म एक स्त्री, मलाई स्त्री सँगै प्रेम छ, मायाको कुनै लिंग नहुँदो रहेछ।
के यो समाजले मेरो निर्णयलाई इज्जत दिन्छ? मेरो विवाह भएको थियो, छोरा पनि छन्।
कुनैबेला असाध्यै पीडामा हुँदा, लाचार हुँदा तिरस्कृत गर्न पनि पछि परेको थिएन यो समाज। आफ्नो खुट्टामा आफैं उभिएँ, आफूलाई र छोराको लागि एक्लै लडें, मेहनत गरें र समाजमा नाम बनाएँ। यही समाज जसले तिरस्कार गरेको थियो, अहिले सम्मान समेत गर्छ। यो सम्मान मलाई हो या मेरो कमाइलाई, अझै बुझेकी छैन।
तर पनि जीवन हो, उतारचढाव त हुन्छ। सुखमा रमाउने हजार भए पनि दु:खमा रूँने म एक्लै नै थिएँ। मेरो एक्लो जीवन, संघर्षशील नै रह्यो। जीवनमा पुरूष पात्र नठोकिएका भने पक्कै होइनन् तर म अगाडि बढ्नै सकिनँ। मेरो बच्चाको भविष्यको डरले म रोकिएँ।
आजकालको माया......, के हो के? बुझ्नै सकिँदैन।
कुनै पनि अदालत जाऊ, १०० वटा मुद्दा छन् भने ४० सम्बन्धबिच्छेद मुद्दा मात्र छन् र ४० चेक अनादर तथा बैंकिङ कसुर र बचेको २० मात्र अन्य।
ठगहरू बढेछन् सम्बन्ध र व्यवहारमा पनि। यस्तो परिस्थितिमा विश्वास गर्नु पनि कसरी?
अचानक मेरो जीवनमा उनी आइन, कुन साइनो जोडियो। मैले बुझ्नै सकिनँ।
मैले मायाले उनलाई सानु भन्थें। बहिनी भन्ने सम्बोधन उनले मन पराइनन्। हामी जीवनसाथी हुने हो है भनेर पटकपटक भन्थिन् तर मलाई डर लाग्थ्यो, उनको माया र साथलाई आत्मसाथ गरेता पनि सामाजिक रूपमा खुल्नै सकिनँ तर पनि नाम बिनाको सम्बन्धमा हामी निकै खुसी थियौं।
मलाई त्यो माया र सम्मानको कमी सदैव महसुस हुन्थ्यो। जुन मैले उनीबाट पाएँ। मेरा हरेक समस्यामा उनी ढाल बनेर उभिइन्।
मलाई एकपल पनि एक्लै छोडिनन्। मलाई पीडा हुँदा उनलाई दुख्थ्यो। मेरो मन दुख्दा उनको आँसु झर्थ्यो।
थाहै नपाई कतिबेला उनी मेरो प्राण बनिन् पत्तै भएन।
उनले यस सम्बन्धमा मलाई यति धेरै सहज बनाइन् कि मलाई समाजको डर पनि रहेन, आखिर के गल्ती गरेका छौं र, माया गर्न नपाउनु?
हाम्रो जीवन हाम्रो निर्णय हो नि भन्न थालिन्। हात समातेर जीवनभर साथ दिने वचन दिइन् अनि त म पनि उनको माया र विश्वासमा चुर्लुम्म डुबें।
यो समाजले हाम्रो जीवनभरको साथ कुन सम्बन्धमा स्वीकार्छ त? गर्वका साथ एक अर्कालाई मेरो मान्छे भन्न कसरी सक्छौं त? यो अन्यौलले मलाई प्रश्न गरिरह्यो।
म स्त्री, अनि उनी पनि एक स्त्री। उनको जीवनमा पनि प्रेमीहरूको रूपमा पुरूष नआएका भने होइनन्। म पहिलो महिला थिएँ जसप्रति उनी आकर्षित भएकी थिइन्। आकर्षणबाट सुरू भएको हाम्रो सम्बन्ध कतिबेला जीवन बन्न पुग्यो थाहा नै भएन।
जुन इज्जत सहितको माया, साथ, समझदारी, केयर, अपनत्व र परिपक्कता हामीले एकार्कामा पायौं त्यो सायद जीवनमै महसुस भएको थिएन। धेरैले सोधे उनलाई अनि मलाई पनि, 'तपाईंहरूको सम्बन्ध के हो?'
हामीले दिदीबहिनी हौं भनेर उत्तर दिइरहँदा, उत्तर सक्किन नपाउँदै अर्को प्रश्न सुरू हुन्थ्यो, 'साख्यै? अनि अर्को तपाईंहरूको थर फरक छ त? बाबुआमाको नाम फरक छ? कसरी दिदी बहिनि भयौ त?' अर्को प्रश्न खडा हुन्थ्यो।
हामी उत्तर के दिने सोचमा पुग्थ्यौं, जबकि हामी एकार्काको लागि संसारकै प्रिय थियौं। यसको मतलब यो होइन कि हाम्रो झगडा हुँदैन, हामी रिसाउँदैनौं। संसारकै प्रिय सम्बन्ध थियो। माया, झगडा, कुटाकुट अनि त्यसपछिको मिलन, असाध्यै मिठो सम्बन्ध छ हामीबिच।
तर समाजको धारिलो प्रश्नहरूले गर्दा यस सम्बन्धले नाम पाउन सकेन, कसैले तोडेर नतोडिने र हरेक प्रश्नहरूको उत्तर स्वरूप हाम्रो सम्बन्धको नाम चाहिएको थियो, जसले हामीलाई सामाजिक रुपमा पनि बाधोस्, के यो सम्भव छ? हाम्रो माया नि:स्वार्थ छ। मैले फेरि दोहोर्याएँ मायाको लिंग हुँदैन। माया त केबल महसुस गर्ने सम्बन्ध रहेछ, सहजता चाहिने रहेछ।
अहिलेको युगमा सबै कमाउन सकिन्छ, मात्र मेहनत गर्न छोड्नु भएन, एउटै कुरा मात्र किन्न पाइँदैन त्यो हो खुसी। जुन हामिले एकार्कामा मात्र पायौं।
यो समाजलाई, कुन नामले सम्बोधन गर्ला हामीलाई र हाम्रो खुसीलाई, माया गर्नु गल्ती हो र?
के हामी दुवै स्त्री हुनाले गर्दा मात्र यो सम्बन्धको नाम हुँदैन त?
बाँकी अर्को भागमा...