घडीले बिहानको साढे नौ भएको जनाऊ दिँदै थियो।
रोकिएको गाडी गुड्ने तरखरमा देखिन्थ्यो। अलि परबाट एक जना महिलाले कन्डक्टर भाइलाई गाडी रोक्ने इशारा गरिन्।
कन्डक्टर भाइ कराउँदै थिए, ‘ए दिदी जाने हो?’
ती महिलाले हातैले जाने इशारा गरिन्।
गाडी ढ्याप्ढ्याप पार्दै कन्डक्टर भाइ जोडले कराए,
‘ए दिदी जाने भए अलि छिटो आउनुस्’
‘टाइम कार्ड छ, फेरि चेकिङमा हामीलाई समाउँछन्’ आफ्नो बाध्यता सुनाए।
हस्याङफस्याङ गर्दै ती महिला गाडीको ढोकामा आइपुगिन्।
मानौं कुनै ठूलै उपाधी हात पारे जसरी लामो सास फेरिन् गाडीको सिट फेला पार्दा।
अफिस टाइममा गाडीको सिट पाउनु ठूलै चिट्टा परेजस्तै हुन्छ, उनलाई पनि त्यस्तै भयो होला सायद।
‘यो गर्मीमा धन्नै मरिनँ भाइ कुद्दाकुद्दै। एउटा बस गयो भने अर्को कुर्न दश मिनेट लाग्छ, दश मिनेट ढिलो हुँदा अफिसमा पुग्न त्यसकै ढिलो’ एक्लै गुन्गुनाउन थालिन्।
छाता मिलाउँदै म बसेको सिटतिर हेरिन्।
‘यदि तपाईं दु:ख मान्नु हुन्न भने म झ्यालतिर बसौं? हेर्नु न (पसिनाले भिजेको लुगा देखाउँदै) म त निथ्रुक्कै भएँ।’
म अलि अगाडि आएर सिटमा बसेकोले उनको जस्तो हालतमा थिइनँ अरू बेला त मेरो हालत पनि उनकै जस्तो हुन्थ्यो।
‘ठिक छ बस्नुस् न। म छेउतिर सरेँ’, ती महिला झ्यालतिरको सिटमा बसिन्।
पोसाक हेर्दा उनी सरकारी कर्मचारी भएको लख काट्न गाह्रो थिएन। ‘तपाईं यही नजिकै बस्नुहुन्छ हो?’ मलाई प्रश्न गरिन्।
‘होइन, मलाई पनि लगभग दश मिनेटजति हिँड्नुपर्छ’, भनेँ।
‘हेर्नु न मेरो त पन्ध्र मिनेट पूरै हिँड्नुपर्छ गाडी पाउने ठाउँसम्म आउँदा, सधैं हतारहतार हुन्छ।’
हामीले परिचय गर्यौं, उनी नायब सुब्बा रहिछन्।
‘हेर्नु न हतारमा हिँड्दा निधारमा टीका लगाउनै छुटेछ।’ (झोलाबाट रातो टीका निकालेर लगाइन्, कपालमा काँटा लगाइन्, घडी पनि लगाइन्।)
‘के-के छुट्छ भनेर अफिसबाट घर पुगेपछि सबै अफिस ल्याउने ब्यागमा हाल्छु, जतिबेला फुर्सद हुन्छ त्यतिबेला लाउँछु।’
अलि वर आएपछि यात्रु ओराल्न भन्दै गाडी रोकियो, यसो हेरेको त उनले लगाएको आउटर उल्टोजस्तो लाग्यो, संकोच मान्दै सोधेँ, ‘म्याम हतार हतारमा हिँड्नु भयो होला, तपाईंले लगाएको आउटर उल्टो भएछ हेर्नु त।’
उनी झसंग भइन्।
‘हत्तेरी। हो त रहेछ, हेर्नु त, यस्तै अफिसमा पुगेको भए मेरो कति बिल्ला गर्थे साथीहरू? हिजो फुकाल्दा जस्तो थियो हतारैहतारमा त्यस्तै पो लाएर हिँडेछु’, उनले आउटर सुल्टो बनाएर लाइन् ।
त्यो गाडीमा हामी जस्तै महिलाहरू धेरै थिए। त्यो कुरा उनीहरूको पोशाकले स्पष्टै देखाउँथ्यो। हामी न फूल टाइम जागिरे बन्न सक्छौं न त गृहिणाी नै।
‘जागिरे गृहिणीको हालत यस्तै त हो नि’, सान्त्वना दिएँ।
आफैंलाई सम्झें।
‘मैले कतिपटक चश्मा समेत घरमा बिर्सेर अफिस गएकी छु। हातमा घडी हुँदैन कहिले, कहिले मोबाइल घरमै छुट्छ, हतार हतारमा हिँड्दा यस्तै हो म्याम बुझ्नेले कुरा बुझिहाल्छन् नबुझ्नेलाई जति गर्दा पनि बुझाउन सकिँदैन।
मैले भोगेको भएर तपाईंको पीडा बुझेँ, हाम्रो ठाउँमा हामीभन्दा फरक पृष्ठभूमिको व्यक्ति भइदिएको भए के भन्थे होला? अनुमान गर्नुस् त?’
मेरो कुरा सुनेकी उनले जवाफ दिइन्, ‘के भन्थे होला र? एउटा अफिस जाँदा लगाउने लुगा त राम्रोसँग लगाउने ढंग छैन, यस्ता कर्मचारीले कस्तो काम गर्दा हुन्? घर कसरी चलाउँदा हुन्? कस्तो खालको सोमत नभएका? यस्तै त भन्थे होला नि।’
उनको पुर्ख्यौली घर पूर्वतिर भए पनि अहिले सपरिवार काठमाडौंमै बस्ने रहेछन्।
‘परिवारमा ६ जना छौं, आज घरमा पाहुना आए त्यही भएर झनै ढिलो भएको हो नत्र अरू बेला बिहान त सधैं हतारै हुन्थ्यो तर यस्तो विधि हुँदैन्थ्यो’, उनले कहानी सुनाइन्।
‘मैले मेरो घरमा आउने पाहुनाहरूलाई सकेसम्म शनिबार वा अरू बिदा भएको दिनमा मात्रै आउनु, अरू दिन आउने भए बिहान आठ बजेभित्रमा आइपुग्नु भन्छु। आठ बजेभन्दा ढिलो कोही आए भने म मेजमान गर्न सक्दिनँ सिधा कुरा। तर, सधैं कहाँ एकनास हुन्छ र? सबै कहाँ बुझ्ने हुन्छन् र? कोही आफन्त पहिलो पटक आउन खोजेका हुन्छन्, उनीहरू मलाई भेट्न होइन नि सासू ससुरा भेट्न आउने हुन् तर सेवा सत्कार त मैले गर्नुपर्छ, मेरो कर्तव्य पनि हो नि। असल बुहारीको धर्म त मैले निर्वाह गर्नुपर्छ। तर आफ्नै बाध्यतासँग सिंगौरी खेल्न परेरमात्रै व्यवस्थापन गर्न कठिन भएको हो नि।’
कुराकानी गर्दै जाँदा साथी जस्तै बनियो, खुलेर कुरा गरिन् उनले।
‘तपाईं सेतोपाटीमा लेख्नुहुन्छ हो?’, उनले सोधिन्।
मैले ‘हो’ भनेँ।
‘अघिदेखि हो कि जस्तो त लाग्याथ्यो मुख फोर्न सकिनँ। तपाईंका लेख पढ्छु, आफ्नै व्यथा लेखेजस्तै लाग्छ कुनै कुनै बेलामा त।’ उनको सदासयतामा धन्यवाद दिएँ।
‘म, तपाईं र हामी जस्ता धेरै पात्रहरू यही समाजका उपज हौं, हाम्रा भोगाइ समान छन्, हाम्रा भोगाइ नलेखेर के गरौँ त? पीडा, भोगाइ, व्यथा त तपाईं हामीले नै भोग्दै, सम्हाल्दै अघि बढिरहेका छौं नि होइन र?’
मेरो कुरामा समर्थन जनाइन्।
चालिस मिनेटको संगतमा धेरै कुरा अनुभूति गरेँ।
म मात्रै हो कि भन ठान्थें, मजस्तै अर्को पात्र भेटेँ भन्ने पनि लाग्यो। केही न केही बिर्सेर अफिस पुग्ने म मात्रै रहेनछु भन्ने पनि लाग्यो। उनका दुई छोरी रहेछन्, सासू अलि रोगी, ससुरा कान नसुन्ने, श्रीमानको काठमाडौैं बाहिर जागिर। सबै जिम्मेवारी उनकै काँधमा रहेछ। कहिले महिनामा एकपटक कहिले दुई पटक श्रीमान काठमाडौं आउने रहेछन्, घरमा काम गर्न कोही सहयोगी राखौंभन्दा सासू ससुरा नमान्ने रे।
‘उहिलेका बाआमा, हामी जस्ता मोर्डन कहाँ हुन्छन र? हामी बाँचुन्जेल कोही मान्छे राख्ने होइन भन्नुहुन्छ, उहाँहरूको चित्त दुखाउने कुरा पनि भएन, बाआमाले घरका सदस्यले बाहेक अरूले पकाएको खानु हुन्न, खास समस्या त्यही हो।
एकपटक काम गर्ने मान्छे राखौं न त भनेको बाआमा हामी गाउँमा गएर बस्छौं, जो जसलाई राख्छौ राख भन्नुभयो, एक्लो छोरो हुनुको पीडा यही होला नि, मेरो श्रीमानले केही भन्नु भएन।
बाआमालाई सहरमा राख्ने, सुख दिने भनेर ल्याउने अनि उहाँहरूलाई नै बेखुसी बनाएर फेरि गाउँमै फर्काइयो भने समाजले के भन्ला? त्योभन्दा जति सकिन्छ? जसरी सकिन्छ ? त्यति मात्रै गर्ने भनेर मौन बसेका छौं।
बाहिरबाट हेर्दा कति चैन छ यसलाई भन्ने देखिन्छ। मेरो टोल छिमेकका जागिर नखाने साथीहरू बुढाको कमाइमा रमाएका छन्, मलाई देखेर दिक्क मान्छन्। कसैले नखाएको कस्तो जागिर हो म्याडमजी ? यसो छिमेकीसँग त बोलचाल छैन, नाक मुख देखिँदैन के हो? जागिर त खानु तर जागिरले नै खायो भने के हालत होला नि?’, बेलाबेलामा यस्ता रोष्ट हानिरहन्छन्। म सुनिदिन्छु, यस्तै हो भन्दै टारिदिन्छु।
‘हप्ताको एकदिन बिदा हुँदा पनि मेरो हालत उस्तै हुन्छ। नानीहरू मम्मीले कहाँकहाँ घुमाउन लैजान्छे भनेर अघिल्लै दिनदेखि तालिका सेट गरेका हुन्छन्, आफू एक दिनको बिदा थकाइ मारेर बसौंला भन्ने सोच्छु तर एउटा एउटा अल्झन आइहाल्छ। एक हप्तादेखि घरका कुनाकाप्चामा थुप्रिएको फोहोर सफा गर्नुपर्यो, कोही आफन्तलाई भेट्न जानुपर्यो, नानीहरूलाई नुहाइदिनुपर्यो, सासू ससुरालाई भेट्न त्यही दिन पाहुनाहरू आउँछन्, बुहारीको जिम्मेवारी पुरा गर्नैपर्यो। घरभरि असरल्ल भएका लुगा मिलाउनुपर्यो, बाहिरबाट देख्दा के काम देखिन्छ र? तर घरभित्रको काम कहिल्यै सकिँदैन’, उनले एकपछि अर्का गुनासा पस्किँदै गइन्।
‘अफिसमा पनि समयमा पुग्नुपर्छ, एकछिन ढिलो भयो भने हाकिम साब बाघजस्तै हुन्छन् कुनै कुनै त। मानौं उनीहरू अर्कै धर्तिका प्राणी हुन्, उनीहरूलाई कहिल्यै ढिलो हुँदैन जसरी।
सबै हाकिम खराब त हुँदैनन् तर कोही कोही त यस्तासम्म पनि भोगियो कि कुरा गर्दा पनि दिक्क लाग्छ। दश मिनेट ढिलो कर्मचारी आएकै कारण विश्व ब्रह्माण्ड नै भाँसिएजस्तो व्यवहार देखाउँछन्। कोहीकोही त बुझ्ने खालकै हुन्छन्, सहयोगी नै हुन्छन्।
जे जस्तो परिबन्दमा परेर भए पनि हामी महिलाहरूले कम्तीमा घर, अफिस बालबच्चा, पाहुना सबैलाई म्यानेज गरेका छौं, मेरो ठाउँमा यदि मेरा श्रीमान हुन्थे र म बाहिर सरूवा भएर गएकी हुन्थेँ भने यो सब गर्न सक्थे होला कि सक्दैन्थे होला भन्नुस् त ? धन्न महिलाले यो सबैथोक धान्न सकेका छन् भन्छु म त’, उनले वास्तविकता पस्किइन्।
अर्को घटना।
‘जागिर नखाऊँ, बाउआमाले दु:ख गरेर पढाएका छन्, दु:खले यत्रो मास्टर्स पढेर पनि त्यही घर गृहस्थीमा रमाउने हो भने त, हाम्रा आमा र हामीमा के फरक भयो र? मेरा उमेरका बहिनीहरूले समेत जागिर खाइसकेका थिए, मेरी आमा कराउनुहुन्थ्यो, कानका मारवाडी बेचीबेची पढाएँ छोरी, केही गर्न सकिनस्, मेरी छोरीले पनि जागिर खाली भनेको, तेरो जिन्दगी, बच्चा स्याहेरै, घर धानेरै जाने भो बरै।
आमाले धेरैपटक यस्ता कुरा सुनाउनु हुन्थ्यो, आमाको चासो चिन्ता, असन्तुष्टि स्वाभाविक थियो। तर भन्दा बित्तिकै लोक सेवा पास गर्न सजिलो कहाँ छ र?
लोक सेवाका आइक्युभन्दा कठिन प्रश्न आफ्नै घरपरिवारमा देखिन्छन्, ती समस्या समाधान नगरिकन लोक सेवा पास गर्न सकिँदैन नि, यो कुरा आमालाई बताउने सामार्थ्य ममा थिएन। ठूलो छोरो पेटमा थियो, पहिलोचोटि लोक सेवाको तयारी गर्दा। आठ महिनाको पेट बोकेर जाँच दिन गएँ।
मलाई एक घण्टा बिताउन पनि कठिन भयो, परीक्षा हलमा उपस्थिति जनाएँ, फर्किएँ, त्यो वर्ष नाम निकाल्न सकिनँ’, कुरैकुरामा साथीले सुनाएकी थिइन्।
‘छोरा जन्मियो, दुई चार महिना सुत्केरीमै बित्यो, शारीरिक रूपमा बलियो नभएसम्म मानसिक रूपमा बलियो हुने कुरै भएन। जहाँ विज्ञापन खुल्थ्यो फारम भरिहाल्थेँ। म प्राइभेट जागिर खान्नँ भन्नेमा दृढ थिएँ किनकी आफ्नै मामाकी छोरीलाई सुत्केरी बिदामा बसेको बेलामा कामबाट निकाल्देको घटनाले मलाई घोचिरहन्थ्यो। विवाहित महिलाहरूको लागि प्राइभेट जागिर होइन रहेछ भन्ने लागिरहन्थ्यो।
छोरो हुर्कंदै थियो, लोक सेवाको तयारी गर्दै थिएँ, ठिक्क जाँच आउने बेलामा ससुरा बुवा बित्नुभयो। ससुरा बितेको बेलामा कसैकी नभएकी बुहारी हुन पनि भएन, जाँच हापेँ।
अर्को पटक विज्ञापन खुल्यो, फारम भरेँ, श्रीमानले पूरा सपोर्ट गर्नुभयो, यसपटक जसरी पनि नाम निकाल्छु भनेर लागेकी थिएँ, परीक्षाको दुई दिन पहिले छोरो बिरामी पर्यो।
त्यही वर्ष अर्को ठाउँमा विज्ञापन देखेँ फारम भरेँ, संयोग नै मान्नुपर्छ, त्यो वर्ष कुनै व्यवधान आइपरेन परीक्षासम्म, नाम निस्क्यो। चौथो पटकको प्रयासमा नियुक्तिपत्र हात परेको क्षण विश्वयुद्ध जितेको जस्तै भयो, मेरा साना दु:खले आर्जेको पत्र होइन भन्ने लाग्यो।
केही नगरौँ, हातमा उच्च शिक्षाको लालपुर्जा छ, त्यो पुर्जा ठाउँमा सदुपयोग नगरे के गर्ने त? केही गरौँ भन्यो कति बाधा आइपर्छन्? नचाहेर नगर्ने आफ्नो ठाउँमा छ मजस्तो केही गर्छु भन्ने महिलाहरूको सामु कति चुनौतीका पहाड देखिन्छन्।
सबैमा यी चुनौती चिर्ने हिम्मत हुँदैन, परिवारबाट साथ सपोर्ट पाइँदैन। सधैं फारम भर्यो, पैसा सक्यो, नाम निकाल्ने कहिल्यै होइन। यस्ता तुच्छ वचन घरपरिवारका सदस्यको मुखबाट बारबार सुनिरहँदा मेरी ठूलीआमाकी छोरीले जाँच दिनै छाडी। परिवारले सपोर्ट नगर्दा डिप्रेसनमा जान बेर लाग्नेरहेनछ।
यी भोगाइ आम मध्यम वर्गीय महिलाका साझा भोगाइ हुन्, कोही कसैसँग मिल्न गएमा संयोग मात्रै हुनेछ।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)