'ओहो ! मेरो छोराले त ए प्लस ल्यायो नि!'
'बधाई छ कान्छा तिमीलाई।'
'मेरी छोरीको यति जिपिए आयो, गर्वले छाती फुलेको छ।'
हिजोदेखि आजसम्म नै फेसबुकमा अधिकांश यस्तै देखिएको छ। अब एकपटक आफ्ना सन्तानलाई हेर्नुहोस्। बिहान ५ देखि बेलुका १०-११ बजेसम्म पढाइ-पढाइ केबल पढाइको बोझ गराउनुभएको छ। जीवनको सफलता नै ए प्लस ल्याउनु हो भनेर सिकाउनुभएको छ।
गन्तव्य युरोप, अमेरिका, अस्ट्रेलिया हो भनेर अंग्रेजीमा रटान लगाउनुभएको छ। सन्तानलाई मान्छे हैन पढ्ने मेसिन बनाउनुभएको छ।
अब पढाइको मात्र चिप्स लगाएको रोर्बटले उसको चिप्समा स्टोर भएको चिज लेखेर आयो र ए प्लस ल्यायो वा १०० मा १०० पूर्णांङ्क ल्यायो। त्यसले अब हुन्छ चाहिँ के?
तपाईंको सन्तानमा गर्व गर्नुअघि यी तथ्य जान्नुहोस्।
चीनमा ५ कक्षाको विद्यार्थीले बनाएको क्याल्कुलेटरले तपाईंको १० कक्षाको छोराले प्रयोग गरेर एसइई दिएको र त्यसैको हिसाब लेखेर तपाईंले गर्व गरेको ग्रेड ल्याएको हो।
अमेरिका, युरोप मिलेर बनाइदिएको जिपिए सिस्टम र उसैले तयार गरिदिएको शिक्षा पढाएर उसले उसका लागि आवश्यक भारी बोक्ने कुल्ली, रेस्टुरेन्टका वेटर, सफा गर्ने क्लिनर, उनीहरूका बिरामी स्याहार्ने, घर सफा गरिदिने हाउसमेड उत्पादन गरेको हो। नभए खाडीमा भएका उसैका उद्योगलाई नेपाली काम लाग्ने हो।
तपाईंका सन्तनका जिपिए स्कोर जब विदेश पुग्छ त्यो खोस्टो हो किनकि जति ल्याए पनि , जति पढे पनि त्यसको हैसियत त्यहाँ छैन।
जुन छोरा-छोरीलाई यदि नैतिक शिक्षा, इतिहास र देशको भूगोलमा प्रश्न गर्ने हो भने डिप्लस पनि आउँंदैन उसैले मानिस हैन बिहान ७ देखि बेलुका ११ बजेसम्म प्रयोग हुने कम्प्युटरको रोर्बट बनेर लगाएको चिप्समा स्टोर भएको चिजलाई खररर लेखेर ल्याएको जिपिए हो जसलाई एउटा भात पकाउन र तरकारी बनाउन त छाडौं चिया बनाउन समेत आउँदैन।
समाजलाई उसले चिन्दैन, समाजले उसलाई चिन्दैन। परिवारलाई उसले बुझ्दैन, उसका इच्छा र आकांक्षा परिवारले बुझ्दैन। ऊ एक्लो छ, केवल एक्लो।
उसलाई यो ल्याएको जिपिए नै बोझ बनेको छ, बनेको छैन भने बन्नेछ। भोलि गएर उसले धिक्कार्ने छ। हेर मेरो डिग्री ....के काम जसले मलाई व्यवहारिकता र जीवनमा काम लाग्ने चिज नै सिकाएन।
उसले राइट दाजुभाइले जसरी प्लेन आविष्कार गरेको हैन न त उसले नयाँ टेक्नोलोजी सिकेर कुनै चमत्कार गरेको हो। हरेक व्यक्तिलाई भगवानले दिएको दिमागमा जे भर्यो त्यही ओकलिने हो र भरेको चिज ओकलेर उसले जस्ताको तस्तै लेखिदिएर ल्याएको अंक हो। यो सामान्य हो।
अन्त्यमा,
रमाउनुहोस्। मज्जाले पाइन्छ। तर अंक र स्कोर प्रदर्शन गरिरहँदा यो प्रतिस्पर्धा नबनोस्। धेरै अंक ल्यायो भनेर प्रदर्शन गर्दा अर्को कम ल्याउनेको परिवारमा अर्को त्यही उमेरको बच्चाले पिटाइ र गाली अनि अपमान नखेपोस्।
के थाहा! भोलि भविष्यमा आज कम अंक ल्याउनेको अफिसमा तपाईंको बढी अंक ल्याउने छोरा-छोरी एकाउन्टेट वा हेल्पर पो बसिरहेका हुन्छन कि? अनि ऊ कम अंक ल्याउने चाहिँ कम्पनीको मालिक पो बनिरहेको हुन्छ कि?
प्रतिस्पर्धा बरू नैतिकता, संस्कार र भविष्य सुरक्षित बनाउनेमा गरौं न है। एउटा कागजी खोस्टोको के घमण्ड र गर्व गर्नु?
मलाई गर्व छैन हिजो मैले जे पढें र सिकें। त्यसले मलाई अनावश्यक चिज धेरै र आवश्यक चिज अत्यन्त कम सिकाएछ। बरू त्योभन्दा बढी, आफैं जे खोजें, आफैं जे पढें र जानें त्यो रहेछ असली धन।
सबैको जय होस्।