भएँ।
आफैंलाई नै भनें, ‘डन्ट बि वरी यु डिजर्भ बेटर’। जीवन अनुभव नै अनुभवको संगालो हो। सानो कुरामा चित्त दुखाएर बस्नु व्यर्थ हो।