एक जना आफन्तसँग धेरैपछि भेट भयो। बिहे गरेको दश वर्षसम्म पनि उहाँ आमा बन्न सक्नु भएको छैन।
‘कुन चाहिँ विवाहित महिलालाई आमा बन्ने, काखमा छोराछोरी खेलाउने रहर हुँदैन होला र? त्यो रहर ममा पनि थियो, अझै पनि केही हदसम्म त्यो रहर जीवितै छ, पूर्णरूपमा मृत भइसकेको छैन। तर मैले मात्रै चाहेर सबथोक पूरा हुने त रहेनछ नि? मेरो लेखान्तमै यही लेखिएको छ कि? सबैको कोख कहाँ भरिने रहेछ र?’ कुरैकुरामा उहाँले सुनाउनु भएको थियो।
धामी झाँक्री, अस्पताल, मठमन्दिर कहीँ बाँकी छैन जहाँ म नपुगेको होस् तर पनि मेरो पुकारा सुनुवाइ भएको छैन आजसम्म।
मजस्ता पात्रहरू समाजमा खोज्दै गएँ, सयौं होइन हजारौंको संख्यामा भेटाएँ। आखिर यो समस्या भोग्ने एक्ली नारी त रहेनछु नि म। श्रीमान श्रीमती नै कतिपटक अस्पताल पुगेर जाँच गर्यौं, दुवैको स्वास्थ्यमा खराबी देखिँदैन। बिहेको चार पाँच वर्षसम्म त घरमा पनि मानसिक तनाव अलि बढी भोगें भन्दा पनि हुन्छ।
जो आफन्त आए पनि कुरा सुरू गरिहाल्थे, ‘ए! बुहारी नानी आजसम्म जायजन्म भएको छैन? कति वर्ष भो रे साँच्चि बिहे भा’को? सँगै बिहे भएका साथीहरूका छोराछोरी नर्सरी पढ्ने भइसके।’
कोही मैले नसुन्ने गरी सासूको कानमा खुसुक्क सुनाउँथे, ‘के हो बुहारीको समस्या? अर्को ब्या गर्दे हुन्न छोराको? यही बुहारी कुरेर बस बुढीमाऊ…, छोराको वंश कसले धान्छ?’
यस्ता कुरा सुन्दा मन ऐंठन हुन्थ्यो, तर पनि केही भन्न सक्दिनथें। कुरा सुनिसुनी पनि हँसिलो चेहरा बनाउँदै चिया लगेर पाहुना भएको ठाउँमा जान्थेँ।
उनीहरू पुलुक्क मतिर हेर्थें, ‘साँच्चि तिम्रो बिहे भाको त्यो सम्झनाको बिहे भएकै साल हैन त बुहारी नानी?
म अँ होला भन्थें, उनीहरू कसरी मलाई पीडा दिऊँ भन्ने मनसायले नै बोलेको भन्ने भेऊ पाइहाल्थें, अनि कुरा सुरू गर्थे, सुन्नु न दिज्यू, त्यो सम्झनाको छोरी तीन वर्षको भइसकी,
अहिले स्कुल जान्छे, चकचक गरेर हैरान पार्छे भन्या…।
केटाकेटी भएको घर अर्कै रमाइलो हुने क्या…
बच्चाबच्ची नभएको घर त मुर्दाघर नै हो जस्तो लाग्छ…
मैले बनाएको चियाको चुस्की लिँदै मैमाथि छेडखानी गर्थे, त्यो पनि एकपटक होइन बारबार।
घरको काम सकाउँथें, अफिस जान्थें, धन्न दिनभरी घरमा बसेर यस्ता कुरा सुन्न पर्दैनथ्यो नत्र त म पागल हुन्थेँ होला।
बिदाको दिन, बिहान बेलुकाको समयमा कोही न कोही आएकै हुन्थे, केही न केही तिखा वाणीहरू सुनाइरहेकै हुन्थे। म अमिलो मन लाएर सुनिरहन्थें।
आफन्तको, छोरीहरूको कुरा सुनेर मेरी सासूको मन नभाँडिएको होइन। अरूले चाहेको पूरा भएको भए अहिले ममाथि सौता ल्याइसकेका हुन्थे होला तर आजको दिनसम्म त्यो दृष्य देख्न भोग्न परेको छैन।
ठूली आमाजूले सासूआमालाई धेरै नै भड्काएकी हुन्। अरूले भनेको त सुनेकी थिएँ, तर आफ्नै आमाजूले यो हदसम्म गर्लिन् भन्ने लागेको थिएन। सधैं आमालाई उचाल्ने, भाइलाई अर्की ब्या गर भनिरहने। ससुरा बाले केही भन्नुभएको थिएन, केही नराम्रो सोच्यो भने पनि पाप लाग्छ। ससुरा बा धेरै माया गर्नुहुन्थ्यो, पोहोर साल बित्नुभयो तर सासूआमा र ठूली आमाजूले सकेको गरे।’
उहाँले थप गुनासो पोख्न थाल्नुभयो।
‘के गर्नु छोरीको भाग्य नै यस्तै? नजन्मँदासम्म के जन्मन्छ भन्ने पिर। छोरीको रूपमा जन्मेपछि ए… छोरी पो जन्मी? अर्को पिर। एउटा छोरा त जसरी पनि चाहिन्छ भन्दै छोरीको लस्कर लाउने मानसिकता। छोरी अलि हुर्केपछि बिहेको चिन्ता, बेलैमा छोरीलाई पराइको घरमा अन्माउन पाए बाआमालाई पनि ढुक्क, बिहे गरेर पठायो बच्चाबच्ची जन्मेनन् भन्ने पिर। होइन यो पिरको आगोले पनि मजस्ता महिलालाई मात्रै रापमा सेकिरहने हो कि के होला?
आखिर समस्या त मेरो श्रीमानमा पनि केही छैन, मेरो शरीरमा पनि केही छैन। हामी दुबै बराबर भागिदार छौं भने पीडा मैले मात्रै किन भोग्नुपर्छ?
मेरा बाआमाले मलाई अर्को ज्वाइँ खोज भनेर आजसम्म भनेका छैनन्। मेरी आमाजू र सासूलाई अर्की बुहारी भित्र्याउन कति हतार! अहिले पनि हामी डाक्टरको नियमित फलोअपमै छौं, आशा मारेका छैनौं। भाग्यमै रहेनछ भने टाउकौ फोडे पनि केही हुँदैन नि होइन र?
साह्रै पीडा भएपछि एकदिन श्रीमानलाई सोधें, ‘यदि समस्या ममा छ, मेरो कारणले तपाईं पिता बन्न सक्नु भएको होइन भने मलाई कुनै गुनासो छैन अर्को बिहे गर्नुस्। अरूको त त्यस्तै हो कम्तीमा आमा र ठूली दिदीको मन त शान्त हुन्छ। एउटा जिन्दगी म जसरी पनि बिताउँछु। श्रीमानलाई यति कुरा भन्दा हजार पटकभन्दा बढी आँसु झारेकी छु, किनकि आफैंले मन पराएर, पाँच वर्षसम्म प्रेममा रहेर रोजेर बिहे गरेको मान्छेलाई कुन चाहिँ महिलाले यस्तो शब्द भन्न सक्लान् भन्नुस त? तै पनि मैले मुटु गाँठो पारेर भनें।
मेरो कुराले श्रीमान निकै दुखी हुनुभयो। मेरो आँसु पुछिदिँदै सम्झाउन थाल्नुभयो, हाम्री आमाका तीन वटी छोरी, दुइटा छोरा छन् तर पनि उहाँ कुनै दिन खुसी भएको, सन्तुष्ट भएको देखेको छैन। मेरो आमाजस्ता हजारौँ आमाहरू होलान सबैथोक भएर पनि बेखुसी हुने। हामीसँग उच्च शिक्षा छ, रोजगारी छ, दुबै जना सचेत छौं। सन्तान त नभएको हो नि अरू त हामीसँग सबथोक छ, सन्तान नभएर पनि हामी खुसी छौं त। मैले तिमीलाई हिजो दिएको माया आजको दिनमा कमी गरेको छैन। तिम्रो व्यवहारमा पनि फरकपन देखेको छैन। जब हामीमा समस्या छैन, हामी अरूको सामु खुसी भएर हिँड्न सक्छौँ भने अरूको समस्याको भागीदार किन हुने?
आमा, दिदी र उहाँहरू जस्ता कमजोर मानसिकता भएका व्यक्तिको साझा समस्या हो।
विश्वमा लाखौं मान्छेहरू हामीजस्ता छन् र उनीहरू हामीभन्दा पनि खुसी छन्। करोडौं मान्छेहरू सन्तान भएका होलान् तर के उनीहरू सबै हामी जतिकै खुसी छन्?
श्रीमानको यो बोलीले मलाई औषधिको काम गर्यो। आज पनि मेरा श्रीमानले हिजो जत्तिकै मायाा गर्ने रहेछन भन्ने विश्वास भयो। बिहेको पाँच वर्षसम्म सगोलमै थियौं, अफिस सरूवा भए पनि घरबाटै आऊजाऊ गर्ने दूरीमा हुन्थ्यो, खासै समस्या थिएन।
अर्को वर्ष मेरो घरभन्दा टाढा सरूवा भयो, श्रीमानले पनि उतै मिलाउनु भयो। घरमा कान्छो देवर, देउरानी छाडेर हामी अफिसले खटाएको ठाउँमा हाजिर हुन गयौं।
मेरी देउरानी आमा बन्नेवाला थिइन्। मेरो अफिसले बाहिर खटाएको कारणले मैले घर छाडेकी थिएँ, बिदा भएको बेलामा आऊजाऊ गरिरहन्थें, परदेशिएको पक्कै पनि थिइनँ।
टोल, छिमेकमा हल्ला फिजाइएछ, आफू आमा हुन त सकिन, देउरानी आमा बन्न लागेको देख्न, सहन नसकेर जानीजानी घर बाहिर गएकी हो भनेर। यसखाले टिप्पणीको जवाफ म कसरी दिऊँ? मेरो अफिसको हाकिमलाई त कम्तीमा मेरी देउरानी आमा बन्दै छिन् भन्ने खबर कोहीमार्फत् पुगेको थिएन होला नि? नियम अनुसार दुई वर्षमा हुने सरूवा भएको थियो।
म बाहिर सरूवा भएको तीन महिनापछि देउरानी जुम्ल्याहा बच्चाको आमा बनिन्। खबर थाहा पाएदेखि नै कतिबेला घर जाऊँ भन्ने भएको थियो, दुई दिन बिदा परेको मौका पारेर सुत्केरीलाई, बच्चालाई आफूसक्दो कोशेली लिएर घर आएँ। घर पस्नासाथ सासूआमाले देउरानीसँग कानेखुसी गरेको देखेँ। घरका नयाँ पाहुनालाई कतिबेला उचालौं भएको थियो, हात धोएर बच्चा समाउन पुगें। सासूले वरैबाट हपार्नुभयो, कहाँ एक्कासी कलिला बच्चा भएको ठाउँमा पुगेको तिमी?आगो छोयौ? पानी छोयौ? फेरि बच्चाको सातो जान्छ, बच्चा तर्सिन्छन्। यस्तै चार पाँचवटा शर्तहरू तेर्सिए।
यति कुरा त मलाई पनि थाहा थियो, म पनि चार वटा भाइबहिनी हुर्काएकै दिदी हुँ, मनमनै भनेँ।
देउरानीले सासूलाई भनिन्, ‘दिदीले आगो छोएरै आउनु भएको हो आमा। आफ्नो ठूली आमाले छुँदा पनि केही हुन्छ र? बाहिरको मान्छे भए पनि केही भन्नु।
देउरानीले यति भनेपछि सासूआमाले केही भन्नु भएन। पालैपालो दुवै छोराहरू उचाले, उनीहरूको मुख हेरेँ। देउरानीलाई ल्याइदिएका सामान दिएँ। साना छोरालाई ल्याइदिएका नयाँ लुगा लगाइदिएँ।
एक जनाको आफन्त आएका थिए सुत्केरी भेट्न राम्रोसँग चिनिनँ तर कुरा सुनेँ। आफू आमा बन्न नसक्नेले पनि बच्चालाई कति राम्रोसँग स्याहार गरेको हेर त। एकपटक च्याँ पनि गरेका छैनन् दुइटै बच्चा।
आजकाल त मलाई यस्ता कुरा सुन्दा सुन्दा बानी परिसक्यो, एक किसिमले भन्ने हो भने मेरा कान थाकिसके।
सुनेको कुरा पनि याद गर्न बिर्सिसके। अब त मेरो मानसपटलबाट कुनै प्रतिक्रिया पनि आउन छाड्यो।
बस जसले जे भने पनि सुनिरहन्छु। दुई दिनको बिदा सकाएर फेरि कर्मथलोमा फर्कें।
श्रीमानलाई केही पनि भनिनँ। मेरो दश वर्ष पुग्दा नन्दको आठ वर्ष पुग्यो बिहे भएको यतिन्जेलसम्म उनका पनि बच्चाबच्ची भएनन्। हिजो मलाई नानाथरी भन्ने सासूआमा आफ्नी कान्छी छोरीलाई मुख फोरेर भन्न सक्नुहुन्नथ्यो। भाइलाई भदा चाहिएर अर्की ब्या गर भन्ने आमाजूले आफ्ना ज्वाइँ राजालाई बहिनीको कोखबाट जायजन्म भएन अब अर्की ब्या गर्नुस् भन्न सकेकी थिइनन्।
समय बलवान रहेछ, समयले धेरै कुरा सिकायो। जब उनीहरूकै बहिनी, उनीहरूकै छोरी म जस्तै भइन् त्यसपछि म माथिको अत्याचार कम हुन थाल्यो सनैसनै। नन्द आमाजू जतिकी थिइनन्, सबै कुरा सुनाउँथिन्, भाउजू म त बच्चा एडप्ट गरेर ल्याउने योजनामा छु, कुनै न कुनै विकल्प भइहाल्छ नि तपाईंको के सोच छ? यस्तै कुरा बेलाबेलामा गरिरहन्थिन्। म केही भन्दिनथें।
म बेलाबेलामा वृद्धाश्रममा जान्थेँ, सबै जना बाआमा छोराछोरी भएकै देखिन्थे। ती बाआमालाई अरू कोही कसैले त्यहाँ पुराएको थिएन, आफ्नै छोराछोरीले पुराएका थिए। त्यो दिन देख्नको लागि किन सन्तान जन्माउन पर्यो र? सन्तान हुनेहरू पनि सुखले बसेका छैनन्, चैनले जिएका पक्कै छैनन् अनेकन समस्यासँग पौंठेजोरी खेलिनै रहेछन्।
सन्तान नहुनेलाई एकै शोक, सन्तान हुनेलाई हजार शोक भन्ने थाहा नभएको होइन क्यारे। यस्ता कुरा सोचेर मन शान्त पार्थें।
आमा नबनेका कारण हिंसामा परेका धेरै महिलाहरू नजिकबाट देखेकी छु, परिवारले दमन गरेको, श्रीमानले हिंसा गर्ने, सौता भित्राउने, घरबाटै निकाल्ने सम्मका हर्कत देख्दा मन अमिलो हुन्छ। मेरो हकमा अरूले जे भने पनि श्रीमानको पूरा सर्पोट छ। भन्नेहरूले भगवानलाई त दोष लगाउन छोड्दैनन्, हामी को हौं र? कुरा काट्नेहरूको पछि लागेर, उनीहरूलाई स्पष्टीकरण दिएर साध्य हुन्छ र?श्रीमानको सधैं यही आश्वासन पाइरहेँ।
अफिस बिदा भएको भएको बेलामा बुढाबुढी घुम्न जान्छौं, जन्मदिनमा, एनिभर्सरीमा अनाथालयमा, वृद्धाश्रममा गएर भोजन गराउँछौं, सामाजिक कार्यमा हामी दुवै जना सक्रिय छौं।
कान्छी नन्द आमा नबनेपछि सासूको र ठूली आमाजूको मुख बन्द भएको छ।
आखिर समस्या त उनीहरूका सन्तानमा पनि हुने रहेछ नि? मनमनै सोच्छु।
मेरो बच्चा भएन भनेर मेरी आमालाई समेत सरापेको कति पटक सुनेकी छु।
निसन्तान भएर पनि म खुसी छु, मेरो श्रीमान खुसी हुनुहुन्छ तर अचम्मको कुरा दुनियाँ बेखुसी छ, बेखुसी मात्रै कहाँ हो र हाम्रो चिन्ताले दीर्घ रोगी नै बनिसकेको छ दुनियाँ। हाम्रो खुसीमा खुसी हुन नसके पनि कम्तीमा जलन त नभए हुन्थ्यो नि!