म आफू थारू समुदायको व्यक्ति भएको नाताले जहिले पनि भाग्यमानी ठान्छु। किनभने थारू संस्कृतिमा धेरै धनी समुदाय हो। त्यस्तै नेपालको एक महत्वपूर्ण आदिवासी र नेपालको चौथो धेरै जनसंख्या भएको समुदाय पनि हो।
चितवन जिल्लामा मलेरिया उन्मूलन हुनुभन्दा पहिले अर्थात सन् १९५२ भन्दा पहिला ९० प्रतिशत जनसंख्या थारूहरूको थियो। बाँकी १० प्रतिशत जनसंख्या बोटे, मुसहर, कुमाल, दराईहरूको थियो।
नेपालसहित संसारका धेरै अनुसन्धानकर्ताका लेखहरूमा थारूहरू मलेरिया जस्तो डरलाग्दो रोग पचाएर आफ्नो आदिम कालदेखिको भूमिमा बसोबास गरेको हामी पढ्न पाउँछौं।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुभन्दा पहिला धेरै थारू बस्तीहरू हालको राष्ट्रिय निकुञ्जभित्र थिए। राष्ट्रिय निकुञ्ज बन्नुभन्दा पहिले चितवनका आदिवासीहरूलाई जंगलमा तरकारी टिप्न र खोलामा माछा मार्न र घोंघी टिप्न छुट थियो। अर्थात थाहरूहरूले आफूलाई चाहिने तरकारी लगायत खानेकुरा सबै जंगलबाट नै पूर्ति गर्थे।
थारूहरूको परम्परागत खानाहरूमा हाम्रो शरीरलाई चाहिने क्याल्सियम, भिटामिनहरू धेरै मात्रामा पाइन्थ्यो। जस्तै घोंघी खाँदा क्याल्सियम र गर्मीको समयमा बेलको जुस बनाएर खाने चलन थियो। तर आजकल शरीरमा क्यल्सियम कमी हुँदा हामी थारूहरूलाई औषधि पसलमा गएर क्याल्सियमको चक्की किनुपर्ने हुन्छ। किनकि खोलामा थारूहरूलाई माछा र घोंघी मार्न राष्ट्रिय निकुञ्जले बन्देज लगाएको छ।
अमेरिकी सरकारको सहयोगमा युएसएड र डब्लुएचओको आर्थिक सहयोगमा सन् १९५४ देखि १९६२ मा नेपालमा पहिलोपटक चितवन जिल्लामा मलेरिया उन्मूलन कार्यक्रम सञ्चालन गरियो। यसमार्फत मलेरिया उन्मूलन नै भयो। त्यसपश्चात पहाडबाट चितवन जिल्लामा अत्यधिक बसाइँसराइ हुन थाल्यो। हाल चितवनमा थारू आदिवासीहरू ६ देखि ८ प्रतिशतमा संकुचित भई सीमान्तकृत जनसंख्याका रूपमा छन्।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि वन्यजन्तुको संरक्षणको उद्देश्यले निकुञ्जभित्रको बस्तीमा रहेका करिब २५ हजारदेखि ३० हजार जनसंख्या बाहिर निकालियो। तर त्यही निकुञ्ज स्थापनाको जस नेपाल सरकार र केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मात्र राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लिइरहेका छन्। वर्षौंदेखि यहाँको वन, वन्यजन्तु संरक्षण गरिरहेका आदिवासीको योगदान बेवास्ता गरिँदै आएको छ।
निकुञ्ज घुम्न आउने पर्यटक, विशेष गरी मुख्य दुई उद्देश्य लिएर आउने गर्छन्- वन र वन्यजन्तुको अवलोकन गर्न र थारू संस्कृतिको अवलोकन गर्न।
थारूहरू ऐतिहासिक रूपमै आफ्नो विविध संस्कृति, रहनसहन र खानपिनमा धनी छन्। थारूहरूको मुख्य खाना चिचर, घोंघी, माछा आजकल व्यावसायिक रूपमै पनि प्रख्यात छ। थारू सांस्कृतिक संग्रहालयको संस्थापक अध्यक्ष भएकाले पनि मैले थारूहरूको संस्कृति संरक्षण र थारूहरूका माग विभिन्न फोरमहरूमा निरन्तर उठाउँदै आइरहेको छु।
थारूहरूले परम्परादेखि नै मुख्य पेसाको रूपमा कृषि गर्दै आए। हालसम्म पनि ९० देखि ९५ प्रतिशत थारूको पेसा कृषि नै छ। अहिले यो पेसाले नेपालमा आफ्नो जीवन धान्न धेरै मुस्किल भइरहेको छ। अर्कोतिर चितवनको पर्यटन क्षेत्रमा धेरै गैरथारूहरूले थारूको परम्परागत खाना र संस्कृतिको व्यापार गरेर फाइदा लिइरहेको पाइन्छ। गैरथारूहरूले नक्कली थारू गाउँ बनाएर थारू संस्कृति बेचेको पनि हामी पाउँछौं।
नेपालको तेस्रो ठूलो पर्यटकीय क्षेत्र सौराहामा लगभग १५०—१७० वटा साना—ठूला होटल सञ्चालनमा छन्। १०० जति रेस्टुरेन्ट छन्। चितवनको मेघौली, जगतपुर, कसरा क्षेत्रमा महँगा होटल छन्। यी सबैको वेबसाइट र ब्रोसरमा थारू जातिको बारेमा प्रचारप्रसार पाइन्छ। कतिपय होटलको होडिङ बोर्डमा थारूका परम्परागत वेशभूषामा थारू महिलाका फोटा राखेर विज्ञापनसमेत गरेको पाइन्छ।
केही समयअगाडि मैले सौराहाको एक नाम चलेको होटलको मेनु हेर्दा मेनुमा ‘थारू पानकेक’ लेखिएको थियो। मैले थारू पानकेक नै अर्डर गरेर खाएँ। तर अरू होटलमा पाइने र त्यो पानकेकको स्वादमा कुनै भिन्नता थिएन। यो भनेको थारू जाति र परिकारको नाममा गैरथारूहरूले व्यापार गरिरहेका भन्ने एउटा उदाहरण मात्र हो।
त्यस्तै आजकल होटलहरूमा कोठा सजावटदेखि होटलको भित्तामा थारू संस्कृति झल्किने फोटो तथा पोस्टर टाँसेको पाइन्छ। अझ कुनै होटलमा नेपाली तथा विदेशी भिआइपी पाहुना आउँदा थारू महिलाहरूलाई परम्परागत वेशभूषामा स्वागत गर्न लगाइन्छ। चितवनका हरेक महोत्सवका झाँकी र्यालीमा ७०—८० प्रतिशत थारू महिला सहभागी हुने गरेका छन्। तर ती महोत्सवको वास्तविक फाइदा गैरथारूहरूले लिइरहेका हुन्छन्।
अर्कातिर थारूहरूले भने होटल तथा रेस्टुरेन्ट सञ्चालन गरेर निकै कम फाइदा लिएको देखिन्छ। ग्राहकहरूले स्वयं थारूद्वारा सञ्चालित ठाउँमा गएर परिकारको स्वाद लिँदा केही हदसम्म थारू व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्छ।
थारूहरूसँग व्यापार गर्ने आर्थिक र पहुँच अभाव छ। विकसित मुलुकहरूमा आदिवासीहरूको संस्कृति संरक्षण र विकासका लागि सरकारबाट धेरै कानुन बनाएको उदाहरण पाइन्छ। अमेरिकामा कुनै राज्यले आदिवासीको संस्कृति बेचेवापत उही समुदायलाई निश्चित कर तिर्नुपर्छ। ती समुदायबाट अनुमति पनि लिनुपर्छ। सो संस्कृति उनीहरूको सर्वाधिकारमा पर्छ।
गैरथारूहरूले थारू संस्कृति देखाउँदा धेरै गलत सूचना पनि दिइरहेको पाइन्छ।
त्यसैले हाम्रो देशमा पनि जबसम्म सरकारबाट आदिवासीहरूको संस्कृतिको संरक्षणबारे कानुन बनाइँदैन तबसम्म थारूले फाइदा लिनसक्ने देखिँदैन।