आजभन्दा करिब १२ वर्ष अगाडिको कुरा हो, जब म १३ वर्षको थिएँ। कक्षा ७ मा पढ्दै गरेको म सानैदेखि मेरी हजुरआमासँग बस्थें। हजुरआमा एक्लै बस्नुहुने भएकाले उहाँको सहाराका लागि म हजुरआमासँगै बस्थें।
एकदिनको कुरा हो, म गाउँदेखि पर जंगलमा साथीभाइहरूसँग दाउरा काट्न गएको थिएँ, हजुरआमा घरमा एक्लै हुनुहुन्थ्यो। जब म घर फर्किएँ त्यो बेला मेरो हजुरआमा घरमा हुनुहुन्थेन।
हजुरआमा कता जानुभएको रहेछ भनेर खोज्दै जाँदा घरछेउको छिमेकीकहाँ मानिसहरूको भिड देखें।
म अतासिँदै हेर्न जाँदा, केही मासिनहरू ठूलो स्वरमा ‘छोडपत्र दे हैन भने तँलाई लतारेर भए पनि लग्छौँ’ भन्दै गाली गर्दै गरेको सुनें।
म नजिक गएर हेर्दा पछि थाहा भयो त्यो सबै गाली र धम्की त मेरै हजुरआमालाई गरेका रहेछन्। गाली गर्ने अरू कोही नभइ मेरो हजुरबुवा, उहाँको कान्छी श्रीमती र उनीहरूका छोराछोरीहरू रहेछन्।
उनीहरूको आक्रामक शैलीले हजुरआमा डराएर छिमेकीको घरमा आश्रय लिएर रूँदै बसिरहनुभएको रहेछ। त्यो समयमा मैले पहिलोपटक मेरी हजुरआमालाई त्यति धेरै डराएको अवस्थामा देखेको थिएँ। करिब ६८ वर्षकी मेरी हजुरआमा निकै कमजोर अनि बेसहारा अवस्थामा देखिनुहुन्थ्यो। उहाँको आँखाबाट बरबर आँसु बगिरहेका थिए, उहाँले बोल्दा स्वर कापिरहेको थियो। त्यो दृश्यले म निकै भक्कानिएँ र दौडेर हजुरआमाकहाँ गई उहाँलाई अंगालो हालेर रोएँ।
मलाई थाहा थिएन मेरो हजुरबुवा र उनकी कान्छी श्रीमती छोराछोरीहरूले किन हजुरआमालाई यति सारै पीडा र यातना दिनुभएको हो भन्ने। हुन त हजुरबुवाले दोस्रो विवाह गरिसकेपछि दिनरात मेरी हजुरआमालाई शारीरिक तथा मानसिक यातना दिएकै कारण सबैलाई छोडी मेरी हजुरआमा एक्लै बस्न थाल्नुभएको थियो।
एक्लै बसिरहनुभएकी मेरी हजुरआमालाई वृद्ध अवस्थामा आएर पनि सम्बन्ध विच्छेद गर भन्दै कर लगाउनुको कारण पछि थाहा पाएँ।
हजुरबुवा पहिले इन्डियन आर्मी हुनुहुन्थ्यो। उहाँ पल्टनबाट अवकास भइसकेपछि हजुरबुवालाई पेन्सन वितरण कार्यालयले पेन्सन बुझ्नका लागि कागजातहरू लिएर आउन भनेको रहेछ। जसमा श्रीमान श्रीमतीको पारिवारिक फोटो ल्याउन निर्देशन दिइएको थियो। त्यो बेलामा भारतीय भुपू सैनिकको पेन्सन दिनको लागि जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भए कान्छी श्रीमतीको हक नलागी पूर्ण अधिकार जेठी श्रीमतीमा निहित हुने भारतीय भुपू सैनिकको कानुनी प्रावधान रहेछ। त्यसकारण मेरो हजुरबुवा, कान्छी श्रीमती र कान्छी श्रीमतीतर्फका छोराछोरीहरूले पेन्सनलाई एकलौटी बनाउनका लागि जेठी श्रीमती अर्थात् मेरी हजुरआमालाई डर त्रास दिएर सम्बन्ध बिच्छेद गर्ने प्रपञ्च रचेका रहेछन्।
हजुरआमाले आफूमाथि सौता हाल्ने श्रीमानविरूद्ध केही बोल्न सक्नुभएन।
उहाँमाथि सौता हाल्दा हजुरआमा जम्मा २० वर्षको हुनुहुन्थ्यो। अर्थात् बेसहारा अवस्थाकी मेरी हजुरआमाले त्यो बेलादेखि अनेकौं यातना र शोषण सहेरै बस्नुभयो। बोलीदिने र साथ दिने मानिस कोही नभएका कारण हजुरआमा दमन र शोषण सहेरै बस्नुभएको तीतो अनुभव पछि हजुरआमाले मलाई सुनाउनुभयो।
हजुरबुवाबाट केवल हजुरआमा मात्र होइन, हजुरआमाबाट जन्मिएका छोरीहरू अर्थात् मेरी आमा पनि अन्यायमा पर्नुभएको थियो।
बुवाले आफ्नो सन्तानप्रति गर्नुपर्ने कर्तव्य पूरा नगरी श्रीमती र छोरीहरूलाई बेवारिसे अवस्थामा छोडी बाबुको पहिचान समेत दिन मानेका थिएनन्। मलाई अहिले पनि सम्झना छ मेरी आमाले बाबुको पहिचान सहितको नागिरकता पाउनका लागि अनेकौँ चुनौती सामना गर्नुपरेको अनि कानुनी लडाइँ लड्नुपरेको।
त्यो बेला मेरो कलिलो मस्तिष्कमा लाग्थ्यो कि यो देशमा कानुन नै छैन रहेछ। सबै अन्याय छर्लंगै देख्दा पनि प्रहरी प्रशासन, महिलाका लागि आवाज उठाउने संघसंस्था र अड्डा अदालत किन चुप बसेको होला? यसरी शोषण गर्ने मेरा हजुरबुवा र उनकी कान्छी श्रीमतीलाई के कानुनी सजाय हुनुपर्ने होइन र? भन्ने जस्ता तमाम प्रश्न मेरो मनमा आइनैरहन्थ्यो।
कहिलेकाहीँ लाग्थ्यो आफू नै न्यायिक निकायमा भएको भए सायद मेरी हजुरआमाले न्याय पाउनुहुन्थ्यो होला। तर त्यो बेला यी कुरा सम्भव थिएन।
समय बित्दै गयो। अन्याय र दमनले त्यो बेला सीमा नाघ्यो जब वि.सं. २०७३ सालमा हजुरबुवाको निधन भयो। त्यसपछि भारतीय भु.पू. सैनिकको पारिवारिक पेन्सन वितरण क्याम्पमा पारीवारिक पेन्सनका लागि पेन्सनरको पारिवारिक विवरण पेश गर्नुपर्ने भयो। त्यसरी विवरण पेश गर्दा दुवै श्रीमतीको विवरण पेश गर्नुपर्नेमा हजुरबुवाकी कान्छी श्रीमतीले अनेकौ जालझेल गरी वडा कार्यालय र प्रशासनबाट आफू मात्र एकल श्रीमती भएको फर्जी कागज पेश गरिन्।
वडा र जिल्ला प्रशासनले बनाएको उक्त सिफारिसद्वारा मेरी हजुरआमा र उहाँबाट जन्मिएकी छोरीहरूको पहिचान नै नष्ट पारियो। तर हजुरबुवाकी कान्छी श्रीमती–छोराछोरीले त्यो समयदेखि एकलौटी रूपमा पेन्सन खाइनैरहे, मेरी हजुरआमाले न त पहिचान नै पाउनु भयो न त आफूले पाउनुपर्ने पेन्सन नै।
हजुरबुवा, उहाँकी कान्छी श्रीमती र छोराछोरीहरूले मेरी हजुरआमा र उहाँको छोरीहरूमाथि गरेको अन्यायविरूद्ध गाउँ समाज राखियो, कानुनी निकायहरूमा धाइरह्यौं। तथापी हामीमाथि भएको अन्यायविरूद्ध सम्बन्धित निकायसम्म पहुँच नभएका कारण हामीले न्याय पाएनौं।
न्यायका लागि हरेक कानुनी ढोका ढकढक्यायौँ, कति हण्डर र ठक्कर पायौँ तर पनि कानुनी उपचार पाइएन।
अन्याय, अत्याचार र दमन जब मेरै परिवारले भोगे, मेरै आँखा अगाडि यी सबै कुरा भए तब त्यसविरूद्ध आवाज उठाउन म आफैं अग्रसर भएँ।
मैले सानोमा देखेको आफू न्यायालयमा पुग्ने र न्यायको पक्षमा वकालत गर्ने सपना पूरा गर्ने जुनून ममा सवार भयो। म कानुन पढेर अधिवक्ता बनी मेरी हजुरआमाले भोग्नुपरेको अन्यायविरूद्ध आवाज उठाउने अठोट लिएँ।
त्यसैकारण आज म कानुनसंकाय अन्तर्गत बि.ए. एलएल.बी. पाँचौं वर्षमा अध्ययन गर्दैछु। अहिले मेरो पहिलो मुद्दाका रूपमा मैले मेरी हजुरआमाको न्यायको पक्षमा मुद्दा लडिरहेको छु।
मलाई विश्वास छ सत्यको पक्षमा नै न्याय हुनेछ, अन्याय र अत्याचारले पिल्सिएकी मेरी हजुरआमाको मुहारमा न्यायको सुनौलो किरण ल्याउनलाई म एक खम्बा भई उभिनेछु।
मेरी हजुरआमा मात्र नभई उहाँजस्ता प्रताडित र पीडित धेरै हजुरआमाहरूको न्यायका लागि म खडा हुनेछु। मेरो सपना साकार हुन अब धेरै समय छैन। नेपालको संविधान र न्यायालयप्रति मेरो पूर्ण विश्वास छ।