बैंकको जागिर खाएको आज मैले तीन वर्ष भयो।
मैले कमाएर कुनै पनि पैसा लगानीमा हाल्न पाएको छैन।
पछिल्लो दुई वर्षमा मेरो तलब एक रुपैयाँ बढेको छैन तर मेरो कोठाको भाडा तीन हजारदेखि छ हजार पाँच सयको हाराहारी पुगेको छ।
मैले दिनहुँ प्रयोग गर्ने बजारका सामग्री कहिले सुनको भाउमा किन्ने गरेको छु त कहिले पेट्रोलको भाउमा किनेको छु। खाने तेलकै कुरा गर्दा १६० देखि ३१० सम्म लिटरको खाएर चलिरहेछु। अफिसकै कुरा गर्दा टार्गेट चार गुणा बढ्दो स्थितिमा छ।
अफिसकै कुरा गर्दा पहिला बैंकको काम आरामदायी थियो। १ ग्राहक आफैं आउथे, प्रतिस्पर्धा छैनको स्थितिमा थियो सबै बैंक आफैंमा फरक जस्तै थिए। ग्राहकले आफैं खोज्दै बैंकसम्म आउथे।
एक सरल सुविधाका हरेक वस्तुहरू सहजै ग्राहकहरूले प्रयोग गरिदिन्थे तर अहिले स्थिति फरक छ।
ग्राहक बैंक आउँदैनन्, हामी ग्राहकको घर घर पुग्नुपर्छ। बढीभन्दा बढी सुविधाका वस्तुहरू ग्राहकले जति नै गर्दा समेत प्रयोग गर्न आनाकानी गर्छन्। प्रतिस्पर्धाले बजार भरिएको छ भने टार्गेटहरू आफैंमा अत्यधिक बढेका छन्।
पहिलाको स्थितिमा अहिले चार गुणा बढेको छ। ग्राहकले कर्जा लिने र तिर्ने गर्थे पहिला भने अहिले कर्जामा त झन् समस्या देखिएका छन्।
स-साना वित्तीय संस्थामा त ऋणी ऋण लिएर फरार छन्। जसको मारमा कर्मचारीले विभिन्न किसिमले समस्या भोग्नु परेकै छ।
चट्ट हेर्दा सर्ट पाइन्ट, कोट, टाईमा सजिएर बस्ने कर्मचारी अनुहार हेर्दा सबै कुराको भरिपूर्ण लाग्छ। अझ यो गर्मीको समयमा त बैंक भन्या गर्मीको समयमा जानैपर्न ठाउँ जस्तै छ। तर त्यही शितलमा पसिना निक्लने खालका कर्मचारीका पीडा सायदै बाहिरी समाजले बुझ्नै सक्दैन।
तपाईंलाई के लाग्छ? बैंकको एउटा साधारण कर्मचारीले कतिको तलब भत्ता खान्छ? के लाख होला? के ६०/७० हजारको हाराहारी होला? तर बैंक अनुसार सेवा सुविधा त बिरलै छन् जुन सेवासुविधा कल्पनाभन्दा बाहिरका छन्। त्यस्तै सेवा सुविधासहित बैंकको काम झन्- झन् जटिल बन्दै गएको पनि छ।
एउटा बैंकको नियमित कार्यालय सन्चालन विभागमा कार्यरत कर्मचारी समेत विभिन्न ठूला ठूला मानसिक समस्यामा परेको घटना अहिले बाक्लै सुन्न पाइन्छ। कैयौं कर्मचारी विदेश जाने होडबाजीमा समेत छन्। यहाँ सहज भएर पक्कै पनि विदेश जाने होडमा कोही हुँदैन होला। केही भएरै त यो एसीसहितको इज्जत पाउने काम छोडेर विदेश जान बाध्य छन् मान्छे।
अहिले बैंक आफैंमा प्रतिस्पर्धात्मक छ। यहाँ हरेक बैंकिङ संस्था एकअर्कासँग तुलना र लडाइँ गरिरहेका छन्। जहाँ सुविधाजन्य वस्तु तथा सेवा उत्पादन र बिक्रीको होडबाजी चलिरहेकै हुन्छ।
जसमा खाता खोल्नदेखि लिएर क्रेडिट कार्ड, एटिएम कार्ड, मोबाइल बैंकिङ जस्ता सेवालाई प्रोत्साहन तथा बिक्री गरी विभिन्न माध्यमबाट खाता तथा डिपोजिट बढाइ अत्यधिक ग्राहक पुर्याउने होडमा बैंकहरू लागेका छन् जसले गर्दा प्रतिस्पर्धा पनि अत्यधिक छ।
बिहान ९ बजे गएको कर्मचारी साँझ ८/९ बजेसम्म कहाँ छन् भन्नु नै हुन्न अफिस गए भेटिन्छ। उसको बाहिरी दुनियाँ नै छैन भन्दा हुन्छ।
आफ्नै समूहमा रहेर काम गरिरहँदा एकोहोरो हुने, अरूसँग मिल्न नसक्ने खालको समेत व्यवहार देखिने रहेछ।
अरू दिन ११/१२ घण्टा काम गर्दा समेत काम नसके शनिबार तथा सार्वजनिक बिदामा काम गर्न पर्ने। तर सुविधा छ त्यही मासिक तलब दसैंभत्ता अनि बोनस। अनि भनिन्छ यत्रो पाउँदा पनि के पुग्दैन! वर्षको अधिकांश समय बैंकलाई दिएर आएको बोनस होला केही बचेछ भने बच्ने नत्र त उहीँ हो खायो बस्यो।
खायो बस्यो भन्दा मलाई मेरै दाजुले भनेको कुरा एउटा याद आउँछ, ‘खाने बस्ने हो भने त गाउँ जा भैंसी पाल बाख्रा पाल त्यता केही बढी होला।’
हुन पनि हो, न कमाएर आमालाई केही दिन छ, न आफूलाई केही किन्न छ, न परिवारलाई सघाउ गर्न छ त न भविष्यको लागि केही बचेको छ। खानी बस्नी त मैले केही नगर्दा पनि गरेकै थिएँ त!
आखिर बैंकको जागिरबाट केही परिवर्तन भयो त मेरो लगाइ खुवाइ फरक भए होला, केही साथी र चिनजान फरक भए होला। नत्र भने त परिवारभन्दा बाहिरको संसारमा एक्लै। न बचत छ, न मन खुसी। मात्र चलिरहेछ।
घरमा बुबाले पैसा मागे छैन, आमाले मागे छैन, दिदी-बहिनीले भने छैन नै हो उत्तर।
भएर नदिएको हैन त्यो आफूलाई थाहा छ तर अरूले त भएर नदिएको हो, पैसा लुकाएर राखेछ, बिहेको लागि साचेछ, आफैंले कता लगाएछ यही सोचेका हुन्छन्।
कहिलेकाहीँ त लाग्छ यो संसारबाट टाढा जाऊँ न पैसा बचत छ न मन खुसी छ। यहाँ दुनियाँलाई कमाएर लुकाएछ भन्नि सोच अझै किन बनाइराखौं लाग्छ! अनि फेरि सोच्छु गर्दै जाऊँ कस्सो नहोला!
यो मन खुसी त छैन तर आशै आशामा मनलाई सम्हाल्यो फेरि उही सोच्छ। न खाना खान मन लाग्छ न निन्द्रा गतिलोसँग लाग्छ। मन मा एक किसिमको छरपटी नै छ। कसैसँग बोल्न मन लाग्दैन आफ्नो मान्छे कोही होलाजस्तो नि लाग्दैन। आफैंसँग आफ्नै लडाइँ आखिर कहिलेसम्म?