सामाजिक र राष्ट्रिय गतिविधिबारे गतिशील भएर चासो राख्ने क्षेत्रमध्येको एक क्षेत्र पत्रकारिता पनि हो।
यस क्षेत्रले पाएका उपनाम राष्ट्रको चौथो अंग र समाजको ऐनाले यस क्षेत्रको समाजमा आधारित भूमिका र महत्वबारे सजिलै दर्साउँछ।
योसँगै एउटा प्रश्न उजागर हुनु मलाई स्वाभाविक नै लाग्छ।
प्रश्न हो, 'हाम्रो समाज दर्साउने क्षेत्रलाई के हामीले त्यतिको उत्तरदायी बनाउन सकेका छौं त?'
आत्म समीक्षाको दृष्टिकोणले हेर्दा हामी आफ्नो स्थानीय पत्रकारिताको गुणस्तरबारे बोल्न त्यति रुचाउँदैनौं। बोले पनि हाम्रो विचार त्यति सशक्त र खुलस्त रूपमा आउन सक्दैन। यहाँ पत्रकारितालाई (विशेष गरी अनलाइन पत्रकारितालाई) 'कपी-पेस्ट' को पत्रकारितासम्म मात्र सीमित राखिएको छ।
तपाईंलाई कपी-पेस्ट पत्रकारिता के हो भनेर बुझ्न सहज होस् भनेर एउटा सानो अनुभव सुनाउँछु।
मैले विगतमा काम गरेको एउटा सञ्चार गृह, जसले वीरगंजमा ठिक्कको ख्याति कमाएको छ, त्यसको न्युज डेस्कमा जिम्मेवारी पाएको एक जना दाइलाई वेबसाइटमा समाचार अपलोड गरिरहेको देखेँ।
एक छिनसम्म हेरिरहेँ।
एक छिनसम्मको मेरो हेराइ आश्चर्यको हेराइमा बदलियो।
उनी के गरिरहेका थिए भने विभिन्न अनलाइन मिडियाहरूको वेबसाइटबाट जस्ताको तस्तै समाचार सारेर, समाचारको शीर्षकमा मात्र परिमार्जन गरेर आफ्नो तथा हामी कार्यरत सञ्चार गृहको वेबसाइटमा धमाधम राखिरहेका थिए।
दिनहुँ यही प्रक्रिया दोहोरी रहेको देख्थें।
एक दिन त सञ्चालक समेतलाई त्यही कार्यमा बढो गम्भीरतासाथ लिप्त भएको पाएँ।
कुनै दिन दाइलाई हाँसेरै सोधिहालें, 'दाइले सबै समाचार कपी-पेस्ट मात्रै गर्नुहुन्छ कि लेख्नु पनि हुन्छ?'
उनीबाट जवाफ हाँसेरै आयो, 'अहिलेसम्म त सञ्चालकले हामीलाई शीर्षकमात्र परिमार्जन गर्न सिकाएका छन्। जुन दिनबाट समाचार लेख्न सिकाउने छन्, त्यसै दिनबाट लेख्ने छौं।'
प्रतिउत्तरमा निःशब्द भएँ।
विडम्बना त यो हो कि न्युज डेस्कमा बसेका दाइ जस्ता कैयौंले आफूलाई समाजमा पत्रकार भएर परिचित गराउँछन्। पत्रकारिताको सामान्य नैतिकता र नियम पनि नजान्ने वा नमान्नेहरू पनि सञ्चार गृहकै सञ्चालक समेत भएर बसेका छन्।
कपी-पेस्टको प्रवृत्ति यति सम्ममा मात्र सीमित रहँदैन।
मेरो कार्य अन्तर्वार्तासम्बन्धी भए पनि त्यसै सञ्चार गृहको लागि केही समाचार पनि लेखेको थिएँ।
मैले लेखेको समाचार आफ्नो सञ्चार गृहको वेबसाइटमा आउनुको केही समयपछि नै अन्य दुइटा स्थानीय अनलाइनले पनि हालेको देखेँ।
यो पालि चाहिँ आश्चर्य लागेन। यस्ता अव्यवस्थित बौद्धिक चोरीहरूबाट अभ्यस्त जो भइसकेको थिएँ।
यी स्थानीय अनलाइनहरू त एक-अर्काका छरछिमेक जस्ता हुँदा रहेछन्, एकलाई आवश्यक परे अर्कोबाट सजिलै चोर्न मिल्ने वा अलि सभ्य भएर भन्दा कपी-पेस्ट गर्न मिल्ने।
सक्षम र सबल व्यक्तित्वहरू वीरगञ्जको पत्रकारितामा छँदै छैनन् भनेर मेरा अनुभवहरूले मैले अर्थ्याउन खोजेको कदापि होइन। थुप्रै छन्। अधिकांश भने यस्ता कथित पत्रकारहरूबीच कि त दबिएका छन् कि त आफैं हराएका छन्।
दुवै वर्गका पत्रकारहरू जब एउटै दिशातिर उन्मुख हुन्छन्, त्यस बेला दुवै बीचको भिन्नता छुट्टाउन त्यति सजिलो हुन्न।
यो दिशाबारेको अनुभव र यथार्थ त झन् विरक्त लाग्दो छ।
यी गलत प्रवृत्तिको अभ्यासका कारण पनि पत्रकारिता क्षेत्रमा सकभर सक्षम युवाको उचित मूल्याङ्कन हुन सक्तैन। न त गलत प्रवृत्ति अँगालेका कथित पत्रकारहरूले नै आफूलाई सुधार्न खोज्छन्। किनभने यस्ता संवेदनशील हुनुपर्ने विषयलाई पनि अति सामान्यीकरण गरिएको पाइन्छ।
‘यस्तै त हो’ भन्ने अवधारणाबाट हामी प्रगाढ रूपले ग्रसित छौं।
अहिलेलाई यति बुझ्न आवश्यक छ कि, जो कोही पनि संस्थागत पहिचान बोकेरै पत्रकार हुन्छ भने त्यसले पत्रकारिता क्षेत्रमा ल्याएको र ल्याउन सक्ने कुदृष्टता र जोखिमको भार, त्यसै क्षेत्रको असल र सक्षम पत्रकारहरूले भोग्नुपर्ने हुन्छ।