'हजुरले के सोचिसेको? के बाबाजस्तो बन्न सक्दिनँ र म?' मेरो छोरोले मलाई बारम्बार गर्ने धेरै प्रश्नमध्ये साह्रै मनपर्ने र मन छुने प्रश्न।
'अवश्य सक्छौ तर तिम्रो यो इख तिम्रो काममा देखिनु पर्यो नि!' भन्ने जवाफ दिन्छु म पनि।
छोरो रिसले आँखा रातो रातो पार्दै 'मलाई हजुरले निरूत्साहित गरिसेको, म के छु, कस्तो छु पछि थाहा हुन्छ हजुरलाई। म बाबालाई जितेरै देखाइदिन्छु अनि हजुर हारिसिन्छ र त्यो हारेको अनुहार हेर्न मन छ मलाई।'
म जस्ती जो कोही आमा आफ्ना छोराछोरीबाट हार्न चाहन्छन् होला र उनीहरूबाट यस्ता चुनौतीहरू पनि लिन चाहन्छन् होला।
एउटी आमालाई आफ्नो श्रीमानको प्रगति देख्दा जति गर्व महसुस हुन्छ पक्कै पनि त्योभन्दा कयौं गुणा आफ्ना सन्तानका प्रगति देख्दा होला।
मलाई लाग्छ मानिस यो संसारमा कोहीसँग पनि हार्न चाहँदैन तर आफ्ना सन्तानले जहिले पनि उसलाई हराओस् नै भन्ने चाहना राख्छ।
मेरो छोरालाई के थाहा, उसले आफ्नो बाउलाई जितेको दिन उसकी आमाले संसार जित्छे भनेर।
मेरो सानो छोरोको त्यति क्षमता सायद छैन कि उसले यो कुरा बुझोस्। बुझ्नका लागि ऊ परिपक्क हुनुभन्दा पनि पहिला आफ्ना सन्तानका बाउ बन्न जरूरी छ।
म फेरि मेरो बाल्यकालमा फर्कन्छु।
अहिले छोराछोरीका अगाडि जति सुकै आदर्श पल्टे पनि के गर्नु? कम त थिइनँ त्यो बेला म पनि। मेरो प्रगति त ममी सबभन्दा पहिला हजुरलाई नै देखाउनु छ भनेको अहिलेजस्तो लाग्छ मलाई।
त्यो बेला मेरी आमाको मन्द मुस्कानको रहस्य बल्ल आज थाहा पाउँदै छु म पनि।
सायद आफ्नो कर्मको फल यही जन्ममा भोग्नुपर्छ भनेझैं आज भोग्दैछु होला म पनि।
मेरी आमाका आज सबै कुरा याद त छैनन् मलाई तर 'पख न छोराछोरी पाएपछि थाहा पाउलिस् छोराछोरीको माया' भनेको चाहिँ कन्ठै छ मलाई।
यसैगरी थाहा पाउलान् पछि मेरा छोराछोरीहरूले पनि। मैले मेरी आमासँग लडेको जंग दुरूस्तै आज आफ्नै छोराछोरीसँग लड्दै छु। सायद पृथ्वी गोलो भएरै होला सबैको पालो आको।
आज मेरो चित्त, छोरोले दुई चार वटा कुरा सुनायो भनेर दुखेको पटक्कै होइन, डर त मलाई छोरोको हो कतै म घृणाको पात्र त बन्दिनँ भन्ने हो। तर पनि ठिकै छ आज मेरै इख लिएर छोरोले मेहनत गर्छ भने म उसको घृणाको पात्र बन्न पनि तयार छु किनकि जसरी आज मैले मेरी आमालाई बुझेकी छु सायद त्यसैगरी बुझ्ला नि भोलि मेरो छोरोले पनि।
गाह्रो काम रैछ आमा बाउ भएर कर्तव्य पूरा गर्न चाहे यो बेलाका अभिभावकलाई होस् या हामीभन्दा अगाडिकालाई।
छोराछोरी हुन् त्यो पनि २१ औं शताब्दीका डिजिटल बच्चाहरू, जिद्दी त भै हाल्छन् नि!
यही युगमा न यता न उता पेन्डुलम भई झुन्डिएका हामी आमाबाउहरूलाई पनि कहाँ सजिलो छ र! चारतिरको तनाव।
कहिलेकाहीँ त धैर्यताको बाँध नै फुट्छ मेरो पनि अनि तथानाम बक्दै बर्सिन पुग्छु बच्चाहरूमाथि। तीमाथि कहिलेकाहीँ त अति भएर हातै पो हाल्न भ्याउँछु त।
यता बढेका बच्चाहरूलाई हात त हालिन्छ उता रातभर मन दुखेर सुत्न नसक्ने फेरि आफैं हुइन्छ। यत्तिकैमा कहाँ कुरा सकिन्छ र फेरि भोलिपल्ट बच्चाहरूलाई खुसी बनाउन कम पापड बेल्नु पर्छ र ! बच्चाहरूले पाका, कटपुतलीलाई झैं नचाएर छाड्छन्।
गालामा प्याट मात्र के पारेकी हुन्छु, फेरि तिनै बच्चालाई सम्झाउन खोइ कहाँबाट आको त्यत्रो बल, लामा लामा प्रवचन र तीन चार घण्टा उभिएर भन्न सक्ने त्यत्रो इस्टामिना मलाई पनि? बच्चा डिप्रेसनमा पो जाने हुन् कि! नराम्रो कदम उठाउने पो हुन् कि भन्ने डरले रातभर चौकीदारी गर्नु पर्दा मेरो चाहिँ मेन्टल हेल्थमा पर्न जाने असर कसले बुझ्ने फेरि।
बरू यत्रो परिश्रम गर्नुभन्दा त आफूमा हरसमय नै धैर्यता गरेर बस्नु ठिक, हैन र?
अब त मेरा छोराछोरीले कुन अवस्थामा म कस्तो डायलग बोल्छु आफैंले दुरूस्तै बोलिदिन्छन्। सबै कण्ठ छ उनीहरूलाई।
मेरा पालामा आमाबुवाले गाली गर्दा भन्ने गरेका सबै शब्दहरू क्रमबद्ध रूपमा याद हुन्थे मलाई पनि।
सयाद मेरै बिँडो थामेका होलान् आज मेराले पनि।
आमा हो, के गर्नु, कहिलेकाहीँ रिसको झोंकमा अपशब्द मुखबाट फुत्की पो हाल्छ! अनि पर्छ फसाद फेरि, न शब्द फिर्ता माग्नु, न क्षमा माग्नु, यतिकैमा उता छोराछोरी सुरू भैसकेका हुन्छन 'आमाले रिसको बेला दिएको सराप र शत्रूले खुसीमा दिएको आशिष कहिल्यै लाग्दैन' भनिस्यो न मामु हजुरको लोकप्रिय भनाइ भन्दै ताली पड्काउन पो थाल्छन्।
अनि यस्तो अवस्थामा पुगेकी म न हाँस्नु, न रूँनु, न कुट्नु नै।
अति नै गाह्रो छ मलाई तर पनि आमा हो कहाँ हार खान्छु र म पनि। अन्तिममा केही सीप नलागेपछि यसो बाउलाई भन्न लगाउनु परो, मानि पो हाल्छन कि भनेर कुरो लगायो, पछि बाउले ठूलो स्वरले बोलेको सुन्न नसक्ने, फेरि आफैं कुदेर कुरो सपार्न गयो त्यसपछि त दुवै तिरका डरलाग्दा नजरका डसाइ, केमोको रेडिएसनभन्दा कम होला त मेरा लागि?
कसरत अलि पुगेको थिएन क्यार पहिला मेरो, अब त छोराछोरी त्यसमाथि बाउ दुबैको तनाव मेरै थाप्लामाथि। कठैबरा कहाँ भगवान कृष्ण र यशोदाको जस्तो रमाइलो हुँदो रछ र यति बेलाका छोराछोरी र आमाहरूका लिला।
ठिकै छ, रमाइलो छ जिन्दगी। आमा बाउ बन्नु पनि कम सौभाग्य हो र हाम्रा लागि। सायद भगवानले जिन्दगीलाई भुलाउन दिएका सबै अभिनयमध्ये उत्कृष्ट होला हामी अभिभावकका लागि।
हाम्रा आमाबुवाले दिएकै संस्कार दिँदैछौं हाम्रालाई पनि र पूर्ण रूपमा आशा छ असल नागरिक बन्ने छन् हाम्रा पनि।
हारिँदैन, चुकिँदैन राम्रो संस्कार दिनलाई, भोलि निरन्तरता देलान् नि यही परम्परा यिनीहरूले आफ्ना सन्तानहरूलाई पनि।।