विद्यालयहरूलाई ज्ञानको मन्दिरका रूपमा चिनिन्छ।
ज्ञान आर्जनका लागि आवश्यक स्रोतमध्ये पहिलो प्राथमिकतामा पाठ्यपुस्तकलाई लिने गरिन्छ। यसैकारण विद्यालय भन्ने बित्तिकै हरेक विद्यार्थी झोलामा पुस्तकहरू बोकेर जाने स्थानका रूपमा बुझेका छन्। अहिले समय बदलिएको छ। पाठ्यपुस्तकमा रहेका सैद्धान्तिक ज्ञानले मात्र पूर्ण रूपमा विद्यार्थीहरूको व्यक्तित्व विकास गर्न मुश्किल पर्ने भन्दै नयाँ विकल्पहरूको खोजी गर्न थालिएको छ। विद्यार्थीहरूको व्यक्तित्व विकासमा सैद्धान्तिक सँगसँगै व्यावहारिक ज्ञानको आवश्यकता पर्ने भन्दै काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयहरूमा नयाँ कार्यको थालनी गरेको छ।
शिक्षालाई सीपसँग जोड्ने उद्देश्यका साथ महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा हप्ताको एक दिन शुक्रबार ‘बुक फ्रि फ्राइडे’ अर्थात् ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रम थालनी गरेको छ।
काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूले वैशाख दोस्रो साताको शुक्रबारदेखि पाठ्यपुस्तक नै नलिई विद्यालय जान थालेका छन्।
हरेक दिन पुस्तकको भारी बोकेर विद्यालय जाने विद्यार्थीहरू एक दिन भारी नबोकी रमाउँदै विद्यालय गएका छन्।
‘पढाइमा सीप’ नामकरण गरिएको यस कार्यक्रममा हरेक शुक्रबार विद्यार्थीहरूलाई नियमित अध्यापन हुने पाठ्यक्रमबाहेक अन्य नयाँ जीवन उपयोगी शिक्षा प्रदान गरिने जनाइएको छ।
यो नयाँ सिकाइले विद्यार्थीहरूको व्यक्तित्व विकास हुनुका साथै दैनिक जीवनमा आइपर्ने घरायसी समस्या समाधान गर्न सक्षम बनाउने विश्वास महानगरले राखेको छ।
यसै शैक्षिक सत्र २०८० देखि महानगरले सामुदायिक विद्यालयको माध्यमिक तहमा ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गर्ने जनाएको छ। यस कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई विभिन्न १० वटा विषयमा आधारित रहेर सीपमूलक शिक्षा प्रदान गरिने छ।
पहिलो वर्ष कक्षा ९ मा यस्तो तालिम सञ्चालन गरिनेछ।
यस दिन अन्य कक्षाका विद्यार्थीलाई भने शिक्षकले पढाइको सट्टा विषयगत रूपमा रचनात्मक क्रियाकलापमा सहभागी गराउनुपर्ने उल्लेख छ।
कक्षा ९ का विद्यार्थीलाई लक्षित गरेर ल्याइएको पढाइमा सीप कार्यक्रमअन्तर्गत ९० घण्टाको तालिम प्रदान गरिनेछ। कृषि, हाउस वायरिङ, सौन्दर्य, मोबाइल तथा इलेक्ट्रिोनिक्स, काठसम्बन्धी तालिम, अतिथि सत्कार, प्लम्बिङ, फेसन डिजाइनलगायतका तालिम उपलब्ध गराइने योजना महानगरले अगाडी सारेको छ। यी विषयका प्रशिक्षक विद्यालयलाई महानगरले नै उपलब्ध गराउने जनाएको छ। महानगरपालिकाभित्र माध्यमिक तहको पढाइ हुने ५९ वटा सामुदायिक विद्यालय मध्ये यस वर्ष ५६ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्ने योजना महानगरले बनाइएको छ।
पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य महानगरले राखेको छ।
महानगर प्रमुखकै भनाइलाई आधार मान्ने हो भने ‘पढाइमा सीप’ कार्यक्रमले एउटा व्यक्तिले चालिस रुपैयाँ किलोको तरकारी खरिद गर्दा उसलाई त्यो तरकारी कसरी उत्पादन हुन्छ, उपभोक्ता सम्म आइपुग्दासम्म कति परिश्रम परेको छ भन्ने थाहा हुँदैन। तसर्थ उसलाई यसको ज्ञान दिनका निमित्त यो कार्यक्रम सहयोगी हुने विश्वास नगर प्रमुखको छ।
यसबाट के प्रष्ट हुन्छ भने यो कार्यक्रमले महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई परिश्रमको मोल सिकाउन खोजेको छ।
अभिभावकको त्याग बलिदानबारे शिक्षा दिन खोजेको छ। यसले एकातिर शिक्षालाई माटोसँग जोड्न खोजेको छ भने अर्कोतर्फ सभ्य र व्यवस्थित समाजको परिकल्पना गरेको अनुमान लगाउन सकिन्छ।
यसका साथै यस कार्यक्रमबाट विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार हुने आशा राखिएको छ।
यसबाट मुलुकमा रहेको व्याप्त बेरोजगारीको समस्यालाई सम्बोधन गर्न समेत सहयोग पुग्ने जनाइएको छ।
अहिले मुलुकमा बेरोजगारीको समस्या विकराल बन्दै गएको छ। दैनिक औषतमा १५०० भन्दा बढी युवाहरू कामको खोजीमा विदेशिने गरेका छन्।
यसैगरी वैदेशिक अध्ययनको लागि भन्दै बर्सेनि लाखौं विदेशिने गरेका छन्। यसबाट एकातिर मुलुकभित्र उत्पादनशील उमेरका युवाहरू घट्दै गएका छन् भने अर्कोतर्फ ठूलो मात्रामा धनराशी बाहिरिने गरेको छ।
यी समस्याहरूको प्रमुख कारकको रूपमा हाम्रो शिक्षा पद्धतिलाई पनि लिने गरिन्छ। शिक्षालाई सीपसँग जोड्न नसक्दा शिक्षित व्यक्तिहरू समेत आफ्नो अध्ययनपश्चात् कुनै आर्थिकोपार्जन गर्न सकिरहेको अवस्था छैन। मुलुकभित्र रोजगारीका पर्याप्त अवसरहरू नहुँदा उनीहरू विदेशिन बाध्य छन्।
यो समस्याको समाधानका लागि विद्यमान शिक्षा प्रणालीमा समेत व्यापक सुधारको खाँचो रहेकोमा शिक्षाविद्हरू समेत सहमत छन्।
महानगरले अघि सारेको नियमित अध्ययन सँगैको सीपमूलक शिक्षाले केही हदसम्म यी समस्यालाई सम्बोधन गर्न सक्ने आशा गर्न सकिन्छ।
यस अन्तर्गत कृषि, हाउस वायरिङ, सौन्दर्य, मोबाइल तथा इलेक्ट्रिोनिक्स जस्ता क्षेत्रमा दिइने ९० घण्टाको तालिमले युवा उद्यमशीलताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ।
हालै प्रकाशित जनगणनाको नतिजा अनुसार नेपालमा १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३४.३ प्रतिशत जनसंख्या आर्थिक रूपले निष्क्रिय रहेको देखाएको छ।
आर्थिक रूपले निष्क्रिय भन्नाले आर्थिकोपार्जनका लागि कुनै पनि काम नगरी र काम नखोजी बस्ने नेपालीको संख्यालाई इंगित गरेको छ।
यस्ता व्यक्तिहरूमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशत विद्यार्थी भएका कारणले आर्थिक काम नगरेको बताएका छन्।
यसबाट हाम्रो समाजमा अझै पनि पढ्दै, कमाउँदैको संस्कार विकास हुन नसकेको प्रष्ट हुन्छ।
विशेषगरी माध्यमिक शिक्षाको अध्ययनपछि पनि विद्यार्थी भएकै कारणले आर्थिक रूपले निष्क्रिय बस्नुलाई भने चिन्ताको विषय मान्नुपर्ने देखिएको छ।
यो उमेर ऊर्जाशील उमेर हो र यस उमेरमा उनीहरूको उत्पादकत्व क्षमता धेरै हुने भएकाले विद्यार्थीहरूलाई अध्ययन सँगसँगै अन्य उत्पादनशील कार्यमा समेत संलग्न गराउनुपर्ने आवश्यकता देखिएको छ।
यस अवस्थामा महानगरको कार्यक्रम सान्दर्भिक देखिन्छ।
महानगरले सञ्चालनमा ल्याएको ‘पढाइमा सीप’ कार्यक्रम अन्तर्गत ‘बुक फ्रि फ्राइडे’ समय सान्दर्भिक देखिए पनि यसको कार्यान्वयन पक्ष भने चुनौती मुक्त छैन।
हप्तामा छ दिनै अर्थात् पूर्ण कार्य घण्टा कक्षाहरू सञ्चालन हुँदा समेत सामुदायिक विद्यालयहरूको शैक्षिक प्रगति सन्तोषजनक नरहेको आरोप छ।
वार्षिक परीक्षाहरूमा उत्तीर्ण हुने विद्यार्थीहरूको संख्या न्यून देखिन्छ।
यस्तो अवस्थामा अब हप्ताको पाँच दिन मात्रै पाठ्यक्रममा आधारित कक्षाहरू सञ्चालन हुँदा शैक्षिक अवस्था कस्तो हुने हो। यसबारे बहस हुनु जरूरी देखिन्छ।
यसैगरी पाठ्यक्रममा निर्धारित पाठ्यघण्टा कसरी पूरा गर्ने भन्नेबारे समेत छलफल हुनु जरूरी छ।
यस कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई दिइने विभिन्न १० वटा विषयमा आधारित सीपमूलक शिक्षाका लागि आवश्यक विषयका प्रशिक्षक महानगरले नै उपलब्ध गराउने जनाएको छ। तर अन्य कक्षामा हुने भनिएको रचनात्मक क्रियाकलाप विद्यालयले आफैं सञ्चालन गर्नुपर्ने देखिएको छ।
सबै विद्यालयमा यस्ता क्रियाकलाप गर्न सक्ने सक्षम जनशक्ति छन् भन्ने अवस्था छैन।
यदि यस्ता क्रियाकलापहरूको नियमित अनुगमन गरिएन भने हातमा किताब नभएका विद्यार्थीहरूको हप्तामा एक दिन खेर जान्न भन्न मिल्दैन।
नियमित पठनपाठन पनि नहुने र अन्य चाखलाग्दा अतिरिक्त्त क्रियाकलाप पनि गर्न नसकेको खण्डमा विद्यार्थीको शैक्षिक गुणस्तर खस्किने सम्भावना छ भने उनीहरू कुलतमा समेत फस्ने सम्भावना हुन्छ।
यसर्थ, महानगरले अगाडि सारेको कार्यक्रमबाट अपेक्षित लाभ लिनका निमित्त यसको कार्यान्वयन र अनुगमन पक्षलाई ज्यादा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।
यसको सफल कार्यान्वयनले अन्य सामुदायिक र संस्थागत विद्यालयहरूलाई समेत आकर्षित गर्ने कुरामा दुई मत छैन।