केही समय पहिला एक जना मित्रले आफ्नो सामाजिक सञ्जालमा बुढीको शाब्दिक अर्थ लेख्नुभयो।
जसमा उहाँले ‘बु’ को अर्थ बुझ्ने सुझ्ने केही होइन र ‘ढी ’ को अर्थ ढिपी गरिरहने भनेर लेख्नुभएको थियो।
जसमा प्रतिक्रिया दिने अधिकांश पुरूष मित्रहरूले उहाँको कुरामा सहमति जनाइराख्नु भएको थियो।
सामाजिक रूपमा राम्रै परिचय बनाइसक्नुभएका उहाँको महिलाप्रतिको दृष्टिकोण र यस्तो किसिमको व्याख्याले पनि सहजै अनुमान गर्न सकिन्छ कि अहिलेको २१ औं शताब्दीमा आइपुग्दा समेत एउटी महिलाले आफ्नै श्रीमानबाट समेत सम्मान पाउन पनि कति संघर्ष गरिरहनुपरेको छ।
हुन त उहाँले रमाइलोको लागि पनि त्यो पोष्ट गरेको हुन सक्नुहुन्छ तर रमाइलोको लागि सही उहाँको मगजमा कहीँ न कहीँ यो कुराले डेरा जमाएको रहेछ भन्ने भान त भयो नि!
नेपाली समाजमा प्रख्यात उखान छ श्रीमान श्रीमती भनेको एक रथका दुई पाङ्ग्रा हुन् भनेर। तर कुनै एउटा रथका दुबै पाङ्ग्रा समान छैनन् भने त्यो रथले सुरक्षित यात्रा कसरी गर्न सक्छ? श्रीमान श्रीमती नामका पाङ्ग्राले कसरी रथरूपी घरलाई सफल तरिकाले चलाउन सक्छन्?
जब एउटी छोरी आफ्नो जीवनको करिब करिब २०/२५ वर्ष उमेर एउटा घरमा बिताएर अपरिचित घरलाई र त्यहाँका सदस्यलाई आफ्नो सर्वेसर्वा ठानेर जान्छिन्, उनीहरूको इच्छा, बानी व्यवहार, चाल चलन, संस्कृति, नियम अनुसार आफूलाई ढालेर त्यही परिवारका लागि भनेर आफ्ना इच्छा, चाहना, बानीलाई खुसी खुसी परिवर्तन गर्छिन् उनलाई चाहिँ कस्ले बुझिदिने? यदि बुढीहरूले नबुझिकनै ढिपी गरिराख्छन् भन्ने लाग्छ भने एकपटक तपाईंले बुझाउने कोसिस गरेर हेर्नुहोस् त कति सजिलै तपाईंको कुरामा सहमत जनाउँछन्।
बुढीहरूलाई पनि आफ्नो मान्छेले केही समय मेरा लागि पनि छुट्याओस्, मेरा कुरा पनि सुनिदेओस्, भान्साको काममा नसघाए पनि छेवैमा बसिदेओस, साथीभाइसँग निर्धक्क भएर म आज बुढीसँग छु भन्न सकोस् भन्ने अपेक्षा राखेका हुन्छन्।
केही समय उनीहरूलाई दिएर त हेर्नुस् बुढीहरू जति सहज तपाईंलाई कोही अरू लाग्दै लाग्दैन।
म यति दावाको साथ भन्न सक्छु कि तपाईंको बारेमा चिन्ता गर्ने, तपाईंको भलो चिताउने तपाईंको आमाबुवा, दाजुभाइ, दिदीबहिनी जत्तिकै तपाई्को श्रीमती पनि हो। तर हाम्रो समाजमा श्रीमान र श्रीमतीको पवित्र, नि:स्वार्थ सम्बन्धलाई स्वार्थको सम्बन्धको रूपमा गलत परिभाषालाई जबरजस्ती लाद्न खोजिएको हुनाले पनि कतिपय सम्बन्धहरू सफल रूपमा गन्तव्यमा पुग्न सकिरहेका छैनन्।
बुढी भन्ने जहिले पनि बुढाहरूको काममा बाधा उत्पन्न गर्ने, खर्च बढाउने, बुढाको स्वतन्त्रतामा अड्चन गर्ने मात्र हुँदैनन् भन्ने कुरा के तपाईंले साँच्चिकै नबुझेकै हो त?
एक पटक आफ्नो भित्री आँखाले हेर्नुहोस् त, आफ्नो अन्तरमनले बुढीलाई बुझ्ने कोसिस गर्नुहोस् त बुढीको असली शाब्दिक अर्थ अर्कै पाउनुहुनेछ।
एकपटक सोचौं त जब एउटी छोरी मान्छे विवाह भएर श्रीमानको घरमा जान्छिन् त्यसको भोलिपल्टबाटै उनले आफ्नो आनीबानीमा, इच्छामा परिवर्तन ल्याउनैपर्ने हुन्छ। त्यही घरमा आफूभन्दा उमेरले जेठो देवर नन्दहरू भन्दा ऊ परिपक्व बनिदिनुपर्ने, सबैको जानेको हुनुपर्ने, छिटो उठ्नुपर्ने हुन्छ।
त्यति सबै आफ्नै आँखा अगाडि भइराख्दा पनि श्रीमानले चाहिँ थाहा नपाएजस्तो गर्ने अथवा सहमति जनाउने तर श्रीमतीले भने हरेक कुरा बुझ्दिराख्नुपर्ने?
स्वतन्त्रपूर्वक आफ्ना आमा बुवाका काखमा बसेकी छोरी (बेहुली) जब बिहे भएर अर्को घरमा जान्छे तब उसले बोल्ने बोली, उसले हाँस्ने हाँसो, उसले लगाउने कपडा, उसले हिँड्ने हिँडाइ, उसले गर्ने आराममा, उसले खाने खाना, आदि आदि कुराहरू अरूको नै अधिनमा हुन्छ।
यहाँसम्म कि उसले गरिरहेको जागिरलाई निरन्तरता दिने कि नदिने भन्ने कुरामा पनि उसको निर्णय लागू हुन पाउँदैन। आफ्नो जन्मदिने बुवा-आमालाई भेट्न जानका लागि पनि उसले विवाह भएर आएको घरको कामको आधारमा समय मिलाउन पर्ने हुन्छ। यो कुरा चाहिँ कसले बुझिदिने?
परम्परादेखि श्रीमानहरूले बाहिरको काम गर्ने, सभा, सम्मेलन , बैठकहरूमा सहभागी हुने, सबै कुराहरू श्रीमतीहरूलाई थाहा नदिने, श्रीमतीहरू अर्थात् बुढीहरूले भने चुलो चौकोको काममा मात्र सीमित हुने, देश दुनियाँको कुरादेखि कोसौं टाढा रहने, श्रीमानको नीति नियममा चल्नुपर्ने बाध्यता थियो।
तर अहिले मुलुक २१ औं शताब्दीमा आइसक्दा पनि मानिसको सोचाइ र व्यवहारमा आवश्यकता अनुसारको परिवर्तन नआउनु चाहिँ एकदमै दुःखको कुरा हो। समयसँगै मानव व्यवहारमा परिवर्तन आएन भने त्यसलाई विकास मान्न सकिँदैन।
श्रीमती (बुढी) हरूलाई पनि आफ्ना साथी, दिदीबहिनीहरूसँग समय बिताउन मन हुन्छ, चिया पसलहरूमा हुने विभिन्न छलफलहरूमा सहभागी हुन मन हुन्छ, आफ्नो विचार व्यक्त गर्ने इच्छा हुन्छ, हप्ताका अन्तिम दिन (विकेन्ड) मा साथीहरूसँग रमाइलो गरेर तनावमुक्त हुन मन हुन्छ, पुरूषहरू र महिलाहरू दुबैको मन उस्तै त होला नि तर आफ्नो घर, परिवार, श्रीमान, छोराछोरीभन्दा माथि अरू केहीलाई पनि नराखेर जीवन व्यतित गर्ने श्रीमतीहरूका इच्छा र चाहनालाई कसले बुझिदिने?
यसो लेखिरहँदा सबै श्रीमतीहरूलाई माथि उल्लेख भएजस्तै जीवन बिताइरहेका छन् भन्न खोजेको चाहिँ होइन, कतिपय महिलाहरू विवाहपश्चात नै आफ्नो श्रीमान, घर परिवारको साथ सहयोगका कारण नै समाजमा स्थापित हुन सकेका थुप्रै उदाहरणहरू पनि हामी माझमा छन्।
त्यसैले बुढीलाई आफ्नो जिम्मेवारी, बोझ, खर्च र तनाव दिने सम्बन्धका रूपमा नलिएर मनैदेखि जीवनभरका लागि सहकर्मीको रूपमा व्यवहार गरेर त हेर्नुहोस् जीवन साँच्चिकै सुन्दर लाग्नेछ।