म सानो छँदा गाउँघरमा मान्छे मरेको घरमा भूत आउँछ भन्ने सुनेको थिएँ। भूतदेखि साह्रै डर लाग्थ्यो। अँध्यारो रातमा भूत आउँछ भन्ने थियो।
त्यसैले कसैको घरमा मरिमराउ भए हामी केटाकेटी त्यो घर वरिपरि नै जादैन थियौं।
अहिले मेरी छोरी पनि भूत भनेपछि असाध्यै डराउँछिन्।
गाउँमा बा बितेपछि म बरखी बारेर बसेको थिएँ। मेरी आठ वर्षकी छोरीलाई अरू केटाकेटीले खेल्दाखेल्दै तिम्रो घरमा भूत आउँछ अब भनिदिएछन्। उनी बेस्सरी रून थालिन्।
मैले उनलाई सम्झाएँ। भूत हुँदैन, आउँदैन भनेर। उनले बुझेंझै गरिन्।
अरू केटाकेटीले छोरीलाई भूतको कुराले डर देखाएको दिन बेलुका आमाले सानोमा म बिरामी भएको प्रसंग निकाल्दै बा सम्झेर बेस्सरी रून थाल्नुभयो। आमाले सम्झेको कुरा मलाई पनि याद छ।
सानोमा एक मध्यरात म बिरामी परेको थिएँ। पेट दुखेर एकदम छट्पटी भयो। दुखेर साह्रै गाह्रो भयो। वान्ता आएको आयै थियो। गाउँमा डाक्टर थिएनन्। पखाला भने लागेको थिएन।
'चुकचुक गर्दै साँझपख उफ्रिँदै खोलाखोला हिँड्छ,' आमाले भन्नुभयो, 'केही लागेछ कि के हो!'
हामी गाउँका केटाकेटी सानोमा फुटबल खेल्न खोलामा जाँदा आमा रिसाउनुहुन्थ्यो।साँझ खोलातिर जाँदा 'भूत लाग्छ, नजाओ' भन्नुहुन्थ्यो।
त्यो दिन म बिरामी भएपछि आमाले बालाई भन्नुभयो, 'बाहुन भिनाजुकोमा लाने हो कि देखाउन।'
नजिकै एक जना बाहुन बाजेको घर थियो। मेरा बाले दाइ र आमाले भिनाजु भन्नुहुन्थ्यो। उनी हाम्रो घरका पुरेत थिए। कर्मकान्डी पूजापाठबाहेक झारफुक पनि गर्थे। अनि राती नै बाआमाले बोकेर बाजेको घरमा लानुभयो। बाजेबज्यैलाई निद्राबाट उठाएर हामी सबै उहाँको घरको भुइँतलाको बाहिर पेटीमा राखेको खाटमाथि बस्यौं।
म बिरामी भएको कुरा आमाले बाजेलाई सुनाउनुभयो।
आमाको कुरा सुनेपछि बाजेले एउटा थालमा केही चामल राखे। अनि चामल ओल्टाइपल्टाइ गर्दै थालमा खेल खेलेझैं गरिरहे। एकछिन पछि खरानी मगाए। खरानी मेरो टाउकोमा छुवाउँदै फूफू गर्दै शरीरका दुवै भागमा छुवाउँदै तीनपटक तलमाथि गरे। पछि खरानी मलाई छुवाउँदै हावामा उडाए।
म त्यो दृश्य अचम्म मान्दै हेरिरहेको थिएँ। मेरो बेस्सरी मुख सुकेको थियो। आमा मसँगै हुनुहुन्थ्यो। बा यी दृष्य हेर्दै चुरोटको धुँवा उडाउँदै हुनुहुन्थ्यो। बाहुनी बज्यै सबैलाई चिया बनाउन लागिन्। बाजेले झारफुक सके। बाजेले बज्यैलाई अलिकति पानी र मरिचको धूलो ल्याउन भने। बाजेले गिलासको पानीमा पनि फूफू गर्दै मलाई पिउन भने।
मैले पानी पिएँ। बाजे जुरूक्क उठेर गएर अँगेनामा भएको ओदानको तीनवटै खुट्टा छोएर मेरो निधारमा ठाडो कालो टीका लाइदिए।
टीका लाएपछि बाजेले भने, 'डुलुवा लाग्या रहेछ। खोलाको डिलमाथिको घर छ। साँझतिर हिँडडुल गर्न नदिनू। केटाकेटीलाई चाँडै डुलुवा लाग्छ।'
बाजेको कुरा सुनेर आमाले भनिहाल्नुभयो, 'सुनिस्, भूत लागेछ तँलाई। घर छाडेर नहिँड भनेको हैन मैले।'
म झोँक्राएर चुप बसेँ।
बज्यैले सबैलाई चिया दिइन्। बाले चिया लिँदै फेरि चुरोट निकाल्नुभयो। एउटा चुरोट बाजेलाई दिँदै लाइटर झिकेर सल्काइदिनुभयो अनि आफूले अर्को सल्काउनुभयो। बाजे पनि असाध्यै धेरै चुरोट पिउने। पछि दमको रोगले बिते।
चुरोट तान्दै चिया खाँदै गफ गरेका मेरा बाआमाले चिया सकिएपछि बिदा माग्नुभयो र हामी घरतिर हिँड्यौं। दस मिनेटको बाटो भए पनि खेतका आली-आली अप्ठ्यारो बाटो हिँड्नु पर्दा समय लाग्थ्यो।
घर नजिकै पुग्न लाग्दा बाले भन्नुभयो, 'साँझमा खेल्न नजा, भूत लाग्छ भन्दा मानिनस्। यी आज भूत लाग्यो देखिस्। भूतले त मान्छे नि मर्छ नि।'
बाले मलाई डर देखाउनुभयो। म झन् डराएँ। आमा चुपचाप हिँडिरहनुभएको थियो।
बाले फेरि भन्नुभयो- मलाई भूत लाग्यो भने के गर्छस् नि कान्छा?
बाको कुराले त मेरो सातो गयो।
ओहो बालाई नि भूत लाग्छ र? म खंग्रङ्ग भएँ। केटाकेटी हुदाँ हामीलाई संसारका ठूला मान्छे आफ्ना बा र राजा हुन् भन्ने लाग्थ्यो। राजा र बालाई केही हुँदैन जस्तो लाग्यो। तर राजा नि बितेर गए, मेरा बा पनि बितेर जानुभयो।
केटाकेटीमा हामी साथीभाइ जे गर्दा पनि गाह्रो लागेको कुरा यो कसले गर्न सक्छ भन्दा राजा र आआफ्ना बाको नाम लिन्थिम्।
त्यसैले त्यो रात बाको कुराले एकछिन म टोलाएँ- सोचेँ, साच्चै बालाई भूतले लग्यो भने!
म भित्रबाटै डल्लो परेँ। आमाले 'केटाकेटीलाई किन जिस्काएको, त्यहाँमाथि बिरामी छ' भनेपछि बाले हाँस्दै आमालाई पो प्रश्न गर्नुभयो।
'त्यसो भए मलाई भूतले लग्यो भने तँ चैं के गर्छेस् नि बुढी?'
आमाले भन्नुभयो, 'नाबालक केटाकेटीको मुख हेरेर बाँच्छु नि। के गर्नु नि! बरू तपाईंभन्दा अगाडि मलाई लगे हुन्थ्यो।'
बाले अलि ठूलो स्वरमा भन्नुभयो, 'चिन्ता नगर्। मलाई केही भइहाले तीनभाइ छोरा छन्। तेरो दूधका धारा फिर्ता गर्छन्।'
हामी घर पुग्यौं। मलाई त्यो दिन बाले काँधमा बोक्नुभएको थियो। त्यसदिन पछि बाले मलाई बोकेको याद छैन। तर बाको काँध कस्तो हुन्छ भन्ने आजसम्म भुलेको छैन। बाको काँध चढ्न जति सजिलो अरूको काँध चढ्न कहिल्यै हुँदैन रहेछ।
बितेको त्यो दिनको घटनाले आमा र मलाई बाको सम्झना बारम्बार आइरह्यो। सायद यिनै कुराले होला जाडो महिनामा हामी तीनभाइ छोरालाई कोरा बस्दा सेतो लुगामा गुडुल्किएको देखेर आमा भक्किनिएर रूनुभयो।
अनि भन्नुभयो, 'मेरा बाबु हो, म अगाडि जान पाए तिमीहरूको यो दुःख देख्नु त पर्ने थिएन। बा जानुभयो। हे दैव! मेरो भाग्य!'
आमाको कुराले हामीलाई भावुक बनायो। भर्खर बा बितेको तीन दिन भएको थियो। हामीलाई कुरेर बस्ने गाउँका आफन्त दाजुभाइले सम्झाउनुभयो। आमा अलि शान्त हुनुभयो।
जुठो बारेर बसेका बेला नै बालाई मैले सपनामा देखेँ, म पूरै सेता कपडामा छु। बा भने कालो घोडा चढेर कालै वस्त्रमा।
'देखिस्, मेरो कुरा मानिनस्, विदेश नजा भनेको मानिनस्, आज दुःख पाइस् हैन? मलाई बा के छ भन्न पनि आइनस् हैन? म मरेर जाने बेला पनि मेरो मुख देखिनस्! जाडोले सतायो होला अहिले। बालाई पोलेर नि कुनै छोरालाई न्यानो हुन्छ होला र? अब देख्छस् बा हुनु र नहुनुको फरक,' सपनामा यसो भन्दै बा त दारा किट्न पो थाल्नुभयो।
साँच्चै बाको अभाव के हो, म अहिले बुझ्दै छु। एउटा आमाले आफ्नो बच्चाको भारी नौ महिना कोखमा बोकेर जन्माए पनि बाले आफ्ना छोराछोरीको भारी जीवनभर बोक्नुपर्दो रहेछ।
सपनामै बाको कुराले म झसंग भए, झल्याँस्स ब्युँझे।
सँगै सुत्नुभएको ठूलो दाइले 'किन तर्सिस कान्छा' भनेर सोध्नुभयो। मैले सबै सुनाएँ। मेरो कुरा सुनेर आमा फेरि रून थाल्नुभयो।
'तँ सात समुद्रपारि भइस्। बासँग तेरो भेट भएन। बालाई कति कुरा भन्नुथियो होला। बाले जाने बेला तेरो मुख देख्न पाउनुभएन। त्यही भएर छट्पटी भयो होला। तैंले पनि सम्झिस् होला बालाई। त्यही भएर तेरो सपनीमा आउनुभयो होला। खै, म त सपना पनि देख्दिनँ। हे भगवान! हे ईश्वर! मेरो हजुरलाई एकचोटि दर्शन गराइदेऊ न विन्ती,' आमा यसो भन्दै ह्वाँह्वाँ रूनुभयो।
माइलो दाइ चुपचाप सुनिरहनुभयो।
जेठा दाइले भन्नुभयो, 'हे आमा, के पिर गर्नुहुन्छ, हामी छोरा छौं। तपाईंलाई केही दुःख हुँदैन। अब जे भयो भयो। यस्तो नगर्नुस्।'
सँगै भएका छिमेकी काकाले पनि सम्झाउनुभयो, 'भाउजू नरूनुस् अब, यस्ता यस्ता छोराहरू छन्, तपाईंले के चिन्ता गर्नुहुन्छ? संसारको नियमै नै यही हो, एकदिन सबैले धर्ती छाड्नै पर्छ। तपाईंको आँशुको भार लाग्छ दाइलाई। स्वर्गको बाटो बन्द हुन्छ। दाइको स्वर्गवासका लागि पनि चुप लाग्नुस्। नरूनुस्।'
काकाको कुराले आमा चुप लाग्नुभयो।
काकाले मलाई बाको फोटो अगाडि भूप बालेर राखिदिन भन्नुभयो। मले त्यसै गरेँ।
भोलिपल्ट सागर स्नान गर्दा बाजेले भने, 'पितृलाई जति खुसी पार्यो, त्यति टाढा जान्छन्। पितृ दुखी भए घरवरिपरि बस्छन्।'
जीवनभर नजिक नभएको मेरा बाको मृत्युपछि के नजिक, के टाढा!
त्यही नि सोधिहालेँ- के गर्दा पितृ खुसी पार्न सकिन्छ त बाजे?
जीवित हुदाँ बालाई खुसी राख्ने प्रयास नगरे पनि मृत्युपछि खुसी राख्न उपाय पो सोधेँ।
मृत्यु संस्कार सकाएर म विदेश फर्किन लाग्दा मैले बाजेलाई सोधेँ- बाजे म विदेशमा छु। मेरो काम, व्यवहार र अरू कुराले गर्दा कति कुरा मैले भनेजस्तो गर्न नसकुँला तर पनि पितृ खुसी पार्न के गर्नुपर्ला?
बाजेले जवाफ दिए- सफा मनले बिहान पितृको नाममा जल चढाएर सूर्य नमस्कार गर्। तेरो मन नि खुसी हुन्छ, तेरो बा पनि खुसी हुन्छन्। बाको आत्मालाई शान्ति हुन्छ।
जीवनभर बालाई दुखी बनाइयो होला, मृत्युपश्चात पितृ खुसी पार्ने सजिलो उपाय बताइदिए बाजेले!
विदेशमा रहे पनि मैलै लगातार दुई वर्ष बाजेले भनेझैं गरेँ।
बा मसँग खुसी हुनुभएछ क्यार, साह्रै टाढा जानुभयो। त्यो दुई वर्ष मैले बालाई कहिल्यै सपनामा देखिनँ।
समय बित्दै गयो। मलाई कताकता बालाई देख्न पाएझैं हुन्थ्यो भन्ने लाग्यो। आँखाअगाडि फोटो छ तर बासँग बोल्न सक्दिनँ। बा सपनामा आएर बोलिदिए हुन्थ्यो भन्ने लाग्यो।
सपनामा बा आए सोध्ने थिएँ- बा तपाईंको छोराहरूले आमाको दसधारा दूधको ऋण तिरेछन् त?
सोध्ने थिएँ- जेठो, माइलो, कान्छो कसले बढी आमालाई सुख दिएछ बा? कसले बढी माया गर्दो रहेछ?
भन्ने थिएँ- बा हाम्री आमा साह्रै भाग्यमानी, एक थोपा आँसु पनि झार्नुपरेको छैन आजसम्म! तपाईंको माइलो छोरा त साह्रै असल, आमालाई आजसम्म रूवाएको छैन। जेठो त झन् युधिष्ठिरझैं छन्। कान्छाको झन् के कुरा गर्नु, एकदम आज्ञाकारी छ। सात समुद्र पारि भए पनि रातोदिन आमाको मात्र चिन्ता गर्छ। तीनभाइ छौं, अरूको झैं सातभाइ भए हाम्री आमाले कति सुख पाउँथिन् होला है बा!
अफसोच बालाई सपनामा देख्न सकिनँ। मन भारी भयो। बालाई कहिले देखौं जस्तो भयो। बालाई सपनामा देख्ने उपाय सोचेँ। अनि सोचेँ पितृ बेखुसी पार्ने उपाय। बाजेले भनेजसरी मैले जल चढाएर सूर्य नमस्कार गर्न छाडेँ। त्यही पनि बा सपनामा आउनुभएन।
समय बित्दै गयो। एकदिन दाइले फोन गरेर पर्सि हजुरबाको श्राद्ध छ भन्नुभयो। चोखो खान भन्नुभयो। मैले हुन्छ भनेँ।
एक छाकीको दिन म नुहाइधुवाइ चोखो खाएर बसेको दिन राती सपनामा बालाई देखेँ। उही रूपमा जुन रूपमा मैले बरखी बारेर बस्दा देखेको थिएँ। फेरि बा उही कालो घोडामा कालो वस्त्रका साथ देखिनुभयो।
बाले आफ्नै सुरमा भन्नूभयो, 'कस्तो लाग्यो त म नहुँदाको समय? बा छैन, अहिले त खुसी छस् होला नि? आमाको दूधको भार तिरिस् होला नि? थुइक्क पाजी, यही तालले आमाको दूधको भार फिर्ता गर्न सक्छस्?'
बाले आमा हामी छोराहरूसँग खुसी नभएको पो भन्नुभयो। बाको कुराले म स्तब्ध भएँ। बा बोल्दै हुनुहुन्छ।
'आमालाई हेरेको छस् कसरी बाँचेकी छे? आमाको खुसी के हो थाहा छ तँलाई? आमा जन्मदिने आमा मात्र होइन। आमा माटो हो। आमा देश हो। माटोको मूल्य बुझिस्? देशको भारी बोकिस्?'
बा निरन्तर प्रश्न गर्नुहुन्छ।
म अत्तालिन्छु। आत्तिएर जवाफ दिने कोसिस गर्छु।
बालाई बचन दिन्छु- म आमा, माटो र देशकै ऋण फिर्ता गर्छु बा।
बा ठूलो स्वरमा भन्नुहुन्छ- कहिले गर्छस्?
म ठूलै स्वरले उत्तर दिन्छु- बा अहिले, आजै, यसैपालि।
बा फेरि प्रश्न गर्नुहुन्छ- आकाशमै भए पनि बाकसमा फर्किस् भने कहिले तिर्छस् आमाको ऋण?
बा फुत्त हराउनुभयो।
म झसंग भएँ। बाको कुराले मन भतपति पोलेको छ। यताउता हेरेँ। बिलाप गरेँ। कराएँ। भितो छाम्न पुगेँ। बा देखिनु हुन्न। म बालाई देख्ने प्रयास गर्छु।
बालाई भन्ने प्रयास गर्छु- साँच्चै आकाशमै भए पनि बाकसमा गएँ भने मैले कसरी तिरौंला आमाको दसधाराको ऋण? बा! मैले तपाईंलाई खुसी बनाउन सकिनँ होला। पितृ दुखी भए भूत बनेर आउँछन् भन्थे। भूतै भएर पनि आउनुस् न बा। मलाई बोलाउनुस् न बा। भूतै भएर पनि आउनुस् न बा।
बा सम्झेर म चिच्याउँछु- मैले आमाको सेवा गर्नु छ। माटोको गुण तिर्नु छ। देशको ऋण तिर्नु छ। आकाशबाट फर्केर आउँदा बाकसमा आउनु नपरोस्.....मलाई आशीर्वाद दिनुस् न बा!