आइतबार र बिहीबार प्राय:सासूससुराको मुहारमा अरूणोदय हुन्छ।
उहाँहरूको कोठामा प्रायः अरू दिन चकमन्ताले राज गरेको हुन्छ तर आइतबार र बिहीबार प्रातकालमै कोठाभरि खुसी र उत्साहको गुन्जन गुन्जिन्छ।
कोठाको पर्दा सबेरै सर्दा उषाको लाली छताछुल्ल भएर ओछ्यानभरि फैलिन्छ।
जब घामको पहिलो किरणले कृशकाया शरीरलाई स्पर्श गर्छ तब अचानक निराशा, नीरवता र निस्सारताले भरिएको मनमा चञ्चलता र चपलता छचल्किएको म स्पष्ट देख्छु।
वास्तवमा निष्क्रिय र योजनाविहीन दैनिकी जब योजनाबद्व हुन्छ तब पक्कै मुहारमा सूर्य उदाउँदो रहेछ।
८० वर्षीय ससुरा बा जेष्ठ नागरिक कार्यक्रम जान आइतबार र बिहीबार निकै उत्साहित बन्नु हुन्छ। त्यो दिन व्यक्तिगत सरसफाइको विशेष ध्यान पनि दिनु हुन्छ।
नुहाउने, दाह्री काट्ने र चिटिक्क परेर कार्यक्रममा जाने। म गम खाँदै उहाँहरूको प्रसन्नतालाई नियाल्छु।
अहो! सक्रियता नै पो जीवन जिउने आधार रहेछ। कोठाभित्र निष्क्रिय भएर बस्दा मुहारमा सदैव घाम डुबेकोजस्तो देखिन्थ्यो। तर त्यो घाम उमेरको क्षितिजमा डुब्न खोजेको भने पक्कै हैन रहेछ।
काम, लक्ष्य, उद्देश्य र योजना हराउँदा उठेका ती क्षणिक काला बादलहरू मात्र पो रहेछ।
गतिशील जीवन कति महत्त्वपूर्ण रहेछ हरेक उमेरका लागि।
चन्द्रागिरि नगरपालिकामा वडा नम्बर ५ मा ‘किसिपिडी जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम’ संचालन भएको केही वर्ष भयो। मेरो सासू ससुरा पनि नियमित रूपमा सो कार्यक्रममा सहभागिता जनाउनु हुन्छ।
आइतबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरूलाई त्यहाँ भेला गराएर विविध मनोरञ्जनात्मक, चेतनामूलक, जानकारीमूलक र सूचनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
जेष्ठ नागरिकहरू हप्तामा दुई दिन भए पनि रमाइलो वातावरण आफ्नो समय बिताउन पाउँदा दङ्ग छन्।
बेलाबेला धार्मिक तीर्थ यात्रा गराउँछ। वनभोजको कार्यक्रम आयोजना गर्नुका साथै स्वास्थ्य शिक्षा, योग, ध्यान, वाद्यवाधन र नाचगान कार्यक्रम नियमित रूपमा सञ्चालित हुने गर्छ।
प्रत्येक हप्ता भिन्न भिन्न स्वास्थ्यवर्द्धक खाजाको पनि व्यवस्था वडाले नै गर्दै आएको छ।
७३ वर्षको उमेरमा पनि सासू आमाको सक्रियता त बेजोडको नै छ।
क्रियाशिल दैनिकी र प्रविधिमा सक्रियता वास्तवमै अनुकरणीय छ सासूआमाको।
अझ उहाँको वाक्पटुता सराहनीय छ।
समाचार र सूचनामा निकै सचेत सासूआमा। जेष्ठ नागरिक कार्यक्रमबाट घर आउँदा जानकारीमूलक सन्देशहरू बोकेर प्रायः आउनु हुन्छ।
स्वास्थ्य बीमाको सूचना होस् या नगरपालिका भित्रका जेष्ठ नागरिकसम्बन्धी सेवा र सुविधाहरूको जानकारी उहाँलाई सबै कुराको अवगत भएकै हुन्छ।
आफूमात्र होइन अरूलाई पनि सचेत पार्दै समयमा ती सुविधा उपयोग गर्न साथीहरूलाई पनि घचघच्याउनु हुन्छ।
सासूआमाको गतिशील जीवनको बारेमा सोचमग्न भएर साग केलाइरहेकी थिएँ।
‘यो उमेरमा पनि कति चेतनशील मेरी सासूआमा। अहो! के हामी उहाँको उमेरमा यस्तै सक्रिय हुन सकूँला?’
म झल्याँस्स भएँ। ससुरा बाको आवाज मेरा कानमा आएर ठोक्किए।
‘ए अम्मू! मेरो दाह्री काटिदे है। अस्ति आफैंले काट्न खोज्दा हात थर्थराए चार ठाउँमा काटें। छाला तनक्क हुँदा पो दारी काट्न केही लाग्दैन थियो। उमेर सँगसँगै अब त आँखा पनि कमजोर भए। बुढो भएपछि त आँट पनि डग्मगाउँदो रहेछ।
हुत्ती त मनमा कति छ कति तर खोई शरीरलाई के भाको हो, जतिखेर पनि भुइँचालो आएकोजस्तो हल्लाई रहन्छ।
के गर्नु उबेला स्याउजस्ता गाला भन्थिस् तानै अब त किसमिसजस्ता भैगए।
दारी काटौं भन्यो छालै सोहोरिएर आउँछ।
हेर अम्बु! अबदेखि तेरो एउटा काम अझ थपियो। दाह्री तैंले नै काटिदिनु पर्छ। सुगर बढेको बेला पत्तिले काटे घाउ बिसेक हुँदैन, बा त्यही औंलाको घाउले मास छर्न जानु भयो।’
‘कति न तपाईंका गाला स्याउजस्ता थिए।’
सासूआमा खित्का छोडेर हाँसेको सुनेर मैले पनि आफ्नो हाँसो थाम्न सकिनँ।
‘लु लु! स्याउजस्ता भए पनि सरिफाजस्ता भए पनि आखिर समयले भोगटेजस्ता गाला पनि चाउरी पारिहाल्ने रहेछ। चाँडो गर ढिलो हुन्छ फेरि कार्यक्रमना जान। अम्मु! पानीले भिजाएर फुलाउँछु है त दाह्री, चाँडो आइज्, मैले दाह्री काट्ने सर्दाम ठिक्क पारिसकें।’
‘पख्नु न पख्नु के बालखजस्तो गरेको। पहिले पूजापाठ त गरौं। जाऊँला क्या समय मै। गाडी छुट्ने होइन। हाजिर गर्न पुग्नु पर्ने होइन, बुहारी खान बनाउँदै छिन् कति हतार गरेको।’
असी वर्षीय ससुरा बा भर्खर स्कुल भर्ना भएर स्कुलमा रत्तिएको बालखजस्तै गर्नु हुन्छ।
जेष्ठ नागरिक दिवा कार्यक्रममा जान।
अरू दिन शान्त भएर कोठामा बसिरहँदा पनि घुर्मी लाग्यो भनेर पल्टिरहने मान्छे हप्ताको दुई दिन त्यति स्फुर्त भएको देखेर बालाई सोधें - ‘बाबा! जेष्ठ नागरिक कार्यक्रममा जाँदा रमाइलो लाग्छ? त्यहाँ जाँदा घुर्मी ( रिँगटा ) लाग्दैन? अनि के के गर्नु हुन्छ त्यहाँ?’
फुस्किएका अगाडिका दाँत देखाएर प्रफुल्ल हुँदै बा पुनः उत्पुलक भएर बोल्नु हुन्छ।
‘के भाकी यिनी रमाइलो हुँदैन त घुम्न पाउँदा! घरमा गुम्सिएर कति बस्नु। आमा पो घरको पनि काम गर्छे। मोबाइल हेर्छे र समय बितेको पत्तै पाउँदिन। म काम गर्न पनि सक्दिनँ, मोबाइल चलाउन पनि जान्दिनँ अनि एकएक पल काट्न बलाय हुन्छ। कोठामा थुप्रिरहँदा खाली अतीतका घटनाहरू मस्तिष्कमा नाचिरहन्छन्।
बरू कोठा बाहिर हिँड्दा नचाहिने कुराहरू त फुर्दैनन्।
जेष्ठ नागरिक कार्यक्रममा त आफ्नै दौंतरीहरू जम्मा भएका हुन्छन्। अरूका कथा व्यथा सुन्यो। आफ्नो भन्यो मन हलुका हुन्छ।
हाम्रो घरमा पो केटाकेटीहरू पनि नजिकै आएर हामीसँग बोल्छन्, हाँस्छन्। विदेश बसेका छोराछोरी र नातिनीहरू पनि फोन गरिरहन्छन्।
तिमी पनि प्यारप्यार बोलिरहन्छ्यौ।
आमा छे, मोबाइलबाट के के देखाउँछे र त मलाई कहिलेकाहीँ फड्को हुन्छ गाउँघर सम्झेर।
त्यहाँ त आफ्नै उमेरका ५०/६० जना जम्मा हुँदा त उखुम रमाइलो हुन्छ। दिन बितेको पत्तै हुँदैन। कति सजिलै ३ बज्छ। कसै कसैलाई त घरमा एक शब्द बोल्ने साथी पनि नहुने रहेछन्। कतिपय घरमा एकल जेष्ठ नागरिकहरू गुम्सिएर बसेका छन्।
राम्रो मुखले नातिनातिना र छोराबुहारीहरू बोल्दा पनि बोल्दा रहेनछन्। सबैको पीडा सुन्दा त आफ्नो पीडा त केही होइन जस्तो लाग्छ।
कोठामा बसिरहँदा मलाई मेरो वृद्ध अवस्था देखेर दिक्क लाग्थ्यो त्यहाँ जान थालेपछि रमाइलो लागेको छ।’
हातमा कागजको एउटा चिर्कटो लिएर आमा पनि भान्सामा टुसुक्क आएर हामीसँगै बस्नु भयो।
‘अनिता हेर त यो कागज। के केको पुर्जाहरू चाहिन्छ। हाम्रो स्वास्थ्य बीमाको कागत भएपछि। यी यो अस्पतालहरू जम्मैमा उपचार नि:शूल्क हुन्छ रे स्वास्थ्य चौकीकी नानीले भनेको।
बीमाको कागज, बसाइसराइको कागज, नागरिकता र फोटो ठिक पारिदेऊ है।
भोलि हामी साथीहरू मिलेर गोदाम जान्छौं। इसिजी, थाइराइड, सुगर, प्रेसर जम्मैको परीक्षण गरेको नि:शूल्क हुन्छ रे।
औषधि पनि नि:शुल्क दिन्छ रे।
सरकारले दिएको सुविधा लिनुपर्छ।
हाम्रा लागि हो त्यो सुविधा, जान अल्छी गरेर हुन्छ र?’ बाआमा दुबैको मुहार उज्यालो थियो।
ससुराबा अझ बोल्दै हुनुहुन्थ्यो- ‘सुगर र प्रेसरको नियमित औषधि सेवन गर्नेहरूलाई बैंक खातामा पैसा पनि सरखारले दिन्छ रे भोलि हाम्रो पनि खाता खोल्न जाऔं है अनिता।’
मलाई बढो आनन्द लागिरहेको थियो। सासूससुरासँगको वार्तालापमा।
मैले बाबाको मन छाम्ने कोसिस गर्दै सोधें
‘बाबा! नातिनीहरू स्कुल गएजस्तै हजुरहरूलाई पनि आइतबारदेखि शुक्रबारसम्म जेष्ठ नागरिक स्कुल सञ्चालन भए जानु हुन्थ्यो?’
‘जाने थिएँ नि। दिनभरि दौंतरीहरूसँग भुलिएपछि राति मस्त निन्द्रा त पर्थ्यो होला।
हेर न अरू दिन घुर्मी लागेर कोठामै भुत्तिन्छु (लड्छु) जस्तो लाग्छ। जेष्ठ नागरिक कार्यक्रममा जाँदा केही हुँदैन। राति पनि मजाले निदाउँछु। रमाइलोसँग दिन बितेर त होला नि।’
बाआमाको कुरा सुनेर मख्ख परें।
मैले सबै कागजात ठीक्क पारेर दिएँ। बाआमा खाना खाएर कार्यक्रममा जानुभयो।
म सोच्न थालें- बुढाबुढीहरूको दैनिकीमा साँच्चै परिवर्तन ल्याउन सके सायद बुढ्यौलीका तमाम पारिवारिक, सामाजिक , मानसिक समस्याहरू समाधान हुने थिए कि!
हामी सबैको घरमा जेष्ठ नागरिकहरू पक्कै हुनुहुन्छ। जेष्ठ नागरिकहरूलाई उपेक्षा गरेका समाचारहरू सामाजिक संजालमा देख्नु र पढ्नु पर्दा हृदय चिरिएर आउँछ। अँध्यारो सँगसँगै उज्यालो आउँछ भन्याझैं जेष्ठ नागरिकहरूलाई मान, सम्मान र आदर गर्ने परिवारको पनि यहाँ कमी छैन।
जति नै माया, सम्मान गरे पनि जेष्ठ नागरिकहरूलाई अधुरोपनले भित्रभित्र टोकिरहेको हुने रहेछ। जेष्ठ नागरिकको राम्रोसँग सेवाटहल गरेकै छौं जस्तो लाग्छ तर जे जति गरे पनि जेष्ठ नागरिकहरूलाई कता कता एक्लो महसुस हुने रहेछ।
प्रायः सबै छोराछोरी कामकाजी हुन्छन्। चौबीसै घण्टा बुढाबुढीको नजिक बसिरहन पनि सम्भव छैन सबैलाई।
हामीले हाम्रा दूधे बच्चाहरूलाई सानै उमेरमा स्कुल पठाउँछौं तर जेष्ठ नागरिकहरूलाई त्यो वातावरण छैन।
सायद हाम्रो समाजमा पनि नौलो अभ्यासको थालनी भए दिनभरि जेष्ठ नागरिकहरूलाई पनि स्कुल पठाउने व्यवस्था भैदिए! बुढाबुढीहरू कति मज्जाले रत्तिने रहेछन्।
एक्लोपनको समय हाँसी हाँसी कटाउने रहेछन्।
हाम्रो चन्दागिरि नगरपालिका वडा नम्बर ५ को यो प्रयास निकै सराहनीय र अनुकरणीय छ।
अझ आगामी दिनमा यो कार्यक्रम हप्ताभरी सञ्चालन होस् भन्ने आशा गर्दै मोबाइल चलाउँदै थिएँ।
मेरा आँखा एउटा समाचारमा गएर लिसोझैं टाँसिए।
‘आफ्नै छोराले काठमाडौं घुमाउन ल्याएर आमालाई सडकमा अलपत्र छोडेर हिँडेको।’ समाचार पढेर मर्माहत भएँ।
किन हामी यतिसम्म नीच, पापी र घटिया हुनसक्छौं। आफ्नै आमाबालाई बुढेसकालमा गलत्याउँदा हाम्रा हात काँप्दैनन्? रत्तिभर हामी सोच्न सक्दैनौं भोलि हाम्रा सन्ततिले हामीलाई पनि त्यस्तो व्यवहार गरे भने?
हाम्रो विवेक किन सुतेको? हाम्रो उमेर पनि त चिरयौवन छैन। एकदिन हाम्रो पनि वृद्धअवस्था आउँछ भन्ने सोच किन हामीमा आउँदैन।
जेष्ठ नागरिकहरूलाई बुझ्ने कोसिस गरौं। जेष्ठ नागरिकका समस्याहरूलाई सम्बोधन गरौं। जेष्ठ नागरिकहरूको समस्या समाधानको विकल्प सडक र वृद्धाश्रम मात्र नै हो त?
एकपटक हृदयमा हात राखेर सोचौं।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)