गत असार ८ गतेको कुरा। चितवनको गोन्द्राङबाट पुलचोक ओर्लियौं। म्याजिकमा थियौं हामी, यातायातको स्थानीय साधन। म्याजिक रोक्न पाएकै थिएन, लौन! हामीलाई त स्वागत गर्न पो आइपुगे छाता ओढेर दुई जना भाइहरू।
भाइहरूका लुगा पसिनाले लुछुप्प भिजेका थिए तर पनि मुहारभरि जीवन्त ऊर्जा फैल्याएर उज्यालिएका थिए।
मेरो हातबाट फुत्त ब्याग थुतेर बढो आत्मीयतापूर्ण आतिथ्य पो दर्शाए त बा!
चितवनको त्यो उखरमाउलो गर्मी र प्रचण्ड घामको पर्वाह नगरी गाडीमा हामीलाई बसालेर उनीहरू अझ कराउँदै थिए - 'काठमाडौं! काठमाडौं !! काठमाडौं !!'
पुलुक्क घडीमा हेरें। २:३० बजेको रहेछ।
जम्मा तीन जना यात्रु छौं। कति खेर गाडी भरिने हो त? आज काठमाडौं कति बेला पुगिएला भन्ने चिन्ताले चिथोर्दै थियो।
अझ विकराल बन्दै गयो रोकिएको हायसभित्र बस्नु पर्दाको पीडा। घाममा राखेको तावामै अण्डा पाकेको दृश्य टिकटक हेरेको थिएँ। म त स्याकुत्त भएँ।
'ए बाबै! लौन अब हामीले पनि तन्दुरी हुनु पर्ने हो कि क्या हो यो रापमा?'
पसिनाको धारो अविराम बग्दो छ। तातोले शरीर भत्भती पोलेको छ। शरीरबाट प्राणवायु निस्कन लागेको जस्तो छट्पटी छ।
'दिदी यो पानी पिउनू।'
चिसो पानीको बोतल झ्यालबाट दिँदै चालक भाइ बोल्दा पो झस्किएँ।
'ए बाबा ठाकुरे! मसँग पानी छ क्या' मनमनै भनें।
बोतल उचालेर मुखमा पानी हालेको मात्र के थिएँ, आम्मामा! पानी त के विधि तातो।
'दिदी लिनुस् न यो चिसो पानी,' भन्दै ती चालक भाइले पुनः पानी दिए।
बल्ल चिसो पानी खाएपछि फुस्किन लागेको प्राण फर्किएजस्तै भयो। चिसो पानी आरामले पिएँ। टाउको, घाँटी र अनुहारलाई पनि मज्जाले पानी खुवाएँ।
राम! राम!! चिसोको आनन्द कस्तो हुने रहेछ भन्ने बोध त्यो तापमानमा पो थाहा भयो। काठमाडौंमा सदैव चिसोले कक्रक्क पार्थ्यो र चिसोदेखि दुश्मनी नै थियो।
शितल भएपछि दिमाग चल्मलायो- 'घाममा टट्याएर राखेको छ अनि जाती पल्टिन चिसो पानी टकार्छ।' मन त हो पोलेको बेला बोलिहाल्यो।
छाता ओढेर यात्रुहरूलाई अपनत्वको भावले स्वागत गर्ने भाइहरू त हायसमा यात्रुहरू खोज्ने पेशेवरहरू पो रहेछन्। हामीलाई जस्तै अरू यात्रुहरूलाई पनि स्वागत गर्दै बोलाउँदै ल्याएर गाडी भरे।
३:४५ मा बल्ल गाडीले पुल्चोकको पृथ्वी छोड्यो। गाडी आफ्नै रफ्तारमा हुँकियो। हरर हावाको शिथिलताले ग्यासच्याम्बर जस्तो हायसलाई सञ्जिवनी प्रदान गर्यो। मेरा आँखा त्यसैत्यसै लोलाएछन्।
आँखा खोल्दा त हामी कुरिनटार कटिसकेछौं। झ्याल खुला छ, पवनको गति उस्तै छ। त्रिशूली शान्त र शितल भएर बग्दो छ।
मलेखु पुग्नुभन्दा अगाडि चिया खान गाडी रोकियो। सबै यात्रु खर्ल्यामखुर्लुम्म ओर्लिए। हामीलाई पनि गुम्सिन मन लागेन।
खाजा, चिया र चटपटेमा यात्रुहरू व्यस्त थिए। चटपटे खान मुख चम्किँदै थियो। १०० रुपैयाँमा एक अञ्जुली चट्पटे ए मेरा बा! दाम सुनेर मलाई त अचानक स्वास्थ्य शिक्षा पो याद आयो अनि जिब्रो पनि सल्बलाउन छोड्यो।
काँच्चै खाऊँजस्तो कल्कलाउँदो एक मुठा बोडी लिएर श्रीमान मख्ख पर्दै आउनु भयो। बोडी हेर्ने बित्तिकै म पनि लोभिएँ र अर्को मुठा पनि किन्न श्रीमानलाई उक्स्याएँ- दुई फाँकोमा सकिने चट्पटे सय रुपैयाँ तिरेर धमाधम मान्छेहरू मज्जाले खाँदैछन्।
सय रुपैयाँमा अमृतमय बोडी पाउँदा अरू किन नकिन्नु!
अर्को मुठा बोडी पनि आयो। चटपटे राखेको छेउमा चट्पटेको बास्ना सुँघ्दै बेन्चमा बसेकी छु। ब्यागमा भाटभटेनीको झोला रहेछ। फुत्त झोला झिकेर बोडी राख्दै भरें। रातिको भान्सा तयार त्यहीँ बसीबसी गर्न थालें। बोडीको तरकारी, टमाटरको अचार र तातो भात सम्झिँदै घुटुक्क थुक निलें। भोक लागेको रहेछ कल्पनाले पनि तृप्ती मिल्यो।
गाडी चढ्ने इसारा चालक भाइले दिनुभयो। गाडीमा चढ्यौं। गाडीले आफ्नो रफ्तार समायो। श्रीमानको बोडीको झोला खोइ भनेर सोध्दा त म खङ्ग्रङ्ग भएँ। लौ जा ! बोडीको झोला त छुटेछ।
उकुसमुकुस भएँ। रातिको लागि तयार पारेको त्यो स्वादिष्ट भान्सामा त्रिशूली पसेर उखर्माउलो गर्न थाल्यो। हेर्दाहेर्दै त्रिशूली त मेरो मन मुटुमा कुदेको श्रीमानले पनि देख्नु भएछ अनि सान्त्वना दिँदै भन्नुभयो।
'के चिन्ता गरेको छुट्यो त छुट्यो जाबो दुई मुठा बोडी त हो नि के सोचिरा, हैट!'
झट्ट मस्तिष्कमा उपाय सुझ्यो र चालक भाइलाई भनि पो हालें- भाइ हेर्नु न खाजा खाएको ठाउँमा मेरो सानो तरकारीको झोला छुट्यो। त्यहाँ धेरै गाडीहरू थिए। तपाईंको त सम्पर्क होला, अरू चालकहरूसँग फोन गर्दा त्यो झोला फेला पार्न सकिन्थ्यो कि!
गाडीको गति धिमा पार्दै धादिङ घर भएका चालक भाइले चार वटा नम्बरमा फोन घुमाए। तीन वटा गाडी फुत्किसकेछन्। बल्लतल्ल एउटा चालक भाइले कुरिनटार कटें भने। मेरो फोक्सो फुल्यो।
फेरि होटलको साहुनीलाई फोन लगाए।
झोलाको बोडी चट्पटेको सुगन्ध खाँदै सोही बेन्चमा बिराजमान रहेछ। झोला साहुनीसँग सुरक्षित भयो। मेरो मनमा आशाको दियो झुलुक्क बल्यो। त्रिशूलीको पानीले बल्ल संगीत भर्न थाल्यो। चालक भाइको सेवा भाव देखेर म त छक्क परें।
चालकहरूको एकता देखेर नतमस्तक भएँ।
हाम्रो चालक भाइको मोबाइलमा फोन आयो।
अर्को गाडीको चालक भाइको रहेछ। हाम्रो गाडी पछाडि पछाडि मेरो बोडीको झोला काठमाडौं आउँदै थियो। पुन: रातिको भान्सा स्वादिलो हुने सपना साकार हुने भयो।
राजमार्गको छेउछेउ लिच्चीले राताम्मै थिए। मन केही शान्त भएपछि। चालक भाइलाई खुसुक्क भने, 'लिच्ची भएको ठाउँमा यसो गाडी रोक्नु न है , लिच्ची निकै स्वादिष्ट छ यहाँको।'
भाइले गाडी रोके रोडपारि एक बोरा लिच्ची लिएर बसेका व्यापारीलाई झ्यालबाट बोलाएँ र एक केजी लिच्चीको माग गरें। तुरून्तै लिच्ची आयो।
खोलेर हेरें, चाखें। अपूर्व रहेछ। मुजफ्फरपुरको लिच्चीलाई मात दिने धादिङको लिच्चीको तारिफ गरेपछि गाडीमा अर्को भाइले पनि एक केजी मगाए। त्यो भाइ पनि लिच्चीको स्वादमा हराए। हामीले जिब्रो पड्काएपछि गाडीभरिका यात्रुहरूले लिच्ची मगाए। झण्डै एक बोरा लिच्ची गाडीभित्र भित्रियो। मैले पनि पुन: अर्को केजी थपें। एक छिन गाडीमा निकै रमाइलो भयो लिच्चीको लिला सम्झेर।
लिच्ची खाएर अघाएपछि म सोच्न थालें चालक भाइको आत्मीय व्यवहारले गर्दा गाडीभित्रै मेरो मोबाइलमा अक्षरहरू दगुर्न थाले।
अहो! हामी रत्तिभर सोच्न सक्दैनौं कसैलाई मूल्यांकन गर्नुपर्दा। मेरो मगजमा पनि त पुरातन सोच अटसमटस गरेर बसेको थियो सायद।
पेशाले मान्छेको व्यवहारमा असर गर्छ भन्ने कुराले म शिक्षित रहेछु। तर मान्छेको मनमा मानवता छ भने जुन पेशामा पनि ऊ मर्यादित हुने रहेछ। सेवाभाव र मानवता हराएको मान्छे जतिसुकै उपल्लो पेशामा आबद्ध भए पनि सेवाग्राहीले निरास हुनु पर्छ।
चितवनमा चिसो पानी चालक भाइले दिँदा म पनि सशङ्कित भएकै थिएँ। किन मलाई मात्र पानी दिए हँ? भन्ने प्रश्न नउब्जेको होइन।
बिचरा चालक भाइले मेरो अनुहारको दशा देखेर मनको औडाह चाल पाएका रहेछन्। म चितवनको होइन भन्ने लख काटिसकेका रहेछन् सायद।
के पेशालाई आधार बनाएर कुनै पनि व्यक्तिलाई तौलनु जायज होला? प्रायः हामी भन्छौं आ! फलानो पेशाको मान्छे रहेछ के मुख लाग्नु, सोमतै हुँदैन यिनीहरूको। सोमत खोज्न आखिर कुन पेशामा जाने, म बिलखबन्दनमा परें।
के पेशाले मात्र व्यक्तिलाई सभ्य र शिष्ट बनाउँछ ?
के पेशाले नै मान्छेको सम्पूर्ण व्यक्तित्व धूमिल पार्छ? अर्को मनले भन्यो किमार्थ होइन। व्यक्तिको स्वभाव र व्यक्तित्वले पक्कै असर गर्छ व्यक्तिको दैनिक व्यवहारमा।
मानवीय मूल्य र मान्यताले भरिपूर्ण पेशा कुन होला म गम खान थालें। के बौद्धिक जगतले भरिएको सभा वा सदनमा बुद्धि र विवेकले भरिपूर्ण सभ्य, नैतिकतावान, इमानदार र जिम्मेवार व्यक्ति भेटिन्छन्?
गाडी र मेरो सोचमा अचानक ब्रेक लाग्यो।
गाडी गुर्जुधार आइपुगेछ। चालक भाइले अर्को गाडीको नम्बर दिनुभयो। फोन गर्यौं। एक घण्टामा गाडी गुर्जुधारा आइपुग्ने जानकारी अर्को गाडीको चालक भाइले दिनुभयो।
हाम्रो गाडीको चालक भाइलाई हृदयत: धन्यवाद दिँदै घर आएँ। नभन्दै एक घण्टामा बोडी घर आइपुग्यो र रातिको भान्सा स्वादिलो भयो। चालक भाइहरूलाई सम्झिँदै खाना खायौं।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)