हो!
ठिक सुन्नुभयो। बिल्कुलै ठिक। म 'ए प्लस' ल्याएर फेल भएको विद्यार्थी हुँ।
मेरो समाजमा 'ए प्लस', 'बि प्लस', 'सि प्लस', 'डि प्लस'का ठूल्ठूला लक्ष्मण रेखा छन्।
मलाई यो समाज, परिवार र विद्यालयदेखि डरलाग्छ। यदि मेरो ग्रेड 'ए प्लस' भन्दा कम आयो भने, मलाई मेरो छिमेकी, साथीहरूले कस्तो यार केही जान्दैन यो त भन्नुहुन्छ।
मलाई मेरो परिवारले 'हामीले यत्रो सुविधा देको छौं तँलाई। ट्युसन हाल्देको छौं, कोचिङ क्लास छ पुगेन भने अलि लामो समय पढ् ट्युसन म पैसा तिरिदिन्छु तर हाम्रो परिवारको नाक चाहिँ राख्नुपर्छ' भन्नुहुन्छ।
मेरो परिवारले पनि मलाई एकदमै सत्य कुरा भन्नुभएको छ।
जब मेरो ए प्लस ग्रेड आउँछ मेरो समाजले पनि यसको छोरो त पढाइमा हिरो छ भनेर बुवालाई भनिदिन्छन् तर मैले अहिलेसम्म पनि बुझेको छैन खास त्यो 'हिरो' कस्तो हो भनेर!
मेरो तपाईंहरू सबै जनालाई प्रश्न छ- हाम्रो समाजले बनाइदिएका 'ए प्लस हिरोहरू'ले के भोलि हाम्रो समाजकै तिनै मान्छेका समस्या समाधान गर्न सक्लान् त?
हाम्रो समाज, वातावरण, हावापानी, अर्थ व्यवस्थालाई चाहिने जसले मेरो ओखलढुंगामा बस्नुभएकी हजुरआमाको घाउमा मलम लगाउन सकोस्!
जुम्लाको स्याउ, फर्पिङको नासपाती र भोजपुरको खुकुरीको शक्ति चिनेर विश्व बजारमा स्थापित गर्न सक्ला त!
मेरो दाइ नेपालमा काम नपाएर घरकी सानी छोरी पढाउन नसकेर मुटु निचोर्दै विदेशिएको कुरा बुझ्ला त !
यो सबै प्रश्न तपाईंहरूलाई नै छोड्दै छु।
मैले समाज र परिवारको कुरा त गरें। अब पालो आयो विद्यालयको !
मेरो समाजमा दुई प्रकारका विद्यालय छन्, सरकारी र प्राइभेट।
हाम्रो शिक्षा अहिले या त प्राइभेटको कुरा गर्दा व्यापारीकरणको पासोमा छ वा सरकारी यथास्थितिवादको पासोमा।
अब भन्नुस् कुन राम्रो हो?
खै म चाहिँ कुनलाई राम्रो भन्नु आफैं दुविधामा छु त्यसैले त यो लेख्दै छु।
अहिले यो कुरा छोडौं। अब जाऊँ मेरो ग्रेडको विषयमा!
जब मेरो ए प्लस ग्रेड आउँछ विद्यालयमा सबैले वाह ! वाह ! गर्नुहुन्छ। पत्रिकामा छापिन्छ, फोटो टासिन्छ कलेजको भित्तामा।
'कति ट्यालेन्ट छौ तिमी' भन्नुहुन्छ।
के रियल ट्यालेन्ट भनेकै एक्जाममा राम्रो ग्रेड ल्याउनु हो त?
मलाई एउटा कुराको एकदमै डर लाग्छ। के कुरा थाहा छ?
के अबको दस वर्षपछि म त्यही भित्ताको फोटो हेर्न जाँदा कतै त्यो फोटोले मलाई देखेर खित्का छोडी छोडी हाँस्ने त हैन?
हाँस्ने यो अर्थमा कि पढाइको 'हिरो'को अर्थ र परिभाषा बुझाउन।
आज मजस्ता धेरै आवाजविहीन भएर बसेका छन् किनकि हाम्रो यो कुरा कसले सुनिदिन्छ?
कोही छैन!
'तँ तेरो जिन्दगीमा के चाहन्छस्' भनेर कसैले मात्र एकपटक सोधिदिएको भए त हुन्थ्यो नि तर कोही छैन सोध्ने, कोही छैन। म त यसरी कसैले सोधेको भए मज्जाले उसको काखमा डाँको छोडेर रोइदिन्थें।
अब मलाई भन्नुहोस् के म जस्ता धेरै हामीहरूलाई यो कुराको समाधान रूनु मात्र हो त?
(अर्काइभबाट- हामीले यो लेख २०७८ मा प्रकाशित गरेका थियौं)