ए मेरी प्रिय, खै कताबाट सुरू गरूँ? जहाँ प्रत्येक शब्द-शब्दहरू प्रेमिल भाव बनेर यो गलामा अड्किन्छन्। यो छाती चिरिन्छ।मुटु भक्कानिन्छ। अन्यासै समुन्द्रको भेल जसरी आँखाबाट अश्रुधारा बग्न थाल्छन्। अनि तिमीलाई सम्बोधन गर्ने कुनै शब्द नै पाउँदिनँ। त्यसैले त कोरा कागजमा मात्र भए पनि मनमा आएका शब्दहरूलाई यी कोमल हातहरूले प्रेमको कथा लेख्न अगाडि बढाइदिन्छन्। अनि जानी नजानी भए पनि दुई चार अक्षर कोर्ने प्रयास गर्छु।
हुन त सुनको अगाडि पित्तलको के महत्व हुन्छ र? तिमी सुन बनिसक्यौ, म भने अझै पनि पित्तल छु। तिमी हिमाल बन्यौ म भने अझै पनि हिउँ छु। तिमी आकाश बनिसक्यौ म भने अझै पनि जमिन छु।
तिमी बादल बनेर माथि-माथि उडिरह्यौ, म भने पानी बनेर तल तल बगिरहें। आखिर फरक यत्ति त हो नि, तिमी अमूल्य वस्तु जस्तो महंगो बन्यौ अनि म भने बजारको सस्तो मूल्यमा बिक्री हुने चिज जस्तो बने होइन र प्रिय?
प्रिय भनेर पनि कसरी सम्बोधन गरूँ?
माथि नै भनिसकें तर बाध्य भएर केही शब्द कोर्दै छु। एक अर्कालाई प्रत्यक्ष रूपमा नदेखी नै माया बस्ने, कति अजिब रहेछ है यो माया भन्ने।
जब भोगें अनि मात्र थाहा पाए जिन्दगीका अनगिन्ती यात्राहरूमध्ये सबभन्दा कठिन यात्रा त यो मायाको हुँदो रहेछ।
कसैलाई पागल बनाइदिएको छ यही मायाले, कसैलाई सफल बनाइदिएको छ यही मायाले, कसैलाई कमजोर बनाइदिएको छ यही मायाले, अनि कसैलाई सहनशील बनाइदिएको छ यही मायाले।
खै तिम्रो मायाले मलाई सफल असफल के बनायो त्यो त म भन्न सक्दिनँ। मैले तिमीलाई कति प्रेम गरें त्यसको जवाफ पनि मसँग छैन तर प्रेमको नाममा 'प' पनि नजानेको म तिमीलाई निर्विरोध प्रेम गरिरहें।
तिमीले मलाई बुझ्यौ या बुझिनौ त्यो पनि थाहा छैन तर मैले भने तिमीलाई नबुझेर नै प्रेम गरिरहें। मैले तिमीलाई प्रेम गर्नुमा कुनै स्वार्थ थिएन न त कुनै सर्त नै थियो।
मैले त तिमीलाई एक असल साथी अझ जीवन साथीको रूपमा प्रेम गरेको थिएँ। त्यो प्रेममा कुनै स्वार्थ थिएन केबल आशा थियो त तिम्रो चोखो मायाको।
मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ म तिमीलाई त्यहाँसम्म देख्छु।
जहाँ जान्छु, जुन अवस्थामा रहन्छु, तिमीलाई नै देख्छु। सोच त कति धेरै प्रेम गर्दो रहेछु। तिमीले बिछ्याइएका रहरहरूमा मेरा केही रहर मिसाउनु पनि त प्रेम नै होला होइन र?
तिमी हिँडेका बाटामा तिमीलाई पछ्याउनु पनि प्रेम भएर नै होला कहाँनेर थिएन र हाम्रो प्रेम त?
हाम्रो दिनहुँ हुने अनलाइन च्याटमा के प्रेम थिएन?
तिम्रो हँसिलो मुहारबाट निस्कने रहस्यमय हाँसोमा रमाउनु के मेरो प्रेम थिएन र?
तिम्रो सफलतालाई आफ्नै सफलता मानेर हिँड्नु मेरो प्रेम नै थियो तिम्रो खिन्नतालाई आफ्नै छातीमा टाँसेर हिँड्नु पनि प्रेम नै थियो।
तिमीले प्रेम गरेका चिज लाई म पनि प्रेम गर्थें अनि तिमीले घृणा गरेका हरेक चिजलाई म पनि घृणा गर्थें।
प्रकृति र ईश्वरको सृष्टि तिमी, सुन्दर व्यक्तिहरूको धनी तिमी, ती मिलेका दाँत खोलेर मुस्कुराउँदा म मन्त्रमुग्ध बनेर हेरिरहन्थें।
प्रेममा त एउटाको अनुपस्थितिले यादलाई झन् प्रगाढ बनाउँदो रहेछ।
फूलको राजा गुलाब भएझैं तिमी त मेरो जीवनको रानी थियौ नि! तर यो प्रेममा तिमीले बहार बिछ्याइरह्यौ।
स्वर्ग र सपनाको किरण छरेर छाडिदियौ।
प्रिय, आजकल त मेरो आत्माको नदी निकै तिर्खाएको छ तिम्रै झझल्कोमा हराएर दुनियाँसँग बेखबर भएको छु।
तिमीलाई नसम्झेको कुनै क्षण छैन। त्यो आकासको बादल, घनघोर वर्षा, घामको उज्यालो, जुन तारा को शितलता, बिहानीतिर देखिने शीतको थोपाको माला, हिमाल र पहाडको लहर, धर्तीको हरियाली, फूलहरूको सुगन्ध अनि सुन्दरता जुनसुकै चिजहरू मेरो सामु आउँदा तिम्रै स्मरणको सौगात लिएर आउँछन्।
प्रेम गीत सुन्दा त यो मनले अझ उग्र वामपन्थीको रूप लिन्छ। मन थाम्न सक्दिनँ। अनि तिम्रा मन मुटुभित्र सजिएका तस्बिरहरू हेर्ने गर्छु। तस्बिरसँगै कुरा गर्ने गर्छु न त त्यो तस्बिर बोल्छ न त मेरो पीडा नै बुझ्छ।
जहाँ जाउ तिमी नै तिमी, हेराइमा तिमी, खोजाइमा तिमी, रोजाइमा तिमी, हाँसो, आँसु गुनासोमा पनि तिमी, अनि हरेक पल धड्किने मुटुसम्म पनि तिमी नै तिमी!
आकाशबाट झरेर जमिनमा पग्लिन पर्खिरहेका असिनाका ढिक्का जसरी तिमीबाट छुटिएको म एक मुठी सासको ढुकढुकीको अस्तित्व बोकेर यही जमिनमा मिल्ने दिन गन्दै बसेको छु।
मैले तिम्रो सम्झनामा सच्चा प्रेमको आँसु बगाएको छु, तर तिमीले मेरो भावनालाई कुल्चियौ। त्यसैले सम्हाल्न सकिनँ छिया–छिया बनेको ह्रदयलाई प्रेम प्राप्तिको वियोगमा डुबेको छु। प्रेमको कहिल्यै ननिभ्ने आगलागीमा परेर म जलिरहेको छु, अनि उम्किनै नसकिने पहेलीको बीचमा जेलिएको छु।
त्यसैले त आज तिम्रो सम्झनाले मेरो मनमा एक किसिमको तरंग पैदा हुन्छ। विगत सम्झन्छु, कल्पना गर्छु अनि मनमनै सोच्दछु तिम्रो त्यो सुन्दरतामा कति युवाहरू मख्ख पर्दा हुन्।
कतिले त प्रेम प्रस्ताव पनि राखे होलान्। तिमीबिना बाँच्नै नसक्ने कसम पनि खाए होलान्। तर हजारौं हजार प्रस्तावहरूलाई लत्याएर मजस्तो एक दुःखी अभागी र कर्मशिललाई स्वीकार्नु तिम्रो महानता थियो।
तिम्रो उदारताको म प्रशंसा गरिरहन सक्दिनँ। अहिले आफूले आफूलाई नै फकाउँछु अनि मनमनै सोच्छु, यात्रा न हो जिन्दगी, भेटिनेहरू सबैसँग सहयात्रा गर्न त कहाँ मिल्थ्यो र?
कुनै न कुनै समय दोबाटोमा त पुग्नै पर्छ। तर कतिपय यस्ता मोडहरू हुँदा रहेछन्, जहाँ नचाहेर पनि मोडिनु पर्दोरहेछ। अनि त नभएको ठाउँमा पनि सिर्जना हुन्छ दोबाटो, अनि पर्छ छुटिन। तर त्यही छुटिनेहरूको सम्झनाले सताउँदो रैछ घरिघरि, त्यही एक्लो बनाउनेहरूको माया लाग्दो रैछ सधैंभरि!
सबै उही अनि उस्तै छन् सबै दुरूस्तै छन् बस, तिमी मात्र हरायौ त्यसैले, आज मेरो सम्झनामा केबल तिम्रा यादहरू हिँडिरहेछन्, बसिरहेछन् अनि बोलिरहेछन्.. बल्दाबल्दै मैनबत्ती सकिएजस्तै।
चुहिने गाग्रीको पानी तप्प-तप्प गर्दै चुहिएर सकिएजस्तै तिम्रा सबै यादहरू सकिए हुन्थ्यो। घरिघरि मुटु दुखाउने तिम्रो याद नआए हुन्थ्यो पलपल मेरो समयलाई नसताए हुन्थ्यो तर चोखो मायाका यादहरू किन यसरी बिलाउथे र प्रिय?
हाम्रो छुट्टै मायाको देशमा सुन्दर र महत्वपूर्ण दृश्य अवलोकन गर्नका लागि हामी भ्रमण गरेका थियौं। बगैंचामा घण्टौ बिताएका थियौं। अचानक मेरो मुटुमा कसैले वाण हानेको थियो र म रक्तिम गुलाफको झाङ्गमुनि ढलेथें।
तिमीलाई पनि त्यस्तै भएको थियो र मेरो समिपमा ढलेका थियौ। ती मुटुहरूले हामी दुवैको सामिप्यता चाहेका थिए। पुष्पपत्रहरू वर्षिएर हामी पुरिएका थियौं।
सात वटा रङ्गहरू घुलेर एक भएपछि प्रेमको रङ्ग बन्दो रहेछ। विश्वका सात आश्चर्यको संगम पनि पनि यही रङ्गभित्र रहेछ। तिमीले यो कस्तो मोहनी लगायौ? कति मीठो। कति श्रद्धेय। मेरो मनले चाहेको मोहनी। हामी दुईलाई एक बनाउने मोहनी लगायौ।
मलाई त मायाको किनारै किनारमा स्मृतिका पत्रहरू छर्दै तिमीसामु आइपुग्न अनि तिम्रै वरिपरि बसेर ग्रन्थ लेख्न मन लाग्छ।
आज बढो हिम्मतसाथ यी शब्द कोर्दै छु। थाहा छैन अब तिम्रो र मेरो भेट होला नहोला। भेट नभए यसै सकियो। थाहा छैन, तिमीसम्म पुर्याउने हिम्मत जुटाउन सक्छु कि सक्दिनँ! तिम्रो जीवनमा सायद बितेको पाना हुँ म।
तर, मेरो जीवनमा सधैं याद बनि आउने मीठो सम्झना हौ तिमी। थाहा छ धेरै बोल्छु, धेरै कराउँछु, सायद बिना कुरामा झगडा मात्र गर्छु। तर, जे छु, जस्तो छु, तिम्रोसामु छु। त्यसैले त होला, तिमीसँग नजिक छु। जति नै भावनामा बहकिए पनि जीवन जिउन त आफ्नो वास्तविकता र धरातलमै फर्किनुपर्ने रहेछ, त्यसैले त जसोतसो फेरि जिउन सिक्दैछु तिम्रा यादहरूले दिएका पीडा ब्यहोर्दै भए पनि।
अरू त खै के भनूँ प्रिय, जिन्दगी फलोस्, सुखी रहनू, खुसी हुनू, अनि कुनै चिन्ता नगर्नू, तिमीप्रतिको मेरो मायामा कुनै गिरावट आएको छैन।
मैले तिमी, तिम्रा सम्झनाहरू र स्पर्शहरू रत्तिभर बिर्सिएको छैन। अनि खाएका कसम र गरेका वाचाहरू पनि तोडेको छैन, कमसेकम तिमीले तोडे पनि। अनि तिमीप्रति त्यति धेरै गुनासो पनि छैन, न त रिस नै। तिमीले बिर्सिए पनि मैले त मुटुभरि संगालेर राखेको छु, हाम्रो माया अनि मस्तिष्कमा सम्झनाहरू।
बरू कुनै दिन आवश्यक परे माग्नु साथ सहयोग अनि अतितका सम्झनाहरू, बिनाधितो, बिनाशुल्क दिउँला जति माग्छौ त्यति नै। बरू आफ्नो ख्याल गर, तिम्रीप्रतिको मेरो प्रेम त तामाकोशी झै निश्चल, अविरल बगिरहेकै छ, गौरीशंकर झैं अटल छ अनि बुकेनीमा बसन्तमा बुकी फुलेझैं बाह्रैमास फुलिरहेको छ। किनकि म पनि शिशिर योगीझैं भन्छु ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ तर सिउँदो पनि भर्न पाए, सुनमा सुगन्ध हुन्थ्यो भन्ने मात्र हो।
उहीँ तिमीलाई माया गर्ने
भूमिराज पौडेल